+
+

म्याग्दीका निस्कोट र छिस्बाङ पक्की पुलले सडक सञ्जालमा जोडिए

रासस रासस
२०८१ जेठ १३ गते ८:०३

१३ जेठ, म्याग्दी । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ सडक सञ्जालमा जोडिएका छन् ।

पक्की पुलले मालिका गाउँपालिका–१ मा पर्ने निस्कोट र मङ्गला गाउँपालिकाको -५ मा पर्ने छिसबाङलाई दरबाङसँग जोडेपछि यहाँका पाँच हजार बढी जनता लाभान्वित हुनुका साथै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजार पुर्‍याउन सहज भएको छ ।

२०७७ साउन ४ गते ४ करोड ४५ लाख ८१ हजार रुपैयाँमा पूर्वाधार विकास कार्यालयले प्रदीप जुम्ली जेभीसँग ४० मिटर लामो पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । उक्त योजनाअन्तर्गत ‘स्टिल ट्रस’ प्रविधिको मोटरेबल पुल निर्माण भएर सञ्चालनमा आएको कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले बताए ।

पुल निर्माणपछि मालिका गाउँपालिका–१ निस्कोट, २ रुमका साथै मङ्गला गाउँपालिका–५ का छिसबाङ, टिकबाङ र छिमेकी जिल्ला बागलुङको ताराखोलाका सर्वसाधारण लाभान्वित भएका मालिका गाउँपालिका–१ का वडाध्यक्ष टङ्कप्रसाद पुनले बताए । उनका अनुसार पुल निर्माणसँगै निस्कोटबाट मङ्गलाको टिकबाङ–रुम–बागलुङको ताराखोला–खोप्टी–छिसबाङसम्म सडक सञ्जाल विस्तार भएको छ ।

‘चौध वर्षअघि सडक पुगेको निस्कोट म्याग्दी नदीमाथि पक्की पुल नहुँदा पालिकाको केन्द्र दरबाङ यातायात सेवाबाट विच्छेद थियो । हिउँदमा नदीबाट नै जोखिमपूर्ण यात्रा गरे पनि वर्षामा समस्या हुने गरेको थियो, छ्यारछ्यारेमा पुल बनेपछि सिङ्गो वडामा बाह्रै महिना यातायात सम्पर्क स्थापित भएको छ’, अध्यक्ष पुनले भने ।

पुल बनेपछि निकै सहज भएको र नदीमा हेलिएर वारपार गर्नुपर्ने समस्या हटेको मङ्गला–५ छिसबाङका विकल सेनले बताए । उनले भने, ‘स्थानीयले उत्पादन गरेका तरकारी, फलफूल, कृषि उपज र दुग्धजन्य पदार्थको बजारीकरणमा पनि पुलले निकै भएको छ ।’

त्यसैगरी मालिका गाउँपालिका–१ निस्कोटका रामबहादुर पुनले पनि आफूले उत्पादन गरेको तरकारी र सुन्तला बिक्रीका लागि पुल बनेपछि निकै सजिलो भएको बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?