+
+
भागेर युरोप पुगेका इरानी फिल्ममेकर रसोउल्फ :

‘यहाँ धेरै बाटाहरू छन्’

अनुमति विना फिल्म बनाएको लगायत अभियोगमा इरानी अदालतले ८ वर्ष जेल सजाय तोकेपछि इरानबाट भागेर आफ्नो फिल्मको प्रिमियरमा कान्स फिल्म फेस्टिभल पुगेका निर्देशक मोहम्मद रसोउल्फले भने, ‘डराउने र तर्साउने प्रयास धेरै हुनेछन्- तर; नडराउनु, यहाँ धेरै बाटाहरू छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ८ गते १९:३२

इरान, पुरानो पर्सिया । सयौं वर्षसम्म संसारभरिका व्यापारी, सम्राट, कलाकार र यात्रीहरूको मुख्य गन्तव्य रहने गरेको पर्सियाको भाषा, कला र संस्कृतिका किस्सा संसारका कुना-कुनासम्म फैलिएका छन् । भारत जस्तै इरानले पनि संसारका धेरै ठूला साम्राज्य र सैनिक शक्तिको सामना गरेको छ । आफ्नो छातीमा कुन्दाको प्रहार सहेर र बुटको परेडलाई झेलेर इरान आधुनिक समयमा प्रवेश गरेको थियो ।

सन् १९७९ मा त्यहाँ राजतन्त्र फालेर इस्लामिक क्रान्ति भएपछि इरान अर्को युगमा प्रवेश गर्न पुग्यो । त्यहाँका राजा रेजा पहलवी सहित ठूलो समूह यो क्रान्तिमा इरान छोडेर निस्कियो, जसमा धेरै कवि, कलाकार र फिल्ममेकर पनि सामेल थिए । स्वतन्त्रता र खुला समाजतर्फ बढेका भनिएका इरानी पाइला अन्ततः धार्मिक शासनको दलदलमा धसिन पुगे र इरान विस्तारै बन्द र संकुचित बाटोतिर फर्किन पुग्यो ।

शासनमा आएको यो परिवर्तनको प्रभाव इरानको सिनेमामा टड्कारो रूपमा देखिन थाल्यो । इरानी शासन-प्रशासनले फिल्म र फिल्ममेकरलाई निकै कडाइका साथ व्यवहार गर्न थाल्यो । धर्म, राजनीति र प्रेम जस्ता मानिसका नैसर्गिक चासो भएका विषयमाथि फिल्म बनाउन गाह्रो बनाइयो ।

फिल्ममेकरहरूलाई राजनीतिक फिल्म बनाउन मात्र होइन, राजनीतिक दल र समूहका भेलामा जान, विरोध प्रदर्शन गर्न र अन्तर्राष्ट्रिय फिल्म महोत्सव एवं प्लेटफर्महरूमा खुलेर बोल्न पनि कडाइ गर्न थालियो । अब्बास किरुस्तामी जस्ता केही गिनेचुनेका फिल्ममेकर इरानमै बसे र त्यहाँको फिल्म नीतिलाई अलि खुला र कलामैत्री बनाउने प्रयास गरे । अब्बास आफैंले पनि ‘टेस्ट अफ चेरी’, ‘द विन्ड विल क्यारी अस’ जस्ता फिल्म इरानमा बसेर बनाए भने उनीपछिको पुस्तामा माजिद माजिदीले ‘चिल्ड्रेन्स अफ हेभन’ र ‘कलर अफ पाराडाइज’ जस्ता फिल्म बनाए । जफर पनाहीले ‘द ह्वाइट बलुन’ र ‘द सर्कल’ जस्ता फिल्म बनाए भने असगर फरहादीले ‘अबाउट एली’, ‘अ सेपरेसन’, ‘फायरवक्र्स ओइनस्डे’ जस्ता फिल्म बनाए ।

