+
+
वार्ता : घनश्याम भुसाल :

‘को नेता हुने भन्नेबारे पार्टीमा छलफल गराैं भनेर नेताहरुलाई भनिसकेको छु’

समृद्ध नेपाल सुखी नेपाली केपी ओलीको परिकल्पना होइन । नवौं महाधिवेशनको दस्तावेज हेर्नुस्, त्यो हामीले लेखेको हो । यस अर्थमा हामीले उठाएका मुद्दाहरू स्थापित भएका छन् सबै पार्टीहरूमा ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते २०:१८

नेकपा एकीकृत समाजवादीले पार्टी स्थापनाको तीन वर्षपछि पहिलो पटक महाधिवेशन गर्दैछ, जसलाई नेपालका कम्युनिस्ट पार्टीहरूको चलनचल्तीको परम्परा पछ्याउँदै दशौं महाधिवेशन भनी नाम दिइएको छ । पार्टीका महासचिव घनश्याम भुसाल त्यसको अध्यक्ष पदमा लड्ने तयारीमा देखिन्छन् ।

नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालको दाबेदारी बीच महासचिव भुसालको नाम पनि चर्चामा आइरहेको छ । अनलाइनखबरका लागि बसन्त बस्नेतसँग कुरा गर्ने क्रममा भुसालले आफ्नो दाबी परोक्ष रूपमा पेश गरे :

नयाँ पार्टीको पहिलो महाधिवेशन हुनुपर्ने, तपाईंहरू दशौं महाधिवेशन पो गर्दै हुनुहुन्छ ?

कम्युनिस्ट पार्टीमा स्वाभाविक हो । २००६ सालमा गठन भएको नेकपाको निरन्तरताको रूपमा हामीले पार्टीलाई लिने गरेका छौं । २०४६ मा चौथो महाधिवेशन गर्दा पनि त्यही नेपाल कम्युनिस्ट पार्टीकै उत्तराधिकारी भनेर मानेका थियौं ।

अब यसभन्दा पछि कुनै कम्युुनिस्ट पार्टी जन्मे भने पनि पहिलेकै  जन्ममिति राख्ने ?

एक किसिमले यो वंशावली जस्तै हो भनौं । हामीले परम्पराका रूपमा यो तरिकालाई मानेका छौं ।

यो वंशावलीमा पुस्तान्तरण कहिले हुन्छ ?

कम्युनिस्ट आन्दोलन मात्रै होइन, समग्र नेपाली राजनीतिमै के छ भने एकपटक माथि पुगेपछि छोड्दै नछाड्ने । यो नियम जस्तै बन्न गएको छ । कि त अरू षड्यन्त्रबाट हटाइनुपर्‍यो । नत्र सहज लोकतान्त्रिक बाटोबाट कोही हट्न नचाहँदो रहेछ । कांग्रेस, मधेशवादी लगायतमा पनि कम्युनिस्टकै जस्तो समस्या छ ।

तपाईंहरू के गर्नुहुन्छ यो महाधिवेशनमा ?

भर्खरै दस्तावेज लेखनको काम सिध्याएका छौं । यो लामो प्रक्रिया थियो । केही विवाद पनि थिए । मूलभूत प्रश्नमा पनि विभिन्न कोणबाट नेताहरूले बोल्ने काम हुने गथ्र्यो । त्यसलाई एकरूपता दिने कार्यभार अढाइ महिनाजति लगाएर सिध्यायौं । दस्तावेजको काम सकेर अब नेतृत्वको प्रश्नमा छलफल गर्ने बेला आएको छ ।

महाधिवेशन आउन दुई हप्ता समय पनि बाँकी छैन, कहिले गर्ने नेतृत्वको बहस ?

पहिलेदेखि नै खासमा नेतृत्वको बहस चलिरहेको छ । हामीले उम्मेदवारी घोषणा गरेपछि मात्रै नेतृत्व चुन्ने बेला आएछ भनी मान्ने कुरा होइन यो । को नेता हुने भन्नेबारे पार्टीमा औपचारिक छलफल नै हुनुपर्छ । मैले यो कुरा नेताहरूलाई पनि भनिसकेको छु ।

उहाँहरूले के जवाफ दिनुभयो त ?

उहाँहरूले ठिक हो भन्नुभयो । एक दिनको एउटा बैठक एजेन्डामा केन्द्रित भएर गर्‍यौं भने मुलुकको कम्युनिस्ट आन्दोलन, उपलब्धि र क्षति, आगामी पार्टी निर्माण कस्तो हुने भन्ने छलफलले टुंगो लगाउँछ ।

एकैदिनमा कसरी टुंगिन्छ ?

मूलभूत रूपमा टुंगिन्छ । विचार, सिद्धान्त, संगठनका हिसाबले बन्नुपर्ने पार्टी यो हो, त्यसका लागि को कमरेड उपयुक्त हुनुहुन्छ भनी खुलस्त कुरा हुन्छ । या त एक जनामा सहमति हुन्छ, या त प्रतिस्पर्धामा जाने सहमतिमा टुंगो लाग्छ ।

माधवकुमार नेपालले समझदारीबाट नेता टुंगो लगाउने भन्नुभएको छ । झलनाथ खनालले नेतृत्व परिवर्तन गर्नेमा समझदारी भए ठिकै छ, नत्र चुनाव अपरिहार्य छ भन्नुभएको छ । यस्तोमा कसरी सहमति हुन्छ ?

