+
+

बेइजिङ प्लस थर्टी महिला सम्मेलन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन ३१ गते १८:५५

३१ साउन, काठमाडौं । शुक्रबार बेइजिङ प्लस थर्टी राष्ट्रिय महिला सम्मेलन हुने भएको छ । आयोजक बियोन्ड बेइजिङ समिति (बीबीसी)ले सन् १९९५ मा चीनको बेइजिङमा भएको चौथो विश्व महिला सम्मेलनको घोषणा र कार्यमञ्चले पारित गरेको १२ वटा सवालका विषयमा छलफल गर्ने जानकारी दिएको छ ।

चौथो विश्व महिला सम्मेलनले महिलाको मानव अधिकार, महिला र बालिकाको सशक्तिकरणसँग सम्बन्धित बेइजिङ घोषणा र कार्यमञ्चले महिला र गरिबी, महिला शिक्षा र तालिम, महिला र स्वास्थ्य, महिला विरुद्ध हिंसा लगायतका १२ वटा सरोकारका सवालहरु पारित गरेको थियो ।

शुक्रबार हुने सम्मेलनले बेइजिङ घोषणा र कार्यमञ्च कार्यान्वयन गर्नका लागि नेपाल सरकारले हस्ताक्षर गरी प्रतिवद्धता गरे बमोजिम हरेक पाँच वर्षमा त्यसको प्रगति, कार्यान्वयन गर्दा सामना गरेका चुनौती, अवसर र कार्यान्वयन गर्न बाँकी रहेका कामहरुको प्रतिवेदन तयार गर्नेछ ।

छलफलबाट आएको निचोडलाई आगामी वर्ष संयुक्त राष्ट्रसंघको महिलाको स्थिति सम्बन्धी आयोगको ६९ औं सत्रमा पेश गरिने पनि बियोण्ड बेइजिङ समिति (बीबीसी)ले जानकारी दिएको छ ।

साथै राष्ट्रिय सम्मेलनबाट पारित भएको घोषणा पत्रलाई नेपाल सरकारका सबै तह, निकाय र क्षेत्रमा पैरवी गर्न समेत उपयोग गर्ने बीबीसीकी अध्यक्ष कृष्णकुमारी वाइबाले जानकारी दिइन् ।

उनले भनिन् ‘जसले लैंगिक समानता, बालिका र महिला सशक्तिकरणको सवाललाई थप जोडका साथ महिला र बालिकाको आवाजहरु स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय तहसम्म पुर्‍यान अवसर प्रदान गर्नेछ ।’

ललितपुर जावलाखेलस्थित स्टाफ कलेजमा हुने सम्मेलनको पहिलो सत्रमा प्रदेशगत प्रतिनिधिहरुसँग छलफल हुने र दोस्रो सत्रमा विषय सम्बन्धित विज्ञहरुसँग छलफल गरेपछि घोषणा पत्र जारी हुने बिहीबार बीबीसीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

सम्मेलनमा आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, अपांगता भएका व्यक्तिहरु, युवा, ज्येष्ठ नागरिक र सीमान्तकृत समुदाय, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय, स्वास्थ्य, शिक्षा र वातावरण क्षेत्रका विज्ञ, विभिन्न क्षेत्रका पेशाकर्मीहरु, महिला मानवअधिकारर्मी सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?