+
+

उपचुनावले रास्वपामा बढायो निराशा

अघिल्लो उपनिर्वाचनमा तनहुँ–१ को सिट गुमाउँदा जुन तहको निराशा नेपाली कांग्रेसमा देखिएको थियो । त्यस्तै निराशा रास्वपामा इलाम–२ को निर्वाचनको मत परिणामबाट देखिएको छ ।

लिलु डुम्रे लिलु डुम्रे
२०८१ वैशाख २६ गते १८:५५
सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्ले । दुवै जना गत वर्षको उपनिर्वाचनबाट निर्वाचित भएका हुन् ।

२६ वैशाख, काठमाडौं । ०८४ को आमचुनावअघि आउने प्रत्येक उपचुनावलाई अवसरमा बदल्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रणनीति थियो । केवल एक–दुई सिट थप्दै जानेभन्दा पनि आगामी आम चुनावपछिको एक मात्र आशा आफ्नै दल हो भन्ने भान पार्न यसका नेता कार्यकर्ताले वैशाख १५ को उपचुनावमा पार्टीको सम्पूर्ण शक्ति खर्चेका थिए ।

पोहोर वैशाखमै भएको तनहुँको उपचुनाव यसको उत्प्रेरक थियो, जहाँ कांग्रेसले दशकौंदेखि पकड जमाउँदै आएको जनमतमा रास्वपाले झन्डा गाड्न सफल भएको थियो ।

१० वैशाख २०८० मा चितवन–२, तनहुँ–१ र बारा–२ मा भएको उपनिर्वाचनको ठीक ३७० दिन पछि १५ वैशाख २०८१ मा इलाम–२ र बझाङ प्रदेश सभा (१) मा निर्वाचन भयो ।

अघिल्लो वैशाखमा उपनिर्वाचन हुँदा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सत्तामा थियो । यसपटक कांग्रेस सत्ता बाहिर रहेर उपनिर्वाचनमा प्रतिस्पर्धा गर्‍यो । तर, अघिल्लो पटक सत्ता बाहिर रहेर उपनिर्वाचनमा चुनावी मैदानमा उत्रिएको रास्वपा यसपटक सत्तामा पुगेर उपनिर्वाचन लड्यो ।

सत्ता बाहिर रहेर चुनाव लड्दा संसद्को चौथो दल रास्वपाले सिट बढायो । पार्टी सभापति रवि लामिछानेले दोस्रोपटक उम्मेदवार हुँदा मतान्तर झनै बढाए । अर्कोतर्फ, कांग्रेस परित्याग गरेर तनहुँमा रास्वपाबाट उम्मेदवार बनेका स्वर्णिम वाग्ले निर्वाचित भए ।

राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित स्थान नै कांग्रेसले गुमाउने हुँदा रास्वपाले एक सिट बढायो । चितवन र तनहुँको उपनिर्वाचनमा कांग्रेस उम्मेदवारले दोस्रो स्थानको मत ल्याए । ठूला दलका उम्मेदवारलाई हराएर लामिछाने र वाग्लेले जित्दा रास्वपाको उचाइ ह्वात्तै बढ्यो । प्रत्यक्षमा बागमतीमा मात्रै जितेको रास्वपाको जितको विस्तार गण्डकीसम्म पुग्यो । रास्वपामा उत्साह र ऊर्जा उत्तिकै देखिन्थ्यो ।

तनहुँमा जितेको स्थान गुमाउँदा कांग्रेसमा चरम निराशा उत्पन्न भयो । सिट जोगाउन नसकेको भन्दै पार्टीभित्र आरोप प्रत्यारोप चल्यो । नयाँ दल र कांग्रेसबाट नै गएका व्यक्तिले फराकिलो मतान्तरले जित्दा कार्यकर्तामा नैराश्य पैदा भएको थियो । तनहुँ–१ मा प्रत्यक्षमा जित्न नसके पनि कांग्रेसले पार्टीले समानुपातिकतर्फ पाएको मत भने बचाएको नै देखिन्थ्यो ।

