+
+
राजमार्गको दुर्दशा-२ :

सडक धुलोले खोसेको दाउन्नेको खुसी

सरकारले बुटवल–नारायणगढ सडकखण्ड समयमै नबनाउँदा राजमार्ग आसपासका धेरै व्यवसायीले ठूलो नोक्सानी व्यहोर्दैछन्, बाटोको दुरवस्थाकै कारण संकटको सन्निकटमा पुगेको दाउन्ने नै त्यसको उदाहरण हो ।

रवीन्द्र घिमिरे आभास बुढाथोकी रवीन्द्र घिमिरे, आभास बुढाथोकी
२०८० पुष ९ गते २३:५९

९ पुस । शुक्रबारकाे मध्याह्नमा पूर्वी नवलपरासीको दाउन्नेस्थित स्वर्गद्वारी बाबा होटलका ६२ वर्षीय हिराकाजी श्रेष्ठ काउन्टरमै निदाइरहेका थिए ।

होटलमा खाना/खाजा खाने एक जना पनि मान्छे थिएनन् । होटलका एक कर्मचारी भाँडाकुँडा र टेबल कुर्सीको धुलो पुछ्दै थिए । ‘व्यापार छैन नसुतेर के गर्नु ?’ हामीले कुराकानी गर्न चाहेपछि कर्मचारीले उठाएदिएका होटल व्यवसायी श्रेष्ठले भने, ‘झिंगा धपायो, धुलो पुछेर बस्यो ।’

कुनैबेला श्रेष्ठको मात्रै होइन, दाउन्नेभरिका होटल खाना खाने समयमा भरिभराउ हुन्थे । पश्चिम नेपालका दाङ, बुटवल, नेपालगञ्जबाट काठमाडौंका लागि छुटेका र विभिन्न गन्तव्यबाट आएका गाडीहरु होटलअघि आएर रोकिन्थे ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्डबीचको जंगल क्षेत्रमा पर्ने यो ठाउँमा चिया खान मात्रै भए पनि मानिसहरु रोकिन्थे । होटलहरु प्रायः खचाखच नै हुन्थे र कहिलेकाहीं भीड धेरै भएर खाना खुवाउन सकिन्नथ्यो भन्दा अहिले पत्याउने अवस्था छैन । रातभरि समेत दाउन्नेका अधिकांश होटल व्यवसायी जागै हुन्थे ।

दाउन्नेमा आजभोलि त्यस्तो व्यापारिक रौनक छैन, बरु व्यवसायीहरुमा निराशा बढ्दो छ । बुटवल–नारायणगढ सडकखण्ड समयमै नबनाउँदा राजमार्ग आसपासका धेरै व्यवसायीले ठूलो नोक्सानी व्यहोर्दैछन्, बाटोको दुरवस्थाकै कारण संकटको सन्निकटमा पुगेको दाउन्ने त्यसको उदाहरण हो ।

होटलको व्यापारमा १५ वर्ष बिताएका हिराकाजीका अनुसार बुटवल–नारायणगढ सडक विस्तार सुरु भएपछि विस्तारै व्यापार ओरालो लाग्यो । जति समय लम्बियो, त्यति सुक्दै गयो । ‘सडक बनाउँछु भनेर भत्काएर छाडिदिएपछि होटलमा त मान्छे छिर्नै छाडे’ उनी भन्छन्, ‘छेउमा यस्तो धुलैधुलो देखेपछि को छिरोस् !’

२०७५ सालमा सुरु भएको बुटवल–नारायणगढ सडक विस्तारको काम पाँच वर्षसम्म अलपत्र छ । सडकमा उड्ने धुलाेले दाउन्नेलाई नराम्रोसँग प्रभावित गरेको छ ।

दाउन्नेमै होटल चलाइरहेकी निर्मला कार्की धुलोले दाउन्नेको नाम बदनाम हुने अवस्था आइसकेको बताउँछिन् । सडकको धुलोले दाउन्नेको खाना सफा, स्वस्थकर र ताजा हुन्छ भन्ने आम धारणा नै परिवर्तन गराएको उनले सुनाइन् ।

‘सडकमा उड्ने बाक्लो धुलो होटलसम्म आइपुग्छ’ उनी भन्छिन्, ‘खाना र भाडामा आएर मिसिन्छ । यस्तो देखेपछि कोही किन खान आउँछन् ?’

