 
																			१५ साउन, काठमाडौं । नेपाली राजनीतिमा ‘राष्ट्रवाद’को कार्ड निकै चल्छ । खासगरी कम्युनिस्ट दल वा नेताहरुमा लामो समयसम्म आफूलाई राष्ट्रवादी र विरोधीलाई राष्ट्रघाती देखाउने होड नै चल्यो । राष्ट्रवादी–राष्ट्रघातीको ट्याग लाग्दा ठूला दल र तिनका नेताहरुले लाभहानी पनि व्यहोरेका छन् ।
मंसिर ०७९ को चुनाव अगाडि बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसबाट अलग थियो । पुराना दलहरुमाथि प्रश्न गर्दै विकल्पका रुपमा आएको रास्वपाले वैचारिकी पनि धेरै प्रष्ट पारेको थिएन । पछिल्लो पटक मंसिर ०८० को जलेश्वर बैठकले केही सैद्धान्तिकमा विषय बोलेको छ, तर अझै थुप्रै विषयमा प्रष्ट भइसकेको छैन । त्यसैले धेरै प्रश्न पनि सामना गर्नुपरेको छैन ।
तर पछिल्लो पटक संसदमै रास्वपा उपसभापति स्वर्णिम वाग्लेमाथि गम्भीर प्रश्न उठेको छ ।
सोमबार संसदमा नेकपा एमालेका सांसद रघुजी पन्तले वाग्लेले ६ महिना पहिले दिएको अभिव्यक्तिको विषय उठाए भने मंगलबार कांग्रेस सांसद ईश्वरी देवी न्यौपानेले रास्वपाकै धारणा माग गरिन् ।
रास्वपाले कारबाही गरेका तत्कालीन महामन्त्री मुकुल ढकालले पछिल्लो एउटा अन्तर्वार्तामा सभापति ‘रवि लामिछानेले प्रधानमन्त्री बन्न भारतसँग जे पनि गर्न तयार छु’ भनेको दाबी गरे । भारतीय राजदूतसँग भएको भेटपछि उपसभापति वाग्लेले त भारतको एउटा राज्य बनाउनुपर्छ भनेर नेपाललाई भुटानीकरण गर्न तयार हुनुपर्छ भनेको जिकिर गरे । भर्खर पार्टीबाट निकालिएका ढकालले दिएको अभिव्यक्तिलाई न रास्वपाले गम्भीर रुपमा लियो, न अरुले ।
तर एमाले सांसद पन्तले २१ फागुन २०८० मा भएको रास्वपाको नीति मन्थनका क्रममा वाग्लेले दिएको अभिव्यक्ति र ढकालको दाबीलाई जोडेर प्रश्न उठाएका हुन् ।
वाग्लेले भनेको ‘साउथ एसियन मनरो डक्ट्रिन’ नेपालले लिँदै आएको असंलग्न परराष्ट्र नीति, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र असंलग्न परराष्ट्र नीति विपरीत रहेको भन्दै उनले छानबिनको माग गरे ।
मंगलबार यसै प्रसंगमा कांग्रेस सांसद न्यौपानले भनिन्, ‘सधैं स्वतन्त्र रहेको देशलाई भारतको मनरो डक्ट्रिनमा रहेको वा रहनुपर्ने, त्यो नेपालले बुझ्नपर्ने जस्ता आपत्तिजनक कुरा बोल्नुभएको छ । यसमा रास्वपाको धारणा के हो ?’
आफ्नो अभिव्यक्तिलाई लिएर प्रश्न उठेपछि वाग्लेले मंगलबार नै संसदमा स्पष्टीकरण दिएका छन् । भीमसेन थापा र पृथ्वीनाराण शाह गोरखाको भएको भन्दै उनले भने, ‘गोरखाली राष्ट्रवादको रगतै खोज्ने हो भने अलि अलि अंश म मा पनि छ ।’
‘साउथ एसियन मनरो डक्ट्रिन’लाई लिएर उठेको प्रश्नमा भने डा. वाग्ले रक्षात्मक देखिए ।
वाग्लेले के भनेका थिए ?