कांग्रेसमा एक वर्ष अघि देखिएको निराशा ठ्याक्कै त्यही शैलीमा यसपटक वैकल्पिक दलका रूपमा उदाएको रास्वपामा सरेको छ । पार्टीको सिंगो शक्ति खन्याउँदा पनि आशानुरुप नतिजा निकाल्न नसकेपछि रास्वपाभित्र निराशा देखिएको छ ।

अघिल्लो वर्षको उपनिर्वाचनमा कांग्रेसले तनहुँमा जुन रूपमा पार्टीको बल खन्याएको थियो । रास्वपाले इलाममा त्यही प्रवृत्ति देखाएको थियो ।

पार्टीले आशा जगाउने कार्य नगरेकाले मतदातामा अन्योल बढेको रास्वपा महामन्त्री मुकुल ढकाल बताउँछन् । आशा जगाउने काम नगरे निराशा बढ्छ । निराशा चिर्नको लागि पार्टीमा सुधारका कार्य गर्नुपर्ने छ,’ ढकालले भने । इलाममा रास्वपा चौथो शक्ति बन्यो । चुनावी प्रचारमा क्रममा रास्वपाले जित्ने दाबी नेताहरूले गर्दै आएका थिए । तर, अनौपचारिक संवादमा भने पराजित भए पनि सम्मानजनक मत ल्याउने बताउँदै आएका थिए । रास्वपा नेताहरूका अनुसार उनीहरूका लागि प्राप्त मत सन्तोषजनक होइन ।

उपनिर्वाचनमा प्राप्त मत परिणामबाट सन्तुष्ट हुन नसकेको रास्वपाले हालसम्मको कार्यशैलीमा पुनर्विचार गर्ने निर्णय लिएको छ । सचिवालयको बैठकले पार्टी स्थापनाको दिनदेखिको आत्मसमीक्षा गर्ने निर्णय गरेको छ ।

‘के कति सहि गर्यौं, के कति गलत गर्यौं, पार्टीमा गर्नुपर्ने सुधारहरू के के हुनसक्छन्,’ सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘आगामी कार्यदिशा के हुने लगायत एकपटक पार्टीलाई सम्पूर्णरूपमा रिभ्यु गर्ने निर्णय गरियो ।’

रास्वपा नेताहरूका अनुसार प्राप्त परिणाम अपेक्षित नभएका कारणले नै विगतका शैलीको पुनरावलोकन गर्ने निर्णय भएको हो । पार्टीले अवलम्बन गरिएको शैलीका सन्दर्भमा कार्यकर्ता र शुभेच्छुकको प्रतिक्रिया बुझेर मात्रै भावी कार्यदिशा तय गर्ने रास्वपाले जनाएको छ ।

चुनावी समीक्षा विस्तारित रूपमा गर्नेगरी २९ वैशाखका लागि तोकिएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ । मंगलबार बसेको संसदीय दलको बैठकले उप निर्वाचनको समीक्षा छुट्टै गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

‘तलदेखिको फिडब्याक लिएर आएपछि केन्द्रीय समितिको बैठक बस्छ । होमवर्क गरेर मात्रै बैठक बसौं भन्ने भएर बैठक स्थगित गरिएको हो,’ महामन्त्री ढकालले भने । पार्टीका केन्द्रीय सदस्य, साधारण सदस्य, शुभेच्छुक, विज्ञ लगायतसँग छलफल गरेर सुझाव प्रतिवेदन तयार गर्न महामन्त्री ढकाललाई जिम्मेवारी दिइएको छ । १ असारसम्म प्रतिवेदन तयार गरे लगत्तै केन्द्रीय समितिको बैठक बस्ने ढकालले जानकारी गराए ।

