२०७५ साल फागुनका दिन एउटा असाधारण परीक्षण गरेकी थिएँ। यसको केही दिन पहिले रञ्जना कुमारी सेन पौडेलले मलाई मन्त्र सुनाइदिन आग्रह गर्दा, म आश्चर्यचकित भएकी थिएँ। यो मेरो लागि सर्वथा नौलो र अप्रत्यासित अनुभव थियो। मैले कहिल्यै कसैबाट मन्त्र सुनेकी थिइनँ, सुनाउने त झन् परको कुरा।
आफूले मन्त्र नसुनेको भए पनि म सानो छँदा, आमा, फुपू र काकीहरूले हरेक दिन नुहाएपछि हातका औंला चलाउँदै मुख चलाएको देख्थें। मन्त्र जपेका हुन् भन्ने बुझिन्थ्यो। गाउँघरमा महिलाले गायत्री मन्त्र सुनेपछि बौलाउँछन् भन्ने भनाइ व्याप्त थियो, त्यसैले आमाहरूले भन्ने मन्त्र गायत्री मन्त्र चाहिं होइन भन्ने मलाई लाग्दै गएको थियो तापनि, झण्डै नौ दशक बाँचेकी मेरी आमासँग मन्त्रको नाउँमा दिनदिनै के जप्नुहुन्छ भनेर सोध्ने ध्यान नै गएन। जब आफैं बुझ्न सक्ने भएँ, कौतूहलवश सबैभन्दा प्रसिद्ध र मानिने गायत्री मन्त्र घोक्न थालें- “ॐ भूर्भुवः स्वः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात्”। म बौलाइनँ। महिलाहरूलाई गायत्री मन्त्र जप्न वञ्चित गरिएको रूढीवाद हावी भएको मलाई पाच्य थिएन तैपनि यसको खिलाफमा मैले केही गर्न सक्ने अवस्था पछिसम्म पनि सृजना भएन।
यस्तै यस्तै रूढीवादको बैसाखीमा टेकेर हाम्रो समाजमा गायत्री मन्त्र केटाहरूका लागि पुरुषहरूले मात्रै सुन्ने–सुनाउने एकाधिकार स्थापित हुँदै आएको छ। पुरुषहरूका लागि विशेष तयारीसाथ उपनयन (ब्रतबन्ध) भनिने उत्सव मनाउँदै शिक्षित गुरु–पुरोहितहरूले गोप्य रूपमा केटाहरू (वटुक) लाई यो मन्त्र सुनाउँछन्। यज्ञोपवित धारण गरेर गायत्री मन्त्रबाट दीक्षित वटुक विशेष रूपमा शुद्ध र सक्षम हुँदै जान्छन् भन्ने मान्यता छ। उपनयन सम्पन्न गरेपछि ती वटुकहरू दोस्रो पटक जन्मिएको (द्विज) मानिन्छन्— पहिलो पटक आमाको गर्भबाट शारीरिक रूपमा जन्मिन्छन् भने दोस्रो पटक बौद्धिक र आत्मिक रूपमा।
विशेषगरी बाहुन–क्षेत्री समुदायमा यो उत्सव छोराहरूका लागि अनिवार्य मानिए पनि छोरीहरूका लागि आवश्यक ठानिंदैन, मात्रै होइन सुन्न–सुनाउन वर्जितै ठानिन्छ। एउटै घरका दाजुभाइहरूको ब्रतबन्धमा दिदीबहिनीहरू मात्र दर्शक र सुसारेको भूमिकामा रमेका हुन्छन्, भलै उनीहरूले पनि सानो रकमको दक्षिणा प्राप्त गर्न सक्छन्। हाम्रो संस्कारले छोरीहरूलाई यसरी नै सन्तोष मान्न सिकाएको छ। छोरा र छोरीलाई सानैदेखि अलग–अलग प्रकारले दीक्षित गराउने यस्ता संस्कारले मलाई पिरोलिरह्यो धेरै समय। जब–जब म लैंगिक विभेदको रौंचिरा खोतल्न सक्ने