रास्वपाले २०८० साल फागुन २१ गते ऊर्जा क्षेत्रको विषयमा नीतिगत छलफल राखेको थियो । उक्त कार्यक्रममा डा. वाग्लेले नेपालको जलविद्युतको प्रयोग, विदेश निर्यात लगायतको विषयमा भूराजनीतिलाई समेत जोडेर ब्याख्या गरेका थिए ।
‘सबैभन्दा ठूलो र अहिले अलि पेचिलो जियोपोलिटिकल (भूराजनीतिक) पनि भइराख्या छ । अब इन्डियाले यो होल गेममा हामी अवेर (सचेत) हुनुपर्छ’ उनले भनेका थिए, ‘चाइनिज पुँजी, चाइनिज कन्ट्याक्टरहरू र चाइनिज तकनिकी (प्रविधि) उपयोग भएकोमा हामी लिँदैनौँ भनेर अब उसले भन्न पायो । आफ्नो स्वभरिनिटी च्वाइस पनि हो ।’

नेपालले भारतसँग १० वर्षमा १० हजार मेगावाट विजुली बिक्री गर्ने गरी दीर्घकालीन विद्युत व्यापार सम्झौता गरेको छ । तर चिनियाँ लगानी वा निर्माण प्रक्रियामा चिनियाँ ठेकदार कम्पनी संलग्न भएको जलविद्युत आयोजनाको विद्युत खरिद गर्न भारतले मानेको छैन ।
यसले नेपालका सबै खोलानाल तथा जलविद्युत आयोजनामा भारतको एकाधिकार स्थापित हुने कतिपयको चिन्ता छ । तर डा. वाग्लेले भारतको अडानलाई सहयोग हुने गरी धारणा राखे ।
भारतको अडानको व्याख्या गर्दै डा. वाग्लेले भने, ‘हाम्रो लेऊ भनेको पनि हुन सक्छ वा अब किन जानीजानी आफ्नो जियोपोलिटिकल राइबल (प्रतिस्पर्धी) लाई उठाउन दिने भन्ने पनि छ ।’
चीनसँग १४० अर्ब डलरको व्यापार गर्ने भारतले एक दुई करोडका आयोजनामा किन यसो गरेको होला भन्ने प्रश्न गर्दै उनले एउटा सन्देश दिन खोजेको हुन सक्ने बताए । उनले अगाडि भने, ‘यसलाई साउथ एशियन मनरो डक्ट्रिन पनि भन्न सकिन्छ ।’
१८२३ मा अमेरिकाका पाँचौँ राष्ट्रपति जेम्स मनरोले अमेरिकी कंग्रेसमा भाषण गर्ने क्रममा एउटा नीति वक्तव्य दिएका थिए । जसमा उनले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रलाई अमेरिकाको प्रभावक्षेत्र (स्फेयर अफ इन्फ्लुयन्स) का रुपमा व्याख्या गरेका थिए । ‘त्यसलाई मनरो डक्ट्रिन पनि भनिन्छ’ डा. वाग्ले स्वयंले भनेका छन् ।
अहिले भारतले ‘दक्षिण एसियाली मनरो डक्ट्रिन’ अघि सार्दै यो क्षेत्र आफ्नो भएको र अरुलाई नआउन भनेको वाग्लेको विश्लेषण छ । उनी त्यतिमै रोकिएनन्, ‘अब इन्डिया इज अ राइजिङ पावर । उसले भन्यो कि – यो स्फेयर अफ इन्फ्लुयन्समा तिमी बाहिरी शक्तिहरू दखल नगर । राइजिङ पावरहरुको यो कुरा हामीले पनि बुझिदिनुपर्छ ।’
भूराजनीतिक विषयमा प्राक्टिकल र व्यवहारिक हुनुपर्ने भन्दै उनले यसमा कच्चा राष्ट्रवाद जाग्न नहुने समेत बताएका थिए । ‘यो जिङ्गोइजम (अति राष्ट्रवाद) लाई अलिकति मेलो गरेर प्राक्टिकल साधन के हो ? साध्य के हो ? भनेर छुट्याएर गयौं भने धेरै कुराहरु क्लियर हुन्छ ।’
पन्तको प्रश्न : भारतले नभनेको डक्ट्रिन कहाँबाट आयो ?
सोमबार एमाले सांसद रघुजी पन्तले पाँच महिना अगाडि रास्वपाका उपसभापति डा. वाग्लेले दिएको अभिव्यक्तिमाथि गम्भीतापूर्वक प्रश्न उठाए । मनरो डक्ट्रिन कहाँबाट आयो भन्ने लामो व्याख्या गरेका उनले अहिले यो औचित्यहीन भइसकेको बताए ।
भारतले साउथ एशियन मनरो डक्ट्रिन कहिल्यै नभनेको दाबी गरे । ‘इन्डियाले आजसम्म कुनै पनि फर्मल फरेन डकुमेन्टमा साउथ एसियन मनरो डक्ट्रिन भनेको छैन र नेपालले कहिल्यै पनि यो स्वीकारेको छैन’, पन्तले वाग्लेलाई प्रश्न गरे, ‘हामीले बुझ्नुपर्छ भनेको के हो ?’
