
१८ मंसिर, काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा देवकी तिमल्सिना ‘समीक्षा’ निर्वाचित भएकी छन् । माओवादी केन्द्रकी तिमल्सिना १ हजार ६३६ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सविता बुढाले १ हजार ५९३ मत प्राप्त गरिन् ।
निर्वाचित भएपछि तिमल्सिनाले काठमाडौंलाई सर्केगाड सुनाउने आफ्नो सपनालाई जनताले अनुमोदन गरेको बताइन् ।
स्थानीय सरकारबाट सक्दो पहल गर्ने र संघीय सरकारबाट समेत बजेट लिएर गएर सर्केगाडको आर्थिक विकासका लागि काम गर्ने उनको प्रतिबद्धता छ । ‘यहाँ समग्र विकासको आधार बनाउनुपर्ने छ ।
स्थानीयको जीवन स्तर उकास्नु त छँदैछ, यसका लागि स्थानीय सरकारले आधार नै तयार पार्नुपर्ने छ । शिक्षा, स्वास्थ्य, रोजगारीमा पहुँच वृद्धि गर्नुछ । स्थानीय उत्पादनको बजारीकरण गर्नुछ । जसले सर्केगाडलाई समृद्ध बनाउनु छ,’ उनले भनिन् ।
४१ वर्षीया तिमल्सिना नेकपा माओवादी केन्द्रले २०५२ सालदेखि १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धकै बेला रेडियो गणतन्त्रमा आबद्ध भएकी थिइन् । शान्ति प्रक्रिया पछाडि उनी पत्रकारितासँगै साहित्य, लेखन तथा ग्रामीण समाजको अध्ययनमा निरन्तर जोडिइन् ।
माओवादीले सञ्चालन गरेको रेडियो गणतन्त्र नेपालमा २०६० देखि २०६३ सम्म काम गरिन् । नौलो जनसन्देश दैनिक नेपालगञ्जको संवाददाता भएर काम गरिन् । नयाँ कर्णाली मासिक पत्रिकाको कार्यकारी सम्पादक भएर काम गरिन् । उनले काठमाडौंको रेडियो मिरमिरेमा पनि काम गरिन् । माओवादीको मुखपत्र जनादेश दैनिकमा समेत काम गरिन् । पत्रकारका रूपमा आफूले लैङ्गिक समानता र सामाजिक रुपान्तरणका विषयलाई प्राथमिकतामा राखेर काम गरेको बताउँछिन् ।
सिन्धुपाल्चोकको बलेसी गाउँपालिकामा जन्मिएकी तिमल्सिना जनयुद्धकालमै दीपेन्द्र रोकासँग बिहे गरेर सर्केगाड पुगेकी हुन् । हाल सर्केगाड नगरपालिका–८, रादेउ निवासी तिमल्सिना लेखन, साहित्य र समाजसेवामा रुचि राख्छिन् ।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा एमए गरेकी तिमल्सिनासँग विभिन्न संघ, संस्थाहरूको विभिन्न पदमा काम गरेको अनुभव पनि छ । हाल माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य छिन् ।
यसअघि मुख्यमन्त्री रोजगार कार्यक्रम कर्णाली प्रदेशको राष्ट्रिय सल्लाहकार भएर काम गरेकी थिइन् । उनले कर्णाली साहित्य समाजको उपाध्यक्ष भएर पनि कम गरिन् ।
तिमल्सिना हुम्लालाई पछाडि परेको क्षेत्र भन्न रुचाउँदिनन् । ‘यो शासकहरूको कारणपछि पारिएको ठाउँ हो । यसो हुनुमा हिजो राज्यसत्तामा को थियो र कसका कारण यस्तो भयो भन्ने बुझ्नुपर्छ । यसकारण यो ठाउँका प्रत्येक कुरा काठमाडौंले सुन्नुपर्छ,’ उनले भनिन् ।
संघीय सरकारसँगको समन्वयमा हुम्लाको समग्र विकासका लागि तीव्रता दिने उनको प्रतिबद्धता छ । तिमल्सिना भन्छिन्, ‘हुम्ला जिल्लामा कर्णाली करिडोरको सडक जोडिएको छ । यसको स्तरोन्नतिका लागि पहल गर्नैपर्ने छ । सबै वडासँग जोड्ने सडकहरू निर्माण हुँदैछन् । यी काम पूरा गर्नु पर्नेछ ।’
हुम्लालाई सूचना प्रविधिले जोड्ने उनको अर्को ध्येय छ । ‘सूचना प्रविधिका कारण विश्व गाउँ बनेको छ । यसमा विकास गर्नु पर्नेछ । पर्यटनमा उनको नारा नै छ, ‘सबैको गन्तव्य हुम्ला र हुम्लाको गन्तव्य सर्केगाड ।’
