+
+

प्रियजन फर्काउने माग राखेर रुसी सेनाका परिवार आमरण अनशनमा

आभास बुढाथोकी आभास बुढाथोकी
२०८१ वैशाख २३ गते १९:४१

२३ वैशाख, काठमाडौं। रुस-युक्रेन युद्धमा हराइरहेका श्रीमान्‌को खोजी गरिदिन भन्दै आमरण अनशन बसिरहेकी छन्, रुकुमकी सिरानी घर्ती मगर । कात्तिक ६ मा रुसी सेनामा भर्ना हुन गएका उनका श्रीमान् माइतमान घर्ती पाँच महिनायता सम्पर्कमा छैनन् ।

‘कहाँ हराउनुभयो, कहाँ जानु भयो खबर अहिलेसम्म आ’हैन’, उनले भनिन् । गत मंसिर १३ गते सिरानीको श्रीमानसँग कुरा हुँदा उनले आफू युद्ध क्षेत्र युक्रेनमा जाने लागेको बताएका थिए । त्यसपछि उनी सम्पर्कमा नै आएनन् ।

रुस–युक्रेन युद्धमा हराइरहेका श्रीमान्‌को खोजी गर्न भनेर उनले अनेक प्रयास गरिन् । रुकुमदेखि काठमाडौं आइन् । सबै सरकारी निकाय धाइन् । श्रीमान खोजिदिन भनेर निवेदन लिएर पराराष्ट्र मन्त्रालय पुगिन् ।

‘निवेदन लिएर नगएको, नधाएको कुनै ठाउँ छैन’, उनले भनिन् । कहिले धर्ना बसिन्, कहिले प्रर्दशनीमा उत्रिन् । तर कतै केही लागेन ।

अहिले भने उनी आफ्नो श्रीमान्को खोजी गर्न सरकारलाई दबाब दिन भन्दै आमरण अनशन बसिरहेकी छन् । ‘हाम्रो मान्छे खोजीदेऊ भनेर धेरै हार गुहार ग¥यौं । जहाँ गए पनि कसैले चित्त बुझ्दो जवाफ दिएनन्’, सिरानीले भनिन्, ‘जति रोइ कराइ गरे पनि सरकारले हाम्रो कुरा सुन्दै सुनेन ।’ अन्तमा आफूजस्तै पीडित परिवारसँग सामूहिक आमरण अनशन बस्न तयार भइन् ।

सुर्खेत पञ्चपुरी नगरपालिकाका किसन थापा पनि रुसी सेनामा भर्ना भएका आफन्तको खबर पत्ता लगाइदिन भन्दै आमरण अनशनरत छन् । रुस सेनामा भर्ना भएका उनका सालो लक्ष्मण विष्ट माघ यता सम्पर्ममा छैनन् ।

वैदेशिक रोजगारीमा दुबईमा रहेका विष्ट ०८० भदौमा रुसी सेनामा भर्ना भएका थिए । ‘परिवारको सल्लाहबिनै रुस पुगेर भर्ना भएछन्’, किसनले भने । रुसी सेनामा भर्ना भएको केही समयसम्म परिवारसँग सम्पर्क भइरहन्थ्यो । ‘केही समय तालिम लिए पश्चात युद्ध भूमिमा जादैछु भनेर परिवारसँग कुरा भएको थियो’। उनले भने, ‘असोज १५ गतेपछि कुनै खबर नै आएन ।’

थापाले आफ्ना सालो विष्टको खोजतालासको लागि अनेक प्रयास गरे । अवस्था पत्ता लगाइदिन भनेर दौडधुप गरे । ‘गृहमन्त्री रवि लामिछानेदेखि परराष्ट्र मन्त्री नारायणकाजी कसैलाई भेट्न छुटाइनँ’, उनले भने, ‘जहाँ गएर रोइकराइ गरे पनि कसैले सुनेन् ।’

अहिले उनी आमरण अनसनमा बसेका छन् । ‘परदेशमा गएको मान्छेलाई फर्काउन हाम्रो प्रयासले पुग्दैन’, थापाले भने, ‘आफ्नो नागरिक सरकार नै लाग्नुपर्छ ।’

