+
+

मेरा बा जस्तै ‘पूर्णबहादुर’

दुर्गा पौड्याल दुर्गा पौड्याल
२०८१ कात्तिक २७ गते १८:३०

म फिल्म बिरलै हेर्छु । त्यसमा पनि सपरिवार हलसम्मै पुगेर फिल्म हेर्ने अवसर कमै जुर्ने गर्छ । जब फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को रिभ्यु सामाजिक सञ्जालमा देखें एकपटक यो फिल्म हेर्नैपर्ने निधो गरें । बाले सन्तानका लागि गरेको संघर्षको म स्वयं एक प्रत्यक्ष द्रष्टा हो र ग्रामीण क्षेत्रका हजारौं परिवारको वास्तविकता पनि । तर त्यसलाई कलात्मक ढंगले पर्दामा उतारेको र फिल्मका मुख्य पात्र ‘पूर्णबहादुर’को अभिनय हेर्नका लागि हलसम्म नपुगी सुखै भएन ।

फिल्मको शीर्ष पात्र पूर्णबहादुर (विजय बराल)ले आफ्नो जीवनमा भोगेको तिरस्कार, अपमान, दुःख, कष्ट र संघर्ष ठ्याक्कै मेरै बाको जीवन कथा जस्तै लाग्यो । पूर्णबहादुर हरेक कुरामा पूर्ण हुन नसकेको पात्रका रुपमा फिल्ममा देखाइएको छ । आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक रुपमा । जुन प्रतिविम्ब मैले मेरा बाको जीवनको मध्यान्तरसम्म हुबहु मेल खाएको पाएँ । मैले फिल्म हेर्दाको करिब साढे दुई घण्टाको अवधिभरि मेरा बालाई यति धेरै पटक सम्झिएँ कि बा बितेको आठ वर्षसम्म मलाई यति धेरै सम्झना कहिल्यै भएको थिएन । पूर्णबहादुरले सारङ्गी बोक्दा बोक्दा थाकेको र गलेको काँध जस्तै थियो मेरा बाको काँध पनि । फरक यति हो कि पूर्णबहादुरले सारङ्गी बोके मेरा बाले कोदालो र डोको । पूर्णबहादुरले झैं मेरा बाले पनि सन्तानको सुनौलो भविष्यका लागि बाँचुञ्जेल डोको, नाम्लो र कोदालो बोकिरहे ।

पूर्णबहादुरको रुपमा अभिनेता विजय बरालको अभिनय साँच्चै जीवन्त छ । फिल्म अवधिभर मैले पूर्णबहादुरमा धेरै पटक आफ्नो बाको संघर्षको रुप देखें । खेतबारी र मेलापातबाट थकानले लखतरान भएर फर्किंदा उनको थकित र गलित हालत अनुहारमा प्रष्टै देखिन्थ्यो । फेरि पनि मनले कहिल्यै थाकेनन् मेरा बा । आफ्नो जीवनको सम्पूर्ण ऊर्जा सन्तानका लागि समर्पित गर्नु नै सायद उनको जीवनको संकल्प थियो । मेरा बाको गाउँले जीवन, पोशाक, सन्तानप्रतिको समर्पण भाव र एक–एक पैसा जम्मा गरी सन्तानलाई खुसी राख्ने अठोट दुरुस्तै पूर्णबहादुरको जस्तै ।