नेपालले भारत र चीन दुवैको हस्तक्षेपसँग जुधेको र आफ्नो स्वतन्त्रता जोगाएर भन्दै पन्तले १९२३ मा भएको सन्धिमा ब्रिटेन स्वयंले ‘नेपाल एउटा स्वतन्त्र र स्वाधीन देश हो’ भनेर स्वीकार गरेको स्मरण गरे ।

स्वतन्त्रतापछिको पहिलो भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले ‘हिमालय आफ्नो प्रभाव क्षेत्रमा पर्छ’ भनेर बोल्दा नेपालका प्रधानमन्त्री बीपी कोइरालाले सार्वजनिक रूपमा खण्डन गरेको भन्दै उनले भने, ‘त्यसपछि भारतीय प्रधानमन्त्री नेहरूले सार्वजनिक रूपमै गल्ती स्वीकार्नुभयो ।’
पछिल्लो पटक प्रधानमन्त्री केपी ओलीको पालामा नयाँ नक्सा सार्वजनिक गरेको उल्लेख गर्दै एमाले सांसद पन्तले नेपालले कहिल्यै कसैको कुनै डक्ट्रिन स्वीकार नगरेको बताए ।
तर अहिले सांसदले नै भारतका साउथ एसियन मनरो डक्ट्रिनलाई बुझिदिनुपर्छ भन्ने आपत्तिजनक भएको उनले बताए ।
‘आज एउटा नेपालका सांसदको मुखबाट कतै चर्चामा नभएको र भारतले पनि कतै उल्लेख नगरेको ‘साउथ एसियन मनरो डक्ट्रिन कुरा निस्कनु र त्यसलाई नेपालले बुझिदिनुपर्ने कुरा निस्कनु’ अत्यन्त आपत्तिजनक, लज्जास्पद र खेदजनक छ’ उनले भने ।
डा. वाग्लेको अभिव्यक्तिको आलोचना र भर्त्सना गरिनुपर्ने उनले बताए । डा. वाग्लेको अभिव्यक्ति असंलग्न परराष्ट्र नीति, नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र असंलग्न परराष्ट्र नीतिको विपरीत रहेको भन्दै उनले थपे, ‘स्पष्ट रुपमा यसले देश विरोधी सारतत्वलाई बोकेको छ । यसले नेपालका देशभक्तहरुको अपमान गरेको छ ।’
उनले अगाडि भने, ‘भारत राइजिङ पावर हो भने चीन के हो ? चीनले भोलि मनरो डक्ट्रिनको कुरा गर्यो भने हामी के गर्छौं ? नेपालले न चीनको मनरो डक्ट्रिनको त्यस्तो कुरा आयो भने स्वीकार्छ न भारतको कुरा स्वीकार्छ, न अरु कुनै देशको कुरा स्वीकार्छ ।’
डा. वाग्लेको अभिव्यक्तिको छानबिन गर्नुपर्ने पन्तको माग छ । ‘नेपालले लिएको स्वाधीन एउटा परराष्ट्र नीतिलाई अगाडि बढाउनुपर्छ । त्यसैले यो गम्भीर कुरालाई म छानबिन आयोग त बनाउनुस् भन्दिन तर, नेपालको संसदले अध्ययन गर्नुपर्छ ।’
वाग्लेको स्पष्टीकरण : चियाको कपमा तुफान ल्याउन खोजियो
आफूमाथि कांग्रेस र एमाले दुवै दलका सांसदले प्रश्न उठाएपछि डा. वाग्लेले मंगलबार स्पष्टीकरण दिए ।
उनले यो विषयलाई अनावश्यक रुपमा उठाएको दाबी गरे । ‘अलिकति कन्टेक्स्ट, अलिकति नुआन्स बुझ्यौं भने हामीले चियाको कपमा तुफान ल्याउन खोजिरहेका छौं वा तथ्यमा टेकेर बहस गरिरहेका छौं भन्ने कुरा स्वयं सिद्ध हुन्छ’, वाग्लेको जवाफ छ ।
मनरो डक्ट्रिन अहिले असान्दर्भिक भएपनि यसको मर्म अहिले पनि प्रासंगिक रहेको भन्दै उनले भने, ‘सबै उदीयमान शक्ति राष्ट्रहरुले आफ्नो छिमेक नीतिमा चासो राख्छन् । आफ्नो प्रभाव क्षेत्र, आफ्नो स्फेयर अफ इनफ्लुयन्स उनीहरुले हेक्का राखेका हुन्छन् ।’
आफ्नो यो अभिव्यक्तिलाई तोडमोड गरेर आफ्नो देशभक्तिमाथि प्रश्न गरेको भन्दै उनले आफू उन्नत विकल्प छाडेर राजनीतिमा आएको जिकिर गरे । ‘अरुको राष्ट्रवाद कागज र भाषणमा होला, मेरो देशभक्ति मेरो दैनिकीमा झल्किन्छ’ उनले भने ।
नयाँ शक्तिलाई गलाउने र झुकाउन दुस्साहस नगर्न आग्रह गरे । आफ्नो पार्टीले नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक साँस्कृतिक विविधतामा आधारित, सहअस्तिथ्व र पारस्परिक सम्मान, विश्वभर फैलिएका नेपालीहरुको सामूहिक सामथ्यै र एसियाको उदाउँदो भूराजनीतिक महत्वलाई आत्मसात गर्ने नीति लिएको बताए ।
नेपालको स्वतन्त्रता सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभिष्ट रहने भन्दै रास्वपा उपसभापति वाग्लेले भने, ‘पञ्चायतकालीन स्मरण गर्दै अराष्ट्रिय तत्वको भाष्य निर्माण गर्न खोजिएको छ, त्यो खेदजनक छ । त्यसको हामी डटेर सामना गर्छौं ।’
हेर्नुहोस मनरो डक्ट्रिनबारे कसले के भनेका थिए ?
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4