+
+

नेपालमा मानवअधिकारको स्थिति सुध्रिएन

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते १३:५९

२९ जेठ, काठमाडौं । नेपालमा मानवअधिकारको स्थितिमा कुनै सुधार देखिएको छैन ।

अमेरिकाले निकालेको सन् २०२३ को मानवअधिकार प्रतिवेदनअनुसार गत वर्ष मानवअधिकारको स्थितिमा कुनै उल्लेखनीय परिवर्तन आएको छैन ।

प्रतिवेदनअनुसार गत वर्ष हत्या, यातना, स्वेच्छाचारी थुना, धम्की, अभिव्यक्ति स्वतन्त्रता, मिडियामाथि गम्भीर अवरोध, शान्तिपूर्ण भेलामा हस्तक्षेप, भ्रष्टाचार, यौन हिंसा लगायत विषयमा उजुरी परेको थियो ।

यी विषयमा सरकारले अनुसन्धान गरे पनि मानवअधिकार उल्लङ्घन गर्नेहरूमध्ये अधिकांशलाई कारबाही नगरेको प्रतिवेदनमा जनाइएको छ ।

उजुरीका विषयमा निष्पक्ष छानबिन नभएको, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको, प्रेसमाथि नियन्त्रण गरेको, न्यायालयलाई स्वतन्त्र हुन नदिएको लगायत विषय उठाउँदै प्रतिवेदनले नेपालमा मानवअधिकारको अवस्थामा सुधार नभएको उल्लेख गरेको हो ।

संविधान र कानुनले स्वतन्त्र न्यायपालिकाको व्यवस्था गरेको भए पनि सरकारले सामान्यतया न्यायिक स्वतन्त्रता र निष्पक्षताको सम्मान नगरेको प्रतिवेदनमा जनाइएको छ । न्यायालयहरू राजनीतिक दबाब, घुसखोरी एवं डरधम्कीको जोखिमको खतरामा रहेको प्रतिवेदनमा उल्लेख छ ।

गत वर्ष अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने क्रियाकलाप भएको पनि जनाइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘भ्रष्टाचार सम्बन्धी समाचार सम्प्रेषण गर्ने पत्रकारहरूलाई धम्क्याउने र आक्रमण गर्ने लगायत प्रेस स्वतन्त्रतामाथि विभिन्न प्रहार भए र सरकारले सञ्चारमाध्यमको सुरक्षा र स्वतन्त्रताका लागि पर्याप्त प्रयत्न गरेन ।’

सरकारले इन्टरनेटमाथिको स्वतन्त्रतामा पनि बन्देज लगाएको प्रतिवेदनमा उल्लेख छ । गत कात्तिकमा आपत्तिजनक सामग्री सम्प्रेषण भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

कारागारको अवस्था र थुनुवा केन्द्रहरूको अवस्था पनि दयनीय भएको उल्लेख छ । भीडभाड, अपर्याप्त पूर्वाधार र खाना, पानी, लुगाकपडा, सरसफाइ र स्वास्थ्य सेवामा अपर्याप्त पहुँचका कारण राष्ट्रिय वा अन्तर्राष्ट्रिय मापदण्ड पूरा नभएको प्रतिवेदनमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?