काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘अग्निदहन’को ट्रेलर सार्वजनिक भएको छ । घनश्याम लामिछाने निर्देशित यो फिल्मले बोक्सीको कुप्रथाको नाममा समाजले महिलामाथि गर्ने अत्याचार र यसविरुद्ध महिलाले गर्ने संघर्षको कथा पेश गर्छ ।
यसअघि ‘धौली’, ‘लण्डन टु पेरिस’, ‘पञ्चैबाजा’ र ‘चित्रा’ निर्देशन गरेका लामिछानेको यो पाँचौं निर्देशकीय फिचर हुनेछ । हलमा प्रदर्शनअघि यसलाई नेपाल र भारतका विभिन्न ठाउँमा च्यारिटी प्रदर्शन गरिएको थियो ।
‘मान्छे कोही पनि बोक्सी हुँदैन’ भन्ने सोचलाई देशव्यापी अभियानको रुपमा फैलाउन फिल्म बनाइएको लामिछानेले बताए । यसमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, निर्मल लामिछाने र तारा गुरुङको अभिनय छ ।
फिल्मलाई ‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान’ले निर्माण गरेको हो । फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा तथा संवाद र कोविदशरण उपाध्यायको परिकल्पना छ । चलचित्र विकास बोर्डले यसलाई ‘विशेष चलचित्र अवार्ड’ समेत दिएको छ ।
प्रतिक्रिया 4