भएँ यस्ता प्रचलनको खुलेर प्रतिवाद गर्दैछु। अन्यान्य अनगिन्ती संस्कार र प्रचलनसँगै छोराहरूलाई मात्र उपनयन गराउन आवश्यक ठान्ने र छोरीलाई कन्यादान गरेर पठाउने बाबुआमाले नै जघन्य विभेद गरेका छन् घरैबाट भन्ने आशयमा प्रतिबद्ध भएर मैले ‘अनावृत’ उपन्यास लेखेकी थिएँ। खैर, यसलाई एकछिन पर राखेर त्यस दिनको मेरो प्रयोगको कुरा नै गरौं अहिले यहाँ।
रञ्जनाको आग्रहले मेरो मनमा गुम्सिएको भावना प्रयोगमा उतार्ने अवसर प्रदान गर्यो, यद्यपि सबै प्रयोगको अपेक्षित परिणाम आउँछ नै भन्न सकिंदैन तापनि प्रयोग गर्न भने छोड्नुहुन्न भन्ने लाग्छ मलाई। जब उनले आफूलाई गुरु बनाउन खोजिन् तब भने म तनावमा परें। त्यसबेलासम्म म परीक्षण गर्ने मनस्थितिमा नभएको हुँदा एक दुई दिन मैले इन्कारें। मन्त्रको नाउँमा के सुनाउने ? जसले आफैंले मन्त्र सुनेको छैन अर्कालाई के सुनाउने ? कसरी सुनाउन तम्सने?
रञ्जना र मेरो भर्खर मात्र परिचय भएको थियो। खै मबाट कसरी प्रभावित भइन् उनी। भेटेको केही दिनमा नै मलाई उनको गुरुआमा बनिदिने आग्रह गर्न लागिन्। गुरु बन्ने कुरा त केही नराम्रो होइन, प्रस्ताव सम्मानजनक नै मान्नुपर्यो। मैले सोचें- उनले मलाई गुरु बनाउन्, मैले जानेका कुरा उनलाई सुनाउन पाऊँ, यतिसम्म भए त ठिकै थियो। तर मैले नै नसुनेको नभोगेको कुरा गर्न कसरी तम्सनु ?
रञ्जनाका छोराको ब्रतबन्ध नजिक आएको थियो। छोरालाई भिक्षादान दिनुअघि मन्त्र सुनेकै हुनुपर्ने गुरुहरूको आदेश अनुसार उनले गुरुआमा कसलाई बनाउने मनमनै चयन गर्दै गर्दाको मेसोमा मसँग भेट भएको थियो। अचानकको भेटपछि उनी मलाई गरुआमा बनाउन र आफू शिष्य बन्न दृढ भइन्। जीवनका दुई–तीन दशक शिक्षण पेशामा बिताएकी मैले स्कुल र कलेजका कक्षाकोठामा अध्यापन गरेर धेरै नै शिष्य बनाएकी थिएँ तर जग्गे र मण्डपमा मन्त्र सुनाएर गुरु\गुरुआमा बन्ने प्रयास गरिएको थिइनँ।
उनको एकोहोरो आग्रह पछि– “मलाई मन्त्र आउँदैन” भनें मैले। “हजुर जे सुनाउनुहुन्छ त्यही सुन्छु”।
“कोही अरू नै खोज्नु नि” मैले भनें।
“अहँ जो–कोहीलाई गुरुआमा बनाउन मनले मानेन” उनको जिद्दी भयो।
“मलाई नभेटेको भए?” मेरो जिज्ञासा रह्यो।
“केही न केही बाटो पहिल्याइन्थ्यो, हजुर आइपुग्नुभयो, हजुर नै मेरो नजरमा गुरुआमा बनाउन उपयुक्त व्यक्ति हो, त्यसैले मेरो अनुरोध स्वीकारिदिनुहोस्”, उनले बिन्ती गरिन्।
यस्ता दोहोरा छलफल पछि म एक प्रकारले द्वैध मनस्थितिबाट गुज्रिएँ। एकातिर उनको अनुरोध मानिदिन मन लाग्छ अर्कोतिर मन्त्रको नाउँमा के सुनाऊँ ?
