+
+

पूर्व सैन्य प्रमुखदेखि खर्बपतिसम्म, कस्तो बन्दैछ ट्रम्पको नयाँ टिम ?

ट्रम्पले आफू र आफ्ना नीतिहरूको कट्टर समर्थकहरूलाई नियुक्त गरेका छन् । यसले उनी आफ्नो पूर्वघोषणा कार्यान्वयन गर्न दृढ देखिएको संकेत दिन्छ । 

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते ८:२४

३० कात्तिक, काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालका लागि टिम तयार गरिरहेका छन् । ट्रम्पको दोस्रो कार्यकालमा पहिलोभन्दा फरक ढंगको प्रशासन बनाउने संकेत गरेका छन् । अक्टोबरमा एक अन्तर्वार्ताका क्रममा उनले पहिलो कार्यकालमा खराब, विश्वासघाती मानिसहरू छनोट गर्नु आफ्नो सबैभन्दा ठूलो गल्ती भएको टिप्पणी गरेका थिए ।

अहिले ट्रम्पले आफ्ना आलोचकलाई पद नदिने र समर्थकलाई नियुक्त गर्ने वाचाबमोजिम नियुक्ति गर्न थालिसकेका छन् । ट्रम्पले अमेरिका हाँक्ने कस्तो टिम बनाउँदै छन् र त्यसको संकेत के हुनसक्छ ? चासोका साथ हेरिएको छ ।

म्याट गेट्ज- महान्यायाधिवक्ता

फ्लोरिडाका रिपब्लिकन नेता तथा कांग्रेस सदस्य म्याट गेट्जलाई ट्रम्पले अमेरिकी महान्यायाधिवक्ताको जिम्मा दिने भएका छन् । सिनेटको प्रमाणीकरणपश्चात् गेट्जले यस्तो विभागलाई सम्हाल्नेछन् जसले भर्खरै मात्र उनलाई सम्भावित यौन दुर्व्यवहार र अवैध लागूऔषध प्रयोगको लागि अनुसन्धान गरिरहेको थियो ।

न्याय विभागले कारबाही नगर्ने निर्णय गरेपछि उनले हाउस एथिक्स कमिटी (संसदीय आचार समिति) को अनुसन्धानको सामना गरेका थिए । ट्रम्पको क्याबिनेटमा हुँदा कांग्रेसबाट राजीनामा गरेपछि उक्त अनुसन्धान समाप्त भएको थियो । गेट्जले भने सबै आरोपहरू अस्वीकार गर्दै आएका छन् ।

तुलसी गबार्ड- राष्ट्रिय खुफिया निर्देशक

कांग्रेसका पूर्व डेमोक्र्याटिक सदस्य तुलसी गबार्डलाई ट्रम्पले राष्ट्रिय खुफिया निर्देशकको रूपमा चयन गरेका छन् । यो नियुक्ति पनि सिनेटबाट प्रमाणीकरण हुनुपर्ने छ । आर्मी नेशनल गार्डमा दुई दशकभन्दा बढी समय सेवा गरिसकेकी गबार्डले आर्मडफर्न सर्भिस, होमल्याण्ड सेक्युरिटी र विदेशी मामिला समितिमा पनि सदस्यको जिम्मेवारी पनि निर्वाह गरिसकेकी छन् ।

तुलसी गबार्ड

डेमोक्रेटिक पार्टीबाट ४ पटक सांसद भइसकेकी तुलसी यसअघि बाइडेनको डेमोक्रेटिक पार्टीकी नेता थिइन् । सन् २०२० मा राष्ट्रपति पदका लागि डेमोक्रेटिक प्राइमरीको प्रतिस्पर्धामा सहभागी भएकी उनले बाइडेनलाई साथ दिइन् ।

सन् २०२२ पछि उनले पार्टी छाडेपछि फक्स न्यूजमा जोडिइन् । उनी कैयौं टेलिभिजन शोहरूमा कार्यक्रम सञ्चालक समेत बनिसकेकी छन् ।

