
२१ कात्तिक, काठमाडौं । भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) बाट अनुमति नपाएपछि नेपालबाट बंगलादेश विद्युत् निर्यात गर्ने योजना अनिश्चित बनेको छ ।
नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीहरूबीच गत १७ असोजमा सम्झौता भएको थियो ।
विद्युत् निर्यातका लागि भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) को अनुमति आवश्यक पर्ने सम्झौतामा नै उल्लेख छ ।
सुरुमा १६ कात्तिकदेखि विद्युत् निर्यात गर्ने मौखिक सहमति तीन देशका कम्पनीहरूबीच भएको थियो । त्यसबेलासम्म सीईआरसीको अनुमति प्राप्त नभएपछि त्यसलाई सारेर २३ कात्तिक (शुक्रबार) देखि निर्यात सुरु गर्ने योजना बन्यो ।
तर, अहिलेसम्म पनि भारतबाट अनुमति नआएका कारण शुक्रबारदेखि पनि विद्युत् निर्यात नहुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दन घोषले अनलाइनखबरलाई जानकारी दिए ।
‘हामीले भारतीय समकक्षी कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) सँग निर्यात अनुमति आए–नआएको बारे सोधिरहेका छौं, तर उसले अनुमति प्राप्त नभएको जानकारी दिएको छ,’ प्रवक्ता घोषले भने ।
तीन देशबीच भएको सम्झौताअनुसार नेपालले १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्नेछ । तर, १५ नोभेम्बर आउन अब एक सातामात्रै बाँकी छ ।
‘यो वर्ष एक साता मात्रै भए पनि विद्युत् निर्यात सुरु गर्ने योजना थियो, तर हुन्छ कि हुँदैन भन्न सकिने अवस्था छैन,’ उनले भने ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले आफ्नो भारत भ्रमणका क्रममा बंगलादेश विद्युत् निर्यातको अनुमति दिने विषयमा भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टरसँग छलफल गरेको भारतका लागि नेपालका कार्यबाहक राजदूत डा. सुरेन्द्र थापाले जानकारी दिए ।
त्यसक्रममा १५ नोभेम्बरभित्र नेपालबाट बंगलादेश विद्युत् निर्यातको अनुमति प्राप्त हुने आश्वासन प्राप्त भएको उनले बताए ।
‘त्यस विषयमा भारतीय पक्ष पनि निकै सकारात्मक रहेको पाएका छौं, एक दुई दिनमा अनुमति प्राप्त होला,’ कार्यबाहक राजदूत डा. थापाले बताए ।
अहिलेसम्म नेपालले भारतको बजारमा मात्रै विद्युत् निर्यात गरिरहेकोमा १७ असोजमा भएको सम्झौतापछि तेस्रो मुलुक निर्यातको पनि बाटो खुलेको थियो ।
नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा प्रतियुनिट (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत् निर्यात गर्ने सो सम्झौतामा उल्लेख छ ।
बंगलादेश विद्युत् निर्यात गर्दा भारतको एनभीभीएनको प्रसारण लाइन प्रयोग गरेबापतको ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्नेछ ।
नेपालबाट निर्यात हुने विद्युतका लागि भारतको मुजफ्फरपुरमा मिटर राखिने र त्यसैमा बंगलादेशमा निर्यात भएको विद्युत्को रेकर्ड हुने पनि सम्झौतामा लेखिएको छ । त्यहाँसम्मको प्राविधिक नोक्सानी भने प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट बंगलादेशको सीमाको प्राविधिक नोक्सानी पनि बंगलादेशी पक्षले नै तिर्ने सम्झौतामा उल्लेख छ । यसअनुसार नेपालले ६.४ सेन्टमा बिक्रीको विद्युतको मूल्य बंगलादेश पुग्दा प्रतियुनिट करिब ७.६ सेन्ट पुग्ने अनुमान गरिएको छ ।
भारतबाट भने बेहरमपुर (भारत)–भेडामारा (बंगलादेश) ४ सय केभी प्रसारण लाइन हुँदै बंगलादेशले विद्युत् आपूर्ति लिनेछ । हाल भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बाट बंगलादेशले सोही प्रसारण लाइन हुँदै विद्युत् आयात गरिरहेको छ ।
५ वर्षसम्म विद्युत निर्यातका लागि यो सम्झौता भएको हो । यो सम्झौताअनुरूप हरेक वर्ष १४ करोड ४० लाख युनिट विद्युत् बंगलादेश निर्यात हुने जानकारी नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यसबेला दिएका थिए । त्यसबाट हरेक वर्ष करिब १ खर्ब २१ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।
नेपालले १० हजार मेगावाट विद्युत भारतलाई र ५ हजार मेगावाट बंगलादेशलाई निर्यात गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया 4