+
+

चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी पर्यटक घटे, विदेशी बढे

पर्यटकको संख्या बढ्दा राजश्व पनि बढयो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते ९:१५

३१, वैशाख, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २ लाख ७२ हजार ९ सय ४२ पर्यटकले अवलोकन भ्रमण गरेका छन् ।

निकुञ्जले दिएको जानकारी अनुसार जेठ र असार महिना बाँकी छँदा निकुञ्जमा गत वर्षभन्दा करिब ९ हजार जनाभन्दा बढी पर्यटक आएका छन् । गत वर्ष यही अवधिमा निकुञ्जमा २ लाख ६३ हजार ८०६ जना पर्यटक आएका थिए ।

गत वर्ष पछिल्लो १० वर्षमा सबैभन्दा धेरै पर्यटक निकुञ्ज घुम्न आएका थिए । चालु वर्षमा पर्यटकको संख्यामा सामान्य वृद्धि भए पनि राजश्व संकलन भने ह्वात्तै बढेको निकुञ्जले उपलब्ध गराएको तथ्यांकमा देखिन्छ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म निकुञ्जले ३१ करोड ५७ लाख १३ हजार १ सय ७१ रुपैयाँ राजश्व संकलन गरेको छ । जबकी गत वर्ष यही अवधिमा निकुञ्जले २४ करोड ४९ लाख ४६ हजार ८६० रूपैयाँ राजश्व संकलन गरेको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा १ लाख ८७ हजार १०९ पर्यटक मात्रै आउँदा निकुञ्जको राजश्व २९ करोड ४४ लाख ६६ हजार ६३९ पुगेको थियो । निकुञ्जले काठ दाउरा बिक्री, गैरकाष्ठ वन पैदावार बिक्री, पर्यापर्यटन, दण्ड सजाय तथा अन्य शीर्षकबाट राजश्व उठाउँदै आएको छ ।

चालु आर्थिक वर्षमा सबैभन्दा धेरै पर्यापर्यटनबाट २६ करोड ७१ लाख ५३ हजार ५० रुपैयाँ र गैरकाठ तथा वनपैदावार बिक्रीबाट ३ करोड ४० लाख ८२ हजार ३ सय ९५ राजश्व उठेको छ ।

काठ दाउरा बिक्रीबाट चालु वर्षको वैशाखसम्म ११ करोड ८० लाख ६ हजार ८ सय ५ रुपैयाँ राजश्व संकलन भएको छ । निकुञ्ज भित्र जिपमा मात्रै पर्यटकहरू घुम्ने गरेका छन् । निकुञ्जभित्र हात्ती लैजान रोक लगाइएको छ । प्रतिजिपको निकुञ्जले ५ हजार शुल्क लिने गर्दछ ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा नेपाली पर्यटकसँग प्रति व्यक्ति १५० रुपैयाँ, सार्क देशका पर्यटकसँग १ हजार र विदेशी पर्यटकसँग २ हजार रुपैयाँ शुल्क लिने गरिन्छ ।

निकुञ्जमा सबैभन्दा धेरै कार्तिक महिनामा ४८ हजार ८ सय ९५, मंसिरमा ३८ हजार ५ सय २७, पुसमा ३७ हजार २ सय ५२ पर्यटक भ्रमणमा लागि आएका थिए । निकुञ्जमा १ लाख ६१ हजार ८ सय २७ नेपाली, २६ हजार ४ सय ६१ जना सार्क मूलुक र ८४ हजार ६ सय ५४ तेस्रो मूलुकका पर्यटक निकुञ्ज घुम्न आएका थिए ।

यस वर्ष गत वर्षको तुलनामा नेपाली र सार्क देशका पर्यटकको संख्या घटेको छ भने, तेस्रो देशका पर्यटकको संख्या बढेको छ । गत वर्षकोभन्दा चालु वर्ष तेस्रो देशका पर्यटकको संख्या बढ्दा राजश्व बढेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।

विदेशी पर्यटक बढे

तिवारीले नेपाली र सार्क देशका पर्यटकको संख्या घट्दा पनि राजश्व उल्लेख्य मात्रामा बढ्नुमा विदेशी पर्यटकको संख्यामा भएको उल्लेख्य वृद्धिले काम गरेको बताए । उनले कोभिडपछि नेपालीहरु घुम्न निस्केको तर पछिल्ला दिनहरुमा आर्थिक समस्याले गर्दा घुम्ने काममा कमी आएको हुन सक्ने बताए ।

तिवारीले प्रचारप्रसारको अभावमा छिमेकी सार्क राष्ट्रबाटै कम संख्यामा पर्यटक आएको बताए । निकुञ्जमा दैनिक ६० वटा जीपले पर्यटकलाई घुमाउन लैजाने बताए । बिहान ३० र दिउँसो ३० वटा जीपलाई मात्रै निकुञ्ज घुम्ने अनुमति दिने गरिएको छ ।

प्रायजसो निकुञ्जको पश्चिम सेक्टरमा मात्रै जीपहरु लैजाने गर्दा भिडभाड बढ्ने र त्यसले संरक्षणमा समस्या पार्न सक्ने भएकोले बढि जीपलाई निकुञ्ज भित्र जान नदिइएको बताए ।

निकुञ्जले थप जीप लैजान दिन र भिडभाडलाई कम गराउन निकुञ्जको पूर्वतर्फ पनि जीप सफारीका लागि ट्रयाकहरु बनाउने कामलाई अगाडि बढाएको सूचना अधिकारी तिवारीले बताए ।

चालु आर्थिक वर्षको २ महिना बाँकी रहँदा अझै पर्यटक र राजश्व बढ्ने अपेक्षा गरिएको उनले बताए ।
पछिल्लो १० वर्षमा सबैभन्दा कम आर्थिक वर्ष २०७२/०७३ मा ८७ हजार ३ सय ९१ र कोरोना भाइरसको महामारी फैलिएको आर्थिक वर्ष २०७७/७८ मा ९८ हजार २ सय २८ पर्यटकले निकुञ्ज घुमेका थिए ।

चितवनमा मुख्य रुपमा निकुञ्जभित्र रहेका दुर्लभ वन्यजन्तु बाघ, गैंडा जस्ता जनावर हेर्न, राप्ती नदीमा डुंगा सयर गर्न र थारु संस्कृति हेर्न पर्यटक आउने गर्दछन् । पर्यटकहरू हात्ती, जिप, पैदल, डुंगाबाट निकुञ्ज र मध्यवर्ती क्षेत्रमा घुम्ने गर्दछन् । यसरी घुम्ने पर्यटकले टिकट काट्नु पर्दछ ।

जिल्लाका सौराहा, मेघौली, पटिहानी, माडी, देवघाट, सिराईचुली लगायतका स्थानमा स्वदेशी तथा विदेशी पर्यटकहरु बढी आउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?