मार्को रुबियो- राज्य सचिव

फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई ट्रम्पले राज्य सचिव नियुक्त गरेका छन्। रुबियो हाल सिनेट इन्टेलिजेन्स कमिटीको उपाध्यक्ष र विदेश सम्बन्ध समितिमा छन् । उनी २०१६ मा राष्ट्रपतिको उम्मेदवार रहेका बेला ट्रम्पको आलोचक थिए, तर पछिल्लोपटकको चुनावमा भने उनको समर्थन गर्दै चुनावी अभियानमा लागेका थिए ।

रुबियोले चीन र इरानका विषयमा कडा नीति लिएका छन् भने युक्रेनमा वार्तासहित युद्ध अन्त्य गर्न आह्वान समेत गर्दै आएका छन् । उनको नियुक्ति पनि सिनेटबाट प्रमाणीकरण हुनुपर्ने छ ।

स्टीफन मिलर- स्टाफ फर पोलिसी उपप्रमुख

लामो समयसम्म ट्रम्पको सल्लाहकारको रूपमा काम गरिसकेका मिलरलाई स्टाफ फर पोलिसीमा उप-प्रमुखको पदमा नियुक्त गरिएको छ ।

सन् २०१६ मा ट्रम्पको चुनावी अभियानमा काम गरेका मिलर ह्वाइट हाउसमा वरिष्ठ सल्लाहकारको जिम्मेवारीमा सामेल भएका थिए । उनले ट्रम्प प्रशासनको विवादास्पद अध्यागमन नीतिहरू फेरबदलका लागि काम गरेका थिए ।

क्रिस्टी नोएम- होमल्याण्ड सुरक्षा सचिव

ट्रम्पले आफ्नो टोलीमा समावेश गरेका क्रिस्टी नोएम साउथ डाकोटाकी गभर्नर हुन् जसले चर्चित रुढिवादी नेतृको छबि बनाएकी छन् । उनी एक समय अध्यागमन एजेन्डाको लागि महत्वपूर्ण एजेन्सीको नेतृत्व गर्ने क्रममा कुकुरलाई पनि गोली हानेको विषयलाई लिएर आलोचित समेत भएकी थिइन् । एक सानो राज्यलाई नेतृत्व गर्दै रिपब्लिकन राजनीतिमा प्रमुख स्थान बनाउँदै उनले सबैको ध्यान आकर्षित गर्न सकिन् ।

कोरोना महामारीको समयमा नोएमले अन्य राज्यहरूले जारी गरेको प्रतिबन्धात्मक आदेशको पालन गरेकी थिइनन् भने आफ्नो राज्य “व्यवसायको लागि खुला” भएको घोषणा नै गरिन् । ट्रम्पले महामारीकै बेला यहाँ आतिशबाजी र्‍याली समेत आयोजना गरेका थिए ।

होमल्याण्ड सेक्युरिटी विभागले प्रमुख अध्यागमन एजेन्सीहरूका अतिरिक्त प्राकृतिक प्रकोप, अमेरिकी गोप्य सेवा र एयरपोर्टहरूमा काम गर्ने यातायात सुरक्षा प्रशासन एजेन्टहरूको निरीक्षण गर्दछ।

एलन मस्क र विवेक रामास्वामी- ‘सरकारी दक्षता विभाग’ को सह-प्रमुख

ट्रम्पले घोषणा गरेअनुरुप विश्वकै शीर्ष खर्बपति एलन मस्क र रिपब्लिकन नेता विवेक रामास्वामीले नयाँ “सरकारी दक्षता विभाग” को नेतृत्व गर्नेछन्, यद्यपि यो नाममा भनेजस्तो सरकारी निकाय भने होइन।

