+
+
ब्लग :

इलाम उपनिर्वाचनको सन्देश

गत निर्वाचनको परिणाम अनुसार नेपाली जनताले वैकल्पिक राजनीतिक शक्ति खोजिरहे जस्तो देखिन्थ्यो तथापि इलामको परिणामले पुराना पार्टीको नेतृत्व पंक्तिलाई सुध्रिने मौका दिएको देखिन्छ ।

प्रकाश पोख्रेल प्रकाश पोख्रेल
२०८१ वैशाख १९ गते ११:४६

चौतर्फी चासोका साथ हेरिएको वैशाख १५ गते सम्पन्न इलामको उप–चुनावको अन्तिम परिणामले नेपालको राजनीतिक परिदृश्यमा ओजिलो सन्देश दिएको छ ।

विभिन्न कालखण्डमा नेपालको राजनीतिक परिवर्तनमा मुख्य भूमिका निर्वाह गरेका प्रमुख राजनीतिक दलप्रति पछिल्लो समयमा बढ्दै गएको निराशालाई केही चिर्दै पुनः उत्साह थप्ने संकेत इलामको परिणामले देखाएको छ । तथापि दलभित्र मौलाउँदै गएको बेथिति र भ्रष्ट आचरणलाई निस्तेज नगर्दासम्म दलहरूप्रतिको जनविश्वास जोगाइराख्न चुनौती भने यथावत् नै छ ।

पहिलो संविधानसभाको निर्वाचनपश्चात् कुशलतापूर्वक सभामुखको भूमिका निर्वाह गरेका सुवास नेम्बाङको निधनका कारण गर्नुपरेको उपचुनावमा नेम्बाङकै पुत्र सुहाङ नेम्बाङ निर्वाचित भए । तर पनि यो परिणामलाई एमालेको जितको रूपमा अथ्र्याउन जरूरी छ ।

उता, अन्तर्घातको प्रवृत्तिबाट नेपाली कांग्रेस मुक्त हुन नसकेको चुनावी परिणामले देखियो । दलीय व्यवस्थामा पार्टी प्रधान हुन्छ न कि व्यक्ति ! उम्मेदवार छनोट गर्ने निर्णय दलको हो । को उम्मेदवार अगाडि सार्दा पार्टीको जित हुन्छ भन्ने विश्लेषण गर्ने हैसियत दलहरूले राख्नुपर्छ ।

बहुदलीय व्यवस्थाको पुनःस्थापना पश्चात् सक्रिय राजनीतिक दलभित्रका केही नेतृत्व पंक्तिको अहंकार र भ्रष्ट आचरणका कारण जनतामा निराशा व्याप्त छ । गत स्थानीय निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारहरू निर्वाचित हुनु र संघीय निर्वाचनमा रास्वपाले अनपेक्षित परिणाम हात पार्नु दलीय नेतृत्वप्रतिको वितृष्णा थियो भन्ने मत बलियो भएको थियो ।

गत निर्वाचनको परिणाम अनुसार नेपाली जनताले वैकल्पिक राजनीतिक शक्ति खोजिरहे जस्तो देखिन्थ्यो तथापि इलामको परिणामले पुराना पार्टीका नेतृत्व पंक्तिलाई सुध्रिने मौका दिएको देखिन्छ ।

सेलिब्रेटी शैलीमा उदाउन खोजेको रास्वपाभित्र केही अब्बल सदस्यहरू देखिए पनि विवादित नेतृत्वकै कारण खुम्चिने अवस्थामा पुगेको हो कि भन्ने संकेत इलामको मतपरिणामले देखाएको छ । जबकि ठूला दलहरू गठबन्धन गरेर जाँदा समेत तनहुँमा रास्वपाका स्वर्णिम वाग्ले उपचुनावमा विजयी भएका थिए ।

