+
+

राष्ट्रपतिका सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २६ गते १८:३५
राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल ।

२६ वैशाख, काठमाडौं । नागरिक समाजका अगुवाहरूले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग गरेका छन् ।

निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, सुशील प्याकुरेल र कनकमणि दीक्षितले बुधबार संयुक्त वक्तव्य जारी गर्दै नेपाललाई बर्खास्त गर्न माग गरेका हुन् ।

मुलुकको हित, स्वाभिमान र पदीय मर्यादा विपरीत सल्लाहकार नेपालले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णयको विरोध गरेका थिए ।

नेपालले देशसञ्चार अनलाइनसँग २३ वैशाखमा भनेका छन्, ‘सरकारको निर्णय अनुपयुक्त समयमा आएको छ । भारतसँग सिमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय हो ।’

यसैगरी उनले २४ वैशाखमा बीबीसी नेपाली सेवासँग राष्ट्र बैंकलाई संशोधित संविधानको नक्सा राख्न दिने निर्णयलाई ‘लहड’ को संज्ञा दिएका छन् ।

‘सीमा नाघेका यस्ता सार्वजनिक अभिव्यक्तिले संवैधानिक राष्ट्र प्रमुखकको पदको गरिमामा चोट पुर्‍याएको छ,’ वक्तव्यमा भनिएको छ, ‘राष्ट्रपति कार्यालय मौन रहेको अवस्थामा सरकारको निर्णयलाई ‘अन्तर्राष्ट्रिय मान्यता विपरीत’ र ‘अविवेकी’ भन्ने सल्लाहकार नेपालका सार्वजनिक अभिव्यक्ति राष्ट्रपति रामचन्द्र पौडेलकै तर्फबाट आएको भनी हामी बुझ्न बाध्य छौं ।’

वक्तव्यमा राष्ट्रपति संस्थाको गरिमालाई कायम राख्न र सल्लाहकार नेपाललाई तत्कालै पदबाट हटाउन माग गरिएको छ ।

मन्त्रिपरिषद्को २० वैशाखमा बसेको बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको पुरानो नक्साको सट्टा नयाँ नक्सा राखेर डिजाइन गर्न स्वीकृति दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?