दुवै नेताले भनेको कुरा गलत होइन । सहमतिमै प्रतिस्पर्धा गर्ने वा प्रतिस्पर्धा नगर्ने सहमति गरेर नेतृत्व निर्माण गर्ने कुरा नै हो । मैले यथास्थिति, सन्नाटा, निराशा र विघटनको कुरा गर्ने गरेको छु, जसले कम्युनिस्ट आन्दोलनलाई सिध्याउन सक्छ । यो सन्नाटा र यथास्थितिको अवस्था चिर्दै समाजवादी दिशा दिन विचार, संगठन र कार्यशैलीका आधारमा कस्तो पार्टी बनाउनुपर्छ भन्ने छलफल हुने बेलामा म सक्रिय सहभागी हुन्छु ।

त्यसरी सहभागी हुने क्रममा तपाईंले म अब अध्यक्ष बनेर पार्टीको नेतृत्व गर्न सक्छु भन्ने छलफल पनि लैजान सक्ने सम्भावना छ ?

त्यो छलफलमा मैलेभन्दा राम्रो योजना कमरेडहरूले पेश गर्नुभयो भने मैले समर्थन गर्नुपर्छ । जेएन कमरेड र माधव कमरेड वा मेरो मात्रै किन, अरू कमरेड पनि आउन सक्नुहुन्छ । हामीले त्यो छलफलमा आफ्ना दृष्टिकोण राख्नेछौं । जसले सबभन्दा राम्रो दृष्टिकोण राख्छ, त्यो कमरेडलाई अघि बढाउनु हामी सबैको दायित्व हुन्छ ।

तर नेतृत्वमा खडा हुनका लागि जुन मनस्थिति चाहिन्छ, त्यो मनस्थिति तपाईंभित्र तयार छ त ?

मेरो मनस्थितिको कुरा गर्दा नवौं महाधिवेशनपछि विचारका हिसाबले म र मेरो समूह अघि बढोस् भनेर धेरै कमरेडले त्यसबेला कुरा गर्नुभएकै थियो । २०६२–६३ सालअघिको राजनीतिक सन्नाटामा नेतृत्वको नालायकी हेर्ने हो भने नयाँ पुस्तामा जानुपर्छ भने देशव्यापी जबर्जस्त छलफल थियो । त्यसबेला हामी बिल्कुलै नयाँ धारणाका साथ आठौं महाधिवेशनमा बुटवल जाँदै थियौं । तर त्यसबेला मलाई लाग्यो– भर्खरै त विचार ल्याउँदैछौं, अहिले यसलाई विकास गरौं, नेतृत्वमा नभिडौं ।

पछि नवौं महाधिवेशनमा जाने बेला झलनाथ खनाल कमरेड बिरामी पर्नुभयो । अबको नेतृत्व के गर्ने भन्ने छलफल हुँदा २०६२–६३ को परिवर्तनलाई हिजोका हाम्रा जडताहरूको आधारमा होइन, उचित मूल्यांकन हुनुपर्छ भन्नेमा हामी ठिक थियौं । त्यसै अनुसार आगामी कार्यदिशा बनाउनुपर्छ भन्ने पनि मानेका थियौं । आठौं महाधिवेशनमा हामी केटा भनिएकाले विचार राख्न त राख्यौं, तर हामी आफैं केन्द्रीय कमिटीमा नभएकाले गर्दा त्यसलाई धेरै वास्ता गरिएन ।

नवौंमा आइपुग्दा त हामी अघि बढिसकेका थियौं । केपी ओली कमरेड यसको विरोधमा हुनुहुन्थ्यो । बीचमा निकै छलफल चल्यो । हाम्रो तर्फबाट नेतृत्वमा जेएन कमरेडलाई अघि बढाउने, अरू विकल्प नै खोज्ने कि हामी आफैं तयार हुने भन्ने छलफल चल्यो । माधव कमरेडसँग लामो छलफल चल्दा उहाँ विचारमा सहमत हुनुभयो । खास प्रतिस्पर्धाको आवश्यकतामा माधव कमरेड त्यसबेला लड्नुभयो ।

तर माधव नेपालले भर्खरै अनलाइनखबरसँग बोल्ने क्रममा भन्नुभयो– आठौं र नवौं महाधिवेशनमा केही गल्तीहरू भए, अब सच्याउनुपर्छ । के भन्नुहुन्छ ?

माधव कमरेडले त्यसरी भन्नुभएको मैले सुनेको छैन । जनताको बहुदलीय जनवादबारे भन्नुभएको हो भने मदन भण्डारीको विरासत देखाएर कम्युनिस्ट आन्दोलनमा कसले बढ्ता भजाउन सक्छ भन्ने विवाद बाहेक अरू केही छैन । हाम्रो इतिहासको एउटा महान् अग्रजको फोटो समातेर तात्कालिक लाभ लिने प्रयत्न मात्रै चल्यो ।

एकीकृत समाजवादी पार्टी अब जबजको बहसबाट बाहिर आएको हो ?

जबजलाई हामीले निरुपण गरिसक्यौं । सुरुमा हामीसँग पनि अलिकति कोण–प्रतिकोण थिए । कोही कमरेडले जबजको प्याटेन्ट राइट नै हामीसँग छ, छाड्न सकिन्न भन्ने कोणबाट कुरा गर्नुभयो । कोही कमरेडले औचित्य छैन भन्दा हिजो पनि जबजको औचित्य थिएन कि भन्ने कोणबाट पनि सोचियो । तर वैज्ञानिक, वस्तुगत बहस गर्दै गएपछि एउटा निष्कर्षमा पुगिन्थ्यो नै । हामीले जबज भनेको नेपाली क्रान्तिको कार्यक्रम मात्रै थियो, मार्गदर्शक सिद्धान्त थिएन भन्ने निष्कर्षमा पुग्यौं ।

माधवले त्यही भन्नुभएको हो नि त ?