हिन्दु राज्यको वकालत गर्दै पहिलो संविधानसभाको चुनावमा होमिएका कमल थापाले दोस्रो संविधानसभाको निर्वाचन पश्चात् राप्रपाबाट विभाजित दलहरूलाई एकीकृत गरी संसद्मा ३७ सदस्य सहित बलियो उपस्थिति देखाएका थिए । पछि सिद्धान्त र आदर्श विपरीत सत्ता स्वार्थमा केन्द्रित हुँदै जाँदा यतिबेला पार्टीबाटै किनारा लाग्ने अवस्थामा पुगेको यथार्थता हाम्रोसामु छर्लङ्ग छ ।

गत स्थानीय निर्वाचनको परिणाममा काठमाडौं, धरान र धनगढीमा स्वतन्त्र उम्मेदवारहरूको सफलताबाट हौसिएर पार्टीको नाम नै राष्ट्रिय स्वतन्त्र पार्टी गठन भयो । सामाजिक सञ्जालमा कुर्लिएकै भरमा सदनमा बलियो उपस्थिति जनायो पनि । तर नेतृत्वको विवादित कार्यशैलीकै कारण वैकल्पिक राजनीतिक दलप्रति जनताको विश्वास खस्केको सन्देश पनि इलामको चुनावी परिणामले दिएको छ ।

अहिले पनि नेपाली कांग्रेस, एमाले लगायत दलहरूभित्र स्थानीय तहदेखि केन्द्रीय नेतृत्वसम्म सेलिब्रेटी शैलीका नेतृत्वको लहर देखिन्छ । त्यस्तो नेतृत्वको ध्यान जनताको हितमा काम गर्ने, पार्टी मजबुत बनाउने भन्दा पनि भ्रष्टाचारजन्य गतिविधिमा लिप्त हुँदै आफू मजबुत कसरी बन्ने भन्नेमा केन्द्रित देखिन्छ ।

राजनीतिक इमानदारी, सिद्धान्त, आदर्श तथा त्यागको बाटो पछ्याउँदै आएका पार्टीका कर्मठ सदस्यहरूलाई सेलिब्रेटी शैलीमा उदाएका नेतृत्व पंक्तिले किनारा लगाउँदै बलमिच्याइँ गर्ने संस्कृतिले पार्टीहरूको भविष्य के होला ? अहिले गम्भीर रूपमा मनन् गर्नुपर्ने विषय रहेको छ ।

दलहरू मजबुत भएमा लोकतन्त्र बलियो हुने हो । दलहरूले आफूलाई परिष्कृत गरी स्वच्छ नेतृत्व स्थापित गर्नुपर्छ । पार्टी संगठनको जिम्मेवारी स्वच्छ छवि भएका इमानदार, सिद्धान्तनिष्ठ र आदर्शप्रति कर्तव्यनिष्ठ, बौद्धिक, योग्यता भएका सदस्यहरूलाई जिम्मेवार बनाउनुपर्छ । स्थानीय तहदेखि केन्द्रसम्म नेतृत्व सुम्पन सके मात्र जनतामा मौलाउँदै गरेको निराशा हट्न सक्ला ।

बाहिर हुँदा सञ्चारमाध्यममा कुर्लने तर नेतृत्व र जिम्मेवारीमा पुगेपछि जनता र आम पार्टी पंक्तिका सदस्यहरूको भावनालाई अवमूल्यन गर्ने शैलीका हरेक पार्टीका कथित नेताहरूलाई अब जनताले राम्रोसँग चिन्ने भइसकेका छन् । प्रश्न गर्न सजिलो छ तर उत्तर दिन कठिन छ भन्ने कुराको हेक्का पनि नेतृत्व पंक्तिमा हुन जरूरी छ ।

जनप्रिय बन्ने लालसामा टिभी र फेसबुकका भित्ताहरूमा कुर्लने तर विकास र परिवर्तनका लागि सिन्को भाँच्न नसक्नेहरूलाई गतिलो जवाफ काठमाडौंका मेयर बालेन शाहले दिएका छन् । दलहरूले पनि बालेन प्रवृत्तिका सदस्यहरूलाई पार्टीभित्र स्थापित गर्न जरूरी छ न कि फेसबुके विकास प्रवृत्तिलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?