+
+

बटेश्वरमा जथाभावी खोला उत्खनन अध्ययन गर्न प्रशासनले बनायो समिति

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८१ जेठ २९ गते १४:३४

२९ जेठ, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-१ स्थित बडहडी खोलामा अवैध रुपमा भइरहेको गिट्टी बालुवा उत्खननको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले समिति बनाएको छ ।

सोमबार जिल्ला समन्वय समिति धनुषाका इन्जिनियर संयोजक रहने गरी ३ सदस्यीय टोली गठन गरेको हो । जसमा हुलाकी सडक निर्देशनालय र बटेश्वर गाउँपालिकाको एक–एकजना इन्जिनियर रहने प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए ।

छानबिन समितिले खोला उत्खनन् भएको स्थान र उत्खनन् गरी  ढुंगा बालुवा थुपारेको ठाउँको नापजाँच लगायतको कार्य गरी सातदिन भित्र प्रतिवेदन पेश गर्ने उनले बताए ।

गाउँपालिकाले बस्ती तथा पर्यावरणलाई जोखिममा पार्ने गरी गत फागुनमा बडहडी खोलामा ढुंगा बालुवा झिक्न ठेक्का लगाएको थियो । ६ फागुनमा महोत्तरी बर्दिबासको पञ्चधुरा सप्लायर्सले १४ हजार ४४५ घटमिटर नदीजन्य पदार्थ उत्खननको लागि २७ लाख ९ हजार १०३ रुपैयाँमा ठेक्का लिएको थियो ।

ठेक्का सम्झौता अनुसार ठेकेदारले तोकिएको परिमाणको ढुंगा बालुवा आगामी जेठ १५ गतेसम्म झिक्न पाउने उल्लेख छ ।

ठेकेदारले स्काभेटर जस्ता ठूला यन्त्र प्रयोग गरी २५ फिट गहिरोसम्मको ग्राभेल झिकेका कारण खोलामा ठूला ठूला खाल्डा बनेका छन् । ठेकेदारले चैत पहिलो सातासम्म सम्झौतामा उल्लेख भएको भन्दा तीन गुणा बढी ढुंगा तथा बालुवा झिकिसकेको छ ।

६ चैतमा जिल्ला समन्वय समिति धनुषाका सभापति राजनारायण मण्डलसहितको टोली ढुंगा बालुवा उत्खनन भएको ठाउँमा पुगेको थियो । अनुगमनपछि गाउँपालिका कार्यालयले सम्झौता अनुसार उत्खनन भइसकेको भन्दै पञ्चधुरा सप्लायर्सका संचालक शंकर थापालाई पत्र काट्दै रोक्न भनेको थियो । तर, ठेकेदार कम्पनीसहित अन्य  क्रसर व्यवसायीले दिनरात उत्खनन् तथा ढुवानी गरिरहेका छन् ।

जेठ दोस्रो साता अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी कडरियाले उत्खनन्‌को अवस्था चिन्ताजनक देखेपछि रोक लगाउँदै २४ घण्टा प्रहरी परिचालन गर्न निर्देशन दिएका थिए ।

बडहडी खोलामा  जथाभावी उत्खननले बटेश्वर गाउँपालिका १ को चित्रपुर, निरशपुर र विजयपुर वस्तीमा बाढी पस्ने जोखिम छ । केही वर्षअघि त्यहाँकै बाँध भत्काएर बाढी वस्ती पसेको थियो । बाँध भत्किएकै ठाउँमा जथाभावी उत्खननले स्थानीय त्रसित छन् ।

गाउँपालिका अध्यक्ष रामआशिष महतोले पालिकाका प्राविधिकलाई नापजाँच गर्न आग्रह गरेको तर प्राविधिक नगएको बताए । प्रमुख प्रशासकीय अधिकृत राजगिर महतोले उत्खनन्‌ स्थलमा डरले प्राविधिक जान नमानेको बताए ।

व्यक्तिगत स्वार्थको लागि मिलेमतोमा जथाभावी उत्खनन् गराएकाले जनप्रतिनिधि र कर्मचारी प्रमाण नष्टको लागि ठूलो वर्षा र बाढी आउने समयको पर्खाइमा रहेको गाउँपालिका स्रोतको दाबी छ ।

प्रमुख जिल्ला अधिकारी कडरियाले पालिकालाई दुई पटक उत्खनन स्थलको नापजाँच गरी अवस्था पेश गर्न भनेपनि बेवास्ता गरेपछि अन्त्यमा छानबिन टोली गठन गरेको बताए ।

‘मैले पालिकालाई नापजाँचको लागि २ पटक पत्र पठाए । तर वास्ता गरेनन् । त्यसपछि छानबिन समिति गठन गरेको हुँ’,  प्रजिअ कडरियाले भने ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?