हो, जनवादी क्रान्ति नै सम्पन्न भइसकेपछि इतिहासको मूल्यांकन गरेर अब अघि जाऊँ भनी एकमत भई टुंग्यायौं । फेरि जबजको बहस नै ठूलो हो भनेर देखाउनु भनेको पुरानो इतिहासमाथि बुद्धिविलास त होला, तर तात्कालिक रूपमा अघि बढ्ने हिसाबले ठिक छैन ।

एमालेबाट फुट्नु ठिक थियो भन्ने निष्कर्ष सहित महाधिवेशनमा जाँदै हुनुहुन्छ कि विभाजनको औचित्यबारे अलमल सहित जाँदै हुनुहुन्छ ?

राजनीति, समाजमा तपाईंले कुनै काम गर्नुभयो भने त्यसले औचित्य पुष्टि गर्न वा नगर्न सक्छ । देश बनाउँछु भनेर देश बनाउनुभयो भने घटनाको औचित्य पुष्टि हुनेभयो, नत्र औचित्य पुष्टि हुँदैन । एमालेमा विद्रोह हुनु, अर्को पार्टी बन्नु एउटा स्टेटमेन्ट हो । जब पार्टीमा रूपान्तरण गरेर देखाइन्छ, तब मात्रै त्यसको सार्थक पुष्टि हुन्छ, नत्र औचित्य पुष्टि हुँदैन । अहिले औचित्य पुष्टि भएको छ कि छैन भनेर निष्कर्ष निकाल्ने बेला भएको छैन । विज्ञानका कुनै पनि परीक्षणमा प्रयोग, प्रयासहरूको औचित्यहीनता पुष्टि हुँदैन । बरु विज्ञानमा त अझै राम्रा प्रयत्नहरूको पो माग हुन्छ । एमाले नेतृत्वको त्यसबेलाका काम हेर्दा त्यहाँ एउटा ठूलो विद्रोह जरूरी थियो, सम्पन्न भयो । कम्युनिस्ट पार्टीको पुनर्गठन गरेर अझै राम्रो पार्टी बनाउनुपर्थ्यो । हामी प्रयत्न गर्दैछौं ।

तपाइहरू कहिले कांग्रेससँग, कहिले एमाले वा माओवादीसँग गठबन्धन बनाउन व्यस्त हुुनुहुन्छ । यो पाराले एमाले विभाजनको औचित्य पुष्टि हुन्छ ?

तात्कालिक राजनीतिमा हामी उतारचढावमा परेको साँचो हो, दूरगामी हिसाबले हामी ठिकै ठाउँमा छौं । आठौं महाधिवेशनदेखि उठाएको समाज, पार्टी, अर्थतन्त्र बारेको बहसको औचित्य झन् बढी सान्दर्भिक छ । आजको पूँजीवादको मूल चरित्र दलाल पूँजीवाद हो । यसलाई नष्ट गरेर राष्ट्रिय पूँजीवादको विकास गर्दै समृद्ध नेपाल सुखी नेपाली, जो खासमा हामीले उठाएको कुरा थियो, त्यसलाई अघि बढाउन प्रयत्नरत छौं । अचेल ओलीजीले भन्ने गरे पनि त्यो हामीले उठाएको, अझ स्पष्ट भन्ने हो मैले लेखेको हो ।

कहिले कांग्रेससँग, कहिले माओवादीसँग टाँस्सिएका छौं भन्ने हामीमाथि जुन आरोप लागेको छ– यी राजनीतिक रूपमा हामीले हण्डर–ठक्कर खाएका छौं । कति कमजोरी गर्‍यौं कति गरेनौं यो कुराको मूल्यांकन हुँदै जाला । तर दूरगामी रूपमा हामीले ठिकै काम गर्दैछौं भन्ने लाग्छ

तपाईंहरूको कल्पना पो हो त्यो ? ओलीको होइन ?

समृद्ध नेपाल सुखी नेपाली हामीले नै लेखेको हो । त्यो केपी ओलीको परिकल्पना होइन । नवौं महाधिवेशनको दस्तावेज हेर्नुस्, त्यो हामीले लेखेको हो । यस अर्थमा हामीले उठाएका मुद्दाहरू स्थापित भएका छन् सबै पार्टीहरूमा । नेपालको कम्युनिस्ट आन्दोलनका आजसम्मका निष्कर्षहरूलाई कार्यक्रमको हिसाबले आगामी दशौं महाधिवेशनले सबैभन्दा सुस्पष्ट ढंगले अघि ल्याउँदैछ– इतिहासलाई हेर्ने मुद्दा होस्, जनविद्रोह वा अरू धेरै कुरालाई हेर्ने मुद्दा ।

दस्तावेज त जसले पनि लेखिहाल्छ नि महाधिवेशनका बेला ! त्यसले के हुन्छ र खासमा ?