उपनिर्वाचनलाई जुन स्तरको महत्व दिइयो त्यस अनुसार परिणाम नआएको स्वीकारोक्ति रास्वपामा छ । पदाधिकारी, मन्त्री, केन्द्रीय सदस्य लगायत ठूलो पङ्क्ति इलामको चुनावी प्रचारमा खटिएको थियो । अपेक्षा गरेभन्दा निकै कम मत आउँदा कार्यकर्ता र शुभेच्छुकमा निराशा देखिएको केन्द्रीय सदस्य गणेश पराजुली स्वीकार्छन् । संगठित कार्यकर्ताको संख्याभन्दा शुभेच्छुकको संख्या उल्लेख्य रहेकाले उनीहरूमा निराशा देखिन गएको पराजुली बताउँछन् ।

‘निर्वाचनका धेरै पाटा हुन्छन् । कतिपयमा हामी चुक्यौं होला । रणनीति र सही योजना बनाउन सकेनौं होला,’ पराजुलीले भने, ‘राजनीतिमा नभिजेका साथीहरू थुप्रै जोडिनुभएको छ । अपेक्षा सबै कुरामा धेरै हुन्छ । अपेक्षा अनुसारको परिणाम नदेखिंदा जनतामा असन्तुष्टि हुनसक्छ ।’

अघिल्लो वर्षको उपनिर्वाचनमा कांग्रेसले तनहुँमा जुन रूपमा पार्टीको बल खन्याएको थियो । रास्वपाले इलाममा त्यही प्रवृत्ति देखाएको थियो । सभापति शेरबहादुर देउवा, शीर्ष तहका नेता, केन्द्रीय सदस्य, भ्रातृ संस्थाका पदाधिकारी, कार्यकर्ता लगायतको ठूलो शक्ति तनहुँमा पुगेका थिए । कांग्रेसले सम्पूर्ण शक्ति लगाउँदा तनहुँमा दोस्रो स्थान ल्याउँदा रास्वपाले इलाममा चौथो स्थानमा चित्त बुझाउन पर्‍यो । सिंगो पार्टी लाग्दा पनि अपेक्षित परिणाम दिन नसक्दा निराशा बढ्न पुगेको सांसद समेत रहेका पराजुली बताउँछन् ।

इलाम उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बु ।

पार्टीले गर्नुपर्ने अनेक कार्यहरू हुँदाहुँदै इलामलाई अस्वभाविक महत्व दिइएको केन्द्रीय सदस्य गणेश गणेश कार्की बताउँछन् । ‘अरू यत्रा विधि काम हुँदाहुँदै संसार नै इलाम २ मा मात्रै छ जस्तो गर्नु हुन्न, हुन्थेन,’ कार्की भन्छन्, ‘मुख्यतः आफुले नै खराब भनेकासँगै अंगालो मारेर हिंडेपछि छान्नेले बरू खराबै छान्छ, ढोंगी हो कि भन्ने शंकामा खराब भन्दै फेरि तिसँगै हिंड्नेहरूलाई जति नै असल भए पनि छान्दैन ।’

कार्यकर्ता र शुभेच्छुकले रास्वपासँग गरेको अपेक्षाअनुसार परिणाम दिन नसक्दा पनि निराशा बढेको विश्लेषण पार्टीभित्र भएको छ । रास्वपा नयाँ गठबन्धनमा राम्रा भनिएका र रोजेका चार मन्त्रालय प्राप्त गरेको छ । मन्त्रालय सम्हालेको दुई महिना बितेको छ । जनअपेक्षा अनुसार डेलिभरी गर्न नसक्दा शुभेच्छुकहरू टाढिने चिन्ता रास्वपामा छ ।

सरकारमा सहभागी नभएको भए योभन्दा बढी मत आउन सक्ने अवस्था हुने सहमहामन्त्री कविन्द्र बुर्लाकोटी बताउँछन् । पार्टीको संगठन कतिपय स्थानमा नहुँदा रास्वपाले सम्हालेका मन्त्रालयको प्रचार तल्लो तहमा हुन नसकेको बुर्लाकोटीको बुझाइ छ ।

