+
+

नतिजा होइन प्रयास महत्वपूर्ण

अञ्जु भट्टराई अञ्जु भट्टराई
२०८१ जेठ २८ गते ७:३६

‘तिमी कमजोर छौ वा सबल ? यो कुरा तिम्रो रिजल्ट होइन तिम्रो प्रयासले बताउँछ ।’

हिन्दी फिल्म ‘छिछोरे’को यो संवाद गहकिलो मात्र छैन, उत्तिकै मननयोग्य पनि । खासगरी ती तमाम अभिभावकका लागि जो आफ्ना छोराछोरीको सफलता र भविष्यमाथि सरोकार राख्छन् ।

भारतीय क्रिकेटले सगौरव सम्बोधन गर्ने एउटा नाम छ, महेन्द्र सिंह धोनी । उनले बारम्बार भन्ने गरेका छन्, ‘म जति पनि अन्तर्वार्ता दिन्छु, हरेकमा मेरो एउटै सल्लाह वा सुझाव हुनेगर्छ, प्रक्रिया एकदमै महत्वपूर्ण छ नतिजा भन्दा । नतिजा त प्रक्रियाको उपज मात्र हो । यदि हामीले राम्ररी तयारी गर्ने, आफैंप्रति इमान्दार रहने र सही ढंगले काम गर्ने हो भने सोचेजस्तै नतिजा हासिल हुन्छ ।’

‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन

मा कर्मफलहेतुर्भूर्मा ते सङ्गो स्त्वकर्मणि’

श्रीमद्भागवत गीताको यो श्लोकले ‘कर्म गर फलप्रति आशक्ति नराख’ भन्छ । यो भनाइलाई कतिपयले अपव्याख्या गरेको पाइन्छ । जबकि यसले कर्म वा प्रक्रियामा इमान्दार हुन प्रेरित गर्छ । कर्म हाम्रो हातमा छ नतिजा होइन ।

नतिजाको मोह

केही समयअघि हामी ‘साथसाथै’ भन्ने संस्थाबाट हिमाली यात्रामा निस्किएका थियौं । बाटोमा ७२ वर्षीया महिला भेटिइन्, स्वीस नागरिक । नाम मरिना । पहिले १४ वर्षकी छँदा उनले सगरमाथा आधार शिविरसम्म यात्रा गरेकी रहिछन् । यसपालि आफ्नो छोरा र श्रीमानलाई लिएर उनी विगतमा हिंडेका पाइलाहरु पछ्याइरहेकी थिइन् ।

हामीलाई गन्तव्यमा पुग्न हतार थियो, त्यसैले सकेसम्म फटाफट हिंड्थ्यौं । तर उनलाई कति पनि हतार थिएन । उनी भनिरहेकी थिइन्, ‘मलाई त यहीं चरा, खोला, पहाडसँग रमाइलो गर्नुछ । गन्तव्यमा पुग्ने हतारो छैन ।’

हुन पनि उनी गन्तव्यका लागि दौडधुप गरिरहेकी थिइनन्, यात्रामै रमाइरहेकी थिइन् । तर हामी ? नतिजामुखी भएछौं ।

‘छोरीले परीक्षामा कति अंक हासिल गरिन् ?’ ‘दौड प्रतियोगितामा छोरो प्रथम भयो वा दोस्रो ?’ हामीलाई नतिजासँग मतलब छ । प्राप्त नतिजालाई हेरेर हामी उसको सफलता र असफलताको लेखाजोखा गर्छौं ।

मानौं तपाईंकी छोरी चित्रकला प्रतियोगितामा प्रथम भइनन् । किन प्रथम भइनन् ? किन अरुले भन्दा राम्रो चित्र बनाउन सकिनन् ? हाम्रो ध्यान यसतर्फ जान्छ ।

छोरा तुलनात्मक रुपमा मोटा छन् । तौल घटाउन उनका लागि सोही अनुरुप खानपान तालिका तय गरिएको छ, जिम प्रशिक्षकको जिम्मा लगाइएको छ । तर निर्धारित समयमा किन मोटोपन घटेन ?

