१५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा हुने द्विपक्षीय सम्झौता र समझदारीका विषयमा छलफल चलिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्तासमेत रहेका सहसचिव कृष्णप्रसाद ढकालले बीआरआई लगायतका परियोजनाका विषयमा पनि छलफल भइरहेको बताए ।
‘खासगरी कनेक्टिभिटी, ट्रेड, इन्भेष्टमेन्ट, टुरिजम, इन्फ्रा इस्ट्रक्चर डेभलपमेन्ट, एग्रिकल्चर लगायतका सहयोगका क्षेत्रमा यसपटक थप छलफल हुनेछ । सहयोग थप विस्तार हुनेछ भन्ने विश्वास छ,’ सहसचिव ढकालले भने, ‘बीआरआईको विषयमा पनि छलफल र वार्ता भइरहेको छ ।’
साथै, उनले नेपाल र चीनबीचको सम्बन्धमा बलियो बनाउन यो भ्रमणले थप मद्दत पुग्ने विश्वास लिएको पनि बताए ।
‘यो भ्रमणले नेपाल र चीनबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास छ । नेपाल र चीनबीच विगत लामो समयदेखि विविध क्षेत्रमा सहकार्य र सहयोग हुँदै आएको छ,’ उनले भने ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा प्रधानमन्त्री ओली आगामी सोमबार चीन भ्रमणमा जाँदैछन् । उनको भ्रमण दलमा सरकारी र निजी गरेर ८७ सदस्यी टोली सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4