औषधिजन्य कृषि उत्पादन बढाउन खेतीयोग्य भूमिमा सिँचाइको व्यवस्था गर्ने, सबै गाउँमा स्वच्छ खानेपानीको व्यवस्था गर्ने उनको योजना छ । सामाजिक विकासका लागि शिक्षा, स्वास्थ्यमा जोड दिने, शैक्षिक गुणस्तरयुक्त जनशक्तिको विकास गर्न शिक्षामा र आयु बढाउन स्वास्थ्यमा लगानी गर्ने तिमल्सिनाका योजना हुन् ।
अन्तर्राष्ट्रिय ख्याती कमाउन हाइ अल्टिच्युट खेलको विकास गर्ने, रोजगार बढाउन प्राविधिक जनशक्तिको विकासमा लाग्ने, अन्य आय आर्जनका लागि उद्योगका क्षेत्रहरू बढाउन र लगानी भित्राउन मिहेनत गर्ने उनका प्रतिबद्धता हुन् ।
तमल्सिना भन्छिन्, ‘दलित, महिला, जनजाति, उत्पीडित वर्ग र क्षेत्रको विद्यमान अवस्थामा सुधार ल्याउनु पर्नेछ । यस कुरामा सक्रिय पहलकदमी लिने मेरो प्रतिबद्धतालाई मतदाताले विश्वास गर्नुभएको छ । मप्रतिको विश्वास अबको साढे दुई वर्षमा अझ बढाउने गरी काम गर्छु ।’
भोट माग्ने जाने क्रममा हरेक गाउँ बस्तीका मागहरू टिपेर राखेको उनी सुनाउँछिन् । ती मागहरूलाई आवश्यकता र प्राथमिकताका आधारमा पूरा गर्न लागिपर्ने उनको प्रतिबद्धता छ ।
विगतका दुईवटै स्थानीय चुनावमा गठबन्धन गरेको माओवादी केन्द्रले यसपटक एक्लै लडेर परिणाम आफ्नो पक्षमा पारेको हो ।
२०७४ को स्थानीय तह निर्वाचनमा सर्केगाडमा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिएर गठबन्धनसहित चुनाव लडेका थिए । उक्त चुनावमा माओवादीका कृष्णबहादुर रोकाया एक हजार ९२० मत ल्याएर अध्यक्षमा र एमालेका जोशी धामी एक हजार ८४५ मत ल्याएर उपाध्यक्षमा विजयी भएका थिए ।
२०७९ सालमा कांग्रेस र माओवादीले गठबन्धन गरेका थिए । गठबन्धनबाट कांग्रेसका ठानबहादुर रोकाया तीन हजार ५४३ मत ल्याएर अध्यक्षमा र माओवादीका चन्द्रसिंह कार्की तीन हजार २६९ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका थिए ।
कार्कीको गत ४ भदौमा सुर्खेतबाट नेपालगञ्जका लागि छुटेको गाडी दुर्घटनामा परेर निधन भएको थियो । त्यसपछि रिक्त पदमा भएको उपनिर्वाचनमा एक्लै लडेर पनि माओवादीले आफ्नो सिट सुरक्षित राखेको हो ।
चुनाव जित्दा उत्साहित तिमल्सिना भन्छिन्, ‘मैले चुनाव अगाडि पनि माओवादीले एक्लै चुनाव लडेर जित्ने संकल्प गरेकी थिएँ । पार्टीको नीति पनि त्यही थियो । यसमार्फत देशभरि एउटा सन्देश पनि दिन सकियो । अब जनताको काम गर्ने र अगाडि बढ्ने हो । त्यसआधारमा जनताले भावी दिनमा हामीलाई विश्वास गर्नेछन् ।’
यस्ता छन् तिमल्सिनाका प्रतिबद्धताहरू :
१. सडक पूर्वाधार विकासमा कर्णाली करिडोरको खुलेको ट्र्याकमा यस वर्ष पिलुदेखि तुम्चसम्म र अर्को वर्ष तुम्चदेखि सिमकोटसम्म स्तरोन्नतिका लागि पहल गर्ने ।
२. कवाडी–ताँजाकोट–अदानचुली हुँदै आएको सडकलाई सर्केगाडको रिपसम्म पुर्याउने । यसका लागि गुसा जाने सडकको निर्माणलाई तीव्रता दिने ।
३. सर्केगाड–मारघोर–खार्पुनाथ–सिमकोट सडकको ट्र्याक खोल्ने कार्यलाई तीव्रता दिने ।
४. ह्याप्स्या–फुचा–पंखा सडक, तुम्च–जैर सडक, सर्केगाड–बराइ–छ्यागी–घिउसी सडकको ट्र्याक खोली सञ्चालनमा ल्याइने छ । स्थानीय जनसमुदाय, निर्माण कम्पनी र प्रशासनिक क्षेत्रमा रहेको अवरोधलाई सहजीकरण गर्ने ।