होइन । त्यसलाई हामीले वैज्ञानिक तरिकाले कसैले इन्कार गर्न नसक्ने तरिकाले निरुपण गर्दैछौं । यो कुरा हाम्रो आगामी महाधिवेशनपछि कम्युनिस्ट आन्दोलनका विचार, सिद्धान्त यसको दिशाबोधका आधारमा हुनेछ । पहिले आठौं महाधिवेशनमा हामी केन्द्रीय कमिटीमा पनि नरहेकाहरूले राखेको प्रस्ताव नै सबैले पछि गएर मान्नु परेको थियो । यो दस्तावेज पनि नेकपा एकीकृत समाजवादीले १०औं महाधिवेशन मार्फत जब पेश गर्नेछ, त्यसकै वरिपरि नेपालको कम्युनिस्ट आन्दोलन अघि बढ्नेछ ।

कसरी, त्यो सम्भव होला ? तपाईंको राजनीतिक आयतन नै सानो छ, पहिलेभन्दा !

हामी हण्डर–ठक्कर खाएर यहाँसम्म आएका छौं । कहिले कांग्रेससँग, कहिले माओवादीसँग टाँस्सिएका छौं भन्ने हामीमाथि जुन आरोप लागेको छ– यी राजनीतिक रूपमा हामीले हण्डर–ठक्कर खाएका छौं । कति कमजोरी गर्‍यौं कति गरेनौं यो कुराको मूल्यांकन हुँदै जाला । तर दूरगामी रूपमा हामीले ठिकै काम गर्दैछौं भन्ने लाग्छ ।

वैचारिक निरुपण गर्दा माधव नेपालले कांग्रेस सहितको जुन लोकतान्त्रिक गठबन्धनका लागि जति जोड लगाउनुभयो र झलनाथ खनालले चाहिं होइन वामहरू नै एकठाउँमा हुनुपर्छ भन्ने आवाज  उठाएको सुनिन्छ । तपाईंको निकटता अर्थात् झुकाव चाहिं कतातिर हो ?

म उहाँहरूको नामसँग जोडेर कुरा गर्न चाहन्नँ । अनुभवको हिसाबले भन्ने हो भने हामीलाई कांग्रेसले जहिलेसुकै राज्य सञ्चालनका स–साना कुराहरूमा तपाईं प्रधानमन्त्री हुने मान्छेले यस्तो कुरा गर्न मिल्छ ? तपाईं प्रधानमन्त्री हुने पार्टीका मान्छेले यस्ता कुरा गर्न मिल्छ भन्दै प्रधानमन्त्रीको वरिपरि देखाएर हामीलाई दुरुपयोग गर्‍यो ।

यो कुरा मैले देउवा र प्रचण्डजीलाई पनि भनेको थिएँ । तपाईंहरूले हामीलाई एमालेलाई ताछ्ने औजारका रूपमा प्रयोग गर्ने र त्यो ताछिएको एमालेजति सबै कांग्रेसलाई बुझाउने सोच्दै हुनुहुन्छ भने गलत हो । खासगरी कांग्रेसलाई मैले यो भनेको थिएँ । त्यसमा उहाँहरूको आग्रह र हाम्रो आवश्यकता दुवैमा धेरै तालमेल मिलेको थिएन ।

दोस्रो कुरा हामी यो गठबन्धनमा आउँदा खेरी वाम गठबन्धन भयो भनेर व्याख्या हुन्छ भने त्यो पनि गलत कुरा हुन्छ । किनभने हामी विभाजित भएको नेकपा एमालेबाटै हो । एमालेबाट विभाजित भएको पार्टी अहिले एमाले समेतको गठबन्धनमा छ ।

यस्तो अवस्थामा हामीले यो वाम गठबन्धन हो भन्ने निष्कर्षमा पुग्यौं भने यो गल्ती हुन्छ । यसले हिजो गरिएको विद्रोह नै औचित्यहीन हुन्छ । विद्रोह गल्ती थियो भन्ने पुष्टि हुन्छ । यसअर्थमा यो गठबन्धन के हो भन्दा हिजो कांग्रेससँगको गठबन्धन थियो अहिले वामपन्थी अर्को एउटा पार्टी आएको छ । जसकारण यो एउटा समीकरण मात्र हो ।

वामपन्थीहरूको गठबन्धन हुनका लागि के गर्नुपर्छ भन्दा यसका केही मूलभूत कुराहरू, खासगरी हाम्रो सन्दर्भमा भन्ने हो भने विभाजनका जे कारणहरू थिए, ती कारणहरूमा एमालेले रियलाइज गर्‍यो भने यसलाई हामीले वाम गठबन्धन भन्ने अवस्था आउँछ कि ! अथवा ती विवादहरूको निरुपण हामीले टुंगो लगाउन सक्यौं भने वाम गठबन्धन भनेर मिल्न हुन्छ कि भन्ने मलाई लाग्छ । त्यसले गर्दा यो वाम गठबन्धन वा वाम एकताको प्रारूप होइन । अहिलेसम्म त्यस्तो केही बनिसकेको छैन ।

हैन कांग्रेससँगै ठिक थियो भन्ने कुरा त त्यो सिद्धान्तको, विचारको, राजनीतिको, संगठनको कुनै पनि हिसाबले ठिक होइन । हिजो हामी खास राजनीतिक परिस्थितिमा त्यहाँ थियौं । जतिखेर एमाले हामीसँग नजिक देखिन समेत चाहँदैनथ्यो । हामीलाई सचेत रूपले उसले बाहिर राखेको थियो । त्यो बेलाको खास राजनीतिक परिस्थितिमा एउटा गठबन्धन बन्यो, त्यो अर्को कुरा हो । त्यो बन्यो भन्दैमा अब कांग्रेससँग जोडिएर समाजवाद आउँछ भन्यो भने त्यो धेरै ठूलो ब्लन्डर हुन्छ, त्यो गर्न हुँदैन ।

ढिलो–चाँडो फेरि एमाले र तपाईंहरू पुग्ने त साथसाथै हो, होइन र ?