सोच्दै गएँ। गायत्री मन्त्र त मलाई कण्ठस्थ आइहाल्छ, त्यही सुनाइदिन्छु। आखिर सन् १९३६ मा नै वाराणसीमा आनन्दमयी माँले आफ्ना दुई अनुयायीहरूलाई गायत्री मन्त्र सुनाएको नजिर पनि त छँदैछ। त्यो सुनाउनु भन्दा पहिले उनले अरू विज्ञहरूको अनुमोदन पनि प्राप्त गरेकी थिइन् भन्ने पनि छ। केही गुरुहरू र धार्मिक संस्थाहरूले महिलाहरूलाई गायत्री मन्त्र सुनाएर नियमित रूपमा जप गर्न प्रोत्साहित गर्न थालेका छन् भन्ने पनि सुनेकी हुँ। मैले सोचें, यस भेगमा नौलो नै हो तापनि महिलाहरूलाई गायत्री मन्त्र सुनाएर दीक्षित गराउने यस सुअवसरमा मौका किन नछोप्ने। अब अल्मलिन्नँ। म पनि गायत्री मन्त्र नै सुनाइदिन्छु। म महिलाले महिलालाई दीक्षित गर्छु।
यति मनमा सोचे पनि सबै कर्मकाण्डीय ब्राह्मणले सजिलै स्वीकार्लान् भन्ने कुरामा भने मलाई शंका नै लागेको थियो। तैपनि म तम्सिएँ।
२०७५ साल फागुन २५ गते बिहान नौ बजे उपस्थित हुन आमन्त्रण गरेकी थिइन् रञ्जनाले मलाई। समय अगावै कास्की भलाममा पुगें। सामूहिक ब्रतबन्धमा दश पन्ध्र वटुक थिए। ती वटुकका आमाहरू जसले पहिले मन्त्र सुनेका थिएनन्\उनीहरू स्वयंले मन्त्र सुनेपछि मात्र भिक्षादान दिन लायक हुनेरहेछन्– गुरुहरूका आदेशले हो अथवा हाम्रो धर्मशास्त्रमा कतै लेखेको छ मलाई थाहा भएन। भलै गायत्री मन्त्र सुन्न नहुने महिलाले पनि ‘मन्त्र’ नामको केही त सुन्नुपर्ने अनिवार्यता रहेछ। मन्त्र सुन्न तयार रहेका आमाहरूको लाइनमा उभिएकी रञ्जनाले मलाई बोलाइन्।
हामी मन्त्र सुन्ने–सुनाउने दुवै जना आमनेसामने बस्यौं। अनि रातो पछ्यौराभित्र छोपियौं। मेरो हातमा सेतो पूरा पेजमा मैले यत्नसाथ ठूला, सफा र स्पष्ट अक्षरले लेखेको गायत्री मन्त्र थियो। मैले ॐ मात्र के भनेको थिएँ हामी दुईलाई छोपेको पछ्यौराभित्र घुसे एक जना गुरु। उनले मलाई “ल यो लिनु र यसमा लेखेको मन्त्र रञ्जनालाई सुनाउनु” भन्ने आदेश दिए। मैले पछ्यौरा खोलें र भनें “म गायत्री मन्त्र नै सुनाउँछु”।
करिब चालीसको दशकका जस्ता देखिने, लामो टुप्पीधारी, निधारभरि चन्दन र अबिरको टीका लगाएका गुरुजी अलमलमा परे। उनको हातमा कागज नामधारी एउटा चुरोटको बट्टाको खोल जस्तो, केवल दश सेन्टिमिटर जति लामो बाक्लो कागज थियो, त्यही पनि छेउछाउ बिघ्नै च्यातिएको अनि बिछट्टै मैलो। त्यसमा शिशाकलमले भर्खरको कखराको विद्यार्थीले लेखेको जस्तो बढीमा दश–बाह्र अक्षर थिए। श्री श्री ॐ के के थिए। मेरा आग्रह सुनेर उनी दङ्ग पर्दै मन्द तरिकाले मुस्कुराए।
मैले फेरि भनें “म गायत्री मन्त्र नै सुनाउँछु।”
रञ्जनाले पनि भनिन्, “उहाँले गायत्री मन्त्र सुनाउनुहुन्छ, म पनि त्यही सुन्छु नि त।”
अलमलमा परे गुरुजी। यी अपरिपक्व गुरुले आफैं केही निर्णय लिन नसकेर अर्का गुरुतिर नजर बढाए। अर्का गुरु जो अलिक वृद्ध देखिन्थे, उनले एक हातले घण्ट बजाउँदै हाम्रो वादविवाद ध्यानले सुनिरहेका थिए। एकैछिनमा उनले मध्ययुगीन शाषकले झैं घोषणा गरे- “महिलाले गायत्री मन्त्र सुन्न हुन्न, सुनाउनु पनि हुँदैन।”
