+
+

पोखरेलीले मन्त्रीलाई सोधे : भैरहवा एयरपोर्ट चल्दा पोखरा किन चलेन ?

भैरहवा चल्दा र पोखरा नचल्दा लाज भयो

अमृत सुवेदी अमृत सुवेदी
२०८१ कात्तिक २४ गते २०:००
पर्यटनमन्त्री बद्री पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै पोखरा पर्यटन व्यवसायीहरु ।

२४ कात्तिक, पोखरा । निर्माण पूरा भएर पनि लामो समय अन्तर्राष्ट्रिय उडान गर्न नसकेको भैरहवास्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्ला दिनमा सुखद खबरहरु आइरहेका छन् ।

यो विमानस्थलबाट नेपाल एअरलाइन्स, थाइ एअर एशिया, जजिरा र फ्लाई दुबईले अन्तर्राष्ट्रिय उडान गर्ने निश्चित भइसकेको छ ।

तर दुई वर्षअघि निर्माण पूरा भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा पोखरेलीले खल्लो महसुस गरेका छन् ।
सरकारले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न यात्रु सेवा, पार्किङ ल्याण्डिङ र नेभिगेसन सेवा शुल्कमा पूर्ण छुट दिनेजस्ता

सुविधा दिएर एयरलायन्स कपम्नीलाई आह्वान गरेको थियो । तर भैरहवामा चारवटा कम्पनीले भए पनि उडान सुरु गरे, तर पोखरा भने फाट्टफुट्ट हुने चार्टर्ड उडानमा सीमित छ ।

चीनको कुनमिङबाट खेलाडी बोकेर सिचुवान एयरलाइन्सको चार्टर्ड जहाज पोखरा ओर्लिँदा पनि खुसी मनाउनुपर्ने स्थितिमा पोखरेली छन् ।
नेपाल भ्रमण वर्ष २०२० र अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सकिएपछि पोखराले पर्यटनमा छलाङ मार्न सक्ने योजनासहित पोखरामा धेरै व्यवसायीले लगानी गरेका थिए ।

पोखराको पर्यटन क्षेत्रमा मात्रै ७ खर्ब लगानी भएको र होटल क्षेत्रमा मात्रै ५ खर्ब रुपैयाँ लगानी भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन् ।

पोखरामा पर्यटकस्तरका १२ सयभन्दा बढी होटल छन् । १५ हजार भन्दा बढीलाई रोजगारी र ४० हजारलाई एक साथ राख्न सक्ने क्षमता पोखरासँग छ ।

तर, अन्तर्राष्ट्रिय उडान हुन नसक्दा पोखराको सिंगो पर्यटन क्षेत्र निराश रहेको भन्दै पोखरेली व्यवसायीले शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग गुनासो गरे ।

चीनको करिब २८ अर्ब ऋण अनुदानमा बनेको विमानस्थलबाट कम्तीमा सरकारी ध्वजाबाहक नेपाल एअरलाइन्सको जहाज भए पनि चलाउन व्यवसायीले माग गरेका छन् ।

क्रसकन्ट्री दौड प्रतियोगिताका लागि शनिबार पोखरा आइपुगेका पर्यटनमन्त्रीलाई यहाँका व्यवसायी र नागरिक अगुवाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नसक्नुको कारण सोधेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउन सरकारले पर्याप्त तयारी र कुटनीतिक पहल नगरेको व्यवसायीको गुनासो छ ।

‘लज्जा महसुस भइरहेको छ’

पोखरा विमानस्थल सन् २०२३ को नयाँ वर्षको अवसर पारेर १७ पुस २०७९ मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

तर, अहिलेसम्म डेमोसहित ८ वटा चार्टर्ड उडान र रुकुम पश्चिम तथा जाजरकोट भूकम्प पीडितका लागि केही सहयोग सामग्रीमात्रै पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा आएको छ ।

चिनियाँ एक्जिम बैंकबाट ऋण लिएर बनाएको यो अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक विमानस्थलका रुपमा मात्रै चलिरहेको छ ।

पोखराका व्यवसायीले यो विमानस्थल चलाउन सरकारले कुटनीतिक पहल नै नगरेको र चिनियाँ लगानीमा बनेको हुनाले भूराजनीतिक स्वार्थको शिकार बनेको टिप्पणी गर्न थालेका छन् ।

पर्यटकीय सिजनमै काठमाडौंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल मर्मतका लागि दैनिक १० घण्टा बन्द हुँदा अन्र्तराष्ट्रिय उडान संख्यामा व्यापक कटौती हुने र नेपाल आउने भाडादर उच्च वृद्धि हुँदा आगामी दिनमा अपेक्षित पर्यटक नहुने निश्चित रहेको व्यवसायीहरुको चिन्ता छ ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द रहेको बेला पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि चलाउने उपयुक्त अवसर भएको पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीको भनाइ छ ।

