+
+

सिरोहिया पक्राउमा निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १० गते १३:२४

१० जेठ, काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका प्रकाशक कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको घटनाप्रति निजी क्षेत्रले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सिरोहिया पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा हामी सबै स्पष्ट छौं । तर, कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्ने तर्फ हामी ध्यानाकर्षण गराउन चाहन्छौं,’ निजी क्षेत्रले जारी गरेको विज्ञप्तिमा छ ।

उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरूका कुरा सुनिदिनुपर्ने निजी क्षेत्रको माग छ ।

थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्नु पर्ने माग निजी क्षेत्रको छ ।

‘सर्वविदितै छ कि मुलुक अहिले आर्थिक संकटको अवस्थाबाट माथि उठिसकेको छैन । अर्थतन्त्रको सुधारका लागि सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट भर्खरै लगानी सम्मेलन आयोजना गरी नेपालमा अनुकूल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्तालाई आग्रह पनि गरिएको छ । यस अवस्थामा कहीँ कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिनु हुदैन भन्ने हाम्रो सुझाव रहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

कुनै पनि व्यवसायीको मान मर्दन गरेर तथा उनीहरुलाई हतोत्साही गरेर लगानीको वातावरण बन्न नसक्ने निजी क्षेत्रको भनाइ छ ।

‘अहिले देशभित्रका साना देखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता छ । उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नु पर्दछ । देशभित्र व्यावसायिक वातावरण खल्बलाउने काम कहीँ कतैबाट पनि नहोस् भन्ने तर्फ हामी सबैको पुनः ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?