फिल्म अनिश्चित व्यापार हो भन्ने पुष्टि ‘पूर्णबहादुरको सारङ्गी’को व्यापारबाट देखियो । १३ दिनमा २५ करोडको व्यापारले के दर्शाउँछ भने नेपालमा अब गाउँबाट सहरतिर बसाइँसराइको मात्रा धेरै भयो भन्ने स्थापित गर्छ । बसाइँसराइको विशेषता के भने स्रोत भएको थलोमा मान्छे धेरै आइसकेछन् भन्ने हो ।
उनीहरुसँग यति स्रोत भयो कि दुई साता नहुँदै उनीहरुले यति ठूलो संख्यामा ‘पूर्णबहादुरको सारङ्गी’ फिल्म हेर्न भ्याइसके । यति धेरै मान्छे फिल्म हेर्न सक्ने ठाउँमा पुगिसके । फिल्मको सूचना आउने ठाउँमा पुगिसके । फिल्मसँगको पहुँच बढ्यो । छोटो समयमा धेरै मान्छेले फिल्म हेर्न सक्ने हाम्रो सामर्थ्यको विकास भयो ।
यसको अर्को पाटो– हामीकहाँ सामाजिक सञ्जालको प्रभाव धेरै देखिन थाल्यो । घरघरमा, किचन-किचनमा, बेडरुम-बेडरुममा नेपाली सिनेमाको कुरा हुन थाल्यो । नेपाली सिनेमाले कुरा गर्ने स्पेस पाउन थाल्यो । मानिसले पछिल्लो चरणमा बिर्सिसकेको एउटा पाटो के हो भने हाम्रो समाजले पछिल्लो २० वर्षमा अत्यन्त धेरै संघर्ष गर्यो । ४० देखि ७० सालसम्म नेपाली समाजले अति धेरै मेहनत गरेको छ । व्यक्तिगत तरिकाले परिवारले आफ्नो सन्तानको लागि बढी संघर्ष गर्यो । एउटा पुस्ताले के गर्यो भने हामीले दुःख पाएपनि आउने पुस्ताले सुख पाओस् भनेर संघर्ष गर्यो । त्यो पुस्ताले पछिल्लो पुस्तालाई बिर्सेको छैन है भन्ने भाष्य स्थापित गर्यो ।
हाम्रो समाजको उक्त कालखण्डको ठूलो कथा हो । बाउ गरिब भएपनि, बाउले दुःख पाएपनि छोराछोरीले दु:ख नपाऊन् भनेर संघर्ष गर्ने हाम्रो समाज हो । समाजको सबैभन्दा सुन्दरता त्यहाँ थियो । हामीले गाउँको आँखाबाट हेर्दा अहिलेको पुस्ताले गाउँलाई सम्झियो । गाउँको सामूहिक कथा के भने बाबुआमाले छोराछोरीलाई दुःख गरेर पढाए । विशेषगरी छोराहरुलाई पढाए भन्ने हाम्रो सामाजिक न्यारेटिभ एकदम गजब छ । यसले त्यो पुस्ताप्रति फिल्ममार्फत हाम्रो समाजले सम्मान दियो र सम्झियो ।
२५ करोडको अर्थ फिल्ममेकरलाई मात्र हैन, समाजलाई पनि हो । यसले के कुरालाई पनि प्रमाणित गर्यो भने हामीलाई चर्चित कलाकार, सुपरस्टारडमका पात्रको उपस्थिति मात्रै होइन फिल्म भन्ने कुरा दर्शायो । सामाजिक यथार्थवादलाई यसले पुनःस्थापित गरिदियो । हाम्रो समाज सामाजिक यथार्थवादमै चलेको छ भन्ने पुष्टि यसले गरिदियो । हामी सिनेमा हेर्न हलमा गएको कलाकारको अनुहार हेर्न होइन, पात्रको वेदना हेर्नलाई गएको हो है, पात्रको भावनालाई हेर्न गएको हो भन्ने कुरालाई दर्शकले ‘एन्टी–थेसिस’ पनि दिए ।