हामी नतिजामा बढी केन्द्रित छौं । पढेपछि उत्तीर्ण हुनुपर्छ, दौडेपछि गन्तव्यमा पुग्नुपर्छ, प्रतियोगितामा सहभागी भएपछि जित्नुपर्छ । यस किसिमको अपेक्षाले हाम्रा छोराछोरीमा दबाब पैदा हुन्छ वा सिर्जनशील हुन्छन् ? हाम्रा छोराछोरीको मनोविज्ञान ‘जित्नैपर्छ’ भन्ने विकास हुन्छ वा ‘प्रयास गर्नुपर्छ’ ?

जित्नैपर्छ भन्ने छैन

एउटा प्रचलित उदाहरण छ । माछा र चरालाई पौडी प्रतियोगितामा सामेल गराइयो भने निःसन्देह माछाले जित्नेछ । तर यसको अर्थ यो हुँदैन कि चरा अक्षम वा कमजोर हो । जब हामी उड्ने प्रतियोगितामा यी दुवैलाई सहभागी गराउनेछौं, त्यसमा चराले जित्नेछ । जित र हार भन्ने कुरा नतिजा हो । र, नतिजाले कसैको पनि सर्वाङ्गीण क्षमतालाई मूल्यांकन गर्दैन ।

हामी जीवनको अंकगणितमा अल्झिएका छौं, गुणवत्तामा होइन । कसैले पैसा कमायो । हामी सोध्छौं– ‘कति कमायो ?’

किनभने हामीलाई त्यसको नतिजा वा अंकबारे बढी चासो छ । हामीले यो सोध्दैनौं कि, ‘उसले कसरी कमायो ?’ अर्थात् पैसा कमाउनका लागि कस्तो दुःख गर्‍यो ? कस्तो जुक्ति अपनायो ? कस्तो त्याग गर्‍यो ?

सफल हुनु र नहुनु, पास हुनु र नहुनु, जित्नु र नजित्नुले यो कुरा तय गर्दैन कि ऊ कस्तो बालबालिका हो । किनभने सबै बालबालिका समान क्षमताका हुँदैनन् । जन्म, हुर्काइ, परिवेश, अभिभावकत्वले उनीहरुको क्षमता विकासमा सोझो प्रभाव पार्छ । जसले गर्दा एकजना पढाइमा अब्बल हुनसक्छ, अर्को फुटबलमा, एक जना वाद्यवादनमा तगडा हुनसक्छ भने अर्को कथा–कविता लेख्नमा ।

यसर्थ हरेक ठाउँमा जित्नैपर्छ भन्ने छैन । सबैलाई उछिन्नैपर्छ भन्ने छैन । सबैभन्दा अगाडि हुनैपर्छ भन्ने छैन । जरुरी त के मात्र छ भने त्यसका लागि तिमीले कति प्रयास गरेका थियौ ?

प्रयास महत्वपूर्ण

चित्रकला प्रतियोगितामा छोरी प्रथम भइनन् । यो त फगत नतिजाको कुरा हो । नतिजाभन्दा प्रयास महत्वपूर्ण हुन्छ । यहाँसम्म आइपुग्न उनले के–कति अभ्यास गरेका थिए ? कस्तो तयारी गरेका थिए ? कति मेहनत गरेका थिए ? कति अनिंदो बसेका थिए ? कति भोक सहेका थिए ?

जबकि उनले रंग र ब्रस खेलाउन थुप्रै मेहनत गरेकी थिइन् । विद्यालयबाट फर्कनासाथ बगैंचामा गएर चित्र बनाउने अभ्यास गर्थिन् । रंगहरुको मिश्रण गर्ने तरिका सिकेकी थिइन् । थुपै पटक स्केच बनाउँदै, मेट्दै गरेकी थिइन् । कसरी चित्र बनाउने भनी सोधीखोजी गरेकी थिइन् ।

अब नतिजाको आधारमा उनको क्षमताको मूल्यांकन गर्नु कति उचित हो ? आँखा चिम्लेर सोच्नुहोस् त ।

