+
+

विदेशिनेहरूको कथासंग्रह ‘प्रवासीको देश हुन्न’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २२ गते १८:०१

काठमाडौं । घरदेश र परदेशका परिवेशमा बुनिएका १४ कथाहरूको सँगालो ‘प्रवासीको देश हुन्न’ प्रकाशित भएको छ । बेल्जियम निवासी आख्यानकार पञ्चम अधिकारीको यस कथासंग्रह शिखा बुक्सले प्रकाशन गरेको हो ।

ज्यादात्तर युरोपको सेरोफेरोमा लेखिएका यस संग्रहका कतिपय कथाहरूमा मातृदेशको याद, युवावस्थाको पुरानो सम्झना  र बहुसंस्कृतिवाद एवं विश्वबन्धुत्वको परिष्कृत प्राणीदेखि सपनाजस्तै परिदृश्य र सप्तरंगी समग्रताको निष्ठामा बाँच्नेहरूको कथा छ ।

अमेरिकामा हुर्केको नेपाली बच्चाले नेपाल फर्कंदा कायम राखेको ‘सानो सेक्रेट’, न्युयोर्कबाट फर्केकी अधबैंसे ब्युटिसियन ‘नेहा’को बच्चा पाउने रहर, हाइस्कुलले आइकन ‘लोकल हिरो’, गुन्डासँगको प्रेम र ब्रेकअपमा ‘घातक आकर्षण’, काठमाडौं एयरपोर्टमा ‘प्रवासीको देश हुन्न’ भन्ने आत्मज्ञान, प्रवासमा महिलाको यौन शोषण ‘तिम्रो लोग्ने खै ?’, राजा महाराजाको कथा भन्ने रखौटी ‘पिकासो केटी’, एक होनहार प्रतिभाको अन्त ‘यो बर्बादी’, प्रेममा आत्म-खोज गर्दै ‘इपीसेन्टर पालुङटार’, तिमी सम्बोधनमा कथिएको यौनकथा ‘तिम्री स्वास्नी’, ढोंगी जीवनको मनोब्लग ‘इडियट’ लगायतका कथाहरू उक्त संग्रहमा समेटिएका छन् ।

पारम्परिक रूपमा लेखिंदै आएका नेपाली आख्यानको प्रवृत्ति विपरीत अधिकारीका कथाहरू अति यथार्थवाद र यदाकदा जादुयी यथार्थवाद एवं मेटा फिक्सनको मिश्रित प्रयोग गर्दै बोधगम्य शैलीमा लेखिएको पाइन्छ । पप-संस्कृति र मिडियाको व्यापक प्रभावले निथ्रुक्क भिजेको समाजमा मावीय विडम्बना र संवेदनाहरूलाई केलाउँदै कथा लेखनको नयाँ आयाम देखाउने जमर्को यस कृतिले गरेको छ ।

आख्यानकार अधिकारीको यसअघि ‘पथिक प्रवासन’ उपन्यास प्रकाशित छ । ‘प्रवासीको देश हुन्न’को प्रमुख वितरक ज्ञानज्योति पुस्तक पसल, अद्वैतमार्ग, काठमाडौं रहेको छ । पुस्तकको मूल्य नेपालमा ४२५ रूपैयाँ र विदेशमा सात युरो वा डलर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?