पछिल्लो समय नेपाली सिनेमामा के डर विकास भइसकेको थियो भने सिनेमाको आकर्षणको आधारमा स्टारडम हो भन्ने भइसकेको थियो । दर्शकलाई तान्ने तत्व स्टारडम हो भन्ने विकास भएको थियो । त्यो मान्यतालाई तोडेर यो फिल्मले के स्थापित गरिदियो भने सिनेमालाई आकर्षित गर्ने तत्व स्टारडम हैन, आकर्षण गर्ने तत्व ‘इमोसनडम’ र यथार्थको सामीप्य हो भन्ने पुष्टि गर्यो । किनभने, गत वर्ष रिलिज भएको ‘दिमाग खराब’ले पनि सुरुमा स्टारडमले आकर्षण गर्न सकेको होइन । त्यो पनि सामाजिक यथार्थवादकै जगमा चलेको फिल्म हो । अघिल्लो तिहारले पनि हामीलाई यही कुरा बताएको छ ।
अहिलेको तिहारले पनि हामीलाई के कुरा बताइदियो भने स्टारडमभन्दा पनि सामाजिक यथार्थवादलाई यसले पुष्टि गरिदियो । ‘पूर्णबहादुरको सारङ्गी’ सुरुको दुई दिन त चलेको होइन । एक हिसाबले हामीलाई स्टारडम होइन, हाम्रो भावनालाई स्पर्श गर भने दर्शकले ‘लाउड स्टेटमेन्ट’ दिएका हुन् ।
नेपाली सिनेमाको बजारले के बुझ्नुपर्छ भने सिनेमा सुरुको २–३ दिनमा चल्नुपर्छ र चल्छ भन्ने चल्नु मात्रै सिनेमा चल्नु हो भन्ने ‘विकेन्ड बर्डन’को जुन जुन हाम्रो स्थापित न्यारेटिभ छ, यसलाई दर्शकले खारेज गरिदिए । कुन सिनेमा राम्रो वा नराम्रो भन्ने निर्णय गर्ने चाहिं तिमीहरुले होइन, त्यो निर्णय गर्ने हामीले हो । हामीलाई समय लाग्छ । हामी प्रि-रिलिजको प्रवर्द्धनमा हामी फस्दैनौं भनेर दर्शकले पोस्ट–रिलिज प्रमोसनलाई यसपटक महत्व दिए । भन्नुको अर्थ– फिल्मको प्रमोसन फिल्म रिलिज भएपछि बल्ल हुन्छ भन्ने कुरालाई स्थापित गरे ।
हाम्रो स्थापित भाष्य के हो भने फिल्मको प्रि–रिलिज प्रमोसन भव्य गर्नुपर्छ, त्यसले दर्शकलाई दुई-तीन दिन तान्यो भने तान्यो, होइन भने हाम्रो फिल्म डुब्यो भन्ने डर स्थापित थियो । यसले वितरक, हलवाला र मिडियालाई पनि सन्देश दियो कि तीन दिनको आधारमा नेपाली सिनेमालाई मूल्यांकन गर्न छाड । सिनेमालाई तीन दिनमा चलेन भने सास फेर्नै नसक्ने बनाइदिएका थिए । यो क्षयरोगबाट सिनेमालाई जोगाउन ‘पूर्णबहादुरको सारङ्गी’ले भूमिका खेल्यो ।
यहाँ दयाहाङ राईको पनि चर्चा गर्नु जरुरी छ । दयाहाङ पनि स्थापित भएको सामाजिक यथार्थवादको जगमा हो । २०६२–०६३ पछि नेपालमा जसरी परिवर्तन आयो, यो चरणमा नेपाली समाजले सामाजिक यथार्थवादलाई नै स्वीकार्यो । कलामा आत्मसात गर्दै अघि बढ्यो । दयाहाङ यसको दूतको रुपमा चिनिए । एउटा समयपछि सामाजिक यथार्थवादको पात्र भन्दा पनि उनी चाहिं ‘एक्स्प्लोइटेड रोमान्टिसिजम’को पात्र भइदिए । सामाजिक यथार्थवाद आउनुअघि रोमान्टिक यथार्थवाद हाबी थियो ।
