
काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारंगी’को मूलकथा उपन्यास ‘संग्रामपुर’बाट प्रभावित रहेको दाबी यसका लेखकले गरेका छन् । फिल्ममा समावेश १० प्लट पुस्तकसँग मिलेको आफूले पाएको लेखक शिवशंकर बस्यालको दाबी छ ।
मिलेको दाबी गरिएका १० प्लट
१) पूर्णबहादुर र कमल चलचित्रका दुई मूल पात्र हुन् । जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर ।
२) पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग संग्रामपुरमा रुपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ ।
३) छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रुपमानसँग मिल्दा छन् ।
४) आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटकपटक रूपमानलाई समीरले निरन्तर सोधिरहने प्रसंग मिल्दो छ ।
५) जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन्, समीर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात् मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन् ।
६) पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समीर जस्तै टप विद्यार्थी हुनु ।
७) त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समीरकै शैलीमा दौडिदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।
८) संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।
९) बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समीरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।
१०) रुपमानकै जोर जबर्जस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबर्जस्तीले कमल मेडिकल पढ्न जानु ।
फिल्मको परिवेश पनि सूक्ष्म ढंगले उपन्यासबाट प्रभावित भएको आरोप उनको छ । उनी लेख्छन्, ‘केही प्रसंग बिल्कुल विपरीत रुपमा प्रयोग गरिएका छन् । पूर्णबहादुरको सारङ्गीमा पूर्णबहादुर गन्धर्व छ, सङ्ग्रामपुर उपन्यासमा रूपमान भरिया । सङ्ग्रामपुर उपन्यासमा बाबुछोराको प्रेमसहित समीर सहरबाट फर्केपछि क्रान्तिकारी काममा लाग्छ । पूर्णबहादुरको सारङ्गीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ । माथिका मूल बुँदाहरू नै पूर्णबहादुरको सारङ्गीको मूल कथा हो । मैले यसलाई साहित्यिक रूप मात्र प्रस्तुत गरे । यो भन्दा अरु कथामा नौलो भेटिन ।’
उनले फिल्मको मूलकथा मिल्नुलाई संयोग नभएर नियोजित भएको टिप्पणी गरेका छन् । यद्यपि, उनले फिल्मको सफलताको शुभकामना समेत दिएका छन् ।
दाबीबारे के भन्छन् निर्माता ?
निर्माता विनोद पौडेलले लेखक बस्यालका दाबीप्रति असहमति व्यक्त गरे । नियोजित नभएर संयोगवश कथावस्तु मिल्न गएको बताए । ‘यसको कथा सबैको जीवनसँग जोडिएको छ । सबैले फिल्म रुचाएका छन् र महसुस गरेका छन्’ पौडेलले भने, ‘यसको कथा धेरै मान्छेको जीवनसँग मिलेको हुनसक्छ ।’
लगाइएका आरोपप्रति चलखेल भएको हुनसक्ने पौडेलको दाबी छ । उनले स्क्रिप्टको लेखनको बेलादेखि नै आफू संलग्न भएकाले यसमा कसैको कथा मिल्न गए संयोग मात्र हुनसक्ने बताए । उनले लेखक बस्याललाई प्रतिलिपि अधिकारको प्रावधानमा टेकेर कानुनी रुपमा चुनौती दिन आग्रह गरे ।
फिल्म हिट भएपछि कतिपयले विवाद निम्त्याउन खोजेको पौडेलको भनाइ छ । ‘पूर्णबहादुरको सारङ्गी’लाई सरोज पौडेलले निर्देशन गरेका हुन् भने महेश दवाडीले पटकथा तथा संवाद लेखेका हुन् ।
प्रतिक्रिया 4