एलन मस्क र विवेक रामास्वामी

ट्रम्पले जारी गरेको एक विज्ञप्तिअनुसार मस्क र रामास्वामीले ह्वाइट हाउसलाई सल्लाह प्रदान गर्ने हिसाबले सरकार बाहिरबाट काम गर्नेछन् र ठूलो स्तरमा संरचनात्मक सुधार गर्नुका साथै सरकारलाई उद्यमशीलताको व्यवस्थापन र बजेटसम्बन्धी विषयमा साझेदारी गर्नेछन् ।

रिपब्लिकन प्राइमरीमा चुनाव लडेका रामास्वामीले ट्रम्पलाई समर्थन गर्नुअघि सरकारी खर्च घटाउनुलाई आफ्नो अभियानको प्रमुख हिस्सा बनाउने बताएका थिए । मस्कले प्रशासनिक भूमिकामा रहेर वार्षिक सरकारी खर्चको लगभग एक तिहाइ कटौती गर्न सक्ने बताएका छन् ।

यो विभाग संघीय सल्लाहकार समिति ऐन अन्तर्गत आउन सक्छ, जसले सरकारलाई सल्लाह दिने बाह्य समूहहरूले कसरी काम गर्नुपर्दछ र जनताप्रति जवाफदेही हुनुपर्छ भनेर निर्धारण गर्दछ।

समाचार संस्था एपीले उल्लेख गरेअनुसार ट्रम्पले भनेका छन्, ‘दुईजनाले मेरो प्रशासनमा सरकारी कर्मचारीतन्त्र हटाउनेदेखि अनावश्यक खर्च कटौती गर्ने र संघीय एजेन्सीहरूको पुनर्संरचना गर्ने कुरामा मार्गनिर्देश गर्न सहयोग गर्नेछन् ।’

पिट हेगसेथ- रक्षा सचिव

४४ वर्षीय हेगसेथ फक्स न्यूज च्यानलको फक्स एन्ड फ्रेन्ड्स वीकेन्ड कार्यक्रमका सह-होस्ट हुन् र सन् २०१४ देखि यसमा सक्रिय छन् । यस कार्यक्रममा नियमित रूपमा देखा पर्ने ट्रम्पसँग उनको मित्रता त्यहींबाट विकास भएको बुझिन्छ ।

ट्रम्पले उनलाई रक्षासचिव घोषणा गर्दा भनेका थिए, ‘म यो घोषणा गर्न पाउँदा सम्मानित छु कि मैले मेरो क्याबिनेटमा रक्षा सचिवको रूपमा पिट हेगसेथलाई मनोनित गरेको छु, पिटले आफ्नो सम्पूर्ण जीवन सेना र देशको लागि योद्धाको रूपमा बिताएका छन् ।’

अफगानिस्तान, इराक र ग्वान्टानामो खाडीमा सेवा गरेका सेनाका अनुभवी हेगसेथले इजरायल-हमास युद्ध र युक्रेन-रूस द्वन्द्व लगायत धेरै विश्वव्यापी संकटहरू कम गर्नका लागि काम गर्ने ट्रम्पको विश्वास छ ।

जोन रेटक्लिफ- सीआईए निर्देशक

ट्रम्पले जोन रेटक्लिफलाई सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) को निर्देशक बनाउने घोषणा गरेका छन् । सिनेटबाट प्रमाणीकरण भने हुन बाँकी छ।

रेटक्लिफले पहिलो ट्रम्प प्रशासनमा राष्ट्रिय खुफिया निर्देशकको रूपमा सामेल हुनुअघि सन् २०१५ देखि २०२० सम्म टेक्सास कांग्रेसम्यानको रूपमा सेवा गरेका थिए । कांग्रेसमा हुँदा उनले हाउस इन्टेलिजेन्स र न्यायिक समितिको सदस्य र होमल्याण्ड सुरक्षा समितिमा साइबर सुरक्षा अध्यक्ष बनेर पनि सेवा गरेका छन् ।

