+
+

हरियो मकै

पोलेको हरियो मकैभन्नासाथ त्यही स्वाद याद आउँछ, आमा, हजुरआमाको माया याद आउँछ, त्यही बाल्यकाल याद आउँछ ।

प्रा.डा. राजेन्द्र कोजु प्रा.डा. राजेन्द्र कोजु
२०८१ भदौ १० गते ८:३१

बाटो बाटोमा पोलेको हरियो मकैको बास्ना नाकमा पर्ना साथ यो मन करिब पचास वर्षअघिको साउन भदौको झरीका दिनमा पुग्छ । साउन भदौमा पानी परि राख्दा पनि जसोतसो प्लास्टिकको पाल टाँगेर दुईएक डोका हरियो मकै, काठका फर्निचर कारखानामा कामै नलाग्ने फल्याक-टुक्राटुक्री किनेर ल्याएर बाल्दै, पोलेर बेच्दै गर्ने दिदीबहिनीहरूसँग मकै किनेर खाँदा घरमै आमाले बारीबाट ल्याउनु भएको, हजुरआमाले पोलेर दिनुभएको याद आउछ ।

झरीमा लत्पतिदै आउनुहुन्थ्यो-मेरी आमा । फरियाको फेरोले छेले पनि नछेले पनि टाउको चाहि छोप्नु हुन्थ्यो । सायद ठूलो झरीले टाउको अनुहार केही बचाउन सकियोस भनेर होला । मकै बारीमा जादा छाता सायदै काम लाग्थ्यो होला अथवा जानु हुँदा पानी नपरेको हुनाले होला-छाता लिएर जानुभएको थिएन । घरमा एउटा छाता थियो-कालो कपडाको, छडी पनि लामो, निंगालो को हो कि ? हामी स्कुल जादा नि छाता लाने चलनै थिएन । अहिले जस्तो भाचेर सानो बनाउन मिल्ने छाता कहा हुन्थ्यो ?

आमाले फरिया कै पोको पारेर हरियो सिमि, हरियो बोडी फर्सीको मुन्टा, अनि ४-५ घोगा मकै ल्याउनुभाथ्यो ।

कहिलेकाहीँ निगुरो एक दुई टुसा पनि ल्याउनुहुन्थ्यो । घरभित्र आउनुभएपछि भिजेको कपडाबाट पानी टपटप  चुहाउँदै भर्‍याङ उक्लेर सानो ढोकाबाट भित्र सबैजना बस्ने कोठामा छिर्नुभयो । जाँदा भदौरे घाम-पसिना आएर त्यसै थाक्ने, बारीको कामले केही गलेकै होला, बिहान खाएको खाना सकिएर भोक लागि सकेको होला, दर्के पानीले चुटेर त्यसै ज्यान लथ्रक्क परेको होला-बिसाउनुभयो थकित ज्यानलाई सुकुलको छेउतिर-हिलोले लत्पतिएको खुट्टा सुकुल बाहिर लिपेको भुईंमा पसार्दै।

फरियाको पोका फुकाएर सबै सुकुलमाथि नै राख्नुभयो । हजुरआमा बिस्तारै आउनुभएर तरकारी केलाउदै हेर्नु भयो । एक छिन् सास फेरेपछि आमा कपडा फेर्न जानुभयो ।

माटोले जोडेको इट्टाको घर । काठको भर्‍याङ, काठकै झ्याल, काठकै दलिन ओछ्याएर सानासाना काठका फल्याक राखेर तला बनाइएको हुन्थ्यो । त्यही फल्याकमाथि माटो लिपेको भुईं हुन्थ्यो । समग्रमा त्यो बेलाको घरमा माटो, इँट्टा, काठनै मुख्य सामग्री हुन्थ्यो । अझ भुईं नियमित लिप्दा-रातो माटोले लिप्थ्यो, कहिलेकाहीँ गोबर पनि मिसाएर लिप्थ्यो । भित्ता कमेरो (सेतो माटो) ले लिप्थ्यो | घर पूरै माटो कै गन्ध आउथ्यो । अहिले जस्तो सिमेन्ट, टाएल, प्लास्टिक, पीभिसी, इनामेल हुदैनथ्यो ।

