
News Summary
Generated by OK AI. Editorially reviewed.- २०२२ साल असोज १५ गते पहिलो नेपाली फिल्म 'आमा' प्रदर्शनमा आएको बुधबार ठीक ६० वर्ष पूरा भएको छ।
- मन्त्रिपरिषद् बैठकले १५ असोजलाई राष्ट्रिय चलचित्र दिवसको रुपमा मनाउने निर्णय गरेको थियो।
- नेपाली फिल्मले ६ दशकमा राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनहरू पार गर्दै डिजिटल माध्यममा अभूतपूर्व विकास गरेको छ।
काठमाडौं । नेपाली फिल्म प्रदर्शन हुन थालेको बुधबार ठीक ६० वर्ष पुरा भएको छ । २०२२ साल असोज १५ गते पहिलो नेपाली फिल्म ‘आमा’ प्रदर्शनमा आएको थियो ।
गत असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले १५ असोजलाई राष्ट्रिय चलचित्र दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । पहिलो नेपाली फिल्म रिलिज भएको मितिमा चलचित्र दिवस मनाउने सरकारले निर्णय गरिसकेको छ ।
केही वर्षअघि सरकारले ‘सत्य हरिश्चन्द्र’ वा ‘आमा’मध्ये कुन फिल्मलाई पहिलो नेपाली फिल्म मान्ने भन्ने लामो समयदेखिको अन्योलतालाई निरुपण गरेको थियो ।
६ दशकमा नेपाली फिल्मले थुप्रै राजनीतिक, सामाजिक र आर्थिक घुम्तीहरू ब्योहर्यो । पञ्चायत काल, बहुदलिय प्रजातन्त्र, माओवादी सशष्त्र द्वन्द्व र उत्तराद्र्धमा डिजिटल माध्यममा अभूतपूर्व आयामको साक्षी बन्यो नेपाली फिल्म ।
२०३६ सालयताको समयलाई घरेलु फिल्मको स्वर्णकाल मानिन्छ । त्यसबीच सम्झना, कुसुमे रुमाल, लाहुरे, कान्छी, वासुदेव, साइनो, कोसेलीजस्ता रचनात्मक फिल्म बने ।
२०६३ सालपछि जब शान्ती बहाली भयो, तब फिल्म निर्माणले गति लियो । धमाधम फिल्म निर्माण हुन थाले, बजार विस्तार हुन थाल्यो, फिल्ममा प्राविधिक माध्यम प्रभावशाली हुन थाल्यो ।
नेपाली फिल्मको भाष्य, शैली, सौन्दर्य शाष्त्रमा अभूतपूर्व परिवर्तन देखिन थाल्यो । ‘लुट’ले घरेलु फिल्मको विकासक्रममा क्रमभंगता गर्यो । त्यसबेलादेखि नै नेपाली फिल्म डायस्पोरामा विस्तारित हुन पुग्यो । फिल्म निर्माणको शैलीदेखि बजार विस्तार समेत हुन थाल्यो ।
यसको सबैभन्दा ठूलो उदाहरण बन्यो- पूर्णबहादुरको सारंगी । ४६ करोड रुपैयाँ ग्रसभन्दा धेरै कमाउँदै यो फिल्म सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बन्यो । अहिले वार्षिक १०० भन्दा धेरै फिल्म रिलिज हुन थालेका छन् ।
नेपाली फिल्म बजारको आकार अहिलेसम्मकै उच्च विन्दु अर्थात २ अर्ब ७० करोड पनि पुग्यो ।
हुन त नेपालको फिल्म इतिहास निर्माणबाट होइन, प्रदर्शनबाट सुरुवात भएको हो । भारतीय फिल्मको प्रदर्शनसँगै नेपाली फिल्म बजारको इतिहास सुरु भएको हो । कालान्तरमा नेपाली फिल्म पनि निर्माण हुन थाले । अहिले नेपाल विश्व फिल्म प्रदर्शन हुने देश बनेको छ ।
एकैदिनमा नेपालसहित विदेशमा समेत फिल्म रिलिज हुन थालेको छ । फिल्म निर्माणमा नयाँपुस्ताको उदय भएको छ । सोच शैली पनि नयाँ आउन थालेको छ । एआईको तीव्र विकास र बजारीकरणका चुनौतीसँगै नेपाली फिल्म अबको ६० वर्षमा कसरी अघि बढ्छ, त्यो हेर्न बाँकी छ ।
प्रतिक्रिया 4