+
+

हिमाली चौंरीपालनलाई संवर्द्धन गर्न सरकार प्रतिबद्ध छ: कृषिमन्त्री साह

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते २०:२०

१६ जेठ, काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले चौंरीपालनलाई संवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । बुधबार सुरू भएको दुईदिने याक चौंरी महासंघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा मन्त्री साहले हिमालको गहनाको रुपमा रहेको याक चौंरीपालनलाई संवर्द्धन गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता गरेकी हुन् ।

मन्त्री साहले सरकारले आगामी वर्षको बजेटमा समेत श-सर्त अनुदानमा याक पालनलाई समावेश गरिएको बताइन् ।

उनले भनिन्, ‘हिमालका गहना, याक चौरी संरक्षण हाम्रो चाहानासहितको नारालाई सरकार सकारात्मक रुपमा लिएको छ । यसकारण हामी हिमाली जडिबुटी, हिमाली बासिन्दाको पेशालाई लोप हुन दिन्नौं। यसबारेमा सरकार सधैं तपाइहरू
को साथमा रहन्छ।’

महाधिवेशनमा तदर्थ समितिका उपाध्यक्ष लाल कुमार केसीले याक चौरी लोप भएमा हिमाली क्षेत्रको सौन्दर्य, त्यहाँका बासिन्दाको पेसा, हिमाली जडीबुटीसमेत लोप हुने जिकिर गरे । उनले भने ‘हिमाली क्षेत्रका नागरिकको मुख्य पेसा नै याक चौरी पालन हो तर यो लोप हुने क्रम बढ्दो छ यसले हिमाली क्षेत्रको सौन्दर्य तथा त्यहाँका जडीबुटीहरु लोप हुने खतरा छ ।’

उनका अनुसार आवश्यक सहयोग नहुँदा याक चौरी पालक कृषकहरु पलायन हुन्छन् र कृषक पलायन हुँदा मानव रहित हिमालको सौन्दर्य घट्ने, याक चौरीको मलले उब्जिएका जडीबुटी लोप हुने गरेको छ ।

यस्तै इसिमोड नेपालका निर्देशक डा.तासी दोर्जेले नेपालको संस्कार, परम्परा, पहिचान याक चौरी पालनसँग जोडिएको भएर यसलाई संरक्षण गर्न सबै क्षेत्र लाग्न सुझाव दिए ।

तदर्थ समितिका महासचिव पावीहाङ राईका अनुसार याक चौरी पालक कृषकहरु तीव्र गतिमा घटिरहेको बताए । ३० वर्ष अघि २ लाख २ हजार रहेको याक चौरी अहिले ५२ हजारमा झरेको उनले बताए । उनले भने, ‘यहि तरिकाले घट्ने हो भने अबको केही वर्षमा नै हाम्रो हिमालहरु याक चौरी रहित हुने जोखिम देखिएको छ ।’

हिमालमा याक चौरीको महत्व बुझाउन तथा याक चौरी पालनलाई संवर्द्धन तथा प्रवद्र्धन गर्नको लागि संगठित भएको महासचिव राईले बताए । गत २२ साउनमा दावा साङ्बु शेर्पाको अध्यक्षतामा याक चौरी महासंघ, नेपालको तदर्थ समिति बनेको थियो ।

सोलुखुम्बु, ताप्लेजुङ, दोलखा, डोल्पा लगायत २७ जिल्लाका हिमाली क्षेत्रमा याक चौंरीपालन हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?