+
+

लेखा व्यवसायीको राष्ट्रिय सम्मेलन सुरु, दिगो लेखा अभ्यासमा जोड

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ६ गते १७:१७

६ वैशाख, काठमाडौं । लेखा व्यवसायीहरूको राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ ।

चार्टर्ड एकाउन्टेन्ट्सहरूको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) ले राजधानीमा आयोजना गरेको सम्मेलनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका छन् ।

मन्त्री भण्डारीले आर्थिक विकास र देशको समृद्धिका लागि लेखा व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको बताए । राम्रो लेखांकन नहुँदा कतिपय क्षेत्र नै बन्द भएकोले यो पेसामा आचारसंहिताको परिपालना अनिवार्य हुने उनको भनाइ थियो ।

यस पेसामा रहने व्यक्तिले आचारसंहिताको अनुभूति र सिद्धान्त अनुसार अगाडि बढ्नु पर्ने उनको भनाइ छ ।

अर्थतन्त्रमा पछिल्लो समय केही सुधार देखिएको र स्वदेशी उत्पादनमार्फत आर्थिक वृद्धि गर्न आवश्यक रहेको उनको धारणा थियो । यसबाट देशभित्रै रोजगारी सिर्जना हुने र त्यसमा मुख्य योगदान लेखा व्यवसायीहरुकै हुने उनको भनाइ थियो ।

सम्मेलनबाट प्राप्त हुने निष्कर्ष तथा सुझाव अनुसारको कारबाही अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर मन्त्रिपरिषद्‍मा पेस गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

सम्मेलनमा इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्स (आईफ्याक) की अध्यक्ष आश्मा रेस्मौकीले दिगो लेखा अभ्यासका लागि सार्वजनिक चासोका मुद्दालाई अघि बढाउन आवश्यक रहेको बताइन् ।

लेखा अभ्यास र व्यावसायिक लेखाको क्षेत्रमा धेरै अवसर रहेकोले त्यसलाई प्राप्त गर्न द्रुत गतिमा अगाडि बढ्न उनको सुझाव थियो ।

पछिल्लो समय सबै क्षेत्रहरुले दिगो विकास अवधारणालाई अंगिकार गरेकोले लेखा व्यवसायलाई पनि सोही अनुसार अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । यसका लागि  आचारसंहिता पालना गर्दै अगाडि बढ्न आवश्यक रहेको उनले बताइन् ।

‘समय परिवर्तनशील छ । तर, लेखा अभ्यासको आफ्नै महत्त्व रहनुका साथै नयाँ प्रतिस्पर्धा, विचार, परिवर्तन हुनु पर्ने नयाँ कुरामा ध्यान दिन आवश्यक छ, उनले भनिन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीएले मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए ।

मुलुकको दिगो विकासका लागि लेखा व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने भएकोले सम्मेलनले यसलाई थप उजागर गर्ने उनले बताए ।

आईएमएफले यस वर्ष नेपालले ३.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रतिवेदन सार्वजनिक गरेको छ । ‘मुलुकको अर्थतन्त्र पनि सुधार हुँदै जाने देखिएको छ,’ उनले भने, ‘अहिलेको यस्तो अवस्थामा पनि पारदर्शीतासहित यो पेसा अगाडि बढिरहेको अवस्था छ ।’

आईक्यानसँगको सहकार्यमार्फत राष्ट्र बैंकले राम्रो लाभ लिइरहेको उनको भनाइ थियो । हालै प्रचलनमा आएको नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) प्रभावकारी रुपमा कार्यान्वयन भइरहेको पनि उनले बताए ।

कार्यक्रममा आईक्यानका अध्यक्ष सुजनकुमार काफ्लेले तेस्रो सम्मेलनले विश्वभर हुँदै आएको लेखा अभ्यासको अध्ययन र यस क्षेत्रको प्रवर्द्धन तथा विस्तारमा सहयोग पुग्ने बताए ।

नेपाल अडिटर एसोसिएसन (अडान) का वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद भट्टराईले दिगो लेखा अभ्यास केन्द्रित यस सम्मेलनले आगामी दिनमा मुलुकमा सुशासन र आर्थिक वृद्धिमा टेवा पुग्ने बताए ।

चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) का अध्यक्ष दिपक पाण्डेले अहिले देशभर तीन हजार दुई सय चार्टर्ड एकाउन्टेन्टले सक्रिय रुपमा काम गरिरहेको र अहिले पारिश्रामिकमा प्रतिस्पर्धा आएको बताए ।

आईक्यानका उपाध्यक्ष प्रविणकुमार झाले सम्मेलन अवधिभर लेखा अभ्यास, लेखा व्यवसायीको जिम्मेवारी, दिगो व्यापार रणनीति, नियमन संयोजन लगायत विषयमा छलफल हुने बताए ।

शुक्रबारसम्म चल्ने सम्मेलनमा देशभरिबाट करिब एक हजार लेखा व्यवसायीहरूको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?