बालाई सोधी तिम्लाई लिन आको छ
तिमीविना म लाटो भाको छु
बाख्रा करायो
तिमीविनै भोक निन्द्रै हरायो
गायक यम बरालको नयाँ गीत ‘बाख्रा करायो’का शब्द हुन् यी । लोकदोहोरी शैलीको यो गीतमा यमलाई गायनमा शान्तिश्री परियारले साथ दिएकी छन् । गीतमा डीपी खनालको शब्द र यम बरालकै संगीत छ भने विषम आचार्यले एरेन्ज गरेका छन् ।
बिहीबार साँझ काठमाडौंमा सीमित शुभचिन्तक र पत्रकारहरुमाझ यमले नयाँ गीतको भिडियो रिलिज गरे । प्रेमिकालाई फकाउन गरेको प्रेमीले गरेको भूमिकालाई रमाइलो ढंगमा गीतको भिडियोमा उतारिएको छ । भिडियोमा यम बराल, कृष गुरुङ, जुना कार्की र चाहना राना मगरले अभिनय गरेका छन् ।
केशवराज भट्टले निर्देशन गरेको भिडियोमा विशाल थापाको छायांकन र दिन्सन शाहको सम्पादन तथा कलर संयोजन छ ।
गीत सार्वजनिक कार्यक्रममा गायक बरालले ‘बाख्रा करायो’ अहिलेको सांगीतिक माहोलअनुसारको रहेको बताए । ‘मलाई सुनिरहेका श्रोताका साथै अहिलेको पुस्तालाई समेत मध्यनजर गरेर शान्तिश्रीको साथमा यो गीत ल्याएको हुँ । अहिलेको सांगीतिक माहोलअनुसार पनि चल्न सक्नुपर्ने रहेछ,’ उनले भने, ‘धेरैले मलाई सांगीतिक उपस्थिति अलि पातलो भयो भन्ने गुनासो गर्नुहुन्छ । अब सक्रिय ढंगले लाग्नेछु ।’
यमले आफूले धेरै गीत तयार गरेर राखेको भए पनि अहिलेको परिस्थितिका कारण सार्वजनिक गर्न डर लागेको समेत बताए । ‘मैले आफ्नै जनराका धेरै गीत तयार पारेको पनि छु । तर के गरौं सांगीतिक माहोल यस्तो छ । लगानी उठ्नसक्छ भन्नेमा ढुक्क हुने ठाउँ छैन,’ उनले अगाडि भने, ‘समय र माहोल नबुझी गीत ल्याउँदा त्यो गीतको हत्या होला कि भन्ने डर हुन्छ ।
कुनै समय पार्श्व गायनमा समेत एकछत्र राज गरेका यमको पछिल्लो समय सांगीतिक सक्रियता पातलिएको विषयमा धेरैले गुनासो गर्ने गरेका छन् ।
उक्त कार्यक्रममा पनि उनलाई यसबारे सोधियो- तपाईं बजारबाट टाढा गएको कि बजारले टाढा पुर्याएको ?
‘यसमा बजारकै कुरा आउँछ । कतिपय अवस्थामा चाहँदा-चाहँदै पनि नयाँ सिर्जना लिएर आउन सकस हुनेरहेछ,’ उनले भने, ‘अहिले सबैभन्दा मुख्य कुरा नै लगानी हुन्छ । ठूलो लगानी गरेर गीत ल्याउन चुनौतीपूर्ण छ । बजारबाट लगानी रिटर्न हुने कुनै ग्यारेन्टी हुन्न ।’
‘बाख्रा करायो’लाई ‘ओएसआर डिजिटल’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
प्रतिक्रिया 4