+
+

झापामा एकै परिवारका तीन जना मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३२ गते २१:५१

३२ जेठ, विर्तामोड । झापाको शिवसताक्षी नगरपालिका–३, भोटेपुल टोलमा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी कृष्ण चन्दका अनुसार, सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, छोराहरु ८ वर्षीय विशाल बेस्रा र २ वर्षीय आयुश बेस्रा मृत अवस्थामा फेला परेका हुन् ।

स्थानीयका अनुसार, शुक्रबार छिमेकी घरका एक जना बच्चा खेल्न जाँदा बत्ती बलिरहेको र कोही झुण्डिएको जस्तो देखेपछि अरुलाई खबर गरेका थिए । त्यसक्रममा गएर स्थानीयवासी गएर हेर्दा अञ्जली झुण्डिएको अवस्थामा भेटिएकी थिइन् ।

नजिकै दुई छोरा विशाल र आयुश पनि मृत अवस्थामा फेला परेको डीएसपी चन्दले अनलाइनखबरलाई बताए । उनका अनुसार, घटनास्थलमा मेची अस्पताल, भद्रपुरबाट विशेषज्ञ चिकित्सकको टोली पनि खटाइएको थियो ।

प्रारम्भिक जाँचमा दुई बच्चाको ‘विष’का कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि पोष्टमार्टम जाँचपछि नै यसको पुष्टि हुनेछ ।

फिंज निकालिरहेको अवस्थामा दुई जनाको शव भेटिएको थियो भने नजिकै विषको बट्टाको विर्को पनि प्रहरीले फेला पारेको डीएसपी चन्द बताउँछन् ।

‘तीनै जनाको शवलाई पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ’, उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

अञ्जलीका श्रीमान् सुजन भने वैदेशिक रोजगारीका लागि कतारमा छन् । अञ्जली उनकी दोस्रो श्रीमती हुन् । प्रहरीले घटनास्थलमा सुसाइड नोट वा अन्य कुनै संकेत फेला पारेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?