५. सल्लीसल्ला–सर्केगाड र उनापानी–रिप गाउँ जोड्ने सडक पुल बनाउन पहल गर्ने ।
६. राष्ट्रिय प्रसारण लाइन विस्तारका लागि संघीय सरकारसँग पहल गर्ने ।
७. सर्केगाड र चंखेली २३५ मेगावाट, हुम्ला कर्णाली कासकाडे ९१६ मेगावाटको बारेमा पैरवी गर्ने । चालु साना जलविद्युत् आयोजनालाई प्रभावकारी रूपमा सञ्चालन गर्न र ऊर्जा खपत बढाउने ।
८. माइक्रो वेब रेडियो ट्रान्समिसनबाट मात्र हुम्ला जोडिएको हुम्लासम्म फाइबर बिच्छ्याउन पहल गर्ने, फोरजी टावर यथाशीघ्र सञ्चालनमा ल्याउने ।
९. उत्पादन बढाउन तुम्च र रोडिकोट सेराको जिउलामा सिँचाइ व्यवस्था गर्ने, बराइदेखि साँयासम्म, कल्लाँसदेखि गोठीसम्म र छिडी न्हात्तामा लिफ्ट सिँचाइको सम्भाव्यता अध्ययन गर्ने ।
१०. उनापानी गुसाको उत्पादनलाई ‘मेड इन सर्केगाड’ को नामबाट ब्रान्डिङ गर्न लगाउने ।
११. आयु बढाउन सफा चुल्हो र चर्पी तथा स्वच्छ खानेपानीमा सुधार ल्याउन विशेष पहल गर्ने, हरेक गाउँमा लिस्नो सुधारमा जोड दिने ।
१२. एकीकृत बस्ती विकासका लागि थप अध्ययन गर्न पहल गर्ने, सर्केगाडको बजारलाई व्यवस्थित गर्न प्लानिङ गर्ने ।
१३. बालबालिकालाई लगानी, युवालाई रोजगारी र ज्येष्ठ नागरिकलाई सम्मान र सुरक्षाका लागि विशेष पहल गर्ने ।
१४. गरिबी निवरणका लागि अनिवार्य न्यूनत्तम आय आर्जन कार्यक्रम सञ्चालन गर्ने ।
१५. सर्केगाडलाई शैक्षिक हब बनाउन हिमज्योति नमूना माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउने, हिमज्योति बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार विकास गर्नुका साथै नियमित कक्षा सञ्चालन गर्ने वातावरण बनाउने ।
१६. कोट माध्यमिक विद्यालय रोडिकोटलाई सिमालीमा आवासीय विद्यालयका रूपमा सञ्चालन गर्न थप व्यवस्थापन गर्ने, स्थानीय पाठ्यक्रम पठनपाठन गर्ने व्यवस्था मिलाउने ।
१७. शिक्षित युवा निजामती सेवामा प्रवेश गरुन् भन्ने हेतुले लोक सेवा आयोग पढ्ने व्यवस्था मिलाउने, व्यावसायिक शिक्षा मार्फत रोजगारीका शाखाहरू बढाउन पहल गर्ने ।
१८. निर्माणाधीन १५ शय्याको अस्पताल सुचारु गराउन पहल गर्ने ।
१९. उच्च पर्वतीय खेलको विकास गर्न स्थानीय खेल जीवनको ब्रान्डिङ गर्ने ।
२०. शहीद परिवार, महिला, दलित, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति लगायत समाजमा पछि परेका वर्ग, क्षेत्र र समुदायको हक हित र सामाजिक सुरक्षाका लागि विशेष पहल गर्ने ।
२१. मानवअधिकारको रक्षा, भ्रष्टाचारको नियन्त्रण, शान्ति सुरक्षा र सुशासनका लागि जोड दिने ।
२२. भू–विशेषता हेरी अर्गानिक कृषि उत्पादन गरी त्यसको व्यवसायीकरण गर्न निजी क्षेत्रसँग सहकार्य गरेर सर्केगाडमा खाद्य बैंक स्थापना गर्ने ।
२३. युवालाई रोजगारी दिन कृषिजन्य, पर्यटनजन्य, वनजन्य, खानीजन्य र पानीजन्य उद्योगको पहिचान र परिचालन गर्ने ।
२४. मेथा, मालिका, गुसा, मालुवाछरा, तल्छरी झरना, नाप्ल्या थाप्ल्या, भुव्र्या लाग्ना, पोग्री पाटन, बाइथला, छिन्ट्या ढुंगा, सेरी भिट्टा गुफा, थुम, दूधेदह र सबै गाउँका बाह्रदेउ चौतारालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने ।
२५. वडागत रूपमा स्थानीय पहिचानका आयोजना निर्माणमा जोड दिने ।
प्रतिक्रिया 4