सिद्धान्ततः कम्युनिस्टहरू पुग्ने साथसाथै हो । हामी र एमाले पुग्ने भन्नुस् अथवा एमाले र हामी पुग्ने भन्नुस्, अथवा माओवादीसँग पनि जोडेर हामी तीनवटै पुग्ने भन्नुस् वा विप्लवजी पुग्नेदेखि लिएर अरू पुग्ने एउटै ठाउँ हो । तर दुर्भाग्य हो कि त्यो ठाउँ अहिले पनि बन्या छैन । त्यो पुग्ने ठाउँमा पार्टीहरू त्यसमाथि पनि समाजमा ठूलो संगठनका साथ रहेका पार्टीहरू अझै पुग्या छैनन् यो चाहिं दुर्भाग्य हो ।

पार्टीहरूभित्र पुस्तान्तरणको कुरा उठिरहन्छ, तपाईंको दलमा पनि कुनै बेला युवाहरू नै अग्रपंक्तिमा थिए । अबचाहिं कहिलेसम्म पुरानै नेतृत्व ?

यो विरोधाभासी कुरा हो । सीपी मैनाली महासचिव छँदा उहाँको नीति पारित भएन । उहाँले छाड्नुभयो, छोडाइयो । स्वाभाविक कुरा थियो । तर नेतृत्वको हस्तान्तरण पुस्तान्तरणको प्रक्रिया चाहिं माले कालमा धेरै राम्रो थियो । त्यसपछि मदन भण्डारी आउनुभयो । मदनजी पनि त्यतिखेरैको पार्टीमा हाइरार्कीमा माथिल्लो नेता होइन । अरू सबै नेताहरूलाई उहाँले जिम्मेवारीमा आएपछि मिलाएरै लैजानुभयो । त्यसपछि माधव कमरेड आउनुभयो । चर्चा अरू धेरैको पनि थियो । त्यो कालक्रममा हेर्दा नेतृत्व हस्तान्तरण पुस्तान्तरण विभिन्न कारण सहज रूपले अगाडि बढ्या थियो । तर आज समग्र रूपमा हेर्नुहुन्छ भने त्यो छैन ।

चुनावदेखि चुनावसम्मको गोलचक्करमा हिजोदेखि राजनीति फस्दै गयो । हामीले उठाएको, मैले उठाएको बहस यसबाट मुक्त गरौं । निर्वाचन राष्ट्रको भविष्यसँग जोडिनु पर्‍यो ।

अब हाम्रो माधव कमरेड अथवा जेएन कमरेड, ओली कमरेड वा, प्रचण्ड कमरेड वा मोहनविक्रम कमरेड सबै हेर्दा लिडरसिपले अहिले के बुझेको छैन भने समाजले केही जंगी परिवर्तन खोजेको, धेरै ठूलो परिवर्तन खोजेको, त्यो क्रम अगाडि बढिसकेको छ । पार्टीका लिडरसिपमा हामीले यो कुरा बुझेका छैनौं । यदि आन्तरिक परिवर्तनले सहज रूपले बाटो खोल्न सकिएन भने समाजले बाटो खोलिदिन्छ । हुने यही हो । एमालेमा पनि विचारको हिसाबले हामीले के भनेका थियौं भने हाम्रो राजनीतिलाई आजको वास्तविक जीवनसँग जोडौं । हाम्रो गरिबी, अभाव, पछौटेपन यस्तो बेलामा आजका आर्थिक एजेन्डाहरू त्यसलाई सपोर्ट गर्ने सुशासनका एजेन्डाहरूमा केन्द्रित भएर जाऔं ।

पार्टीलाई तत्कालीन सत्ता दिने–लिनेसँग, चुनावदेखि चुनावसँगको गोलचक्करमा नफसाऔं । हामी जाने भनेको समृद्धितर्फ हो । राष्ट्रिय पूँजीको विकास गर्ने हाम्रो सिंगो संगठनलाई राष्ट्रिय पूँजीको विकास गर्नेतर्फ केन्द्रित गर्ने हो, उद्यमशील पूँजीसँग जोडेर । र मुलुकमा शान्ति सुव्यवस्था र सुशासन कायम गर्ने मुद्दासँग जोडेर जाऔं भन्ने कुरामा मेरो विवाद थियो ओलीजीसँग । त्यो समाधान गर्न सकेनौं । ओलीजीले अन्तैतिर लिएर जानुभयो । त्यो शक्तिलाई हामीले त्यतातिर लिएर गएको भए ८/१० वर्षमा मुलुकमा आर्थिक अभाव, अन्योल, राजनीतिक अस्थिरता यो केही पनि हुँदैनथ्यो भन्ने मलाई लाग्छ । हामी यतिखेरै अर्कै बाटोमा हुन्थ्यौं । गणतन्त्रपछि मुलुकले धेरै राम्रो बाटो लिइसकेको हुन्थ्यो । ओलीजीको प्रयोगले राष्ट्रिय, ऐतिहासिक अवसर नेपालले गुमायो भन्ने मेरो उहाँसँगको असहमति यही कुरामा छ ।

विगतमा ठूलो शक्ति भएर पनि अगाडि कता जाने भन्ने सुस्पष्ट दिशा निर्देशन गर्न सकिएन, त्यसैको मूल्य चुकाएको हो अहिले ?