पोखरा पर्यटन परिषदका अध्यक्ष तारा पहारीले पोखराबाट नेपाल वायुसेवा निगमको जहाज उडाउान पनि सरकारले चासो नदिनु शंकास्पद भएको बताए ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका समयमा होस् वा अन्य समयमा होस् तत्काल नेपाल वायुसेवा निगमको न्यारोबडी विमानमार्फत पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न तत्काल आवश्यक पहल तथा निर्णय गरिदिनुहुन जोडदारका साथ माग गर्दछौं,’ पोखराका पर्यटन संस्थाहरुको छाता संस्थाको तर्फबाट ज्ञापनपत्र बुझाउँदै पहारीले पर्यटनमन्त्रीलाई भने ।

पोखरा जोड्ने सडक मार्गको अवस्था पनि दयनीय रहेको र उडान पनि सञ्चालन नहुँदा पोखराको पर्यटन क्षेत्र संकटमा पर्ने व्यवसायीहरुको भनाइ छ । भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु भइरहँदा पोखराबाट नहुँदा लज्जा महसुस भएको पहारीको भनाइ छ ।

पोखरा जोड्ने राजमार्ग स्तरोन्नतिको काममा ढिलासुस्ती हुनु र अन्तर्राष्ट्रिय उडान पनि नहुनुले व्यवसायी मारमा परेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले दुखेसो पोखे । छिटो काम सक्नका लागि ठेकेदारलाई निर्देशन दिन अनुरोध गर्दछु’, सुवेदीले भने ।

पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई सबैको जोडबलले विमानस्थल बनेपनि सञ्चालन गर्न सरकारको पहल नपुगेको बताए ।

रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द गर्ने र अरु विकल्प पनि नसोच्दा पोखराको पर्यटन क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको बताए ।

एअरलाइन्सहरुले चासो दिएनन् : पर्यटनमन्त्री

व्यवसायीहरुको ज्ञापनपत्र बुझेपछि पर्यटनमन्त्री पाण्डेले भने भैरहवा र पोखरा विमानस्थल चलाउन आफूले पूरै पहल गरेको तर एअरलाइन्स कम्पनीहरु पोखराप्रति उत्सुक नदेखिएको बताए ।

‘भैरहवा र पोखरा दुबैतिर विभिन्न एअरलाइन्सहरुले आफ्ना उडानहरुलाई सञ्चालन गर्नेछन् । धेरै माग र अनुमतिका लागि एअरलाइन्सहरुको आग्रह हुनेछ भन्ने ठानेका थियौं’, पाण्डेले भने, ‘सोचेअनुसार भइरहेको छैन । भैरहवामा केही संकेत देखिएको छ, पोखरामा त्यो पनि देखिएको छैन ।’

पोखरामा दिइएको सहुलियततर्फ किन एअरलाइन्सहरुले ध्यान दिएका छैनन् भन्ने अध्ययन गरिने पाण्डेको भनाइ थियो । ‘हामीहरु भन्छौं पहिले फ्लाइटहरु राख्नुस्, प्यासेन्जर स्वयं जम्मा हुन्छन् । उहाँहरु भन्ने गर्नुहुन्छ, प्यासेन्जर नै छैनन्, हामी खालीखाली चलाउन सक्दैनौं’, पर्यटनमन्त्री पाण्डेले भने, ‘अहिले काठमाडौंमा फ्लाइटको कटौती भएका कारणले पोखरा र भैरहवा आकर्षित गर्ने उपायका बारेमा सोच्ने क्रममा पनि छौं ।’

पोखराबाट अन्तर्राष्ट्रिय उडान गराउन राजनीतिक नेतृत्वले बेवास्ता गरेको र काठमाडौंले नै नचाहेको व्यवसायीले आरोप लगाए । तर पर्यटनमन्त्रीले यस्तो आरोप अस्वीकार गरे ।

‘पोखरा विमानस्थललाई गुल्जार बनाउने, बढीभन्दा बढी राष्ट्रिय–अन्तर्राष्ट्रिय फ्लाइट निम्त्याउनेबारेमा चाहिँ नेपाल सरकारले बडो सचेततापूर्वक, गम्भीरतापूर्वक प्रयत्न अगाडि बढाइरहेको जानकारी गराउँदछु’, पाण्डेको प्रतिवद्धता थियो ।

छिट्टै उडान गर्ने आश्वासन

पर्यटनमन्त्री पाण्डेले नेपाल एयरलाइन्ससँग जहाज कम भएका कारण पोखराबाट तत्काल उडान सञ्चालन गर्न नसक्ने बताए । तर, छिट्टै हिमालय र नेपाल एअरलाइन्सले पोखराबाट उडान भर्ने उनले आश्वासन दिए ।

‘सिम्बोलिक रुपमा भैरहवा र पोखरा दुबै ठाउँमा नेपाल एअरलाइन्सको न्यारो बडीलाई ल्याउनेबारेमा के गर्न सकिन्छ हामी छलफल गर्छौं’, मन्त्री पाण्डेले भने ।

पहिले पोखरा विमानस्थलबाट नेपाल र हिमालय एयरलाइन्सलाई चलाउन सक्यो भने अरु एअरलाइन्सलाई पनि दबाब पर्न सक्ने उनको भनाइ थियो । ‘त्यो चाँडै निर्णयमा पुगेर पोखरामा हिमालय र नेपाल एयरलाइन्सका जहाज आएको देख्न पाउनुहुनेछ’, उनले भने ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?