असोज महिनाको वर्षा र त्यसले निम्ताएको बाढी–पहिरोले राष्ट्रिय विपद् प्रतिकार्य क्षमतामा गम्भीर प्रश्न उठाएको छ। जल तथा मौसम विज्ञान विभागले एक हप्ताअघि नै भारी वर्षाको पूर्व चेतावनी दिएता पनि पूर्व तयारीको कमी र समयमा नै आवश्यक कदम नचाल्दा देशले ठूलो जनधनको क्षति बेहोर्नु पर्यो। २५० भन्दा बढीको मृत्यु र अर्बौंको भौतिक सम्पत्ति विनाश भयो।
असोज ११ गते ललितपुर महानगरपालिका-२५ सुगम बस्ती टोल नजिक नख्खु खोलाको उर्लंदो बाढीबाट ज्यान जोगाउन एक परिवार टहराको छतमा सहयोगको याचना गरिराखेको दृश्य हामीले बिर्सिएका छैनौं। त्यहाँ राज्यले सहयोग गर्न सकेन, भिजिबिलिटीका कारण हेलिकप्टर मार्फत उनीहरूलाई उद्धार गर्न नसकिएको भनी गृहमन्त्रीले अभिव्यक्ति दिए। तर, सोही टोलका स्थानीयले दुई जनालाई सकुशल उद्धार गरिसकेका थिए।
यस्तो आपत्कालीन समयमा नजिकैको सिंहदरबारबाट नख्खु खोला टाढाको हुन गयो भने अनुमान गरौं त झन् दूरदराजका बस्तीहरूमा सिंहदरबार पुग्न त कति दिन लाग्ने होला ? यस घटनाले सरकारी संयन्त्रको कमजोरीसँगै विपद् प्रतिकार्यका लागि स्थानीय क्षमता वृद्धिमा लगानीको खाँचोलाई पुनः पुष्टि गरेको छ।
नेपालमा होस् वा अन्य देशमा आपत्-विपद् र सङ्कटको समयमा सबैभन्दा पहिले राहत तथा प्रतिकार्यमा उत्रिने भनेको सोही ठाउँको स्थानीय समुदाय र नजिकैको आपत्कालीन राहतमा संलग्न हुने संस्था नै हो। अन्यत्र टाढाबाट उद्धार र राहतको सहयोग आउन समय लाग्छ।
काठमाडौं वा प्रादेशिक राजधानीबाट टाढाको भूगोलमा तत्कालै उद्धार तथा राहत टोली पठाउन मौसमको अवस्था, प्रशासनिक प्रक्रिया लगायत विकट र कठिन भौगोलिक अवस्थाले समयमै उद्धार र राहत नहुन सक्छ। यदि स्थानीयस्तरमा न्यूनतम साधन–स्रोत नहुने हो र बाहिरी सहायतामा मात्र भर पर्ने हो भने विपद्को प्रारम्भिक चरणमा ठूलो क्षति हुन सक्छ।
यदि असोज पहिलो हप्ताको भारी वर्षाको मौसम पूर्वानुमानसँगै स्थानीयस्तरमा पर्याप्त पूर्वतयारी गरेको भए असोज ११ र १२ गतेको बाढी र पहिरोले यो स्तरको जनधनको क्षति हुँदैनथ्यो। विपद् नै रोक्न नसके पनि विपद्को प्रभाव अलि कम गर्न सकिन्थ्यो कि ? जुनस्तरमा विपद्मा खोज उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरी १७ हजारभन्दा बढीको उद्धार गर्न स्रोत खर्च गर्नुपर्यो, त्यो स्रोत र शक्ति अन्यत्र परिचालन गर्न सकिन्थ्यो कि ?
