+
+

भ्रष्टाचार नेपालमा, घुस सिंगापुरमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते १९:४९

९ वैशाख, काठमाडौं । सूचना प्रविधिसँग सम्बन्धित विभिन्न ठेक्कापट्टामा संलग्न रहेका नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलले त्यसको घुसवापत सिंगापुरमा रकम बुझेको फेला परेको छ ।

सुनिल पौडेलको सम्पत्तिमाथि अनुसन्धान गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालमा ठेक्कापट्टासँग जोडिएका अन्तर्राष्ट्रिय कम्पनीहरूबाट सिंगापुरमा रकम भुक्तानी लिएको फेला परेको दाबी गरेको हो ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक हुँदा सुनिल पौडेल विभिन्न ठेक्कापट्टाको काममा कागजात बनाउनेदेखि कोटेसनका मापदण्ड बनाउने काममा संलग्न हुन्थे ।

त्यसक्रममा वर्ल्ड डिस्ट्रिब्यूसन नेपाल, ओम्नी बिजनेसन कर्पोरेट इन्टरनेसनल (ओबीसीआई), म्याक्स इन्टरनेसनल अनि नेक्स जेन सोलुसन लगायतका कम्पनीलाई ठेक्का दिएका थिए ।

‘आफूले चाहेको स्वदेशी आपूर्तिकर्ता कम्पनीहरूसँग ठेक्का सम्झौता गर्ने र उक्त कम्पनीले सोही अवधिमा विदेशी आपूर्तिकर्ता कम्पनीसँग साझेदारी गरी सामान आपूर्ति गरेर कमिसन लिएको’ अख्तियारको दाबी छ ।

साझेदारीमा रहेका विदेशी कम्पनीहरूले कमिसन वापत सुनिल पौडेलको सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंकको खातामा रकम हालिदिएको अख्तियारको दाबी छ ।

जागिर सुरु गरेदेखि १ करोड १९ लाख मात्रै आम्दानी गरेका सुनिलले नेपाल र सिंगापुरमा गरी २४ करोड ९४ लाख रुपैयाँ सम्पत्ति जोडेकोे अख्तियारको दाबी छ । अख्तियारले त्यो मध्येको २३ करोड ७५ लाखलाई गैरकानूनी र स्रोत नखुलेको सम्पत्ति भनेको छ ।

अख्तियारले आरोपमा भनेको छ, ‘आफू कार्यकारी प्रमुख भएका निकायहरूमा सामग्री आपूर्ति गर्ने स्वदेशी तथा विदेशी कम्पनीसँग मोलमोलाइ गरी गैरकानूनी कमिसन लिइ विदेशी बैंकमा रकम जम्मा गर्ने र त्यस्तो रकम स्वदेशमा र विदेशमा रहेका आफन्तमार्फत विभिन्न क्षेत्रमा लगानी गरेको भेटियो ।’

सिंगापुरमा जोडेको रकम सुनिलले दाइ अनिल पौडेलमार्फत घरजग्गामा लगानी गरेको भेटिएको भन्दै अख्तियारले सम्पत्ति जफतका लागि उनलाई समेत प्रतिवादी बनाएको छ ।

अख्तियारले ठेक्कापट्टा र टेन्डर कोटेसनमा संलग्न रहेको भनी नाम जोडेका नेपाली आईटी कम्पनीहरू विभिन्न विवाद र अनियमिततामा जोडिएका छन् । वर्ल्ड डिस्ट्रिब्यूसन नेपालले आठ वर्षअघि तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद शाहको पालामा भएको सूचना प्रविधिजन्य उपकरण आपूर्ति गर्ने ठेक्का विवादमा परेको थियो ।

अर्को कम्पनी ओबीसीआई लगायतको समूहले नेपाल दूरसञ्चार प्राधिकरणबाट आईटी ल्याब स्थापना गर्ने परियोजनाको ठेक्का लिएको थियो । अत्यधिक लागत बढाइएको भनी विवादमा परेको परियोजनामाथि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

अख्तियारले उल्लेख गरेको म्याक्स इन्टरनेसनल टेरामक्स प्रविधि खरिदमा संलग्न लेबनानको भेन्राइज सोलुसन्ससँग साझेदारी गरेको थियो । भेन्राइले विदेशबाट सामान आपूर्ति गर्ने भनी ठेक्का लिएकोमा म्याक्ससँग सामान खरिद गरेको भनी रकम भुक्तानी गरेको थियो ।

विकल–सुनिल समूहले संरक्षण गरेको नेक्स जेन सोलुसन नामक कम्पनीका अन्तर्राष्ट्रिय साझेदारले सिंगापुरमा सुनिल पौडेललाई रकम भुक्तानी गरेको अख्तियारको दाबी छ । सुनिलले सिंगापुरकै प्रुडेन्सियल कम्पनीमा जीवन बीमा गरेको र त्यसरी तिरेको रकम गैरकानूनी भएको अख्तियारले बताएको छ ।

स्वदेशमा सुनचाँदी, हिरा जवारत खरिद गरेको, घरवहाल खर्च, सवारी साधन, विदेशमा होटल बास लगायतका खर्च अनियमित देखिएको भन्दै अख्तियारले उनीविरुद्ध मुद्दा चलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?