राजेश हमाल, निखिल उप्रेती कालखण्ड रोमान्टिसाइज यथार्थवाद थियो । त्यसलाई ग्ल्यामराइज तरिकाले चित्रण गरिन्थ्यो । त्यहाँबाट हाम्रो पुस्ताले सामाजिक यथार्थवादलाई रुपान्तरण गरेको थियो । भइदियो के भने दयाहाङ विस्तारै सामाजिक यथार्थवादको पात्र बन्नुभन्दा पनि ‘एस्क्प्लोइटेड रोमान्टिक सागा’को दूत बने । त्यो ‘एक्स्प्लोइटेसन’को कारणले दयाहाङ चलिरहेका छैनन् । अर्को अनुहार आउने बित्तिकै समाजले पुनः सामाजिक यथार्थवादलाई स्वीकार्यो ।
यसले के कुरा बताउँछ भने सामाजिक यथार्थवादलाई तिमीले धेरै ‘एक्स्प्लोइटेसन’ गर्न हुँदैन । सामाजिक यथार्थवादलाई जोगाउनुपर्छ भन्ने कुरा यसले सिकायो । कुनैबेला दयाहाङलाई देखाएर सामाजिक यथार्थवादको लेप लगाए पुग्छ भन्ने मनोविज्ञान बसेको थियो । त्यसलाई ‘पूर्णबहादुरको सारङ्गी’ले भत्काएर सामाजिक यथार्थवाद चल्छ, त्यसमा लेप भन्दा पनि अब गहिराइ चाहिन्छ है भन्ने कुरालाई पुष्टि गरिदियो ।
मलाई नै सामान्य पेशा गरिरहेका महिलाहरुले के भन्न थाले भने अब तपार्इंले पूर्णबहादुरको सारङ्गी जस्तो फिल्म बनाउनु न भनेर भन्न थालेका छन् । मान्छे अझै यो फिल्म खोजिरहेका छन् किनभने हाम्रो समाज त्यो पीडा र वेदनाबाट बाहिर निस्किएको छैन । हामीसँग पीडा र वेदनाको कथा छ, भन्नुपर्ने र सुन्नुपर्ने कुरा यति धेरै छ कि यो समाजले पीडालाई साटफेर गर्न चाहन्छ । हाम्रो समाजको धरातल ठ्याक्कै कहाँनेर छ भन्ने कुरालाई पूर्णबहादुरको सारङ्गीले देखाइदियो । हाम्रो समाज हाम्रो पीडा र वेदनाका कुरा अझै गरियोस् भन्ने चाहेको देखियो ।
यसबीचमा राजनीतिक परिवर्तनबाट जसरी समाजले पीडाबाट उन्मुक्ति पाउनुपर्थ्यो, त्यो पाउन सकेन । हामी मनमा धेरै कुरा गुम्साएर बसेका छौं । यो गुम्सिएको समाज, गुम्सिएको मनोविज्ञानभित्र, पीडा, छटपटी गुम्सिएको ठाउँमा हामी रमाइरहेका छौं । पूर्णबहादुरको सारङ्गी हेर्न आउनेको २५ करोडभित्र १० करोड त ती आमाबुवाले दिएका होलान् । ती आमाबुवा जुन पुस्ताले आफूहरुले दुःख गरेर सन्तानलाई हुर्काए, बढाए र सक्षम बनाए अनि सहरतिर धकेले । यो पूर्णबहादुरको सारङ्गी फिल्मले ती बाबुआमालाई सम्मान र अस्तित्वलाई ठाउँ दिएको हुनाले ती बाउ आजको ठूला दर्शक भएर आए, जुन बाउहरु जीवनको थकानबाट एक्लिइसकेका थिए ।
उनीहरुले पढाइदिएका र शिक्षित बनाएको पुस्ता त सहरतिर आइसक्यो । उनीहरु यो सहरको जीवनसंघर्षमा रमाइरहेका थिए । बाबुआमासँग ग्याप भएको थियो । बाबुआमा जसले दुःख गरेर सघाए, त्यो ग्यापलाई कम गर्ने साधन यो फिल्म भइदियो । ‘पूर्णबहादुरको सारङगी’ एउटा प्लाटफर्म बनिदियो । जुन प्लाटफर्ममा एक सन्तानले आफ्नो सन्तानलाई धन्यवाद दिने एउटा उपहार बनिदियो । यो चल्नुको पछाडि एउटा सामाजिक उपहारजस्तो भइदियो भन्ने शब्द नपाउँदा सिनेमा एउटा माध्यम बनिदियो ।