नियमित रुटमा चल्ने १० भन्दा बढी गाडीका यात्रुहरुलाई खाना खुवाउने उनको दैनिकी बदलिएर अहिले राजमार्गका गुड्ने निजी कार, मोटरसाइकल र भ्रमणमा हिंडेका बसहरु कुर्नुपर्ने अवस्थामा आइपुगेको छ ।

दिनमै ५० हजारदेखि एकलाखसम्मको व्यापार गर्ने निर्मलाको होटलले अहिले आधा पनि गर्न सकेकाे छैन । ‘बिहान उठेदेखि रात पर्दा पनि फुर्सद हुन्नथ्यो, कहिले त रातभर निदाउन नै नपाउने अवस्था थियो’ उनले भनिन्, ‘अब त्यो अवस्था रहेन ।’

गरिखानेहरुको गाँस खोसिने अवस्था आउन नदिन भए पनि सडक विस्तार छिटो सक्नुपर्ने उनले बताइन् ।

दाउन्नेमै २२ वर्षदेखि ‘सुनिता होटल’ चलाइरहेकी सरस्वती चौधरीले होटलकै आम्दानीबाट सन्तान हुर्काइन्, पढाइन्, धेरथोर जग्गा–जमिन जोडिन् । अब उनका लागि होटल दिन कटाउने मेलो मात्रै बनेको छ ।

‘जति सफा गरे पनि छिनमै धुलोले ढाक्छ’ उनले भनिन्, ‘बाटोमा धुलो खाँदै आएका मान्छेले होटलमा पनि धुलो देख्नु परेपछि कसरी खाना खाने मन गरुन् !’

मनोज सुवेदीको परिवार ४० को दशकदेखि दाउन्नेमै होटल व्यवसायमा छ । बुबाले सुरु गरेको होटललाई मनोजले चलाइरहेका छन् । पाँच वर्षअघिसम्म व्यापार राम्रो थियो ।

सुरुमा कोभिडले समस्या ल्यायो, त्यसपछि सडक निर्माणको काममा भएको लापरवाहीले व्यवसायलाई थला बसाइदिएको उनी बताउँछन् । ‘होटलमा व्यापार बढाउन माछा, मासु, नास्ताहरु बाहिर देखाएर राख्नुपर्छ’ उनले भने, ‘धुवाँ धुलोले धेरै बेर राख्न मिल्दैन, व्यापार नै हुन छोड्यो । सडकले बिजोग नै गराइदियो ।’

साना होटलको झन् बेहाल

२०३३ सालमा नवलपरासी बर्दघाटबाट आएर क्षेत्रबहादुर गुरुङले जंगलकै बीचमा चिया बेच्न थालेपछि दाउन्नेमा गाडी रोकिन थालेको थियो । यात्रुहरु मात्रै होइन, दाउन्ने देवी मन्दिरका दर्शनार्थीहरुको चहलपहल भइरहन्थ्यो । सम्भावना देखेपछि २०३६ सालदेखि अरुले पनि त्यहाँ टहरा राखेर खाजा/नास्ता बेच्न थाले ।

‘दाउन्ने यति लोकप्रिय थियो कि बुटवलबाट समेत मानिसहरु चिया–नास्ता खान भनेर आउँथे’ उनी भन्छन्, ‘पछि नेपाली लोकल स्वादको खानेकुरा खान भारतबाट समेत मान्छे दाउन्नेमै आउँथे ।’

दाउन्नेमा अहिले करिब २५० वटा होटल तथा पसल छन् । त्यसमध्ये अधिकांश अस्थायी प्रकृतिका टहरामा छन् । सबैले राम्रै व्यापार व्यवसाय गरेका थिए ।

जब बुटवल–नारायणगढ सडक विस्तार सुरु भयो, दाउन्नेको व्यापार हराउँदै गयो । अहिले त अवस्था यस्तो छ कि सडकको धुलोले होटलहरु ढपक्कै ढाकिन्छ ।

केही होटलले धुलोबाट जोगिन सीसा लगाएर पक्की र सफा किसिममा होटल बनाएका छन् । तर टहरामा भएकाहरुलाई धुलो छल्ने कुनै भरपर्दो उपाय छैन । ‘पैसा हुनेले सिसा लगाएको पक्की होटल बनाए’ दाउन्नेमा होटल गरिरहेकी निर्मलादेवी उपाध्याय भन्छिन्, ‘नहुनेहरु यत्तिकै बसे । अहिले व्यापार नभएर बिजोग छ ।’

कुनै दिन त बोहनी समेत गर्न गाह्रो हुने भन्दै उनले सडकको अवस्थाले आफूहरुलाई सडकमै पुर्याइदिन लागेको गुनासो गरिन् । ‘सडक खुल्नुअघि दिनमा १० हजारसम्मको व्यापार हुन्थ्यो । अहिले बोहनी गर्दा दिन ढल्किन्छ’, उनले भनिन् ।

दाउन्नेमा सफा वातावरणमा खान पाइन्छ भन्ने विश्वास नै हराउने हो कि भन्ने डर लाग्न थालेको क्षेत्रबहादुर गुरुङ सुनाउँछन् । यो दुर्भाग्य हुने भन्दै उनले प्रश्न गरे, ‘सरकारले सडक समयमै नबनाउँदा हामीले कहिलेसम्म मूल्य चुकाइराख्नुपर्ने ?’

हेर्नुहोस् भिडियो

तस्वीर र भिडियो : शंकर गिरी/अनलाइनखबर ।

राजमार्गको दुर्दशा १ 

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?