“त्यो त पुरानो मान्यता हो गुरुजी, जमाना बदलिएको छ। किन हुँदैन महिलाले गायत्री मन्त्र सुन्न सुनाउन ? आखिर बिहान बिहान अनेकौं रेडियो च्यानलमा यो त घन्किने गरेकै छ। के सबै महिलाले कान थुनेका छन्?” गुरुजी मेरो कुरा सुनेपछि एकनिमेष घोरिएर फेरि घोषणा गरे “अहँ यहाँ हुँदैन, उहाँले देको कागजको मन्त्र सुनाउनोस्” उनले मेरो तर्कको प्रतिवाद तर्कले गरेनन्, कारण दिएनन्, परन्तु कडाइका साथ आदेश दिए।
मैले किन हुँदैन भनेर कारण खोजेकी थिएँ। तर पितृसत्ताको आडमा चलेका अनगिन्ती चलनचल्तीको न कारण खोज्ने गरिन्छ, न कारण दिनु र जिज्ञासुलाई तर्कले सन्तुष्ट पार्न नै आवश्यक ठानिन्छ। आखिर हाम्रा अधिकांश मान्यता ‘जंगेले भनेसि भन्यो भन्यो’ जस्ता पारामा अघि बढ्दै आएका त छन्। मैले र रञ्जनाले पनि त्यसकै परिणाम भोग्यौं।
यज्ञस्थल जहाँ कर्मकाण्डीय गुरुहरूको राज चलिरहेछ, त्यहाँ मेरो समानतावादी सोच निमोठियो। अल्पज्ञानी गुरुको नै वर्चस्व रह्यो। यसको आभास मलाई पहिले नै नभएको होइन तर पनि म प्रयोग गर्न तम्सिएकी थिएँ। मलाई हुनसम्म नमीठो लाग्यो। तैपनि तुरुन्त मनमनै सोचें म यहाँभन्दा बढी जानु उपयुक्त हुँदैन। हरेक विचार र आन्दोलनका आफ्ना–आफ्ना उपयुक्त स्थान र परिधि हुन्छन्। यहाँ अहिले मैले जुन प्रयास गरें, समस्त नारीवादी आन्दोलकहरूलाई केही त सन्देश दिएँ जस्तो लाग्यो र मैले मुख बन्द गरें। फेरि मैले अरू निहुँ खोजेको भए पनि मलाई साथ दिने को थियो र ? कोही थिएन, रञ्जना पनि मन्त्र सुन्न तम्सिएकी न हुन्, आन्दोलन गर्न त हैन नि! त्यहाँ एक्लैले गर्न सक्ने केही थिएन। मन नलागी नलागी म र रञ्जना फेरि रातो पछ्यौराभित्र घुस्यौं। ती युवक गुरु पनि घुसे र त्यही बेढङ्गसँग लेखिएका दश–बाह्र अक्षर पढ्न लगाए, मैले कखरा पढ्ने सिकारुले झैं पढें, मैले भनेको रञ्जनाले दोहोर्याइन्। हाम्रो मन्त्र सुन्ने–सुनाउने प्रक्रिया समाप्त भयो। पछ्यौरा खोलेपछि सुनाउन नपाए पनि “ल यो लिए” भनी मैले यत्नसाथ लेखेको गायत्री मन्त्रको पेज उनलाई दिएँ र “मन्त्र चाहिं यही जपे हुन्छ” भनेर उनको हातमा थमाएँ।
आखिर गायत्री मन्त्रमा के छ ? ईश्वरीय शक्तिको प्रशंसा गरिएको मन्त्र- जसमा सारा लौकिक प्राणीहरूको दु:ख हरण गरेर सुख–शान्ति दिन्छ भनिन्छ। ॐ शब्दबाट शुरू गरिएको यस मन्त्रले मन्त्रोच्चारण गर्नेहरूलाई सिक्ने शक्ति दिन्छ, एकाग्र गराउँछ र सदाचारतिर लम्कन सिकाउँछ भन्ने भाव दिन्छ भनिन्छ। यस्तो शान्त रहन प्रेरित गर्ने भगवान् भक्तिसम्म गर्न पनि महिलालाई किन वञ्चित गराइँदै आयो? के यो आश्चर्य लाग्ने कुरा होइन? तर यसमा कतिले प्रश्न उठाएका छन्? आफूलाई खाँटी नारीवादी भन्न रुचाउने पुरुष र महिलाले यस पक्षमा विचार विश्लेषण गर्ने बेला अझै नआइपुगेको हो र ? संस्कार र संस्कृतिको नाउँमा यो विभेद किन भन्ने प्रश्न अझै नगर्ने ?