तर, इस्लामिक क्रान्तिपछिका दिनहरूमा मोहम्मद मखमलवाफ जस्ता कैयौं फिल्ममेकरहरू इरान बाहिर निर्वासनमा छन् । जफर पनाही जस्ता कैयौं फिल्ममेकरले जेल सजाय काटे । उनीहरूलाई फिल्म बनाउन पनि प्रतिबन्ध लगाइयो । यस्तै, जेल सजाय काटेका र फिल्म बनाउन प्रतिबन्ध लगाइएका फिल्ममेकर हुन्-मोहम्मद रसोउल्फ ।

सन् २०२० मा आफ्नो फिल्म ‘दियर इज नो इभिल’ ले बर्लिन फिल्म फेस्टिभलको सर्वोच्च पुरस्कार गोल्डेन वेयर जित्दा रसोउल्स बर्लिनमा थिएनन् । समारोहमा अवार्ड थाप्दै उनका निर्माताले भनेका थिए, ‘मोहम्मदको पासपोर्ट जफत गरिएको छ । उनलाई यात्रामा प्रतिबन्ध लगाइएको छ । तर, मोहम्मद रसोउल्फको सन्देश लिएर हामी आएका छौं । उनले भनेका छन्- मानिसको विचार र अभिव्यक्तिलाई कसैले रोक्न सक्दैन । एउटा बाटो थुनिए त्यो अर्को बाटोबाट निस्किनेछ । एक दिन मोहम्मद रसोउल्फ यो स्टेजमा आइपुग्ने छन् ।’

त्यसको चार वर्षपछि यसपालिको ७७औं कान्स फिल्म फेस्टिभलमा २०२४ मे २४ मा मोहम्मद रसोउल्फको नयाँ फिल्म ‘द सिड अफ दि सिक्रेड फिग’ को भव्य प्रिमियर भयो । यो फिल्म कान्सको सर्वोच्च पुरस्कार पाम डि’अरको प्रतिस्पर्धामा थियो । रसोउल्फले बर्लिनमा पठाएको सन्देश जस्तै उनी यो प्रिमियरमा भाग लिन फ्रान्स आइपुगे । उनलाई शासनको अग्लो बाँधले रोक्न सकेन । पानीले जस्तै उनले पनि आफ्नो बाटो पत्ता लगाइछाडे । रसोउल्फको यो उपस्थितिलाई युरोपको फिल्म फेस्टिभल जगत र प्रेसले ठूलो उत्सव जसरी लियो । संसारका सबैजसो ठूला मिडियामा उनका अन्तर्वार्ता प्रकाशित भए । उनीबारे फिचर लेखिए । तिनै अन्तर्वार्ता र फिचरहरूमा आधारित भएर यो सामग्री तयार पारिएको हो ।

इरानले ८ वर्ष जेल सजाय तोकेको एक हप्तामा नै उनी कसरी फ्रान्सको फिल्म महोत्सवमा उपस्थित हुनसके भन्ने रोचक कथा छ । कान्समा उनले बेलायती पत्रिका दि गार्डियन का संवाददातासँग अन्तर्वार्तामा भनेका छन्, ‘मैले ट्रयाक गर्न सकिने मोबाइल फोन लगायतका सबै इलेक्ट्रोनिक डिभाइस निकालें । तिनलाई घरमै छोडें । अनि पहाडी बाटोमा पैदल हिंडेर बोर्डर पार गर्न सफल भएँ ।’

उनले दि गार्डियन सँग जर्मनीबाट गरेको भिडियो कुराकानीमा आफूले यसरी देश छोड्नुको कारण बताएका छन्, ‘म हामी इरानीहरू कस्तो परिस्थितिमा अड्किइरहेका छौं भनेर संसारलाई भन्न चाहन्छु । मैले यो कुरा इरानी जेलमा बसेर सुनाउन सक्ने थिइनँ ।’