उनले २०२० मा ट्रम्पबाट राष्ट्रिय सुरक्षा पदक प्राप्त गरेका थिए ।

विलियम जोसेफ मेकगिनले- ह्वाइट हाउस सल्लाहकार

पहिलो ट्रम्प प्रशासनमा ह्वाइट हाउस क्याबिनेट सचिवको रूपमा काम गरेका विलियम जोसेफ मेकगिनले अब ह्वाइट हाउस सल्लाहकारको रूपमा काम गर्नेछन्। मेकगिनलेले भर्खरै सम्पन्न चुनावमा रिपब्लिकन नेशनल कमिटीको चुनावी अखण्डता टोलीका लागि सल्लाहकारको रूपमा काम गरेका थिए ।

‘मेकगिनले एक स्मार्ट र दृढ वकिल हुन् जसले मलाई हाम्रो “अमेरिका प्रथम एजेन्डा”लाई अगाडि बढाउन मद्दत गर्नेछन्’, ट्रम्पले भनेका थिए ।

माइक वाल्ट्ज- राष्ट्रिय सुरक्षा सल्लाहकार

फ्लोरिडाका रिपब्लिकन कांग्रेसी माइक वाल्ट्जलाई ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा नियुक्ति गरिने छ। वाल्ट्जले यसअघि अफगानिस्तान, मध्य पूर्व र अफ्रिकामा सेवा गरी २०१९ देखि कांग्रेसको सदस्य छन् । उनी सशस्त्र सेवा, विदेश मामिला र खुफिया समितिहरूको साथसाथै सदनको चाइना टास्क फोर्सका सदस्य समेत हुन् ।

चीन र इरानका विषयमा आक्रामक नीतिका लागि व्यापक रूपमा परिचित वाल्ट्जले युक्रेन र गाजामा चलिरहेको युद्ध बारे भूमिका खेल्ने अपेक्षा छ ।

‘माइक मेरो अमेरिका पहिलो विदेश नीति एजेन्डाको एक बलियो कार्यपालक हुन् र शक्तिमार्फत शान्तिको लागि हाम्रो प्रयासको एक ठूलो हिस्सा पनि हुनेछन्,’ ट्रम्पले भनेका छन्।

एलिस स्टेफनिक- संयुक्त राष्ट्र राजदूत

ट्रम्पले न्युयोर्कका प्रतिनिधि एलिस स्टेफानिकलाई संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूतमा मनोनित गरेका छन्। स्टेफानिक इजरायलसँगको विषयलाई लिएर संयुक्त राष्ट्रसंघको आलोचक समेत बन्ने गरेकी छन् । उनी ट्रम्पको मुखर समर्थक थिइन् ।

राष्ट्रपतिमा निर्वाचन भएसँगै ट्रम्पले नियुक्त गरेका ह्वाइट हाउसका स्टाफ र सरकारी विभागका प्रमुखहरूले ट्रम्प प्रशासनको प्राथमिकतालाई संकेत गर्छन् । उनले आफ्नो चुनावी एजेन्डालाई पछ्याउँदै आप्रवासन र अर्थतन्त्र केन्द्रित विदेश नीतिलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत गरेका छन् ।

उनी हाउस रिपब्लिकन कन्फरेन्सको अध्यक्षको रूपमा सेवा गर्दै आएकी छन् । उनको नियुक्तिलाई सिनेटले प्रमाणीकरण गर्न बाँकी छ ।

