३२ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (यूएनएचसीआर)ले सन् २०२४ मा जबर्जस्ती विस्थापित हुन बाध्य शरणार्थीहरुको संख्या बढेर १२ करोड पुगेको जनाएको छ । युद्ध र हिंसाका कारण विस्थापितहरुको संख्या ऐतिहासिक रुपमा वृद्धि भएको यूएनएचसीआरले जनाएको छ ।
यूएनएचसीआरले विहीबार प्रकाशित गरेको नयाँ रिपोर्टमा विश्वभरका शरणार्थीहरुको खाका छ । त्यसमा १२ वर्षदेखि लगातार विस्थापित भएकाहरुको संख्या बढिरहेको उल्लेख छ ।
जबरजस्ती विस्थापित भएकाहरुको संख्यामा वृद्धि हुनुमा सुडानमा परस्पर विरोधी सैन्य बलबीच भएको युद्ध पनि एक कारण भएको प्रतिवेदनमा उल्लेख छ, जहाँ सन् २०२३ को अन्तमा एक करोडभन्दा बढी व्यक्ति विस्थापित भइसकेका थिए ।
यसैगरी लोकतान्त्रिक गणराज्य कंगोमा लाखौं व्यक्तिहरु देशकै सीमाभित्र विस्थापित भएका छन् । म्यानमारको हालत पनि उस्तै छ, जहाँ सेना र अलगाववादी समूहबीच संघर्ष जारी छ ।
रिपोर्टमा इजरायल प्यालेस्टाइनबीचको लडाइँका कारण गाजा क्षेत्रबाट करिब १७ लाख जना व्यक्ति विस्थापित भएका छन् ।
सबैभन्दा खराब अवस्था भने सीरियाको छ । त्यहाँका १ करोड ३३ लाख व्यक्ति देशकै सीमाभित्र विस्थापित भएका छन् ।
युएन एजेन्सीको रिपोर्टका अनुसार हिंसाजन्य गतिविधिका कारण ज्यान जोगाउन आफ्नै देशको सीमा भित्र एक ठाउँबाट अर्को ठाउँमा जानेहरुको संख्या पनि पाँच वर्षमा ५० प्रतिशतले वृद्धि भएको छ । आन्तरिक विस्थापन निगरानी केन्द्रका अनुसार यो संख्या बढेर ६ करोड ८३ लाख पुगेको छ ।
संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (यूएनएचसीआर)का उच्चायुक्त फिलिपो ग्रेण्डीले आश्चर्यजनक यी आँकडा र विस्थापितहरुको बढ्दो संख्याको पछाडि मानव अधिकार हननका अनगिन्ती उदाहरण छन् । उनीहरुका पीडालाई बुझेर तत्काल कदम चाल्न उनले अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्, ताकि विस्थापनलाई रोक्न सकियोस् ।
संयुक्त राष्ट्रसंघको अर्को एक रिपोर्टमा वर्ष २०२३ मा लडाइँ र युद्धका कारण बालबालिकाहरुले अकल्पनीय हिंसा सहनु परेको छ । सन् २०२३ मा सन् २०२२ को तुलनामा बाल हिंसाका घटना २१ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा ५ हजार ३०१ बालबालिकाको मृत्यु हिंसा र युद्धमा परेर भएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4