फिल्म हेरिरहँदा मेरो मनमा बाको जीवनचक्र घुमिरह्यो । पूर्णबहादुरले एक जना सन्तानका लागि जुन कठोर संघर्ष गरे, मेरा बाले आफ्ना नौ जना सन्तानका लागि कति संघर्ष गरे होलान् भन्ने सोच्दा आँखाको आँसु थाम्नै सकिनँ । बा-आमाका नौ सन्तानमध्ये सबैभन्दा कान्छो सन्तान म । मलाई काठमाडौं पढ्न पठाउनका लागि मेरा बाले पनि पूर्णबहादुरले कान्छालाई सहर पठाउनका लागि गरेजत्तिकै संघर्ष गरे, धेरैसँग जुध्न पर्‍यो, धेरैलाई स्पष्टीकरण दिनुपर्‍यो । विवाह गरेर पठाउने उमेरमा केका लागि छोरीलाई काठमाडौं पठाउने ? यस्ता प्रश्नको सामना मेरा बाले धरैपटक गर्नुपर्‍यो । जीवनभर अकल्पनीय संघर्ष गरेका बालाई आफ्नो बुढ्यौलीतिर पुग्दा भने कुनै आर्थिक समस्या थिएन । सन्तानहरुको आर्थिक प्रगति र समृद्धिले बा खुसी नै थिए तर कान्छी अर्थात् मैले सरकारी जागिर खाएको हेर्ने उनको धोको भने पूरा हुन सकेन ।

फिल्मको एउटा मोडमा जसरी जीवनको उत्तरार्धमा पूर्णबहादुरले कान्छा अर्थात् छोरा कमलबहादुरको उपस्थितिको व्यग्र प्रतीक्षा गरे, जीवनको अन्तिम अवस्थामा मेरा बा पनि कान्छी अर्थात् मेरो व्यग्र प्रतीक्षामा थिए । पूर्णबहादुरको कान्छासँग भेट हुन सकेन । तर म खबर पाउनासाथ काठमाडौंबाट हिंडेकाले घर पुगेर बाको मुख हेर्ने मौका पाएँ । डाक्टरले बाको अन्तिम घडीप्रति लक्षित गर्दै डिस्चार्ज गरिदिए । घर ल्याइएकै दिन राति १ बजेदेखि बालाई छटपटी सुरु भयो, बाले आफ्नो जीवनको अन्तिम घडीतर्फ ईशारा गरे ।

बाहिर झमझम पानी परेको त्यो रात बाका हामी सन्तानका लागि निकै निराशाको रात बन्यो । बाको आग्रहपछि हामी परिवारका सदस्य र नजिकका आफन्त जम्मा भयौं । त्यसपछि बाको बेचैनी झन् बढ्दै गयो । बाको आँखाले फराकिलो आँगन र खुला संसार खोज्यो । हामी चाहिं बाहिर पानी परेकाले बालाई घरभित्रै राख्न पाए हुन्थ्यो भन्नेमा थियौं । तर ‘मलाई बाहिर सार, मेरो जाने बेला भयो, लिन त आइसक्यो केले बाधा पारेको छ बाबु लौन’ भन्दै बाले दाइको सहारा मागे । बाको असहज स्थिति देखेपछि दाइहरुले बालाई फेरि अस्पताल जाऔं भन्दै आग्रह गरे । तर बा मानेनन् । बाले जीवनको अन्तिम क्षणलाई महसुस गरिसकेका रहेछन् । उनले निराशा मिश्रित स्वरमा भने- ‘अब कहीं जाने होइन बाबु स्वर्गबास जाने हो ।’

बाको जीवनको अन्तिम बोली, काँपेको स्वर र भाव विह्वल बचनले हामी सबै सन्तान स्तब्ध भयौं । आँखै अगाडिको त्यो बज्रपातको सामना हाम्रा लागि यति कठिन बन्यो कि मानौं हामीले टेकेको धर्ती कहीं भासिंदै छ । हाम्रो अस्तित्वको एउटा धरोहर मासिंदै छ । हामीमाथिको अगाध प्रेम र स्नेहको अनमोल आवाज सदा सर्वदाका लागि नासिंदै छ । यस्तै पिरलोले हाम्रा आँखाबाट आँसुका बलिन्द्र धाराहरु बग्न सुरु भइसकेका थिए । त्यसपछि पानी अलि कम भयो, बालाई महिरोमा सारियो बाले आफूलाई पानी खुवाउन ईशारा गरे । हामी सबैले पानी खुवायौं । यति हुँदा बिहानको ५ बज्न थालिसकेको थियो । चैतको महिना ५ बज्दा उज्यालो भइसकेको थियो । गाउँका सबै मानिस एक–एक गर्दै घरमा जम्मा हुन थाले । सायद अन्तिम अवस्थामा बाको मनले ठूलो छोरालाई खोजेको हुनुपर्छ, कहिल्यै नामले नबोलाउने बाले अन्तिममा ठूलो छोराको नाम लिएर श्वास सदाका लागि रोके, आँखा सदाका लागि बन्द गरे । अब बा हामीमाझ रहेनन्, झण्डै दर्जन आसपास छोराछोरीको अभिभावक र परिवारको मियो सदाका लागि अलप भयो ।

