+
+

नारायणगढ–बुटवल सडक : पाँच वर्षमा बल्ल आधा काम सकियो

रासस रासस
२०८१ वैशाख १९ गते १२:३३

१९ वैशाख, नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तार भइरहेको नारायणगढ–बुटवल खण्डको काम ५ वर्षमा बल्ल आधा सकिएको छ । सम्झौता भएको मितिदेखि ४२ महिनामा सक्ने भनिएको सडक विस्तार ५ वर्षमा बल्ल ५० प्रतिशत सकिएको आयोजनाले जनाएको छ ।

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार सडक विस्तार सुरु भएको ६३ महिनामा ३३ किलोमिटर कालोपत्रे भएको हो । यद्यपि चार ‘लेन’मा विस्तार भइरहेको सडकमा द्रुत गतिमा काम भइरहको खनालको जिकिर छ ।

‘पछिल्लो पाँच महिनामा हामीले एकतर्फी १८ किलोमिटर सडक कालोपत्र सम्पन्न गरेका छौँ’, उनले भने, ‘२०७५ माघदेखि २०८० असारसम्म एकतर्फी १५ किलोमिटर सडक कालोपत्र भएको थियो ।’

अहिले सडकमा कालोपत्रसँगै सडक किनारको खाल्डा पुर्ने सडकमा ‘बेस’ र ‘सबबेस’ बनाउने काम भइरहेको छ । उक्त खण्डमा २५ मिटर लामा सबै साना पुलको निर्माण पूरा भएको उल्लेख गर्दै इन्जिनियर खनालले ठूला पुलको ग्रिडर (पुलमा पिलर उठाएपछि ढलान गर्न राखिने बिम) राख्ने काम भइरहेको बताए ।

सडक विस्तारको काम गरिरहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सहव्यवस्थापक राकेश झाले हाल कावासोतीको डण्डाबाट पश्चिमतर्फ र गैँडाकोटको थुम्सीको जंगलमा कालोपत्रको काम चलिरहेको जानकारी दिए ।

उक्त क्षेत्रमा अहिलेसम्म २७ प्रतिशत काम सकिएको झाले बताए । देवचुलीको दुम्कौली, रजहर र गैँडाकोटमा बिजुलीको पोल सार्ने काम बाँकी नै रहेकाले सडक विस्तारमा केही ढिलाइ भएको उनले स्वीकारे ।

गैँडाकोटबाट बुटवलसम्मको एक सय १३ किलोमिटर मध्ये निर्माण कम्पनीले गैँडाकोटबाट दाउन्नेसम्म ६४.४२ किलोमिटर सडकलाई पूर्वीखण्ड र दाउन्नेबाट बुटवलसम्मको ४८.५८ किलोमिटरलाई पश्चिमखण्डमा विभाजन गरेर काम भइरहेको छ । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ लागतमा राजमार्ग विस्तार थालिएको हो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा चार लेनमा विस्तार भइरहेको सडकको सहरी क्षेत्रमा अतिरिक्त दुई लेन बताइनेछ । दाउन्ने पहाडको करिब ५ किलोमिटर खण्डमा भौगोलिक अवस्थाका कारण जम्मा तीन लेनको सडक बन्ने निर्माण कम्पनीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?