सकिएन । हामीले मूल्य चुकाएका छौं । मुलुकले मूल्य चुकाएको छ । कम्युनिस्ट पार्टीमा हामीलाई के लागेको छ भने ओलीले फलानोलाई दियो फलानोलाई दिएन, कति नेताहरूको कुरा यसो सुनिन्छ के कुरा दिनुभयो के कुरा दिनुभएन । मन्त्रीलाई दिनुभयो कसलाई दिनुभएन, राजनीतिक नियुक्ति कसलाई दिनुभयो कसलाई दिनुभएन । धेरै कमरेडहरूमा यो चिन्ता म देख्छु अथवा उहाँहरूको गुनासा सुन्छु । कुरा त्यो होइन । कुरा त मुलुकले मूलभूत रूपमा एउटा ऐतिहासिक अवसर गुमायो । त्यो मुद्दामा हामी हिजै पनि केन्द्रित भएको भएदेखि एमालेको विभाजन हुने ठाउँमा जान दिंदैनथ्यौं होला ।

जनताका दैनिक जायज मर्कामा हाम्रो राजनीतिले नबोल्ने, काम नगर्ने, अनि केवल नेतृत्व आलोपालोको अन्त्यहीन बहस, सरकार निर्माण र परिवर्तनमै धेरै समय जान्छ तपाईंहरूको । यस्ता कुरा मार्फत तपाईंहरूले निराश बनाइराख्नुभएको छ नि !

हो, म स्वीकार गर्छु । किन स्वीकार गर्छु भने यो कुरा मैले धेरै अघिदेखि उठाउँदै आएको छु । हाम्रो राजनीति जनताको जीवनसँग, मुलुकको जीवनसँग जोडिएको छैन । मैले उहिल्यैदेखि भन्दै आएको छु । जनताको बहुदलीय जनवादको कुरा गर्दाखेरि नै मैले भन्थें कि जनताको बहुदलीय जनवाद अब देखिने पनि हुनु पर्‍यो, यो सुनिने मात्रै भयो । यो त गरिबहरूका घरहरूमा देखिनु पर्‍यो । तिनका पेटमा, बच्चाबच्चीमा देखिनु पर्‍यो । तिनको आय–इन्कममा बाँच्ने जिन्दगीको अवस्थामा देखिनु पर्‍यो, युवाहरूको जिन्दगीमा, उनीहरुको पढाइमा, स्वास्थ्यमा देखिनु पर्‍यो ।

हाम्रो राजनीतिलाई त्यता लैजाऊँ । चुनावदेखि चुनावसम्मको गोलचक्करमा फस्यो राजनीति । जनताको बहुदलीय जनवाद भन्यो चुनाव लड्यो । अनि चुनाव लडेर के गर्‍यो भन्दा अर्को पटक फेरि चुनाव लड्यो । त्यसपछि के गर्‍यो फेरि चुनाव लड्यो । चुनावदेखि चुनावसम्मको गोलचक्करमा हिजोदेखि राजनीति फस्दै गयो । हामीले उठाएको, मैले उठाएको बहस यसबाट मुक्त गरौं । निर्वाचन राष्ट्रको भविष्यसँग जोडिनु पर्‍यो ।

संसद्, संसद्मा दिएको उम्मेद्वारी जनताको भविष्यसँग जोडिनु पर्‍यो । हाम्रा कमिटीको गठन राष्ट्रका भविष्यसँग जोडिनु पर्‍यो । म नेता हुन्छु वा हुन्न भन्ने कुरा राष्ट्रको जीवनसँग जोडिनु पर्‍यो । तर यो कुरा चुनावसँग जोडिन्छ । मन्त्री, प्रधानमन्त्रीसँग जोडिन्छ । अनि यसरी हुन्छ ! हिजो एमाले हुँदाखेरि करिब–करिब २०६४/६५ सालदेखि गणतन्त्रको लगत्तै पछि मैले निरन्तर यही कुरा उठाइराखेको छु । तपाईंले जुन कुरा भन्नुभयो त्यसमा मेरो ऐक्यबद्धता छ ।

यस्तो विषयमा तपाईंका अध्यक्ष वा पूर्वअध्यक्षसँग बसेर कुरा गर्नुहुन्छ वा हुन्न ? साँच्चै घोत्लिएर लामो कुराकानी गर्नुभएको छ कि छैन वा यस्तो परिपाटी छ कि छैन ?

जसरी हुनुपर्थ्यो त्यो तहमा छैन ।

नेतृत्वमा तपाईंको दाबेदारीबारे संशयहरू भएर पो हो कि ? एकीकृत समाजवादीमा अरूभन्दा पछि प्रवेश गर्नुभयो भन्ने विषय उठ्ने गर्छ नि ?

म पछि आएँ, अगाडि आएँ भन्ने कुरालाई मैले खासै वास्ता गरेको छैन । किनभने म जहाँ रहे पनि मैले एउटै काम गरें, आन्दोलनमा करेक्सनको काम गरें । अग्रपंक्तिमा रहेर गरें । म नेकपा एकीकृत समाजवादीमा आउनु भन्दा अगाडि जति समय हो, एक सवा वर्ष नेकपा एमालेमा रहें । ती मुद्दामा त्यहाँ रहँदा त्यतिकै लडें, जति पहिला लडेको थिएँ । फोर फ्रन्टमै लडें । त्यसकारण मलाई यो पार्टी, त्यो पार्टीमा कहिले आयो भन्दा पनि कम्युनिस्ट आन्दोलनको कुरा गर्ने गरेको छु । मैले त अझ नेकपा एकीकृत विभाजित भएपछि हामी सबैका पार्टी तीन वटा छन् भन्ने गरेको छु ।