५२ वर्षीय निर्देशक रसोउल्फले दिएका सार्वजनिक अभिव्यक्तिका साथै निरन्तर फिल्म तथा डकुमेन्ट्री मार्फत राष्ट्रको सुरक्षामा खतरा पैदा गरेको अभियोगमा ८ वर्ष काराबासको सजाय इरानको अदालतले सुनाएको थियो । यो सजाय त्यसबेला सुनाइयो, जब उनको फिल्म ‘द सिड अफ अफ दि सिक्रेड फिग’ कान्सको सर्वोच्च पुरस्कारको प्रतिस्पर्धामा छनोट भएको समाचार आएको थियो । कान्समा फिल्म छनोट भएको समाचार आउनासाथ रसोउल्फलाई फेस्टिभलबाट फिल्म फिर्ता लिनलाई इरान सरकार र प्रशासनले तीव्र दबाब दिएको थियो । फिल्मका निर्मातालाई प्रहरीले दुव्र्यवहार गर्नुका साथै कलाकारहरूलाई प्रश्नोत्तरका लागि बोलाइएको थियो । उनीहरू सबैलाई देश छोडेर जान प्रतिबन्ध लगाइएको थियो । रसोउल्फले फिल्म फिर्ता लिन मानेनन् । उनलाई ८ वर्ष काराबास र फिल्म बनाउन प्रतिबन्धको सजाय सुनाइएको थियो ।

‘मेरो घरबाट म बसेको जेलको भित्ता देखिन्छ । मलाई सजाय सुनाइसकिएको थियो । कुनै पनि बेला मलाई पक्राउ गरिनसक्थ्यो । एकजना साथीले मलाई मोबाइल, कम्प्युटर र कुनै पनि किसिमका इलेक्ट्रोनिक सामग्री नबोकी चुपचाप निस्किन सल्लाह दिए । मसँग निर्णय गर्नका लागि धेरै समय थिएन । जेल बसेर फिल्म बनाउन सकिंदैन भन्ने लाग्यो । अनि म घरबाट चुपचाप निस्किएँ । एकजना गाइडको सहारामा घण्टौं पैदल हिंडेर बोर्डर छेउ पुगें । त्यहाँबाट एउटा गुप्त बाटोबाट मैले बोर्डर पार गरें । त्यहीं नजिकैको घरमा केही दिन लुकेर बसें । त्यो गाउँबाट शहरमा पुगेपछि बल्ल जर्मन अधिकारीहरूसँग सम्पर्क भयो । अनि उनीहरूको सहयोगमा म जर्मनी आइपुगें’, उनले कान्समा संवाददाताहरूसँग भने । जर्मनीको विदेश मन्त्रालयले उनको परिचय प्रमाणित गरेर कागजपत्र उपलब्ध गराएपछि उनी युरोप पुगेका थिए । रसोउल्फ जर्मनी पुगेपछि मात्रै उनी भागेको समाचार सार्वजनिक गरिएको थियो । उनलाई जर्मनीले शरण दिएको समाचार पनि आएका छन् । जर्मनीको विदेश मन्त्रालयले इरानमा स्वतन्त्रताको लागि संघर्ष गरिरहेको नागरिक समाजलाई आफूहरूले सक्दो सहयोग गर्ने बताएको अन्तर्राष्ट्रिय प्रेसहरूले जनाएका छन् ।

रसोउल्फकी वकिल एवं इरानी मानवअधिकारवादी अभियन्ता बबाक पकनियाका अनुसार ‘द सिड अफ दि सिक्रेड फिग’ निर्माणका लागि प्रशासनसँग अनुमति नलिइएको, फिल्मका अभिनेत्रीहरूले सही ढंगले हिजाब नलगाएको र फिल्ममा उनीहरूलाई विना हिजाब देखाइएको भन्ने आरोप उनीमाथि लगाइएको थियो ।

