 
																			२१ कात्तिक, काठमाडौं । यतिबेला कम्पनीहरूले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्दै साधारणसभा बोलाइरहेका छन् । पुस मसान्तसम्म साधारणसभा सम्पन्न गरिसक्नुपर्ने ऐनमा व्यवस्था छ । सोहीअनुसार कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्दै साधारणसभा बोलाएका हुन् ।
गत आर्थिक वर्षसम्मको नाफाबाट यो वर्ष सूचीकृत ३५ कम्पनीले लाभांश घोषणा गरिसकेका छन् । घोषणा गरिसकेका ३५ मध्ये १५ कम्पनीको सेयर खरिद गर्दा अझै लाभांश पाउने अवसर छ । १५ मध्ये दुई कम्पनी सानिमा बैंक र आशा लघुवित्तको लाभांशका लागि भने बुधबार अन्तिम दिन हो ।
कम्पनीहरुले लाभांश घोषणा गरिसकेपछि साधारणसभाअघि नै बुक क्लोजको मिति तय गर्छन् । त्यहीं बुक क्लोजको अघिल्लो दिनसम्म सेयर खरिद गर्दा लाभांश र साधारणसभामा भाग लिने हक रहन्छ । साधारणसभा हुुनुभन्दा २१ दिन पहिले नै सार्वजनिक सूचना जारी गरी सभाबारे जानकारी गराउनुपर्ने व्यवस्था छ ।
वाणिज्य बैंक समूहमा हालसम्म लाभांश घोषणा गरेकामध्ये दुई एभरेस्ट र सिटिजन्सको बुक क्लोज भइसकेको छ, अर्थात् अब यी बैंकको सेयर किन्नेले लाभांश पाउँदैनन् । बाँकी ५ बैंकको सेयर खरिद गर्दा भने अझै लाभांशको अवसर छ ।

त्यस्तै लाभांश घोषणा गरेका ८ माइक्रोफाइनान्समध्ये ६ वटाको सेयर खरिद गर्दा अझै लाभांशको हक रहेको छ भने २ वटाको बुक क्लोज भइसकेको छ ।
हाइड्रोपावरमा १२ कम्पनीमध्ये ४ वटाको सेयर खरिद गर्नेले अझै लाभांश पाउने छन् । बाँकी ८ कम्पनीको बुक क्लोज भइसकेको छ । तिबाहेक होटल, उत्पादन तथा लगानी समूहका सोल्टी होटलको मात्रै बुक क्लोज हुन बाँकी छ ।
बुक क्लोजपछि बस्ने साधारणसभाले लाभांश पारित गर्दछ । साधारणसभाबाट लाभांश पारित भएपछि नगदका हकमा केही दिनभित्रै लगानीकर्ताले आफ्नो बैंक खातामा पाउँछन् । त्यस्तै बोनस सेयरका हकमा भने केही महिना लाग्ने गरेको छ ।
साधारणसभाले लाभांश पारितपछि नगद लाभांश दिनका लागि कुनै प्रक्रिया बाँकी नरहने भएकाले तुरुन्तै दिइने तर बोनस सेयरका लागि थप प्रक्रिया बाँकी रहने भएकाले केही साता लाग्ने गरेको एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ बताउँछन् ।
‘बोनस सेयर वितरण हुँदा चुक्ता पूँजी बढेको हुन्छ, सोअनुसार प्रवन्धपत्र र नियमावली संशोधन गर्नुपर्छ यसका लागि पनि केही समय लाग्ने गरेको छ’ उनले भने ‘थप सेयर सूचीकृत गर्ने प्रक्रिया पनि हुन्छ ।’
कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन भएपछि र सेयर सूचीकृतका लागि अनुमति पाएपछि मात्रै बोनस सेयर डिम्याट खातामा पठाउने गरिएको उनले स्पष्ट पारे ।

कसरी गणना गर्ने लाभांश ?
कतिपय लगानीकर्ताले आफूले पाउने लाभांशबारे पनि अनभिज्ञ हुने गरेका छन् । कम्पनीहरुले दिने लाभांश अंकित मूल्यका आधारमा हो ।
अंकित मूल्य होटल सोल्टीको १० तथा हाथवे इन्भेस्टमेन्ट कम्पनीको ५० रुपैयाँ छ भने अरुको १०० रुपैयाँ हो । नगद लाभांशको सुत्र : आफूसँग भएको सेयर संख्या × अंकित मूल्य × लाभांश दर÷१०० हुन आउँछ । लाभांश रकमको ५ प्रतिशत कर कटौतीपछि बाँकी रकम लगानीकर्ताको बैंक खातामा जम्मा हुन्छ ।
त्यस्तै बोनस सेयरका हकमा भने आफूसँग भएको सेयर संख्याकै बोनस दर पाइन्छ । आफूले पाउने लाभांश गणनाको लागि डिभिडेन्ट क्याल्कुलेटर प्रयोग गर्न पनि सकिन्छ ।

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4