+
+

एपीएफ गोदाम आगलागी प्रकरण : समितिले प्रतिवेदन बुझायो, कारण खुलाएन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते १९:५०

 २० वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)को केन्द्रीय गोदाममा भएको आगलागीको घटनामा सुरक्षामा गम्भीर लापरबाही देखिएको छ ।

छानबिन समितिले १७ दिन लगाएर बुझाएको प्रतिवेदनमा सशस्त्र प्रहरीले सुरक्षामा धेरै लापरबाही गरेको औंल्याए पनि आगलागीको कारण खुलाउन सकेको छैन ।

करोडौंका सामान भएको गोदामको संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा गर्नका लागि व्यक्ति तोकिनुपर्नेमा नतोकिएको समितिले औंल्याएको छ ।

नं. ९ पशुपति बाहिनीको कम्पान्डभित्र केन्द्रीय गोदाम रहेको र उक्त गोदामको सुरक्षा सशस्त्र मुख्यालय हलचोकबाट हुने गरेकोले पनि सुरक्षामा लापरबाही देखिएको समितिले औंल्याएको छ ।

मुख्यालयको भण्डारण शाखाले सुरक्षा गर्नुपर्ने तर गोदाम भने नं. ९ बाहिनीको कम्पान्डमा हुँदा सुरक्षामा ‘डुप्लिकेसन’ भएको समितिले निष्कर्ष निकालेको छ । गोदाम बलम्बुमा रहेको तर सुरक्षा भने हलचोकबाट गर्दा दुरीको हिसाबले पनि टाढा रहेकाले राम्रोसँग सुरक्षा दिन नसकेको समितिले औंल्याएको छ ।

त्यसैगरी गोदाम सुरक्षाका लागि भने कुनै व्यक्ति नतोकिएको समितिले खुलाएको छ । सुरक्षासँग सम्बन्धित बन्दोबस्तीका सामान भएको गोदाममा कुनै व्यक्ति विशेषलाई सुरक्षा तोकेर निगरानी गर्नुपर्नेमा त्यस्तो नदेखिएको समितिको भनाइ छ ।

त्यसैगरी सीसी क्यामेराबाट निगरानी नगरिएको, बेला–बेलामा गोदमको अनुगमन गर्नुपर्नेमा नगरेको पनि समितिले औंल्याएको छ ।

भैपरी आउने विपद्‌बाट जोगिनका लागि सुरक्षा व्यवस्था चुस्त राख्नुपर्नेमा त्यसमा समेत चुकेको प्रतिवेदनमा जनाइएको छ ।

सामान्य सतकर्ता मात्रै अपनाएको भए ठूलो क्षति हुनबाट जोगिने समितिको ठम्याइ छ ।

तुरुन्तै जल्ने प्रकृतिका सामान र अन्य सामान एकै स्थानमा राखिएको समितिले जनाएको छ । ‘सामान भण्डारण गर्दा प्रज्वलनशील र कम प्रज्वलनशील छुट्टाएर राख्नुपर्नेमा त्यसरी राखेको देखिएन । सबै सामान एकै ठाउँमा चाङ लगाएको देखियो’ समितिका संयोजक सहसचिव भरतमणि पाण्डेले भने ।

त्यसैगरी चन्द्रागिरि नगरपालिकाको दमकल आउनसमेत ढिला गरेकाले बढी क्षति हुन पुगेको समितिले उल्लेख गरेको छ । जम्मा २ किलोमिटरको दुरीमा चन्द्रागिरि नगरपालिकाको दमकल आउन ४५ मिनेट लागेको र त्योभन्दा टाढाका दकमल भने २० मिनेटमै पुगेको समितिको भनाइ छ ।

आगलागी हुँदा करिब डेढ करोडको लागतमा बनेको भवन र ५ करोडका सामान जलेको समितिले औंल्याएको छ । यसबाहेक सामान ल्याएर भण्डारण गरिएको तर सशस्त्रलाई बरबुझारथ गर्न बाँकी रहेको ठेकेदारका सामानहरू समेत जलेको बताइएको छ ।

२६ चैत साँझ सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदाममा आगलागी भएको थियो । आगलागीको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा नियन्त्रकको कार्यालयका उपसचिवस्तरको प्रतिनिधि, गृहका उपसचिव सागरमणि पाठक र वरिष्ठ कम्प्युटर इन्जिनियर सुष्मा श्रेष्ठ रहेको समिति गठन गरेको थियो ।