सिनेमा समाजको अन्तरक्रिया गर्ने माध्यम हो भन्ने कुरा बुझ्नुपर्छ । जब कुनै सिनेमा समाजको अन्तरक्रिया गर्ने साधन बनिदिन्छ, त्यसपछि यसले एकदमै ब्लकबस्टरको रुप पाउने हो । यो तहको सफलता पछिल्लो समय धेरै फिल्मले प्राप्त गरेका थिएनन् । अधिकांश फिल्म सामाजिक अन्तरक्रिया गर्ने माध्यम बनेका थिएनन् ।
अर्कोतर्फ, हाम्रो समाजले ‘अन्डरडग’ स्टोरीलाई मनपराउँछ भन्ने देखाउँछ । पूर्णबहादुरको सारङ्गी भनेको अन्डरडग स्टोरी हो । छोरोलाई हुर्काउन सामान्य मान्छे हिरो बनेको हो नि त । अब अन्डरडग स्टोरीलाई सिनेमाले ठाउँ दिन सक्छ भन्ने देखायो । एक हिसाबले यो नेपाली सिनेमाको निर्माणको मनोविज्ञान लगभग पाँच करोडमा पुग्ने भयो । यसले गर्दा नेपाली सिनेमाको आधारभूत भावना चाहिं ५ करोडभन्दा माथि पुग्यो भन्ने देखायो ।
पछिल्लो चरणका हरेक फिल्म पाँच करोडको सिलिङ वरपर छन् । सामान्य चलेका फिल्मको सिलिङ पनि सोही वरपर छ । अब निर्माताले सो परिमाण बराबरको लगानी गर्ने सामर्थ्यको विकास भयो । २० करोड निर्माताले आम्दानी गर्न सक्ने सम्भावना देखायो । अब हामी सिनेमा मेकिङमा सिर्जनशीलताका लागि स्वतन्त्रताको अनुभूति गर्ने कुराको विकास भयो भन्ने देखायो ।
नेपाली दर्शक दशैं-तिहारमा हलमा यति हदसम्म आए, यसले नेपाली दर्शक प्रतिव्यक्ति क्रयशक्तिमा विकास भएको देखाउँछ । नेपालीले मनोरञ्जनका लागि समय छुट्टयाउन थालेछन् भन्ने प्रष्ट्याउँछ । अहिले फिल्म मात्र होइन, देशभर आन्तरिक पर्यटनको पनि विकास भएको छ । आन्तरिक पर्यटन र आन्तरिक सिनेमाको जुन विकास भएको छ, यो गजबको चीज हो । यसले नेपालीहरु केही कुरामा लामो समयको संघर्षपछि आत्मनिर्भरता र रमाइलो खोज्ने स्वतन्त्रतामा सक्षम हुँदै गएका छन् भन्ने देखिन्छ । जनता सक्षम हुनु भनेको फिल्ममेकरलाई आशाको कुरा हो ।
सिनेमा संस्कृति निर्माणका लागि यो समय सही भन्ने सामूहिक आवश्यकताको खाँचो अब देखियो । हामीले यो उपलब्धिलाई निरन्तरता दिन सक्यौं भने सिनेमा कल्चरको विकास हुन्छ । महिनाभर काम गर्ने र एकदिन सिनेमा हेर्न जाऔं भन्ने कुरा हुन्छ । यदि नेपालमा सिनेमा कल्चर स्थापित भयो भने हामी यो ५० करोडको रेन्जबाट हामी छिट्टै २-३ वर्षमा हामी १०० करोडको रेन्जमा पुग्न सक्छौं । यसमा पुग्ने बित्तिकै हामीले इतिहास, साइन्स फिक्सनका कथामा काम गर्न सक्छौं । हामी हाम्रो सिनेमालाई विश्वमाझ लैजान सक्छौं । कुनै पनि सिनेमा उद्योग आफ्नो देशभित्रै सक्षम हुनसक्यो भने त्यही जगमा हामी संसारको व्यावसायिक बजारमा उपस्थित हुनसक्छौं ।
(विष्णु शर्मासँगको कुराकानीमा आधारित)
प्रतिक्रिया 4