सानोसानो घोगा लागेकै बेलामा आमा वा दिदीहरुसँग बारीमा पुग्दा भित्र गेडा पस्यो कि भनेर खोलेर हेर्न मन लाग्थ्यो । मकैको घोगामाथि कपाल जस्तै रेसाहरू आउँछ । भाँचेको मकैको त्यो रेसाहरू जुँगा बनाएर खेल्न नि रमाइलो लाग्थ्यो

भुईंमा ओछ्याउने पनि सुकुल अथवा गुन्द्री-परालले बुनेको । हरेक घरमा बुन्ने सीप पनि हुन्थ्यो भनौं । गुन्द्री बुन्न तानको प्रयोग गरेको देखेको-सुकुल त त्यही तान पनि नराखी बुनेको । सुकुल बुन्न चाहिने पराल को डोरी आफैंले नि बाटेको याद छ । सुकुल नै बुन्न खोज्दा-बांगोटिङ्गो भएको वा कस्सेर राख्न नसकेको ले आमा ले- ‘खै छोड, खेल्न जा’ भनेको चाहिं याद छ ।

घर, अहिलेको शब्दमा भन्दा-सबै अर्गानिक सामानले बनेको । त्यसैले गन्ध पनि अर्गानिक नै होला । माटोको गन्ध धेरै ।

साउन भदौको झरीमा, त्यही माटोको गन्धसँगै ओसिएको गन्धले अलि नमिठो आभास दिन्थ्यो।  तर, हरियो मकै पोल्दा चाहिँ, एउटा मिठो बास्ना आउथ्यो ।

हरियो मकै देख्ना साथ हामी केटाकेटीलाई पोलेर खुवाउन हजुरआमाले मक्कल ल्याउनुभयो । हजुरआमा-यस्तो भदौको गर्मीमा पनि पानी पर्‍यो भने मक्कल च्याप्नुपर्ने | मक्कलमै गोल जोड्नु भयो र आगो फुक्न थाल्नुभयो ।

आगो जोडे पछि हजुरआमा मकैको हरियो खोस्टा निकाल्न थाल्नुभयो । मकै कुनै सानोसानो दुधिलो, कुनै ठुलोठुलो, पोटिलो, अलि पाकी सकेको तर पूरै छिप्पिएको होइन । त्यतिबेला उसिनेर खाएको त्यत्ति याद छैन । बरु दुधिलो मकै छोडाएर पिसेर रोटि बनाएर खाएको याद छ । साथीसाथी मिलेर बिदाको दिनमा दिउँसै मकै ल्याएर रोटी बनाएर खाको नि बिर्सिंदैन ।

मकैको बारी-मकै छर्ने बेलामा टन्टलापुर घाम हुन्थ्यो । पहाडको ठाउँ-आकासे पापानी पर्‍यो भने छरेको हप्ता दश दिनमा उम्रियो, पानी परेन भने ढिलो भयो वा उम्रदै उम्रेन । उम्रेर पानी परेन भने त झन कलिला सानासाना बोट नै सुकेर जान्छ । कसैकसैले घैटोमा पानि बोकेर थोरै थोरै दिएर बचाएको नि सम्झिन्छु ।

मकैसँगै, सिमी, बोडी, भटमास, फर्सी, काँक्रा रोपेको हुन्थ्यो । कसैकसैले घिरौला, लौका पनि रोप्थ्यो । जेठ असारबाट हलक्क बढ्न थालेको मकै-असार, साउनतिरै घोगा लाग्न थाल्छ भने भदौमा त भाच्न ठिक्क हुन्छ । मकै वर्षभरिलाई खानु पर्ने अन्न-आफ्नो जे जति बारी छ, सबै ले लगाएकै हुन्थ्यो ।