समितिले सुरक्षामा कमजोरी हुनुका साथै आगामी दिनमा गर्नुपर्ने कामबारे पनि सुझाव दिएको छ ।

जसमा प्रज्वलनशील र कम प्रज्वलनशील गरेर सामान छुट्टाएर राख्नुपर्ने, २४सै घण्टा सुरक्षाको व्यवस्था मिलाउनुपर्ने, गोदाम बनाउँदा बस्तीबाट टाढा एकान्त ठाउँमा बनाउनुपर्ने, सीसी क्यामेराको निगरानीमा हुनुपर्ने सुझाव दिइएको छ ।

त्यस्तै ‘फायर अर्लाम’को व्यवस्था हुनुपर्ने, गोदामका सामान चाँडो वितरण गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने र सुरक्षाका लागि निश्चित व्यक्ति तोकिनुपर्ने लगायतका सुझाव समितिले दिएको छ ।

खुलेन आगलागीको कारण

सशस्त्र प्रहरीले विद्युत् सर्ट भएर आगलागी भएको दाबी गरे पनि छानबिन समितिले आगलागीको कारण यकिन गर्न सकेको छैन । सीसी क्यामेराको निगरानी नभएकाले आगलागीको कारण खुलाउन नसकिएको समितिका संयोजक सहसचिव पाण्डेले बताए ।

हावाहुरी चल्ने मौसम भएकाले वरपरबाट आगोको झिल्को गोदाममा पुगेर पनि आगलागी भएको हुनसक्ने समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

‘बिजुली सर्ट भएर वा हावाहुरीको मौसम भएकाले कतैबाट झिल्को पुगेर आगलागी भएको हुनसक्छ । घटना भएको दिन हावाको वेग र तापक्रम बढी देखिएकाले कतैबाट भिल्को गोदममा पुगेकाले पनि आगलागी भएको हुनसक्छ,’ समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

एआईजीको टोलीले पनि प्रतिवेदन बुझाउँदै

सशस्त्रका एआईजी बंशीराज दाहाल नेतृत्वको अर्को समितिले पनि आगलागीबारे छानबिन गरेको थियो । आगलागी भए लगत्तै सशस्त्रका आईजी राजु अर्यालले दाहाल नेतृत्वको समितिले आन्तरिक छानबिन गर्ने भन्दै समिति बनाएका थिए ।

उक्त समितिले छानबिनको काम टुङ्ग्याएर प्रतिवेदन बुझाउने तयारीमा रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

यसअघि एआईजी दाहाल नेतृत्वको समितिले भण्डारण शाखादेखि बाहिनीका एसपीसम्मलाई मुख्यालयमा तानेर छानबिन गरेको थियो ।

भण्डारण शाखाका एसपी राजेन्द्र श्रेष्ठसहित ७ जनालाई पनि मुख्यालय तानेर सोधपुछ गरिएको थियो । आगालागी भएको समयमा ड्युटीमा रहेका बाहिनीका एसपी अर्जुन खत्रीसहित ११ जना र सशस्त्र प्रहरी अस्पतालको गेटमा ड्युटीमा खटिएका २ जनालाई मुख्यालय तानिएको थियो ।

यो समितिले भने कोहीबाट कमजोरी भएको देखिएमा विभागीय कारबाहीका लागि समेत सिफारिस गर्ने बताइएको छ ।

भूकम्प अघिसम्म सशस्त्र मुख्यालय हल्चोक र मुख्यालय नजिकैको विशेष कार्यदल बंगलामुखी गणमा सामान भण्डारण गर्ने गरिएको थियो ।

बाराको पथलैयास्थित छिन्नमस्ता बाहिनी मुख्यालयमा पनि सशस्त्रले सामान भण्डारण गर्दै आएको थियो । त्यो मुख्यालय शिक्षालयमा परिणत भएपछि बलम्बुमा सामान भण्डारण गर्न थालिएको थियो ।

आगलागीमा सुरक्षाका महत्त्वपूर्ण सामानका साथै चुस्ता, बुट, म्याट, झुल, मण्डी, तन्ना, स्लिपङ ब्यागलगायत सामग्री जलेर नष्ट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?