+
+

आईडीए २१ बैठक सुरु, प्रधानमन्त्रीले गरे उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ४ गते ८:५३

४ असार, काठमाडौं । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संघको आईडीए २१ तेस्रो रिप्लेनिसमेन्ट बैठक सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान काठमाडौंको सोल्टी होटलमा बैठकको उद्घाटन गरेका छन् ।

विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठुलो बैठक हो । शुक्रबारसम्म चल्ने (१८ जुन देखि २१ जुन २०२४) बैठकले न्यून आय वर्गका मुलुकलाई गर्ने भावी सहयोगको रणनीति तय गर्ने छ ।

बैठकमा विश्ववैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनवर्गलगायत उच्च पदस्थ पदाधिकारीसहित ६१ देशका करिब २०० भन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

आगामी ३ वर्षका लागि आईडीए देशलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र सो को लागि आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्च पदस्थ पदाधिकारीहरु बीच ४ दिनसम्म प्रविधिक सत्रमा छलफल हुने बताइएको छ ।

सो अवसरमा बैठकमा सहभागीहरूबाट विश्व बैंकसमेतका सहयोगमा नेपालमा सञ्चालित शिक्षा, खानेपानी, पुनर्निमाण, ऊर्जा, जलवायु लगायतका क्षेत्रसँग सम्बन्धित विभिन्न ९ वटा आयोजनाहरुको समेत स्थलगत भ्रमण हुनेछ ।

नेपालमा सञ्चालन भएका आयोजनाको प्रगति र अवस्था बारे विश्व समुदायलाई नजिकबाट देखाउन र बुझाउन यसले अवसर प्रदान गर्नेछ ।

दक्षिण एशियामै पहिलो पटक आयोजना हुन लागेको विश्व बैकको उक्त प्रकृतिको उच्चस्तरीय बैठकको तयारी सम्पन्न भएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस बैठकको आयोजनाबाट नेपालको विकास अनुभव र सफल मोडलको जानकारी विश्व समुदायलाई हुने, नेपालका विकास प्राथमिकतालाई आईडीएको नीति प्राथमिकतासँग तादम्य गराउन अवसर मिल्ने, अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढने, आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीयस्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढ्ने,  पर्यटन प्रवर्द्धन र अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?