पार्टी सञ्चालनको शैलीले नेता कार्यकर्ता बाहिरिने चिन्ता पनि छ । अघिल्लो उपनिर्वाचनमा घण्टीबाट बारामा उम्मेदवार बनेका रमेश खरेलले रास्वपा छोडिसकेका छन् । ४ मंसिर २०७९ मा इलाम–२ मा उम्मेदवार बनेका प्रकाश सापकोटाले इलाम संयोजकको पद त्यागेका छन् । कोशी प्रदेशले जिम्मेवारी हेरफेर गर्ने निर्णय भएपछि सापकोटाले सामाजिक सञ्जालबाट पद त्यागेको सार्वजनिक भएको कोशीका रास्वपा महामन्त्री कमलबाबु मैनालीले जानकारी गराए ।

कर्णाली प्रदेश समिति भंग गरिएको छ । केन्द्रीय तहबाट कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने भनिए पनि गतिविधिले तीव्रता पाउन सकेको छैन ।

दुई वर्षे उमेर पार गर्नै लाग्दा उस्तै ऊर्जा र उत्साह कार्यकर्ता र शुभेच्छुकमा देखिंदैन ।

सुशासनको मुद्दा लिएर जन्मेको दलमा सुशासन कमजोर हुँदा नागरिक तहबाट प्रश्न उठ्न थालेको रास्वपा नेताहरू स्वीकार्छन् । पुराना दलले जुन प्रवृत्ति देखाए त्यसलाई नदोहोर्‍याउने प्रतिवद्दता गरेको दल उनीहरू जस्तै देखिने भय रास्वपाभित्र छ ।

सहकारीको रकम अपचलनमा संसदीय छानबिन समितिको विपक्षमा रास्वपा छ । तर, पार्टीभित्र पनि छानबिन समितिको वकालत गर्नेहरू छन् । सुन प्रकरणमा छानबिन समिति बनाउने सभापतिको बोलीमा सिंगो पार्टी एकढिक्का देखिएको सुनाउँदै केन्द्रीय सदस्य कार्की भन्छन्,‘संसदीय समिति हाम्रो विरुद्धमा हो भन्ने कुरा भ्रामक कुरा हो । कसैलाई हाम्रो विरुद्धमा हो भन्ने लाग्छ भने सभापतिकै केही अगाडिको कुरासँग त्यो बाझिन्छ ।’

आगामी असारमा रास्वपा दुई वर्षको हुँदैछ । २०७९ सालको असारमा जन्मेको दलले स्थापना भएको पाँच महिनामा २० जनाको शक्तिसहित संसद्‌मा प्रवेश गरेको थियो । अघिल्लो उपनिर्वाचनमा एक सिट बढायो । त्यसले रास्वपामा थप ऊर्जा र उत्साह पैदा गर्‍यो ।

दुई वर्षे उमेर पार गर्नै लाग्दा उस्तै ऊर्जा र उत्साह कार्यकर्ता र शुभेच्छुकमा देखिंदैन । एक क्षेत्रको पराजयले पार्टीले शिक्षा दिएको केन्द्रीय सदस्य पराजुली बताउँछन् ।

‘१६५ मध्ये एउटा निर्वाचनमा हार व्यहोरेको हो । सबै क्षेत्रमा जितिन्छ भन्ने पनि हुँदैन । हामीलाई प्रशस्तै समय हुँदा नै इलामले सचेत हुन घण्टी बजाइदिएको छ,’ पराजुलीले भने, ‘चुकेका कुरालाई सुधार्दै अघि बढ्न समय दिएकाले मैले त यो नतिजालाई सकारात्मक रूपमा लिएको छु ।’ रास्वपा गठनको बेला अपनाइएको तौरतरिकाले नहुने र फरकधारबाट सोच्ने अवस्थामा पार्टीलाई पुर्‍याइदिएको पराजुलीले बताए ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?