+
+

सुहाङको र्‍यालीसँग झलनाथको जम्काभेट (तस्वीरहरु)

सुदिप श्रेष्ठ सुदिप श्रेष्ठ
२०८० चैत २४ गते १९:२९

२४ चैत, इलाम । मनोनयन दर्ता सकेर नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल उम्मेदवार जितबहादुर राईसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट बाहिरिदै थिए ।

दिउँसो साढे एक बजे कलम चिह्न अंकित झण्डा लिएर बसेका एकीकृत समाजवादीका कार्यकर्ताहरु निर्वाचन कार्यालय बाहिर नै खनाल र उम्मेदवार राईलाई पर्खिरहेका थिए ।

त्यही बेला नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ मनोनयन दर्ता गराउन आइपुगे । एमाले नेता कार्यकर्ताको र्‍यालीको अघिअघि दुबोको माला पहिरिएका नेम्वाङ थिए । खनाल मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट बाहिरिएपछि केही पर रहेको आफ्नो गाडीतर्फ जाँदै थिए ।

एमाले नेता कार्यकर्ताको समूहले उनलाई घेरिहाल्यो । माओवादी केन्द्रका नेता कान्छा लावतीले खनालसँग हात मिलाए । लगत्तै एमालेका नेता गणेश बरालले पनि खनाललाई भेटे ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका एमाले नेता हिक्मत कार्की पनि दौडिएर खनालको छेउमा आए र एमाले नेता कार्यकर्ताको भीडलाई थोरै छेउ लगाए । भीडल खनालको टिमलाई केही गर्ने पो हो कि भन्ने संशय उनमा देखिन्थ्यो ।

त्यही बेला एमाले उम्मेदवार सुहाङसँग खनालको भेट भयो । सुहाङले खनालको अगाडि शीर निहुराए । खनालले पनि सुहाङलाई शुभकामना दिए । इलाम–२ उपनिर्वाचनको चुनावी कमाण्डर एमाले नेतृ शिवमाया तुम्वाहाङ्फे र खनालबीच नमस्कार आदान प्रदान भयो ।

एमाले इलाम अध्यक्ष महेश बस्नेत, सचिव उमेश गुरुङ र नेता कृष्ण श्रेष्ठसँग पनि खनालको भेट भयो । उनीहरु मुस्कुराएर हार्दिकता साटासाट गरे, कुराकानी भने भएन ।

दशकौंदेखि खनालकै लागि मरिमेट्ने त्यो जुलुस आज खनाल पक्षमा थिएन । जीवनको अधिकतम समय लगानी गरेको, आफू अध्यक्ष भएको र आफूलाई प्रधानमन्त्री बनाएको पार्टी नेकपा एमालेको नेता तथा कार्यकर्ताहरुको बीचमा नेकपा एकीकृत समाजवादीको समूहसँग हिँड्दा कस्तो अनुभव भयो ?

हाम्रो प्रश्नमा नेता खनालले भने, ‘अहिलेको कुरा छोडौं, सूर्य चिह्नसहित सबै नेता तथा कार्यकर्ताहरु मसँग छिटै आउनेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?