नेकपा एमाले पनि मेरो पार्टी हो, माओवादी पनि मेरो पार्टी हो, म राजनीतिक, सांगठनिक रूपले समाजवादीमा छु । यो पार्टी त मेरो हुँदै हो । यसर्थ सिद्धान्ततः भन्नुहुन्छ भने म तीनवटै पार्टीको हो । राजनीतिक रूपले म आज कहाँ बसेर लड्दैछु भन्दा यहाँ छु । हिजो नेकपा एमालेमा थिएँ । तमाम साथीहरू त्यहाँ हुनुहुन्थ्यो, अरू कतिपय साथीहरू माओवादीमा हुनुहुन्थ्यो । तपाईं कहाँ हुनुहुन्थ्यो भन्दा पनि के गर्दै हुनुहुन्थ्यो भन्ने महत्वपूर्ण हो ।

एक पटक एउटा अन्तर्वार्तामा मलाई माधव नेपालबारे सोधिएको थियो । मैले नेपाली राजनीतिको बैकुण्ठ मानन्धर भनेको थिएँ । त्यो उमेरमा त्यतिको सक्रिय, दौडधुप गरिरहने कमरेड, अर्को नेता कोही छैन । झलनाथ खनालको मलाई राम्रो लागेको हरेक कुरालाई उहाँले इतिहास र सिद्धान्तको कोणबाट हेर्नुहुन्छ । जुन मेरो पनि रुचिको कुरा हो ।

नेकपा एकीकृत समाजवादीमा आएर पनि तपाईं पदकै लागि लड्दै हुनुहुन्छ, आफ्नै कुर्सीका लागि लड्दै हुनुहुन्छ, मन्त्रीका लागि लड्दै हुनुहुन्छ, चुनावदेखि चुनावसम्मको मात्र तपाईंलाई चिन्ता छ भने त्यस्तो लडाईंको के अर्थ हुन्छ ? यदि नेकपा एमालेमा छ र कसैले बहस गर्दैछ, कसैले सिद्धान्तको बहस गर्दैछ, कसैले मुलुकको चिन्ता गर्दैछ भने त त्यो कमरेड जायज छन् । माओवादीमा कसैले यस्तो चिन्ता गर्छ भने ती कमरेड क्रान्तिक्रारी हुन् । तिनले राम्रो काम गर्दैछन् ।

अब यी तीनवटा आफ्नै पार्टीलाई कहिले एक बनाउँदै हुनुहुन्छ ?

यो महाधिवेशन अझै तयारीका साथ गर्नुपर्थ्यो जस्तो मलाई लाग्छ । किनभने भखर्र बन्दै गरेको पार्टीमा सिस्टमलेसबाट सिस्टमतिर जाँदै गर्दा व्यहोरिरहेका जटिलताहरू छन्, यसबाट अलग रहेर हाम्रो कार्यक्रमहरू अझै राम्रो बनाउन पाइएको भए हुन्थ्यो भन्ने लाग्छ । तर, यो महाधिवेशनपछि मूलभूत रूपमा यी मुद्दाहरू टुंग्याइने छ, त्यसपछाडि हाम्रो राजनीतिलाई हामी नयाँ पुस्तामा लिएर जानेछौं । आम युवामा लिएर जानेछौं । विद्यार्थीमा लिएर जानेछौं । अबको मुलुकको आवश्यकता, भविष्य बुझ्ने बुद्धिजीवीहरूमा लैजानेछौं ।

त्यो भविष्यसँग जिन्दगी गाँसिएका श्रमजीवी, उद्योगी, किसानसँगको जिन्दगीसँग हाम्रो मुलुकको उद्यमी वर्ग जसले उद्यम गर्छ । त्यसरी हाम्रो राष्ट्रिय जीवनका सबै पक्षसँग जोडिएको त्यो राजनीतिक एजेण्डाका साथ हामीले यसलाई अगाडि लिएर जान्छौं । यसले मुलुकमा एउटा झिल्को सुरु गर्छ । साँच्चै रूपान्तरणको, अब राजनीतिलाई उम्मेदवारीका लागि होइन, राजनीतिलाई टिकटका लागि, मन्त्रीका लागि, प्रधानमन्त्रीका लागि होइन, राजनीतिलाई खासगरी वाम राजनीतिलाई समाजको रूपान्तरणसँग जोड्ने एउटा प्रभावकारी पहलकदमी हामी लिनेछौं । यसरी म करीब २०८४ भन्दा अगाडि नै एक नयाँ वाम विकल्प बन्छ भन्नेमा विश्वस्त छु ।

अहिले अध्यक्षमा तीन जनाको नाम चर्चामा छ, तपाईं, माधव र जेएन । तपाईंको दृष्टिमा माधवको सबलता र कमजोरी ?

यस्तो मूल्यांकन गर्ने कुरा आफैंमा जटिल र विवादास्पद पनि छ । एक पटक एउटा अन्तर्वार्तामा मलाई माधव नेपालबारे सोधिएको थियो । मैले नेपाली राजनीतिको बैकुण्ठ मानन्धर भनेको थिएँ । त्यो उमेरमा त्यतिको सक्रिय, दौडधुप गरिरहने कमरेड, अर्को नेता कोही छैन । लामो र उतारचढावपूर्ण राजनीतिक जीवनशैली छ । यो उहाँको स्ट्रेन्थ हो भन्ने लाग्छ ।

कमजोरीको कुरा गर्ने हो भने यस्तै अरू धेरै भइदिए हुन्थ्यो भन्ने कुरा कमजोरी हुनसक्छ । अरू क्षेत्रमा पनि यस्तै भइदिएको भए हुन्थ्यो भन्ने लाग्छ । हाम्रो आन्दोलनको आज बाँचिरहेका नेताहरूमध्ये क्रियाशील, खासगरी दौडधुप र समय व्यवस्थापनको हिसाबले हेर्दा उहाँ राम्रो नेता हो ।

झलनाथ खनालबारे चाहिं ?

