+
+

राष्ट्रपतिका सल्लाहकार नेपालको अभिव्यक्तिमाथि संसद्‌मा उठ्यो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १४:५९
राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाल ।

२८ वैशाख, काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालको अभिव्यक्तिमाथि प्रश्न उठेको छ ।

शुक्रबार बसेको बैठकमा नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन् । उनले भने, ‘नेपालको नोटमा नेपालको नक्सा छाप्दा टाउको दुखाइ किन ?’

यस्तो विषयमा राष्ट्रपतिका सल्लाहकारले नकारात्मक अभिव्यक्ति दिनु गम्भीर विषय भएको उनले बताए ।

‘राष्ट्रपतिका विज्ञ सदस्यज्यूले नोटमा नयाँ नक्सा राख्दा अर्को देशलाई चिढ्याउने कुरा भयो भनेर प्रतिक्रिया दिनुभयो भन्ने सुनें’ सांसद दाहालले थपे, ‘हाम्रो देशको नोटमा हाम्रो देशको नक्सा छाप्दा अर्को देश चिढिनुपर्ने कारण के थियो ? उहाँले कुन आशयबाट त्यो भन्नुभएको हो ?’

सांसद दाहालले राष्ट्रपतिलाई नै कस्तो विज्ञ सदस्य राखेको भनेर प्रश्न गरे । ‘म राष्ट्रपति कार्यालयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । कस्ता विज्ञ सदस्य राष्ट्रपतिले राख्नुभएको हो,’ सांसद दाहालले भने ।

वैशाख २१ गते बसेको मन्त्रिपरिषदको बैठकले १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन परिमार्जन गर्न स्वीकृति दिएको थियो ।

नयाँ नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको छ । यी क्षेत्र समेटिएको नक्सा नोटमा राख्ने निर्णय सार्वजनिक भएपछि राष्ट्रपति पौडेलका आर्थिक सल्लाहकार नेपालले एउटा अनलाइनलाई प्रतिक्रिया दिंदै सरकारको निर्णय अपरिपक्क रहेको प्रतिक्रिया दिएका थिए । त्यसपछि उनको प्रतिक्रिया विवादमा परेको छ ।

राष्ट्रपतिका सल्लाहकार नेपालको प्रतिक्रियाको विरोध गर्दै नागरिक अगुवाहरूले समेत वक्तव्य निकालेका छन् ।

पूर्वमन्त्री एवं भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, मानव अधिकार आयोगका पूर्वसदस्य सुशील प्याकुरेल र पत्रकार र लेखक कनकमणि दीक्षितले गत बुधबार वक्तव्य निकालेर राष्ट्रपतिका सल्लाहकार नेपालको अभिव्यक्तिले संवैधानिक राष्ट्र प्रमुखको पनि अपमान भएको बताएका थिए ।

शुक्रबारबाट संघीय संसद्को बर्खे अधिवेशन सुरु भएको छ । अधिवेशन सुरु भएकै दिन राष्ट्रिय सभामा समेत राष्ट्रपति पौडेलका आर्थिक सल्लाहकार नेपालको अभिव्यक्तिमाथि प्रश्न उठेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?