+

खेलकुदको धेरै बजेट क्रिकेट रंगशालामा

२०८१ जेठ  १५ गते २०:४३ २०८१ जेठ १५ गते २०:४३
खेलकुदको धेरै बजेट क्रिकेट रंगशालामा

१५ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा युवा तथा खेलकुद मन्त्रालयले ३ अर्ब ५० करोड ४८ लाख रुपैयाँ बजेट पाएको छ ।

यो बजेट चालु आर्थिक वर्षको भन्दा ६२ करोड ९ लाख रुपैयाँ बढी हो । यो मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ९९ करोड ८ लाख रुपैयाँ बजेट पाएबाहेक आगामी वर्षको बजेट नै सबैभन्दा ठूलो हो ।

मन्त्रालयको बजेटमध्ये ८५ प्रतिशत खेलकुद क्षेत्रमा र १५ प्रतिशत युवा लक्षित कार्यक्रममा हुनेछ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले बजेट चालु आर्थिक वर्षमा भन्दा बजेट बढेर आउनु सकारात्मक भएको बताए । ‘खेलकुदमा यो वर्ष केही अंकगत सुधार भए पनि नीतिगत पक्ष सुधार गरेमा नेपाली खेलकुद अझ विस्तार गर्न सकिन्छ’, उनले भने ।

क्रिकेट रंगशालामा १ अर्ब ३० करोड

खेलकुद क्षेत्रको बजेटमध्ये ठूलो हिस्सा क्रिकेट रंगशाला निर्माणका लागि छुट्याइएको छ । काठमाडौंको मूलपानी क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखिएको छ ।

भरतपुरमा निर्माणाधीन अवस्थामा रहेको गौतमबुद्ध क्रिकेट रंगशाला संघ, प्रदेश र स्थानीय तहको समन्वयमा निर्माण गरिने बजेटमा उल्लेख छ । ‘मन्त्रिपरिषदले क्रिकेट रंगशालाहरुलाई राष्ट्रिय गौरवको आयोजनामा संलग्न गराएको थियो । त्यसैले यस वर्ष क्रिकेट नै प्राथमिकतामा परेको थियो’, सदस्य सचिव घिसिङले क्रिकेट रंगशालामा बजेट बढी पर्नुको कारणबारे भने ।

त्यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नति, फाप्ला क्रिकेट मैदान निमार्णलाई पूर्णता दिइने पनि बजेट वक्तव्यमा उल्लेख छ । खेलकुद पूर्वाधारका लागि एक अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको छ । यो चालु आर्थिक वर्ष २०८०/८१ को भन्दा ५७ करोड २० लाख रुपैयाँ बढी हो ।

राष्ट्रिय खेलकुदका लागि ६० करोड

आगामी आर्थिक वर्षमा कर्णालीको सुर्खेतमा १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिता आयोजनाका लागि सरकारले ६० करोड रुपैयाँ बजेट छुट्याएको छ । नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि हरेक पटक बजेटकै समस्या हुँदै आएको थियो । राखेप सदस्य सचिव घिसिङ यसपटक बजेट अभाव नहुने बताउँछन् ।

‘घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता प्राय बजेटका कारणले रोकिने, आवश्यक बजेट उपलब्ध नहुने गर्दा समयमा हुनसकेको थिएन । यसलाई चिर्दै यस पटक प्रस्तावित बजेट नै घोषणा हुनु राम्रो पक्ष हो’, उनले भने ।

त्यस्तै शिक्षकलाई खेलकुद तालिम दिई विद्यालयमा खेलकुद प्रवद्र्धन गर्ने, बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता सञ्चालन गर्ने र प्रतिभावान बालबालिकालाई खेल छात्रवृत्ति दिने विषय पनि बजेटमा राखिएको छ ।

खेलकुदमा महिला सहभागिता बढाउने, खेलकुदका आधारभूत तालिम विस्तार गर्ने पनि बजेटमा घोषणा गरिएको छ ।

नयाँ र परम्परागत खेललाई सम्बोधन

यस पटकको बजेटले नेपालको परम्परागत खेललाई संरक्षण गर्दै इमर्जिङ खेलको रूपमा विकास भइरहेको इ–स्पोर्टलाई पनि समेटेको छ ।

बाघचाल, डन्डिबियो, घोडचढी जस्ता खेल प्रवद्र्धन गर्ने विषय बजेटमा परेको छ भने आधुनिक प्रविधिसँग जोडिएको ई–स्पोर्टस् आयोजना गर्ने पनि बजेट वक्तव्यमा उल्लेख छ । ‘इमर्जिङ स्पोर्टस् र परम्परागत खेललाई पनि बजेटले समेटेको छ, यो आकर्षक पक्ष हो’, उनले भने ।

१८ तस्वीरमा हेर्नुहोस् टुँडिखेलको घोडेजात्रा – Online Khabar

बजेटमा आगामी आर्थिक वर्षमा नेपालमा ८० वटा राष्ट्रिय खेलकुद आयोजना गर्ने उल्लेख छ । जसमा २० औं एसियन खेलको तयारी तथा अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता पनि तालिकामा रहेका छन् ।

१ लाख युवालाई रोजगारीको घोषणा

युवातर्फ स्वास्थ्य शिक्षा, पर्यटन, कृषि, सूचना प्रविधि क्षेत्रका एक हजार युवालाई फेलोसिप प्रदान गर्ने र युवालाई उद्यमशीलता प्रवर्धन गर्न कर्जाको सरल पहुँच पुर्‍याउने पनि बजेटमा उल्लेख छ ।

युवातर्फ नै सरकारले राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम घोषणा गरेको छ । युवाको क्षमता अभिवृद्धि गरी सार्वजनिक सेवा प्रवाह र उत्पादनमूलक क्षेत्रमा उनीहरुलाई उपयोग गर्न यो कार्यक्रम ल्याइएको अर्थमन्त्री पुनको भनाइ छ ।

यो कार्यक्रम अन्तर्गत विश्वविद्यालयबाट पढाइ पूरा गरेर कामको खोजी गरेका युवालाई विभिन्न सार्वजनिक निकाय र निजी क्षेत्रको सहकार्यमा उद्योग, व्यवसाय, कृषि तथा पशुपन्छी फर्म, होटल, पर्यटन र निर्माण क्षेत्रमा कार्यस्थल तालिम दिई एक लाख युवालाई रोजगारी सुनिश्चित गर्ने भनिएको छ । यसका लागि ३ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

क्रिकेट रंगशाला खेलकुद बजेट
लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय