News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाले आमनिर्वाचनमा स्पष्ट बहुमत पाएको र बालेन्द्र शाह प्रधानमन्त्री बनेका छन् जसले राजनीतिक स्थिरता ल्याएको छ।
- नेपालको पर्यटन क्षेत्र कोभिड–१९ पछि पुनरुत्थान चरणमा छ तर महामारीअघिको स्तरमा पुग्न सकेको छैन।
- पर्यटन विकासका लागि निजी क्षेत्रको लगानी र सरकारी सहजीकरण आवश्यक छ, साथै भारत र चीनका बजार लक्षित गर्नुपर्छ।
२३ र २४ भदौ २०८२ को जेनजी आन्दोलनपछि मुलुकमा सम्पन्न आमनिर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई स्पष्ट बहुमत प्रदान गर्यो । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख तथा लोकप्रिय युवा नेता बालेन्द्र शाह (बालेन) मुलुकको प्रधानमन्त्री बनेका छन् । राजनीतिक अस्थिरताले लामो समयसम्म विकासका धेरै सम्भावना रोकिएको अवस्थामा स्थिर सरकारको उदयले उद्यमी, व्यवसायीदेखि आमनागरिकमा नयाँ आशा र विश्वास जगाएको छ । हुन त राजनीतिक स्थायित्वले मात्रै विकास सुनिश्चित गर्दैन । तर, यसले लगानी, योजना र दीर्घकालीन नीतिका लागि लगानीकर्तामा विश्वास भने ल्याउँछ । जसले गर्दा हाम्रा सम्भावनाका क्षेत्रमा लगानी विस्तार तथा प्रवर्द्धन हुने अपेक्षा गर्न सकिन्छ ।
नेपालको अर्थतन्त्रको विकासमा ठूलो सम्भावना बोकेका क्षेत्र जलविद्युत्, पर्यटन, कृषि र सूचना प्रविधि हुन् । यसमध्ये पर्यटन नेपालका लागि सबैभन्दा छिटो परिणाम दिन सक्ने क्षेत्र हो । कोभिड–१९ महामारीका कारण नराम्रोसँग प्रभावित पर्यटन क्षेत्र अहिले पुनरुत्थान चरणमा छ । पछिल्ला वर्ष पर्यटक आगमन उल्लेख्य बढेको छ । तर, महामारीअघिको स्तरमा पुग्न सकेको छैन । नेपाल पर्यटन बोर्डको मार्च २०२६ को तथ्यांक अनुसार एक महिनामा १ लाख २० हजार ५ सय १६ पर्यटक नेपाल आएका छन् । जुन सन् २०२५ को सोही महिनाको तुलनामा १ प्रतिशत कम हो । उता, कोभिड महामारीपूर्व अर्थात् सन् २०१९ को तुलनामा ५.४ प्रतिशत कम हो । यस वर्ष एक महिनामै १ लाख २७ हजार पर्यटक नेपाल आएका थिए । यसले पनि पर्यटक आगमन पूर्णरूपमा पुनर्स्थापित भइनसकेको पुष्टि गर्छ ।
अघिल्लो वर्ष नेपालमा डरलाग्दा प्राकृतिक विपत्ति, भारतीय पर्यटक बोकेका बस दुर्घटना जस्ता कारण भारतबाट आउने पर्यटक संख्या केही खुम्चिएको थियो । सन् २०२६ मा भारतीय पर्यटक आगमनमा सुधार आएको छ । तर, कोभिड महामारीपछि सबैभन्दा बढी प्रभावित भएको चिनियाँ पर्यटक आगमन भने अझै सामान्य बन्न सकेको छैन ।
अहिले नेपालको पर्यटन यथास्थितिमा छ । नयाँ गन्तव्य विकास तथा पर्यटकीय गतिविधि विविधीकरण हुन नसक्दा पर्यटकको औसत खर्च र बसाइ अवधि बढाउन सकिएको छैन । जसले नेपालको पर्यटन रणनीतिमा पुनर्विचारको आवश्यकता स्पष्ट हुन्छ ।

निजी क्षेत्रको अग्रता, सरकारी सहजीकरणको आवश्यकता
पछिल्लो समय सरकारले पर्यटन लक्षित ठूला पूर्वाधार निर्माणमा जोड दिएको छ । सरकारले विमानस्थल र राजमार्गमा लगानी त गरेको छ, तर यी पूर्वाधारको लगानी अझै पर्याप्त छैन । संरचनाहरू पूर्ण यात्रामैत्री र सुरक्षित छैनन् । एयरलाइन्स, होटल, रिसोर्ट, होमस्टेदेखि पदमार्ग र गन्तव्य विकासमा निजी क्षेत्रले ठूलो लगानी गरेको छ । एक प्रकारले भन्ने हो भने पर्यटनमा निजी लगानीकर्ताले जोखिम मोलेरै लगानी गरेका छन् ।
पर्यटन विभागको पछिल्लो तथ्यांक अनुसार नेपालमा पाँचतारे होटल संख्या २८ पुगिसकेको छ । पाँचतारे डिलक्स र लक्जरी बुटिक/हेरिटेज होटल तीन/तीन वटा सञ्चालनमा छन् । यसबाहेक पर्यटकीय स्तरभन्दा माथिका सयौं होटल खुलेका छन् । जसमा अर्बौं रुपैयाँको निजी लगानी छ । पर्यटनमा सरकारले थोरैमात्र पनि सहजीकरण गर्ने हो भने राज्यको नगन्य लगानीमै यस उद्योगले छिटो र प्रभावकारी परिणाम दिन सक्छ ।
पछिल्लो समय निजी क्षेत्रबाट आएको गुणस्तरीय सेवा, बुटिक होटल, इको–रिसोर्ट, गन्तव्य निर्माण र मनोरञ्जन पर्यटनका प्रडक्ट विकासले नेपालको पर्यटनमा अझ सकारात्मक सन्देश प्रवाह गरेको छ । यसले नेपालको पर्यटनलाई नयाँ दिशातर्फ लैजान संकेत समेत गरेको छ ।
लामो समयसम्म नेपालको पर्यटन नीति मुख्यत: युरोप र अमेरिकातर्फ केन्द्रित रह्यो । पर्यटन प्रवर्द्धनका कार्यक्रमका लागि लाखौं खर्चिने तर परिणाम नदेखिने समस्या रहिरह्यो । युरोप, अमेरिका र भौगोलिक दुरीका हिसाबले निकै टाढासम्म पुगेर, बीबीसी र सीएनएनमा विज्ञापन बजाएर मुलुकमा विदेशी पर्यटक भित्र्याउन नेपालले प्रयत्न नगरेको होइन । तर, त्यसले खासै परिणाम दिएन । दोष भने अन्तर्राष्ट्रिय कनेक्टिभिटीलाई देखाइयो । आफ्नो राष्ट्रिय ध्वजावाहकको अवस्था कमजोर हुनु, व्यवस्थापन कमजोर हुनु र विभिन्न अन्तर्राष्ट्रिय मुलुक तथा सहरसँगको प्रत्यक्ष उडान नहुनु यस्तै, यस्तै ।
तर, अब यो दृष्टिकोण परिवर्तन गर्ने समय आएको छ । अहिले हाम्रो छिमेकी मुलुक भारत र चीन विश्वकै सबैभन्दा ठूलो पर्यटक स्रोत हुन् । ती देशबाट हरेक वर्ष करोडौंको संख्यामा मानिस विदेश यात्रा गर्छन् । नेपालसँग भौगोलिक निकटता, सांस्कृतिक समानता र सहज पहुँच भएकाले यी बजार लक्षित गर्नु अत्यन्तै व्यावहारिक र प्रभावकारी रणनीति हुन सक्छ ।
अझ विशेषगरी भारतका उत्तर प्रदेश र बिहारजस्ता राज्यहरूमा मात्रै पनि ठूलो जनसंख्या छ । यहाँका मानिस छोटो समयका लागि घुम्न नजिकका आकर्षक गन्तव्य खोजिरहेका छन् । त्यसैले अब नेपालले हामीसँग के छ भन्ने सोचभन्दा पर्यटकलाई के चाहिएको छ भन्ने दृष्टिकोण अपनाउनुपर्छ ।
उदाहरणका लागि, भारतीय पर्यटकलाई छोटो अवधिका हिलस्टेसन यात्रा, धार्मिक भ्रमण, पारिवारिक छुट्टी वा विकेन्ड प्याकेज आकर्षक हुन सक्छन् । चिनियाँ पर्यटकलाई भने प्राकृतिक सौन्दर्यसँगै व्यवस्थित आतिथ्य सेवा, सांस्कृतिक झलक र अन्य मनोरञ्जनात्मक क्रियाकलाप आवश्यक हुन्छ । साथै, पछिल्ला वर्षहरूमा पर्यटकमा नयाँ–नयाँ अनुभव लिन खोज्ने प्रवृत्ति बढ्दै गएको छ । स्थानीय जीवनशैली, खानपान, संस्कृति र व्यक्तिगत सहभागिता सहित यात्रा उनीहरूको रुचिमा पर्ने गरेका छन् । यसरी, एउटै गन्तव्यलाई पनि फरक बजारका लागि फरक ढंगले प्रस्तुत गर्न सकिन्छ ।
राज्यको दायित्व के ?
विगतका केही वर्षमा पूर्वाधार निर्माणमा नेपालले केही महत्त्वपूर्ण प्रगति हासिल गरेको छ । सडक, विमानस्थल र अन्य आधारभूत संरचनामा राज्यले केही लगानी गरेको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति भइरहेको छ । पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेका छन् । विभिन्न जिल्लामा रहेका विमानस्थलको सुधार तथा विस्तारका काम सम्पन्न हुँदैछन् ।
यसले पर्यटनलाई काठमाडौं केन्द्रित अवस्थाबाट बाहिर पुर्याउन मद्दत गर्न सक्छ । तर, विमानस्थल निर्माणमात्र पर्याप्त हुँदैन, त्यहाँ सुरक्षित, सहज र नियमित उडान सञ्चालन हुन आवश्यक हुन्छ । विशेषगरी पोखरा तथा भैरहवा विमानस्थलबाट भारत र चीनका प्रमुख सहरसँग सिधा हवाई सम्पर्क विस्तार गर्न सकिए पर्यटनमा ठूलो परिवर्तन आउन सक्छ । साथै, सीमावर्ती नाकासम्म पुग्ने सडक स्तरोन्नति र सहज आवागमन व्यवस्थाले स्थलमार्गबाट आउने पर्यटकलाई समेत आकर्षित गर्न सकिन्छ ।
पर्यटनको अर्को महत्त्वपूर्ण पक्ष हो लागत । नेपाललाई सस्तो गन्तव्य भनेर चिनिए पनि नेपालले त्यसलाई व्यवस्थित रूपमा प्रस्तुत गर्न सकेको छैन । यातायात, बसोबास, खानपान र भ्रमणका सबै कुरा समेटेर नयाँ पर्यटक लोभ्याउने गरी स्पष्ट र आकर्षक प्याकेज बनाउन सकिन्छ । साथै, अफ–सिजनमा विशेष छुट दिने नीति अपनाएर वर्षभरि नै पर्यटकको आवागमन सन्तुलित गर्न सकिन्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा ‘भ्यालु फर मनी’ गन्तव्यका रूपमा प्रतिस्पर्धा बढ्दै गएकाले नेपालले मूल्य र गुणस्तरबीच सन्तुलन कायम गर्न अति नै आवश्यक छ ।
विविधीकरण, गुणस्तर र दिगोपन
नेपालको पर्यटनलाई विविधीकरण गर्नु पनि उत्तिकै आवश्यक छ । नेपालले अहिले ट्रेकिङ र हिमाल आरोहणमै बढी जोड दिएको छ । जुन सीमित समूहका लागिमात्र उपयुक्त हुन्छ । अब वेलनेस पर्यटन, जस्तै योग, ध्यान र स्वास्थ्य सम्बन्धी रिट्रिट विकास गर्न सकिन्छ । ग्रामीण पर्यटन मार्फत पर्यटकलाई गाउँको जीवनशैली, स्थानीय खानपान र संस्कृतिसँग जोड्न सकिन्छ । यसले पर्यटनबाट हुने आम्दानी गाउँसम्म पुर्याउन पनि सहयोग गर्छ ।
त्यस्तै एड्भेन्चर, इको–टुरिज्म र मनोरञ्जनात्मक पर्यटनका नयाँ आयाम विकास गर्न सकिने पर्याप्त सम्भावना छ । भारतीय, विशेषगरी बिहार र उत्तर प्रदेशका पर्यटक लक्षित गरी हिलस्टेसन, मनोरञ्जन, विकेन्ड तथा डेस्टिनेसन वेडिङ प्याकेज बनाउन सकिन्छ ।
त्यसैगरी धार्मिक पर्यटन नेपालको अर्को बलियो पक्ष हो । लुम्बिनी विश्वभरिका बौद्ध धर्मावलम्बीका लागि अत्यन्तै महत्त्वपूर्ण स्थल हो । तर, यसको पूर्ण सम्भावना अझै उपयोग हुन सकेको छैन । पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथ लगायत दर्जनौं मठमन्दिर भारतीय हिन्दू पर्यटकका रोजाइमा पार्न सकिन्छ । यसका लागि बौद्ध र हिन्दू तीर्थस्थलहरूसँग जोडेर क्षेत्रीय धार्मिक सर्किट विकास गर्न सकिन्छ ।
त्यसैगरी वर्तमान प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकामा मेयर रहँदा अगाडि बढाएको काठमाडौं उपत्यकाका मठमन्दिर, जात्रा र परम्परा व्यवस्थित रूपमा प्रस्तुत गरेर सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रमले पनि यसमा थप विविधता दिन सक्छ । यस्तो सांस्कृतिक पर्यटन मुलुकभरि रहेका विविध जातजाति, धर्मसंस्कृति र समुदायसम्म विस्तार गर्दै लैजान सकिन्छ ।
डिजिटल प्रविधि प्रयोग अहिलेको पर्यटन विकासमा अनिवार्य भइसकेको छ । पर्यटकले आफ्नो योजना बनाउन इन्टरनेट र सामाजिक सञ्जालमा निर्भर हुने भएकाले नेपालका सेवा, गन्तव्य र प्रक्रिया डिजिटल रूपमा सहज उपलब्ध हुनुपर्छ । अनलाइन भिसा, बुकिङ प्रणाली र बहुभाषिक जानकारीले पर्यटकले पाउने सेवा सुधार्न सक्छ । भारत र चीनमा डिजिटल प्ल्याटफर्महरूको पहुँच र प्रभावकारिता अत्यन्त धेरै रहेको हुनाले यी बजारमा डिजिटल प्ल्याटफर्म तथा सामाजिक सञ्जामा लक्षित प्रचार अभियान सञ्चालन गर्न सकिन्छ ।
पर्यटन गुणस्तर सुधार र दिगोपनका लागि मानव संसाधन विकास पनि उत्तिकै महत्त्वपूर्ण छ । राम्रो सेवा नै पर्यटनको आधार हो । होटल तथा आतिथ्यसँग जोडिएका सबै क्षेत्र, पर्यटक गाइड, यातायात तथा अन्य सेवा केन्द्र सबै क्षेत्रमा तालिमप्राप्त र सिपयुक्त जनशक्ति आवश्यक हुन्छ । यसका लागि आवश्यक सिप विकास तथा तालिम कार्यक्रम गर्न जरुरी हुन्छ । त्यसैगरी युवालाई पर्यटन व्यवसायमा आकर्षित गर्न सके नयाँ ऊर्जा र सिर्जनशीलता थपिन्छ । पछिल्लो समय दक्ष जनशक्ति विदेश पलायन बढ्दै गएकाले पर्यटन क्षेत्रमा गुणस्तरीय सेवा कायम राख्न चुनौती थपिएको छ । त्यसतर्फ विशेष ध्यान दिनु आवश्यक छ ।
यद्यपि, पर्यटन विस्तार गर्दा वातावरणीय सन्तुलन र दिगो विकास बेवास्ता गर्न कदापि हुँदैन । नेपालका प्राकृतिक सम्पदा अत्यन्तै संवेदनशील छन् । अनियन्त्रित पर्यटनले दीर्घकालमा हानि पुर्याउन सक्छ । त्यसैले दिगो पर्यटनका मापदण्ड अपनाउँदै फोहोर व्यवस्थापन, वातावरण संरक्षण र जिम्मेवार व्यवहारमा ध्यान दिनु आवश्यक हुन्छ । विशेषगरी हिमाल आरोहण, ट्रेकिङ र संरक्षित क्षेत्रहरूमा वहन क्षमताको अवधारणा कडाइसाथ लागु गर्नुपर्छ ।
हामीले विश्वका अन्य सफल पर्यटन गन्तव्यबाट सिक्न सकिन्छ । तर, अन्धानुकरण गर्नु हुँदैन । बाली, सिंगापुर, थाइल्यान्ड वा युरोपेली देशले सफलता हासिल गर्नुको कारण उनीहरूको स्पष्ट रणनीति, निजी क्षेत्र तथा विभिन्न सरोकारवालासँगको सहकार्य र निरन्तरता हो । नेपालले पनि आफ्नै परिवेश अनुसार नीति निर्माण गरेर अघि बढ्नुपर्छ ।
अन्तत: पर्यटन केवल पर्यटक संख्या बढाउने माध्यममात्र होइन, यो समग्र आर्थिक रूपान्तरणको आधार बन्न सक्छ । स्थिर राजनीतिक अवस्थाले दिएको यो अवसर सदुपयोग गर्दै यदि नेपालले सही दिशा लिन र अहिलेका नीति कार्यान्वयनमा ध्यान दिन सक्यो भने पर्यटन क्षेत्रले सरकारको ठूलो लगानीविना नै मुलुकको विकास र समृद्धिमा अतुलनीय योगदान पुर्याउन सक्छ । अहिले यो आशा, विश्वास र भरोसालाई वास्तविक उपलब्धिमा बदल्ने समय आएको छ ।
(लेखक शाह पर्यटन व्यवसायी हुन् ।)
प्रतिक्रिया 4