त्यसैले, नेपाल जस्तो चुनौतीपूर्ण भूगोल कुनै न कुनै प्राकृतिक प्रकोपहरू बाढी, पहिरो, चट्याङ, हिमताल फुटेर आउने बाढी, आगलागी, महामारी र भूकम्पको सामना गरी राख्नुपर्ने ठाउँमा, विपद् प्रतिकार्यका लागि स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्नु नै उत्तम विकल्प हो। चाहे २०७२ सालको विनाशकारी भूकम्प होस्, यसै वर्ष साउनको अन्त्यतिर सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित थामेमा हिमताल फुटेर आएको बाढी होस् वा हरेक वर्ष जसो आउने बाढी पहिरो– सधैं स्थानीय समुदाय, स्थानीय प्रहरी चौकी, रेडक्रस, स्वास्थ्य चौकी जस्ता सामुदायिक संस्थाहरू नै अग्रपङ्क्तिमा रहेर स्वस्फूर्त रूपमा प्रतिकार्यमा खटिएका हुन्छन्।
जलवायु परिवर्तन, प्रकृतिको तीव्र दोहन लगायत कारणहरूले विपद्का घटनाहरू बढिराखेका छन्। यस्तो बढ्दो विपद्को अवस्थासँग जुध्न स्थानीय क्षमता सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। हुन त, नेपालमा प्रभावकारी विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि बनेका रणनीति, नीति तथा ऐन–नियमले विपद् राहत उद्धारमा संलग्न हुने पहिलो प्रतिकर्ता (समुदाय) हरूलाई सशक्त पार्ने र स्थानीय क्षमता विकासलाई प्राथमिकता दिएको भए पनि कार्यान्वयन हुनसकेको छैन। स्थानीय क्षमता अभिवृद्धिका लागि नीति तर्जुमा गरेर मात्र पुग्दैन, नीतिलाई मूर्त रूपमा कार्यान्वयन गरिनुपर्छ।
समुदायका मानिसहरूलाई आफ्नो स्थानको भूगोल, प्राकृतिक अवस्था र जोखिम बारे ज्ञान हुने भएकोले खोज तथा उद्धार तत्काल सुरु गर्न सकिन्छ। विपद्मा सबैभन्दा नजिकको र प्रभावकारी माध्यम भनेको स्थानीय समुदाय नै हो। स्थानीय सङ्घ–संस्थाको सक्रियता, प्रतिकार्य क्षमता, अत्यन्त महत्त्वपूर्ण हुन्छ। समयमै विपद् प्रतिकार्यका लागि स्थानीय प्रहरी लगायत अन्य सुरक्षा निकायका युनिटलाई आवश्यक खोज तथा उद्धार सामग्री र उपकरणले सु-सज्जित गराउनुका साथै समुदायलाई विपद् व्यवस्थापनको आधारभूत ज्ञान र तालिममा सरकारले लगानी बढाउनु आवश्यक छ। साथै प्रत्येक व्यक्ति, परिवार र समुदायले विपद् सुरक्षामा पनि ध्यान दिने बनाउने गरी व्यवहार परिवर्तनका कार्यक्रममा जोड दिनुपर्दछ।
स्थानीय बासिन्दाको विपद् प्रतिकार्यका लागि क्षमता विकास गर्नु भनेको विपद्को बेला उनीहरूलाई आत्मनिर्भर बनाउनु हो, यसका लागि देशभर नै महाअभियान सञ्चालन गर्नुपर्दछ र पालिका तथा वडाहरू न्यूनतम रूपमा उद्धार सामग्री, उपकरण र जनशक्ति सम्भावित विपद् प्रतिकार्यको लागि तयारी अवस्थामा राख्नुपर्दछ।
यसपालिको असोज महिनामा सम्भावित विपद्को पूर्वानुमान र प्रतिकूल मौसमको पूर्व-सूचना भए तापनि, समुदायको चेतना र क्षमताको अभावले गर्दा प्रकोपबाट हुने क्षति कम हुन सकेन। तर, अब यी अनुभवहरूबाट सिक्दै, समुदायलाई मौसम पूर्व सूचनालाई गम्भीरतापूर्वक लिन र तत्काल पूर्वतयारी गर्ने बानी बसाल्न सक्यौं भने भविष्यमा यस्ता ठूला क्षतिहरू रोक्न सकिन्छ।
विपद् व्यवस्थापनलाई सरकार, निजी क्षेत्र र स्थानीय निकायको संयुक्त प्रयासले अझ सशक्त बनाउन सकिन्छ। पहिलो प्रतिकर्ताहरूलाई सशक्त बनाउन प्रशिक्षण कार्यक्रमहरू सबै सरोकारवालाहरूको सहकार्यमा आपत्कालीन अवस्था सामना गर्न आवश्यक सीप र उपकरणहरू प्रदान गर्न सकिन्छ। यसमा प्राथमिक उपचार, खोज र उद्धार, अग्नि सुरक्षा र मानसिक स्वास्थ्य परामर्श जस्ता सीपहरू दिनुपर्दछ।
साथै, स्थानीय स्वयंसेवकहरूलाई आधारभूत आपत्कालीन सामग्रीहरू, जस्तै आगो निभाउने उपकरण, स्ट्रेचर र आपत्कालीन प्राथमिक उपचार सीपबाट सुसज्जित गर्दा उनीहरू अन्य ठाउँबाट सहायता आउनुअघि नै छिटो विपद् प्रतिकार्य गर्न सक्छन्।