मेरा बा फिल्मका पूर्णबहादुर जस्तै क्रान्तिकारी थिए । कुनै समयका सक्रिय राजनीतिक कार्यकर्ता उनी बाहुनले हलो जोत्नु हुँदैन भन्ने मान्यताको विरुद्धमा थिए । मेरा बाले हलो जोतेर आफैंबाट कृषि क्रान्ति सुरु गरेको कथा कहिलेकाहीं हामीलाई सुनाउँथे । २०१५ सालको आम निर्वाचनताका तत्कालीन कम्युनिष्ट नेता मदनराज रेग्मीको प्रचार अभियानमा समेत खटेका उनी किसान संगठनमा आवद्ध भए । पञ्चायतदेखि बहुदल हुँदै गणतन्त्र आउँदासम्म उनी किसान नेता होइन कृषिकर्मी अर्थात् वास्तविक जीवनका अथक मेहनती किसानका रुपमा रहे । सम्भवतः जीवन निर्वाहका लागि पनि उनले आफ्नो इमान र पसिनासँग सहयात्रा गरी सन्तान हुकाउनुपर्‍यो होला । यस अर्थमा मेरा बाले आफ्नो सन्तानको लागि जिम्मेवारीको भारी बोक्दा बोक्दै अन्तिम विश्राम लिए ।

फिल्म सारङ्गीमा जसरी छोरा डाक्टर बनेको खबर चिठीमा पढ्न नपाउँदै, छोराले सेतो कोट लगाएको देख्न नपाउँदै पूर्णबहादुरको जीवनको अन्त्य हुन्छ । त्यसैगरी मेरो बा पनि आफ्नो कान्छी छोरी लोकसेवा पास गरेर शाखा अधिकृत बनेको खबर सुन्न नपाउँदै परलोक भए । छोरी सरकारी जागिरे भएको बाले देख्न पाएको भए……। अन्ततः फिल्मका हरेक दृश्यहरुले मन मुटुमा छोयो, निकै बेर स्तब्ध बनायो । पूर्णबहादुरको सारङ्गी हेरेर आएदेखि रातभर निद्रा लागेन, यसो निदाएको बालाई सपनामा देखें साँच्चै मेरा बाले स्वर्गबाट आफ्ना सन्तानको प्रगति देखेर आशीर्वाद दिइरहेका होलान् ।

मलाई लाग्छ हरेक निम्नमध्यम वर्गीय परिवारको वास्तविकता फिल्ममार्फत कलात्मक ढंगले प्रस्तुत गरिएको छ । कहींकतै सानातिना त्रुटि होलान्, फिल्म उत्कृष्ट छ । साँच्चिकै हेर्न लायकको कथावस्तु, निर्देशन र अभिनय नेपाली फिल्मको इतिहासमा मैले यो स्तर पहिलो पटक पाएँ । एउटा सन्तान भएर फिल्म हेर्नुहोस्, बाबुआमा भएर फिल्म हेर्नुहोस् कहींकतै आफ्नै भोगाइ, कथा, व्यथा र जीवनको यथार्थता महसुस गर्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?