+
+
Shares

संखुवासभाको सिलिचोङमा पहिरोको डरले ७ परिवार विस्थापित

सिलिचोङ गाउँपालिका–१ तेन्छोङमा लगातारको वर्षापछि आएको बाढी पहिरोले ७ घर विस्थापित भएका छन् । बस्तीमाथिको जमिन चिरा परेपछि उनीहरू विस्थापित भएका हुन् ।

भविन कार्की भविन कार्की
२०८३ असार १५ गते २१:५१

१५ असार, संखुवासभा । सिलिचोङ गाउँपालिका–१ तेन्छोङमा लगातारको वर्षापछि आएको बाढी पहिरोले ७ घर विस्थापित भएका छन् । बस्तीमाथिको जमिन चिरा परेपछि उनीहरू विस्थापित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले तेन्छोङबाट ७ घरपरिवार विस्थापित भएको खबर प्राप्त भएको जानकारी दिए ।

तेन्छोङका कुन्ती राईको ५ जनाको परिवार, धनपूर्ण राईको ७ जनाको परिवार, मङ्गलबहादुर राईको ६ जनाको परिवार, सुकप्रसाद राईको ४ जनाको परिवार, मिरा राईको ५ जनाको परिवार, धनमान राईको ३ जनाको परिवार र अरुण सङ्गम राईको परिवार विस्थापित भएको उनले बताए ।

विस्थापित परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक(सई) अनिल भुजेलको कमान्डमा १० जनाको टोली घटनास्थलमा परिचालन गरिएको प्रहरी निरीक्षक राजवंशीले बताए ।

यसैबीच सिलिचोङ गाउँपालिकाले सोमबार एक विज्ञप्ति जारी गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

यस्तै, बाढी–पहिरोका कारण सिलिचोङ क्षेत्रमा विद्युत्, सञ्चार तथा यातायात सेवासमेत अवरुद्ध भएको छ । बाढीपहिरोका कारण दुई विद्यालयमा क्षति पुगेपछि पठनपाठन पूर्ण रूपमा ठप्प भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?