सिमी र बोडीको बोटको कलिलो लहराले मकैको बोटलाई अँगालो मार्दै माथि चढेको – प्रकृतिको अनुपम सहारा नै होला | मकैको बोट पनि झन बलियोसँग मसिना थुप्रै खुट्टाहरुको सहारा मा उभिंराखेको लाग्थ्यो । सहारा नपाएका कलिला लहरा हावामा लहराउँदै सहारा खोजिरहेको सुन्दर दृश्य – त्यत्तिबेला खासै थाहा नपाए पनि अहिलेसम्म मानसपटलमा बस्न सक्ने उत्कृष्ट प्राकृतिक संरचना रहेछ -सहकार्यको, सहयोगको, सहअस्तित्वको ।

समग्रमा भन्ने हो भने हामीलाई महत्वपूर्ण अन्न दिने मकैको बोट पनि भिन्न खालको सुन्दर बोटमा पर्छ । मन नपर्ने चाहिं पातको धारले हातमा छुँदा चिलाउने

भटमासको बोटलाई सहारा नचाहिने । फल्न पनि अलि पछि नै फल्ने । फूल फुलेको नि धेरै याद नरहने । सिमी र बोडीको फूल अत्यन्तै राम्रो देखिन्थ्यो-बैजनी रंगको, हल्का हरियो सेतो रंगको, र अरु पनि-सायद रातो, सेतो, कालो सिमीको आधारमा फरक हुन्थ्यो होला ।

फर्सीको पात धेरै ठुल्ठुलो । फुल पनि पहेंलो ठुलो | फल यानिकी फर्सी पनि ठुलो । हरियो सानो हुँदा पनि मिठो तरकारी, हरियो भटमास मिसाएर खाए झन् मिठो-अझै मासु मिसाएर खान पाए त विछट्टै स्वादिलो । पाकेको फर्सी – गुलियो – तरकारीमा अर्कै स्वाद, दशैंमा काटेको बोकाको सुकाएको मासु, (खासमा हड्डी र छाला) एक टुक्रा मिसाए पछि अर्कै स्वाद -मलाई भने त्यत्ति मिठो नलाग्ने । फर्सीको बोटतिर जान डर लाग्ने-कतै नदेखिने झ्यांग भित्र सर्प नहोस । एकपटक देखेको ले होला ।

काँक्राको बोट, अत्यन्तै मन पर्ने । पातले घोचे पनि, फुल फुल्दा देखि नै आँखा बोटमा पर्ने- कहीँ साना चिचिला काँक्रा देखिन्छ कि भनेर । कलिला काँक्रा मिठो । सानोमा त्यत्ति धेरै बारीमा जान्न थिए । तर, गाको बेला काँक्राको बोट कहा छ भन्ने लाग्थ्यो । आमाले सानो नटिप भनेर हकार्नुहुन्थ्यो |

मकै-सिधा उभिने । हामी मान्छेभन्दा नि अग्लो हुने, राम्रो मल पायो भने । गाईबस्तुको पिसाब र गोबर भएको मल-सबैभन्दा उत्तम-पिसाबमा प्रशस्त नाइट्रोजन हुने भएकोले । पछि सजिलोको लागि चिनी जस्तै देखिने युरिया मल राख्न थाल्यो । युरिया-नाइट्रोजन युक्त पदार्थ । हाम्रो शरीरमा प्रोटिनको प्रयोग भएपछि निस्किने-पिसाबमा प्रशस्त हुन्छ । पात पनि आफ्नै खालको-दुई इन्च जत्ति फराकिलो दुईहात जत्ति नै लामो । बोटबाट निस्केपछि माथि जान खोज्दा-खोज्दै लामो भएर टुप्पो चाहिं भुईंतिर नुग्दा, तल तलको पात धनुष आकारको । माथिमाथिको पात माथितिरै फर्केको । समग्रमा भन्ने हो भने हामीलाई महत्वपूर्ण अन्न दिने मकैको बोट पनि भिन्न खालको सुन्दर बोटमा पर्छ । मन नपर्ने चाहिं पातको धारले हातमा छुँदा चिलाउने ।

सानोसानो घोगा लागेकै बेलामा आमा वा दिदीहरुसँग बारीमा पुग्दा भित्र गेडा पस्यो कि भनेर खोलेर हेर्न मन लाग्थ्यो । मकैको घोगामाथि कपाल जस्तै रेसाहरू आउँछ । भाँचेको मकैको त्यो रेसाहरू जुँगा बनाएर खेल्न नि रमाइलो लाग्थ्यो ।