गर्भवती महिला, बालबालिका, वृद्ध-वृद्धा, अपाङ्गता भएका व्यक्तिहरू र अन्य जोखिम समूहहरू आपत्कालीन समयमा कसरी जोगाउने भनी स्थानीय समुदायलाई प्रशिक्षित गर्नुपर्दछ। समावेशी विपद् प्रतिकार्यलाई समाजको प्रत्येक तह तप्कामा क्षमता विकास गर्दै सामुदायिक उत्थानशीलतामा स्थानीय समुदायले विपद् व्यवस्थापनमा अहम् भूमिकाहरू निर्वाह गर्न सक्छन्।
विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय समुदायको भूमिकालाई केन्द्रमा राख्दै सरकारी तथा गैर-सरकारी संस्थाहरूले सहकार्य गर्नुपर्दछ। नगरपालिका र गाउँपालिकाहरूले समुदायमा आधारित विपद् जोखिम व्यवस्थापनलाई व्यापक बनाउँदै आफ्ना विपद् प्रतिकार्य र व्यवस्थापन इकाई तथा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको सुदृढीकरण गर्दा विपद् प्रतिकार्यलाई चुस्तदुरुस्त बनाउन सकिन्छ। स्थानीय स्तरमा नियमित कृत्रिम घटना विपद् प्रतिकार्य अभ्यासको सुरुवात गर्दा प्रत्येक व्यक्तिलाई विपद्को अवस्थामा के गर्ने र उक्त अवस्थामा आफ्नो भूमिका के हुन सक्छ भन्ने अभ्यास गराउन मद्दत गर्न सक्छ।
विपद् पूर्व तयारीमा प्रमुख चुनौतीमध्ये व्यक्ति र समुदायको व्यवहार परिवर्तन गर्नु हो। नेपालमा, धेरै मानिस जोखिम थाहा भए पनि जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्ने र काम बलजफ्ती जारी राख्ने गर्दछन्। परिस्थितिमा परिवर्तनको लागि पहिले मनस्थिति परिवर्तन गर्नुपर्दछ। यसको लागि निरन्तर जागरूकता, शिक्षा कार्यक्रम र सार्वजनिक रूपमा कृत्रिम अभ्यासहरू मार्फत जन-समुदायमा विपद् जोखिम र विपद् पूर्व-तयारीमा जागरण ल्याउनुपर्दछ। विद्यालयहरूमा विपद् पूर्व तयारी स्वरूप प्रयोगात्मक कक्षा, कृत्रिम अभ्यास नियमित रूपमा गराउँदा बालबालिकाले सानैदेखि जोखिम न्यूनीकरण र प्रतिक्रिया कसरी गर्ने भन्ने कुरा सिक्न सक्छन्।
सामुदायिकस्तरमा, जोखिम क्षेत्र पहिचान, जोखिम नक्साङ्कन गर्न स्थानीयहरूलाई संलग्न गराउने अभ्यासले स्थानीयहरूमा विपद् जोखिमको बारे सचेतना बढाउन सक्छ। जब मानिसहरू सक्रिय रूपमा जोखिम पहिचानमा संलग्न हुन्छन्, उनीहरूले सुरक्षित व्यवहार अपनाउने बोध पनि हुन्छ।
भू-उपयोग नीतिदेखि, भवन संहिता लागू गर्नेमा स्थानीयको त्यतिकै ठूलो भूमिका हुन्छ। भूकम्पको जोखिम न्यूनीकरण गर्न बनाइएका भवन संहिता होस् कि भू-उपयोग नीतिहरूलाई स्थानीयले त्यति ध्यान दिएको पाइँदैन र धेरै शहरी क्षेत्रहरू अव्यवस्थित रूपमा वृद्धि भइरहेका छन्। यदि हामी सबैले भवनहरूको भूकम्पीय सुरक्षा मापदण्डहरू लागू गर्न सहयोग गर्ने हो भने हामी सबै सुरक्षित हुन्छौं।
विपद् पूर्व-तयारी र विपद् जोखिम न्यूनीकरणलाई ठूलो विपद् पछि मात्र चासो दिने परम्परालाई तोड्दै निरन्तर अभ्यासको प्रक्रियामा लैजानुपर्छ। यसमा स्थानीय सरकारहरूलाई प्रदेश तथा सङ्घले वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउने र विपद् पूर्व तयारीका लागि छुट्याइएको रकम प्रभावकारी रूपमा उपयोग गरिएको सुनिश्चित गर्नुपर्दछ।
नेपालमा विपद् पूर्वतयारी तथा राहत प्रतिकार्यलाई प्रभावकारी बनाउन समुदायमा केन्द्रित कार्यक्रमको कार्यान्वयनमा जोड दिंदै विपद्को पहिलो प्रतिकर्ता (समुदाय)हरूलाई सीप, उपकरण र स्रोतहरूद्वारा सशक्त बनाउँदै स्थानीय क्षमता अभिवृद्धि गर्ने कार्य केन्द्रबिन्दुमा राख्नुपर्छ। दैनिक रूपमा विपद् जोखिम न्यूनीकरणका लागि व्यवहारमा परिवर्तनतिर पनि लाग्नुपर्छ। यदि व्यक्ति, परिवार, समुदाय र समग्र समाज विपद् जोखिम न्यूनीकरणमा लाग्ने हो भने नेपालले भविष्यमा आउने प्रकोपको विनाशकारी प्रभावलाई कम गरी करोडौं नेपाली नागरिकको जीवन र जीविकोपार्जनलाई जोगाउन सकिन्छ।
(संयुक्त राष्ट्रसंघमा कार्यरत लेखकका यी निजी विचार हुन्।)
प्रतिक्रिया 4