मानौं तपाईंको छोराले परीक्षामा अपेक्षा गरेअनुरुप अंक हासिल गरेनन् । तपाईंको प्रतिक्रिया के हुन्छ ? ‘तिमी कमजोर भयौं’, ‘तिमीले अरुलाई उछिन्नुपर्थ्यो’, ‘तिम्रो पढाइ भएन’ ।

लापरवाहीले गर्दा मात्र उसको नतिजा यसप्रकार आएको नहुन सक्छ । उसले पढेको थियो, लेख्ने अभ्यास गरेको थियो, सुन्ने र बुझ्ने कोसिस गरेको थियो । अर्थात् उसले प्रयास गरेको थियो । उसले जुन प्रयास गरेको थियो, हामीले त्यसलाई सराहना गर्ने हो ।

विद्यालय होस् वा घर, हामीले बालबालिकाको नतिजा नभई प्रयास वा प्रक्रियालाई महत्व दिनुपर्छ । मेरो छोरोले बेलाबखत खाना पाकाउँछन् । उसले मीठो पकाउँदा मात्र मैले ‘स्याबास्’ भन्ने होइन । भलै खाना नमिठो हुनसक्छ तर सो खानेकुरा पकाउन उनले सक्दो मेहनत गरेको हुनसक्छ । नयाँ स्वाद, नयाँ रंग, नयाँ सुगन्ध निकाल्ने प्रयास गरेको हुनसक्छ । पोषक तत्व नष्ट नगरी स्वादिष्ट पनि बनाउन चाहेको हुनसक्छ । तर अपेक्षा गरेअनुसार त्यो खानेकुरा स्वादिलो नहोला । यस्तो अवस्थामा हामीले के भन्ने ?

‘कस्तो नमिठो खाना’ भन्ने कि उनले जुन प्रयास गरेका थिए त्यसलाई कदर गर्ने ?

यदि उनले खानेकुरा मीठो बनाएको हुँदो त हामी भन्ने थियौं, ‘अहो, तिमीले कति स्वादिलो बनायौ ।’ तारिफ गर्ने यो तरिका पनि त्यति निको मानिंदैन । विख्यात मनोविज्ञ क्यारोल ड्वेकको भनाइ यहाँ सान्दर्भिक हुन्छ । उनी भन्छिन्, ‘कुनै बालबालिकालाई तिमी फर्स्ट भयौं भनी तारिफ गर्नुभन्दा पनि तिमीले फर्स्ट हुनका लागि गरेको प्रयास राम्रो लाग्यो भन्नु उपयुक्त हुन्छ ।’

नतिजालाई प्रशंसा गर्नु सही होइन भन्ने उनको तर्क छ । किनभने नतिजा जसरी पनि हासिल हुनसक्छ । मानौं, दुई बालकलाई कुनै बिन्दुबाट दौडिन लगाउँदा एउटाले जित्यो । जबकि दोस्रो बालकको खुट्टामा घाउ हुनसक्छ ।

खुट्टामा घाउ भएपनि उनले दौडिनका लागि लामो अभ्यास गरेको हुनसक्छ । दौडिने क्रममा उनीसँग जुत्ता नहुन सक्छ । नाङ्गो खुट्टा, त्यसमाथि घाउ । यस्तो अवस्थामा उनले दौडेर जुन दूरी पार गरे, त्यो पो महत्वपूर्ण कुरा हो ।

दौडिनका लागि उनमा जुन लगाव थियो, जुन तत्परता थियो, जुन धैर्यता थियो, त्यो कुरालाई हामीले मूल्यांकन गर्नुपर्छ ।

शिक्षाविद् एवं मनोवैज्ञानिक एन्जेला डकवर्थको भनाइ यहाँ मननयोग्य छ । उनी भन्छिन्, ‘हामीले बालबालिकालाई कहिल्यै नथाक्ने बनाउनु जरुरी छ । उनीहरुले कुनै पनि काममा निरन्तर प्रयास गरिरहुन् । आफ्नो प्रक्रियाबाट पछाडि नहटुन् । चाहे सफल होउन् वा नहोउन्, तर आफ्नो प्रयास सधैं जारी राख्नु महत्वपूर्ण हो ।’

(भट्टराई काठमाडौंको काँडाघारीस्थित अक्षरा स्कुलकी कार्यकारी निर्देशक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?