हजुरआमाले मकै पोल्न मकैलाई नांगै बनाइदिनुभयो-पत्रपत्र परेर बसेको लुगा खोल्दै । कहिलेकाहीँ सबैभन्दा भित्रको पातलो खोलसहितै पोल्नुहुन्थ्यो । मकैले गोलको आगोको ताप पाउना साथ बिस्तारै पाक्दै गरेको कलिलो मकैको बास्ना फैलिन थाल्यो ।

आमा पनि लुगा फेरेर आएर बस्नुभयो । म खुसीले सुकुलमाथि घुडा टेक्तै कहिले हजुरआमाले पोल्दै गरेको मक्कल वरिपरि, कहिले आमाले बसेर केलाउँदै गरेको सिमि बोडी फर्सीको मुन्टातिर । हरियो बोडी, हरियो सिमी-कलिलो त्यसै चपाउन मिठो लाग्थ्यो । छिपेको त्यत्ति मिठो लाग्दैन ।

बिचरा आमा-बारीमा काम गर्दा गर्दै नै आकाशमा गड्याङ्ग-गुडुङ्ग गरिसकेको होला । चट्याङ् पर्दा आउने आवाजले कति डराउनुभयो होला । वरिपरिको बारीमा कोही भए त तै केही भरोसा महसूस गर्नुहुन्थ्यो । नभए त्यसै डर । त्यसमा पनि मकै ठुलोठुलो भएको बेलामा नजिकैको जंगलबाट चितुवा नि आउथ्यो । बारी घरबाट टाढै थियो । त्यसैले हतार-हतार गरेर टिपेर ल्याउँदा सिमीसँग लतारिएर पात पनि आको होला । एउटा सिमीको पातबाट हरियो सानो धेरै खुट्टा भएको किरा निस्क्यो । सिमी टिपेर ल्याउँदा कुनै-कुनै मा पातसहित पनि आएको थियो ।

केटाकेटीलाई खुवाउन भनेपछि हरेक आमा हतार गर्नुहुन्छ । चिम्टा खोज्ने चेष्टा गर्नुभएन । मकै छोडाउन थाल्नुभयो । एक अँजुली भएपछि मेरो हातमा अट्नेजति राखिदिनुभयो । ता-तातो मकै मुखमा राखें । चपाउँदा एकदम नै मिठो भयो

किरा सुकुलमाथि हिंड्न थाल्यो । झट्ट देख्दा कस्तो कस्तो लाग्यो । पछि अर्को पात लिएर जता तिर जान थाल्यो त्यति बाटो छेकेर खेल्न पो थालेछु । आमाले टिपेर फाल्देऊ भन्नुभयो । एकछिन् खेलेपछि एउटा पातमा चढ्न दिएर-छिटोछिटो झ्यालमा लगेर फुत्त झ्यालबाट फालिदिएँ । किरा पातमा चढेर प्यारासुटबाट झरे जस्तै लहाराउँदै झरे । किरा बारीबाट घरसम्म आएर फेरि घरबाहिर डुल्न पुगे ।  माउ हो कि बच्चा ? थाहा छैन-परिवारबाट टाढा हो कि पात खान निस्केको त्यो पनि थाहा छैन । उमेर कति हो नि थाहा छैन । किराको जिन्दगी खै ?

झ्याल अहिले जस्तो सिसा र फलामको ग्रिल हुने थिएन । पूरै खापा  । बन्द गर्‍यो भने अँध्यारो, खुल्ला गर्‍यो भने उज्यालो तर जाडोमा चिसो हावा छिर्ने । बैसाख जेठतिर-गौथली छिर्दै, चुच्चोले माटो ल्याएर घरको दलिन र भित्ताको कुनातिर घर बनाएको हेर्नु अर्कै मज्जा । घर पनि भित्र जोडी बस्न र बचेरा कोरल्न ठुलो पुटुक्क परेको, तर भित्र बाहिर गर्ने बाटो चाहिं सुराहीको मुख जस्तो सुलुत्त परेको । यस्तो इन्जिनियरिङ त न गौथलीले पढेको छ न कसैले सिकाएको छ । ऊ त हामी मान्छेबाट बच्न, बचेरालाई बचाउन, मौसम अनुसारको चिसो तातोबाट बच्न आफ्नै बुद्धिले बनाउँछ ।