ली जेल्दिन- इपीए प्रशासक

ट्रम्पले न्युयोर्कका पूर्व प्रतिनिधि ली जेल्दिनलाई वातावरण संरक्षण एजेन्सी (ईपीए) को प्रशासकको रूपमा काम गर्न छानेका छन् । जेल्दिनले सामाजिक सञ्जालमा एक विज्ञप्ति पोस्ट गर्दै स्वच्छ हावापानीका लागि काम गर्नुका साथै अमेरिकी ऊर्जा प्रभुत्व पुनर्स्थापित गर्ने, अमेरिकी रोजगारी फिर्ता ल्याउन अटो उद्योगलाई पुनर्जीवित गर्ने र अमेरिकालाई एआईको विश्वव्यापी नेतृत्वकर्ता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जेल्दिनले सन् २०१५ देखि २०२३ सम्म कांग्रेसमा रहँदा लङ आइल्याण्डदेखि ह्याम्पटनसम्म फैलिएको जिल्लाको प्रतिनिधित्व गरेका थिए, त्यस्तै सैन्य रिजर्भमा प्रमुखको जिम्मेवारीमा पनि सेवा गरे। जेल्दिन ट्रम्पको पहिलो कार्यकालमा उनको कट्टर वकालत गर्नेमध्येका थिए भने‍ दुवै महाभियोग लागेका बेलामा उनको पक्षमा उभिएका थिए ।

टम होमन- सीमा संरक्षक

अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) को पूर्व कार्यवाहक निर्देशक रहेका टम होमनलाई ट्रम्पले सीमा संरक्षकको रूपमा नियुक्त गरेका छन् । यो भूमिका सम्भवतः लाखौं अप्रमाणित आप्रवासीहरूको सामूहिक निर्वासनको लागि ट्रम्पले बनाएको योजनामा ​​संलग्न हुनेछ।

पूर्व प्रहरी अधिकारी समेत रहिसकेका होमनले दक्षिणी र उत्तरी अमेरिकी सीमानाका साथै सम्पूर्ण समुद्री र उड्डयन सुरक्षाको लागि पनि काम गर्नेछन् । होमनले ट्रम्पको पहिलो कार्यकालमा सन् २०१७ देखि २०१८ सम्म आईसीई निर्देशकको रूपमा समेत काम गरेका थिए ।

सुसी वाइल्स- स्टाफ प्रमुख

ट्रम्पको २०२४ को अभियानका प्रबन्धक सुसी वाइल्स निर्वाचनलगत्तै ह्वाइट हाउस कर्मचारी प्रमुख पदमा नियूक्त भएकी थिइन् । लामो समयदेखि रिपब्लिकन रणनीतिकारका रुपमा रहेकी वाइल्सले सन् १९८०मा रोनाल्ड रेगनको अभियानका लागि पनि काम गरेकी थिइन् भने सन् २०१८ मा फ्लोरिडाका गभर्नर रोन डिसेन्टिसको विजयी अभियानमा पनि मुख्य भूमिका खेलेकी थिइन् । वाइल्सलाई ट्रम्पले आफ्नो चुनावी विजय भाषणमा ‘आइस मेडेन’ भनेर उल्लेख गरेका थिए । कर्मचारी प्रमुखको रूपमा सेवा गर्ने उनी पहिलो महिला समेत हुन् ।

ट्रम्पको रोजाइले गरेको संकेत

राष्ट्रपतिमा निर्वाचन भएसँगै ट्रम्पले नियुक्त गरेका ह्वाइट हाउसका स्टाफ र सरकारी विभागका प्रमुखहरूले ट्रम्प प्रशासनको प्राथमिकतालाई संकेत गर्छन् । उनले आफ्नो चुनावी एजेन्डालाई पछ्याउँदै आप्रवासन र अर्थतन्त्र केन्द्रित विदेश नीतिलाई प्राथमिकतामा राख्ने स्पष्ट संकेत गरेका छन् ।

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र हालका राष्ट्रपति जो बाइडेन

ट्रम्पले आफू र आफ्ना नीतिहरूको कट्टर समर्थकहरूलाई नियुक्त गरेका छन् । यसले उनी आफ्नो पूर्वघोषणा कार्यान्वयन गर्न दृढ देखिएको संकेत दिन्छ ।