रुसी सेनामा आबद्ध नेपालीको जीवन अभियानबाट अभियन्ता कृतु भण्डारीको नेतृत्वमा उनीहरुका परिवार र आफन्तहरु रत्नपार्कस्थित शान्ति बाटिकामा १७ दिनदेखि अनशन बसेका छन् । रुकुमकी सिरानी, सुर्खेतका किसन र अभियन्ता कृतु भण्डारी भने आमरशण अनशन बसेका छन् अरु भने धर्नामा छन् ।

उनीहरुको माग छ, रुसी सेनामा गएका सबै नेपालीको अवस्था सार्वजनिक, सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता, रुसी सेनामा भर्ती भएर करार रद्द भएकाहरुको स्वदेश फिर्ता र युक्रेनको कब्जामा रहेका पाँच जना नेपालीको सकुशल उद्धार ।

त्यस्तै उनीहरुले युद्धमा घाइते नेपालीको उपचार, मृतक परिवारलाई उचित क्षतिपूर्ति र रुसी सेनाबाट पाउने तलब, भत्ताका लागि सहजीकरणको माग राखेका छन् ।

रुस गएका परिवार र आफन्तको जीवन रक्षा माग गर्दा पनि सरकारले नसुनेपछि अनशन र धर्ना बस्नुपरेको पीडितका परिवारहरु बताउँछन् । ‘रुसी सेनामा गएकाहरुको खोजी, उद्धार गरिदेऊ भनेर पटक पटक अन्दोलन र धर्ना ग¥यौं’, एक पीडित भन्छिन्, ‘केही गर्दा पनि नसुनेपछि दबाब दिन अनशन बस्यौं ।’

अभियन्ता भण्डारीका अनुसार रुसी सेनामा ४० जना परिवारले काजकिरिया नै गरिसकेका छन् । ‘कम्तीमा तीन सय नेपालीमात्र पाँच महिनादेखि परिवारको सम्पर्क छैनन्’, उनी भन्छिन्, ‘सयौं नेपाली उद्दारको पखाईमा छन् । घाइतेले उपचार पाएका छैनन्, मृतक परिवारले शव पाएका छैनन् । तैपनि राज्य आफ्नो नागरिक समस्यामा परेको कुरालाई गम्भीरताका साथ नलिँदा हामी अनशनमा बस्न बाध्य भयौं ।’

‘हाम्रो मान्छे फर्काइदेऊ’

काठमाडौं टोखाकी सीता सुनार पनि धर्नामा बसिरहेकी छन् । रुस सेनामा गएका उनका श्रीमान् सानु सुनार रुसमै छन् । क्रमशः सुधार उन्मुख उनका श्रीमान्लाई रुसले पुनः युद्धमा फर्काउने तयारी गर्दैछ । तर युद्धमा जानु जीवन जोखिममा पर्छ भन्ने बुझेका उनी जसरी हुन्छ स्वदेश फर्कन चाहन्छन् ।

आफूलाई स्वदेश फर्काइदिन भनेर उनी श्रमितीसँग पीडा पोख्छन् । एक पटक युद्धमा मृत्युको मुखबाट जोगिएर फर्केका श्रीमानलाई फेरि युद्धमा पठाउन लागिएकाले उनी अत्तालिएकी छन् ।

‘श्रीमान छिटो भन्दा छिटो ल्याइदिन भनिरहेकी छु’ उनले भनिन्, ‘आफ्नो देशको नागरिकलाई उद्धार गरिदेऊ भनेर सरकारसँग आग्रह गरिरहेका छौं । तर अहिलेसम्म सुनेका छैनन् ।’

रुसी सेनामा भर्ना हुन पुगेकाहरु पनि उद्धारको पर्खाइमा छन् । अनलाइनखबरको सम्पर्कमा आएका रुसी सेनामा भर्ना भएका एक नेपालीका अनुसार करिब ४५ जना नेपालीहरु रुस–युक्रेन यद्धरत क्षेत्रमा छन् । उनीहरु तत्काल स्वदेश फर्कन चाहन्छन् । ‘युद्ध क्षेत्रमा मरिन्छ कि बाचिन्छ टुंगो छैन’, उनले भने, ‘भाग्न पनि मुश्किल छ, सरकारले नै हामीलाई यहाँबाट उद्धार गरिदिओस् ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?