+
+

डा. भोला रिजाललाई पुरस्कार दिने गीतकार संघको निर्णयप्रति पूर्वअध्यक्ष मुकारुङको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १२:३९

काठमाडौं । गीतकार संघ नेपालले प्रदान गर्न लागेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रम विवादमा परेको छ । संस्थाका पूर्वअध्यक्ष शुभ मुकारुङले पत्र लेख्दै ‘अमर भावना राष्ट्रिय स्रष्टा सम्मान २०८०’ गीतकार डा. भोला रिजाललाई प्रदान गर्ने निर्णय त्रुटिपूर्ण रहेको आरोप लगाएका छन् ।

कार्यसमितिले गठन गरेको सल्लाहकार समितिका सदस्य रिजाललाई पुरस्कार प्रदान गर्ने उक्त निर्णयप्रति मुकारुङले आपत्ति जनाएका हुन् ।

‘आवश्यक सरसल्लाह लिने–दिने परम्परा बमोजिम वर्तमान कार्यसमितिले गठन गरेको सल्लाहकार समितिको सदस्यमध्ये एक सदस्य डा. रिजाल पनि हुनुभएको हुँदा यही समितिले प्रदान गर्ने सम्मानको निम्ति उहाँको नाम कसरी सिफारिस भयो र उहाँको नाम कसरी अनुमोदन भयो ?’ संघका अध्यक्ष वसन्तबित्यासी थापालाई खुलापत्र लेख्दै मुकारुङले प्रश्न गरेका छन् ।

कार्यसमितिको यो निर्णय ‘आफू धामी, आफैं बोक्सी’जस्तै भएको भन्दै उनले कार्यक्रममा सहभागी हुन दिइएको निम्तो समेत अस्वीकार गर्ने बताएका छन् ।

‘उहाँ (डा. भोला रिजाल) जस्तो सर्जक गीतकार व्यक्तित्वलाई सम्मान गर्नु भनेको संस्था स्वयं पनि सम्मानित  हुनु हो । यो श्रृंखला २०६९ सालबाट चलिआएको संस्थाको एक महत्वपूर्ण र निरन्तर कार्यक्रम हो । यस कारण यसका केही मूल्य र मान्यताहरू रहेका छन् । त्यसलाई हामीले भुल्नहुन्न र संस्थाको गरिमामा आँच आउने खालको कुनै पनि गतिविधि हुन दिनु हुन्न भन्ने अभिमत हो,’ मुकारुङले भनेका छन्, ‘यही समितिले सम्मान पुरस्कार दिने, यही समितिकै सदस्यहरुले सम्मान पुरस्कार ग्रहण गर्दै जाने परम्पराको थालनी किन गर्दै छ संस्थाले ? संस्थाको इतिहासमै यस्तो त्रुटिपूर्ण निर्णय कसरी भयो ? यो प्रकारको निर्णयले  कुन प्रकारको नजीर स्थापित गराउन खोजिएको हो ?’

यसबारे अनलाइनखबरले संस्थाका वर्तमान अध्यक्ष वसन्तबित्यासी थापालाई विवादबारे सोधेको थियो । उनले आफूहरुले प्रक्रियागतरुपमा सही निर्णय गरेको दाबी गरे । सल्लाहकार समिति कार्यसमिति जस्तो निर्वाचित नहुने हुँदा नीति नियम र कानुनअनुसार नै आफूले रिजाललाई सम्मान गर्ने निर्णय गरेको उनले बताए ।

सल्लाहकार समिति सदस्य राजेन्द्र थापाको निर्णायक मण्डलको सिफारिसको आधारमा यो निर्णय गरेको अध्यक्ष थापाले बताए । ‘निर्णायक मण्डल पनि बाहिरकै हुनुहुन्छ । हिजोकै संस्कार र परम्पराअनुसार अघि बढेका हौं । गुनासो गर्न पाउने वाक स्वतन्त्रता सबैलाई हुन्छ,’ उनले भने । पुरस्कार वितरण कार्यक्रम सकिएपछि मात्र यसबारे छलफल गर्न सकिने उनको भनाइ छ ।

१५ औं स्थापना दिवसको अवसरमा संस्थाले राष्ट्रिय स्रष्टा गीतकार सम्मान एवं पुरस्कार वितरण कार्यक्रम सोमबार आयोजना गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?