ट्रम्पले गरेका नियुक्तिहरू हेर्दा अमेरिकामा बसोबास गर्ने लाखौं गैरकानुनी आप्रवासीहरूलाई देशनिकाला गर्ने कुरामा बल पुगेको देखिन्छ ।

ट्रम्पका घनिष्ठ सल्लाहकार रहिसकेका स्टेफेन मिलर डेपुटी चिफ अफ स्टाफका लागि मनोनित छन् । उनले सम्भवतः सामूहिक निर्वासनका लागि बनेका योजनाहरूलाई आकार दिने देखिन्छ । ट्रम्पको पहिलो कार्यकालमा पनि मिलर प्रशासनको कडा अध्यागमन नीतिहरू विकास गर्ने कार्यमा संलग्न थिए।

त्यस्तै ट्रम्पको पहिलो कार्यकालमा अध्यागमन र भन्सार प्रवर्तन एजेन्सीका कार्यवाहक निर्देशक रहेका थोमस होमनले अमेरिकी-मेक्सिको सीमामा हिरासतमा रहेका कागजातविहीन परिवारहरूलाई अलग गर्ने राष्ट्रपतिको नीतिलाई समर्थन गरेका छन् । अब उनी अझ फराकिलो क्षेत्राधिकारका साथ सीमा संरक्षकको रूपमा नियुक्त हुँदै छन् ।

ट्रम्पको पहिलो कार्यकालमा व्यापार विवाद र कोभिड महामारीबीच अमेरिका-चीन सम्बन्ध चुनौतीपूर्ण बनेको थियो। अहिले उनले सेनाका पूर्व कर्नेल माइक वाल्ट्जलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारको रूपमा छानेका छन् जसले अमेरिका चीनसँग शीतयुद्धमा भएको प्रतिक्रिया दिएका थिए । बाइडेन प्रशासनले ‘टारिफ’हरूमार्फत केही हदसम्म विवाद मत्थर गर्न खोजेको भएपनि अब ट्रम्पले भने अघिल्लोपटक छाडेको ठाउँबाटै फेरि निरन्तरता दिने निश्चित जस्तै देखिन्छ ।

एलन मस्कको नियुक्तिले अमेरिकी सरकारभन्दा बाहिर रही ठूलो स्तरमा संरचनात्मक सुधार गर्नुका साथै सरकारलाई उद्यमशीलताको व्यवस्थापन र बजेटसम्बन्धी विषयमा साझेदारी गर्ने कुरा बुझिएको छ । मस्कको राजनीतिक कार्यसमितिले ट्रम्पको राष्ट्रपति अभियानमा आर्थिक सहयोग गर्दै अर्बौं रुपैयाँ खर्च गरेमो थियो । उनले राष्ट्रपति-निर्वाचितको एजेन्डा अगाडि बढाउन र आगामी चुनावमा रिपब्लिकन उम्मेदवारहरूलाई मद्दत गर्ने कार्यलाई निरन्तरता दिने पनि बताउँदै आएका छन् ।

ट्रम्पले पदभार ग्रहण गरेपछि रिपब्लिकनहरूको थोरै अन्तरले मात्र भएपनि सिनेटमा बाहुल्यता हुने देखिन्छ । यद्यपी ट्रम्प राष्ट्रपति शक्तिको प्रयोगमा बढी निश्चिन्त भएको देखिन्छ ।

त्यस्तै ट्रम्पले क्षमतावान नै भए पनि आफ्ना आलोचकहरूलाई कुनै पनि पदमा नियुक्ति दिएका छैनन् ।

आफ्नो वाचा अनुरूप नजिककाहरूलाई नियुक्ति दिएर उनले समर्थकहरूलाई वचनको पक्का भएको उदाहरण दिंदा अब यसपछि प्रशासनको दबाबका बीच उनले गर्ने कार्यहरूले उनको दोस्रो कार्यकाल पहिलोभन्दा फरक हुने वा नहुनेबारे झलक भने दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?