झलनाथ खनालको मलाई राम्रो लागेको हरेक कुरालाई उहाँले इतिहास र सिद्धान्तको कोणबाट हेर्नुहुन्छ । जुन मेरो पनि रुचिको कुरा हो । त्यो उहाँको धेरै राम्रो गुण हो । आफ्नो प्रवृत्तिमा उहाँको एक खालको बहस, छलफलमा त्यतिको, त्यो तहको नेताहरू सहिष्णु, लोकतान्त्रिक अरू छैनन् । अरू नेताहरू चित्त नबुझ्दा झर्किने, फर्किने, त्यति मात्र होइन, भविष्यमाथि खेलबाड गर्न लागिहाल्ने खालका छन् । म भयंकर बहस गर्छु । उहाँलाई व्यक्तिगत रूपमा पिन्च गरें कि जस्तो म आफैंलाई पनि लाग्छ । तर, उहाँ ती बहस, सिद्धान्त, राजनीतिको बहसमा, उहाँको सहनशीलता मलाई असाध्यै मन पर्छ ।

उहाँसँग तपाईंको कुनै न कुनै प्रकारको प्रतिस्पर्धा महाधिवेशनमा हुँदैछ होइन त ? तपाईं चाहिं नेतृत्वमा के भनेर दाबी गर्दै हुनुहुन्छ ?

मेरो एंगल मूलभूत रूपमा राजनीतिक अर्थशास्त्रीय रूपले हेर्ने हो । हाम्रो विकासको अवस्था, त्यसअर्थमा हाम्रो अर्थतन्त्र, हाम्रो विविधता, हाम्रो भूराजनीति यी यस्ता चिज हुन्, जसलाई ख्याल गरेर हामी अगाडि बढ्नुपर्नेछ । मूलभूत रूपले हाम्रो विकासको अवस्था, हाम्रो आर्थिक जीवन, यसको अवस्थाले अरू धेरै अवस्थालाई निर्धारण गर्छ । राजनीतिले सम्बोधन गर्नुपर्ने नै यसलाई हो ।

आजका समस्यालाई मैले हेर्दा उत्पादन नगर्ने पूँजीको बाहुल्य, उद्यम नखोल्ने पूँजीपतिको बाहुल्य, तिनको नियन्त्रण, अर्थतन्त्रमा उनीहरूको नेतृत्व, उद्यम खोल्ने, रोजगारी दिने, अझ राम्रो रोजगारी दिने, रोजगारी विस्तार गर्ने प्रक्रियासँग राजनीति जोड्दै जोडिएन । राजनीति उद्यम नगरी कमाउने खाने पूँजीपति, नाफा कमाउनेहरूसँग गठजोड गरेको राजनीति भयो, उनीहरूसँग कमिसन खाएर बाँच्ने राजनीति भयो । राजनीतिक प्रवृत्ति, नेतृत्व भन्न मिल्छ । त्यसको गठजोडले यो समस्या निम्तिएको हो । त्यसको परिणाम नै निराशा बढेको छ । मानिसहरू बाहिर गइरहेका छन् ।

हाम्रो शिक्षा, हाम्रो स्वास्थ्य, हाम्रो उत्पादन, हाम्रो कृषि किन बिग्रिरहेको छ, किन बेला बेलामा हिन्दु, राजतन्त्र जस्ता मुद्दाले त्राहिमाम् पार्छ, किन लफङ्गाले बाटोमा ठिंग उभिएर राज्यलाई चुनौती खडा गर्दा हाम्रो राज्य बोल्न सक्दैन ? नेताहरू किन बोल्न सक्दैनन् ? एउटा कुनै उत्पाती बाटोमा आउँदा शीर्ष नेताहरूले छलफल गर्नुपर्ने, राज्यले बैठक गर्नुपर्ने अवस्था किन आएको ? यो सबै कुरा हाम्रो आर्थिक जीवनसँग राजनीति नजोडिएका कारण आएको समस्या हो । अब हामी यो प्रक्रियामा यो महाधिवेशनमा त्यसरी जान्छौं ।

तर, हाम्रो जस्तो लोकतन्त्र, खासगरी दोस्रो विश्वयुद्धपछि ल्याटिन अमेरिकी मुलुकको लोकतन्त्र, एसियाली लोकतन्त्रको अर्को समस्या सुशासन छैन । यसले गर्दा उत्पादनशील पूँजीको विकास, रोजगारीको सिर्जना, निरन्तर रोजगारीको सिर्जना, राम्रो रोजगारीको सिर्जना गर्दै जाने सुशासनयुक्त राज्यसँग, व्यवस्थासँग, प्रणालीसँग हाम्रो राजनीति जोडिएर जानुपर्छ । त्यसका लागि यो महाधिवेशनले एउटा ठूलो काम गर्नेछ । अहिले तत्काल मलाई ठूलो लागे पनि सबैले ठूलो देख्ने छैनन् । तर त्यो एउटा झिल्को हुनेछ । त्यो झिल्कोले अब अगाडिको बाटो देखाउँदै जानेछ ।

तस्बिर र भिडियो : शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?