+
+

सुर्खेतको बुलबुले तालमा चल्न थाल्यो मोटरबोट

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३० गते १४:१४
Photo Credit : RSS

३० जेठ, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोट चल्न थालेको छ ।

१२ वैशाखदेखि परीक्षणका रुपमा सञ्चालनमा आएको मोटरबोटको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले औपचारिक शुभारम्भ गरे ।

मुख्यमन्त्री कँडेलले कर्णालीको विकासमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै प्रदेश सरकारले मोटरबोट सञ्चालनका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कर्णाली प्रदेशलाई जहिले पनि दुःख र अप्ठ्यारोको पर्यायवाचीका रूपमा लिने गरिएको उल्लेख गर्दै उनले यो सोच बदल्न जरुरी रहेको बताए । यसका लागि पर्यटन क्षेत्रको विकास सबैभन्दा उपयुक्त विकल्प भएको उनको भनाइ छ ।

उनले यसप्रकारको पर्यटनले सम्बन्धित गन्तव्यमा आर्थिक गतिविधि बढ्नुका साथै राजगारी सिर्जना हुने र विदेश जाने युवालाई स्वदेशमै रोक्न सकिने धारणा राखे ।

सो अवसरमा वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया भण्डारी (ढकाल) ले बुलबुले तालमा मोटरबोट सञ्चालनमा आएपछि यहाँको आर्थिक गतिविधि बढेको बताइन् ।

उनले विगतमा दैनिक मुस्किलले दुई हजार रुपैयाँ राजस्व संकलन हुने गरेकोमा अहिले दैनिक ४० हजार रुपैयाँसम्म राजस्व संकलन भइरहेको जानकारी दिइन् ।

बुलबुले ताल क्षेत्र प्रवेशका लागि नगरपालिकाले प्रतिव्यक्ति २५ रुपैयाँ लिँदै आएको छ । प्रमुख भण्डारीले मोटरबोट सञ्चालनमा आएपछि नगरापालिकाले वार्षिक ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने अवस्था आएको समेत उल्लेख गरिन् ।

मोटरबोट कम्पनी बोटेबोराका सञ्चालक विष्णु ढकालले करिब एक महिनामा पर्यटकको उल्लेख्य उपस्थितिले हौसला बढाएको बताए ।

‘मोटरबोट सञ्चालनका लागि प्रदेश र स्थानीय सरकारबाट राम्रो सहयोग प्राप्त भएको छ । मोटरबोट चढ्नका लागि जुम्ला, हुम्ला, मुगुलगायतका जिल्लाबाट पनि आन्तरिक पर्यटक यहाँ आउनुभएको छ,’ उनले भने ।

उनका अनुसार गत १२ वैशाख यता ३० हजारभन्दा बढीले मोटरबोटको अनुभव लिइसकेका छन् ।

बोटेबोरा कम्पनीले एक करोड ५० लाख रुपैयाँ बराबरको लगानीमा मोटरबोट सञ्चालनमा ल्याएको हो । मृत अवस्थामा रहेको बुलबुले ताललाई कम्पनीले आफ्नै लगानीमा सफा गरेर मोटरबोट सञ्चालन गरेको जनाएको छ ।

कम्पनीका अनुसार ताल सफा गर्न हालसम्म आठ सय २० जना व्यक्ति खटिइसकेका छन् । कम्पनीले यसका लागि मात्रै २५ लाख रुपैयाँ लगानी भइसकेको जनाएको छ ।

तालमा रहेको फोहोर सफा गरेपछि अहिले पानीको सतह केही कम भएको छ । तालमा पर्याप्त पानीको व्यवस्थाका लागि प्रयास जारी रहेको कम्पनीले जनाएको छ ।

हाल कम्पनीले दुई वटा १० सिटे र एउटा आठ सिटे गरी तीन वटा मोटरबोट सञ्चालन गर्दै आएको छ ।

कम्पनीका अनुसार मोटरबोट चढ्न प्रतिव्यक्ति दुई सय रुपैयाँ बच्चा साथमा भएमा दुई सय ५० रुपैयाँ शुल्क लिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?