+
+

संसदीय छानबिन समिति किन बन्न सकेन ? विश्वप्रकाशले देखेका ४ कारण

'ओलीले नयाँ दललाई खुइल्याउँदैछन्'

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १८:११

१३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार नभएका कारण गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुन नसकेको बताएका छन् ।

आइतबार नेपाली कांग्रेसले सरकारविरुद्ध गरेको प्रदर्शनका क्रममा उनले ओलीका कारण संसदीय छानबिन समिति बन्न नसकेको बताएका हुन् । शर्माले संसदीय छानबिन गर्न ओली तयार नहुनुको ४ कारण दिएक छन् ।

उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीबिना वर्तमान सरकारसँग बहुमत नपुग्ने भएका कारण ओली छानबिनका लागि तयार नभएको उनको भनाइ छ । ‘सरकार टिकाउनका लागि । प्रदीप गिरीको शब्दमा भन्दै गर्दा लोकतन्त्रको कुरा होइन, संख्यातन्त्रको कुरा हो,’ शर्माले भने ।

गृहमन्त्री लामिछाने दण्डित हुने अवस्थामा रास्वपाले सरकार छाड्ने भएकाले त्यस खालको संसदीय छानबिन समिति गठनका लागि ओली तयार नभएको शर्माको आशय छ ।

उनले दिएको अर्को कारण सहकारी ठगीमा एमाले नेता कार्यकर्ता पनि धेरै जोडिएका छन् र उनीहरुलाई जोगाउन हो । ‘नदेखिएका धेरै पात्रहरु, जो एमालेका साथीहरु हुनुहुन्छ । सहकारी अपचलनमा लागेका ती सबलाई जोगाउन चाहनुहुन्छ कमरेड केपी ओली’, शर्माले भने ।

सहकारी ठगीमा संलग्नलाई जोगाएर एमालेलाई ओलीले बदनाम गराउन लागिरहेको शर्माले आरोप लगाए । उनले भने, ‘दोष जति, आरोप जति रवि लामिछानेको नाममा थोपरिदिएर रक्षा चाहिं एमालेका कयौं पार्टी पङ्तिलाई गरिरहनुभएको छ ।’

महामन्त्री शर्माले दिएको तेस्रो कारण हो गिरिबन्धु टी इस्टेट प्रकरणमा रविको सहयोग लिने । ‘रविलाई साथ दिएर गिरीबन्धुमा रविको साथ लिनु छ’, उनले भने । झापाको गिरिबन्धु टी इस्टेटको जग्गा ओली सरकारको पालामा कानुन बनाएर सट्टापट्टा गर्ने बाटो खोलिएको थियो । जसलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो । कांग्रेस महामन्त्री शर्माले सहकारी र गिरीबन्धु टि इस्टेटमा एक अर्काले बचाउन ओली र रविबीच सहमति बनेको टिप्पणी गरे ।

चौथो कारण मिसन ८४ सँग सम्बन्धित रहेको उनले बताए । ‘मिसन ८४ घोषणा गरेका दुईटा दल छन्– नेकपा एमाले र रास्वपा । केपी ओली चाहनुहुन्छ कि हामी पुराना भन्दा पनि नयाँलाई दलदलमा भसाइदिउँ’, शर्माले भने, ‘उसलाई यसरी खुइल्याउँदै लैजाऔं कि ८४ सम्म पुग्दै गर्दा उभिने अवस्था नरहोस् ।’

ओलीको आफ्नो चाहना अनुसार गृहमन्त्री लामिछानेलाई खुइल्याउन लागिरहेको शर्माको दाबी छ । ओलीको इच्छा अनुसार आफू चलेको बुझ्न गृहमन्त्री लामिछानेलाई समय लाग्ने शर्माले बताए । ‘झापाको विश्वप्रकाशले जति कमरेड केपी ओलीलाई बुझेको होला’, शर्माले भने, ‘भक्तपुरको रवि लामिछानेले बुझ्नका लागि समय लाग्छ ।’

ओलीले यही रुपमा अडान कायम राखिराख्दा एमालेभित्र गम्भीर समीक्षा जरुरी भएको उनले बताए । ‘एमाले उभिएको हिजोको ग्राउण्ड के हो ? एमालेले हिजो बोकेको राजनीतिक दर्शन के हो ?’ शर्माले प्रश्न गरे, ‘एमाले आज कुन वर्गको पक्षमा उभिन चाहन्छ ?’

सहकारीको रकम अपचलनमा रवि लामिछाने र राप्रपा सांसद गीता बस्नेतको उस्तै प्रकृतिको संलग्नता रहेको र सांसद बस्नेतमाथि मुद्दा चलाइएको शर्माले बताए । तर सोही प्रकृतिको घटनामा गृहमन्त्रीमाथि संसदीय छानबिनका लागि पनि सत्तारुढ दल तयार नभएको उनको भनाइ छ ।

सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समिति गठनको माग गर्दै आइतबार कांग्रेसले विरोध प्रदर्शन गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला समिति आयोजक रहेको विरोध प्रदर्शन र सभा गरिएको थियो । सभामा बोल्दै बागमती प्रदेश सभामपति इन्द्र बानियाँले गृहमन्त्री लामिछानेलाई सदन र सडकबाट वहिष्कार गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?