घर बाहिर तारमा जोडी गौंथली बसेर ‘च्यारचार चुरचुर’ गर्दै- गफ गर्थ्यो वा गीत गाइराख्थ्यो । घर बनाउन पानी जमेको कुनै ठाउँको मलिलो माटो चुच्चोले च्यापेर ल्याउँथ्यो । कोही नभाको बेला झ्यालबाट सुत्तै छिरेर घर बनाउन थाल्थ्यो । चुच्चोले मिलाउँदै-मिलाउँदै घर बनाएको हेर्न नि रमाइलो हुन्थ्यो ।

झ्यालमा कोही भयो भने तारमा बसेर टाउको हल्लाउँदै कुरेर बस्थ्यो । कहिलेकाहीं हामीले उसको काममा खलल पुर्‍याउँदैन भन्ने विश्वास भयो भने टाउको माथिबाट छिर्थ्यो पनि । झ्यालबाट निस्केर फेरि माटोको खोजीमा उडेर जाँदा कावा खाँदै जोडी उडेको-अति नै मनमोहक देखिन्थ्यो । गौंथालीले तारमा बसेर बिस्ट्याउँदा वा कावा खाँदै बिस्ट्याउँदा फरक पर्दैनथ्यो | तर, घरभित्रै बिस्ट्याउँदा चाहिं घिन लाग्थ्यो । गौंथलीको नि घर हाम्रो नि घर !

किरा फाल्दा झ्यालबाट बाहिर देखें-साथीहरू खेल्न निस्केका । आमा आउँदा बेस्सरी पानी दर्केको थियो । अहिले पानी रोकिसक्यो । यो पानी अघि नै नपरेको भए वा रोकेको भए आमा भिज्नु त पर्दैनथ्यो नि !

घर बाहिरको बाटोको खाल्टाखुल्टी हुँदै पानी बग्दै थियो । साथीहरूलाई त्यहीं हिले पानी भए पुगिहाल्यो खेल्न । कसैले थोरै माटोले पानी अर्कोतिर लगेर सानो पोखरी बनाएर खेले । कसैले ढुंगाको कापबाट झर्दा बाक्लो चुरोट बट्टाको कागज फोल्ड गरेर धारा बनाएर खेल्दैथिए । कसैले कागज कै डुंगा । कसैले सानो पातमाथि बगेको पानीमाथि राखेपछि बग्दै आउँदा पछ्याउँदै खेले । पातमाथि सानो इट्टाको टुक्रा अथवा सिन्का राखेर, आफू नै पातमाथि चढेको जस्तै गरेर रमाइराखेको थियो-हाकुचा चाहिँ ।

मलाई नि एउटा डुंगा बनाएर खेल्न जान मन लागेको थियो । हजुरआमाले पोल्नुभएको मकै खाने कि खेल्न जाने दोमन भयो । झ्यालभित्र हेर्दा मकै पाकिसकेको थियो होला ।

हजुरआमाले मक्कलबाट एक घोगा मकै नाङ्गो हातले निकाल्नुभयो । तातोले गर्दा सुकुलमा राख्नुभयो । केटाकेटीलाई खुवाउन भनेपछि हरेक आमा यस्तै हतार गर्नुहुन्छ । चिम्टा खोज्ने चेष्टा गर्नुभएन । फेरि मकै समाउँदै तातो केही कम भएकोले अलिअलि कालो अलिअलि रातो मकै छोडाउन थाल्नुभयो । एक अँजुली भएपछि मेरो हातमा अट्नेजति राखिदिनुभयो । ता-तातो मकै मुखमा राखें । चपाउँदा एकदम नै मिठो भयो ।

त्यो स्वाद अहिलेसम्म नि बसेकैछ । अहिले पनि पोलेको हरियो मकैभन्नासाथ त्यही स्वाद याद आउँछ, आमा, हजुरआमाको माया याद आउँछ, त्यही बाल्यकाल याद आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?