मोहम्मद रसोउल्फलाई यसरी सजाय सुनाइएको यो पहिलो पटक होइन । उनी यसअघि दुईपटक जेल बसिसकेका छन् । २०१० मा उनलाई ६ वर्षको जेल सजाय सुनाइएको थियो । पछि यो सजाय घटाएर १ वर्षमा झारिएको थियो । २०१७ मा उनको पासपोर्ट जफत गरिएको थियो भने उनलाई देश छोडेर जान प्रतिबन्ध लगाइएको थियो । २०१८ मा फेरि इस्लामिक रिभोलुसनरी अदालतले उनलाई १ वर्ष जेल सजाय र २ वर्ष देश छोड्न प्रतिबन्ध लगाएको थियो । उनलाई कुनै पनि सामाजिक एवं राजनीतिक गतिविधिमा भाग लिन पनि प्रतिबन्ध लगाएको थियो । २०१७ मा उनले इरानको स्थानीय प्रशासनमा व्याप्त भ्रष्टाचारबारे बनाएको फिल्म ‘अ म्यान अफ इन्टिग्रिटी’ ले कान्सको अन सर्टेन रिगार्डमा अवार्ड जितेपछि उनलाई यो प्रतिबन्ध लगाइएको थियो ।

२०२० मा उनीमाथि फेरि चार वर्ष जेल र दुई वर्ष फिल्म बनाउन प्रतिबन्ध लगाइएको छ । त्यतिबेला व्यवस्था विरुद्ध अफवाह फैलाएको आरोप उनलाई लगाइएको थियो । त्यसै वर्षको फेब्रुअरीमा उनको फिल्म ‘दिअर इज नो इभिल’ ले बर्लिनमा सर्वोच्च पुरस्कार जितेको थियो । २०२२ मा कान्सले उनलाई अन सर्टेन रिगार्डको जुरी सदस्यमा मनोनीत गरेको थियो । तर, प्रतिबन्धका कारण उनी फेस्टिभलमा आउन नसकेपछि फेस्टिभलले उनको सट्टा अरू कसैलाई जुरी सदस्य मनोनित गरेको थिएन । पूरा फेस्टिभल अवधिभर उनको नेमप्लेट सहित कुर्सी खाली राखिएको थियो । फेस्टिभलले इरान सरकारको यो कदमको आलोचना पनि गरेको थियो ।

युरोप पुगे पनि रसोउल्फले कुनै दिन आफ्नो देश फर्किने र आफ्ना मानिसहरूबारे फिल्म बनाउने इच्छालाई आफूले परित्याग नगरेको बताएका छन् । ‘देश छोडेका हरेक इरानीको फर्किने सुटकेस तयार हुन्छ’ उनले भनेका छन् । कान्समा आफ्नो फिल्मको प्रिमियरअघि उनले भने, ‘म चाँडै नै देश फर्किने र इरानी जीवनका कथा भन्ने कुरामा आशावादी छु । देशमा मेरो कानुनी अवस्थाले गर्दा म देश छोड्न बाध्य भएको हुँ, देश छोड्ने इच्छाले होइन ।’

उनले दि गार्डियन सँग जर्मनीबाट गरेको भिडियो कुराकानीमा आफूले यसरी देश छोड्नुको कारण बताएका छन्, ‘म हामी इरानीहरू कस्तो परिस्थितिमा अड्किइरहेका छौं भनेर संसारलाई भन्न चाहन्छु । मैले यो कुरा इरानी जेलमा बसेर सुनाउन सक्ने थिइनँ ।’

उनले कुनै पनि अधिनायकवादी एवं तानाशाही शासकले जस्तै इरानको सरकारले पनि आफूले चाहे जस्तो छवि मात्रै बाहिर देखाउन खोजेको तर फिल्ममेकरहरूले वास्तविकता देखाइदिएका कारण आफू र आफ्ना फिल्ममाथि प्रशासन खनिएको बताएका छन् । ‘उनीहरू सबैलाई डराएर-तर्साएर कसैलाई पनि फिल्म बनाउन, आफूलाई अभिव्यक्त गर्नबाट रोक्न चाहन्छन् । नागरिकहरूलाई नियन्त्रण गर्न सकिन्छ भन्ने भ्रममा उनीहरू मानिसको स्वतन्त्रता खोस्न चाहन्छन्’, मोहम्मद रसोउल्फले फ्रान्स पुगेर भने, ‘तर, म मेरा साथीहरू एवं फिल्ममेकरहरूलाई भन्न चाहन्छु- यहाँ धेरै बाटाहरू छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?