+
+

४४ संस्थानमा सरकारको ७ खर्ब लगानी, प्रतिफल साढे २ प्रतिशत

नेपालमा सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानहरूमध्ये २६ वटा नाफामा रहेका छन् भने १५ वटा नोक्सानीमा छन् । त्यस्तै ३ वटा कम्पनीको कारोबार शून्य छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते २०:५७

१३ जेठ, काठमाडौं । गत आर्थिक वर्ष (आव) ०७९/८० को अन्त्यसम्ममा ४४ वटा सार्वजनिक संस्थामा सरकारको लगानी करिब ७ खर्ब रुपैयाँ पुगेको छ । तर, त्यसको तुलनामा पाएको प्रतिफल भने अत्यन्तै निराशाजक छ ।

गत आवसम्म सरकारको लगानी कुल ६ खर्ब ६१ अर्ब १० करोड ७४ लाख रुपैयाँ लगानी पुगेको छ । जसमध्ये सेयर लगानी ३ खर्ब ७९ अर्ब ७२ करोड १६ लाख रुपैयाँ छ भने ऋण लगानी २ खर्ब ८१ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ छ ।

यो लगानीबाट सरकारले गत आर्थिक वर्षमा ७ अर्ब ५३ करोड ८३ लाख रुपैयाँ ब्याज पाएको छ । त्यस्तै, १० अर्ब ४५ लाख रुपैयाँ लाभांश पाएको छ । यसरी ब्याज र लाभांशसहित सरकारले गत आर्थिक वर्षमा कुल १७ अर्ब ५४ करोड २८ लाख रुपैयाँ लिएको छ । सरकारले पाएको ब्याज र लाभांश रकम कुल लगानीमा जम्मा २.६५ प्रतिशत मात्रै हो ।

नेपालमा सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानहरूमध्ये २६ वटा नाफामा रहेका छन् भने १५ वटा नोक्सानीमा छन् । त्यस्तै ३ वटा कम्पनीको कारोबार शून्य छ । सरकारले संसदमा प्रस्तुत गरेको सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति प्रतिवेदनअनुसार आव २०७९/८० मा नाफामा रहेका संस्थानहरूले कुल ४८ अर्ब ५१ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

यसमा नेपाल आयल निगमले कमाएको १२ अर्ब नाफाको योगदान सबैभन्दा धेरै छ । यी कम्पनीहरूको नेटवर्थ गत आवमा अघिल्लो आवको तुलनामा २९ प्रतिशतले बढेर ९ खर्ब ८२ अर्ब १३ करोड १७ लाख पुगेको छ ।

सरकारले पाएको कुल आयकरमा आर्थिक वर्ष २०७९/८० मा सरकारको सञ्चित कोषमा सार्वजनिक संस्थानले कुल १७ अर्ब ३९ करोड ४६ लाख आयकर दाखिला गरेका छन् ।

सार्वजनिक संस्थानको कुल नाफामा प्रमुख ५ कम्पनीको अंश ७५.६७ प्रतिशत छ । उच्च नाफा कमाएका ५ कम्पनीमा नेपाल आयल निगम, विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष छन् ।

आर्थिक वर्ष २०७८/७९ मा नोक्सानीमा रहेको आयल निगम आर्थिक वर्ष २०७९/८० मा नाफामा देखिएको छ । विद्युत् प्राधिकरण, टेलिकमको नाफा समीक्षा अवधिमा घटेको छ ।

आव २०७९/८० मा सबैभन्दा धेरै नोक्सानीमा रहेका ५ कम्पनीमा नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग र नेपाल टेलिभिजन छन् । यीमध्ये वायुसेवा निगमको नोक्सानी समीक्षा अवधिमा उच्च दरले घटेको छ । तर खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट र नेपाल टेलिभिजनको नोक्सानी भने बढेको छ । कुल नोक्सानीमा यी ५ कम्पनीको अंश ७१ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?