+
+

‘मनसरा’ शुक्रबारदेखि २५ अमेरिकी सहरमा रिलिज, पहिलो साता २५० शो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते २१:२४

काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’ शुक्रबारदेखि २५ अमेरिकी सहरमा रिलिज भएको छ । नेपाल प्रदर्शनको एक सातापछि अमेरिकी डायस्पोराका दर्शकले यो फिल्म हेर्न पाउने भएका हुन् ।

नेपाल एलेभेन इन्टरटेनमेन्टको सहकार्यमा सेभेन सिज इन्टरटेनमेन्टले यो सोसल-ड्रामा फिल्मलाई अमेरिकाभर प्रदर्शनमा ल्याएको हो । पहिलो साता २५ भन्दा बढी लोकेसनमा २५० शोजसहित फिल्म प्रदर्शन हुनेछ ।

‘शुक्रबारदेखि मनसरा अमेरिकामा रिलिज हुँदैछ । नेपाली फिल्मप्रेमी दर्शकलाई यो महत्वपूर्ण क्षण हो’ सेभेन सिजका प्याट्रिक सुवेदीले भने ।

पूर्वको न्यूयोर्कदेखि पश्चिमको क्यालिफोर्नियासम्मका सहरमा फिल्म प्रदर्शनमा आएको जनाइएको छ । डेनभर, फिनिक्स, बोस्टन, हुकसेट, हार्टफोर्डसहितका २५ भन्दा बढी लोकेसनमा फिल्म रिलिज भएको जनाइएको छ ।

न्यूयोर्क राज्यका ३२ शोमध्ये न्यूयोर्क सहरमा मात्रै १७ शो तय छन् । बाल्टिमोर, फेयरफ्याक्स भर्जिनिया, रलेगमा पनि शो तय छन् । नर्थ क्यारोलिनाको ग्रीन्सबोरोमा यो फिल्म दोस्रो साता प्रदर्शनरत छ ।

बेडफोर्ड र राउण्ड रकसहित टेक्ससको ड्यालसमा यो फिल्म दोस्रो सातामा स्क्रिनिङ हुँदैछ । क्यालिफोर्निया राज्यका दर्शकले सनफ्रान्सिस्को र हलिउडको लस–एन्जलसमा ५० भन्दा शोसहित फिल्म हेर्न पाउनेछन् ।

ओहायो राज्यमा १०० शो तय छन् । राज्यका मिलफोर्ड, पिकरिङ्टन, मेफिल्ड हाइट्स, कुयाहोगा फल्समा पनि नेपालीभाषी दर्शकले फिल्म हेर्न सक्नेछन् ।

यसबाहेक ओमाहा, नेब्रास्का, सेन्ट लुइस, मिजौरी, एपेलटोन, विसकन्सिन, फार्गो, नर्थ डाकोटा, ओकडेल, मिनेसोटा पनि फिल्म रिलिज हुने उल्लेख छ ।

अमेरिकामा रहेका नेपाली दर्शकले २ घण्टा २० मिनेट लामो रनटाइमको यो फिल्मलाई अंग्रेजी सबटाइटलमा हेर्न पाउनेछन् । निर्देशक सुब्बाको अघिल्लो फिल्म ‘जारी’ले अमेरिकी बक्सअफिसमा उछाल कमाइ गरेको थियो ।

अमेरिकामा दर्शकले ‘मनसरा’को टिकट हलको वेबसाइट र फ्यानडांगोमार्फत किन्न सक्नेछन् । प्रवीण खतिवडा, मिरुना मगर, मेनुका प्रधान, दयाहाङ राई स्टारर यो फिल्मले नेपालमा पहिलो साता ३ करोडभन्दा बढी कमाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?