मन्त्र नामको बेढङ्गका आठ–दश शब्द एकबाट सुनेर अर्कालाई सुनाउँदै गुरुआमा बनें म र मैले सनातनी महिलाको दोस्रो दर्जाको हैसियत कायमै राखें– पहिलो दर्जाका गुरु त उनै पुरुष थिए जसले जे जे भन्ने आदेश दिए मैले त्यही त्यही भन्नु पर्यो।
स्कुल र कलेजमा अध्यापन गराउँदा म एक स्वतन्त्र, निर्भीक गुरु थिएँ, मन्त्र सुनाउँदा पराधीन गुरुआमा बन्न पुगेको अनुभव लिएर फर्कनुपर्यो। कर्मकाण्डीय ब्राह्मणको अगाडि मेरो विद्वत्ता, अनुभव, विवेक बेस्सरी पछारियो त्यस दिन। निश्चित कारण हो- म महिला थिएँ\हुँ।
मलाई गायत्री मन्त्र भन्न रोक्ने आदेश सुन्दा मैले राजा जनकले आयोजना गरेको प्रसिद्ध “ब्रह्मयज्ञ” घटना र गार्गीलाई सम्झें। गार्गीको कथा आज पनि प्रासंगिक लाग्छ। भएको के थियो भने, राजा जनकको दरबारमा एक महान् दार्शनिक बहसको आयोजना गरिएको थियो। शास्त्रज्ञानीहरू भन्छन् कि गार्गी राजा जनकको सभामा विद्वान् पुरुषहरू सरह शास्त्रार्थ गर्थिन्। त्यस समयका महान् ऋषि याज्ञवल्क्य प्रतिस्पर्धामा थिए, र गार्गीले ऋषि याज्ञवल्क्यलाई अस्तित्वको प्रकृति, आत्मा र परम वास्तविकता ब्रह्मबारेका जटिल प्रश्नहरूको शृंखला सोधिन्। “के हो त्यो तत्व जसले सम्पूर्ण ब्रह्माण्डलाई आवरण गरेको छ?” गार्गीले सोधिन्। याज्ञवल्क्यले उत्तर दिए, “यो ब्रह्म हो, परम वास्तविकता जसले सबै कुरा आवरण गरेको छ।”
अतृप्त, गार्गी अगाडि बढिन्– “ब्रह्मलाई केले समाएको छ?” उनका प्रश्नहरू यति गहिरा थिए कि अधिकांश उपस्थित पुरुष दार्शनिकहरू आश्चर्यचकित भए। याज्ञवल्क्यले उनको बुद्धिमत्तालाई सम्मान गर्दै उत्तर दिंदै गए, तर यस विन्दुबाट गहिराइमा जाँदा अरूलाई भ्रमित बनाउन सक्छ भन्ने निर्णय दिंदै गार्गीलाई रोके अथवा उनको उत्सुकतालाई उपेक्षा गरे। गार्गीको ज्ञानको तृप्ति निमोठियो।
यो घटना वर्णन सुनेपछि मलाई लाग्यो- जिउँदो छँदा अत्यन्त चाहना गरेका कुराबाट तृप्त नभएकाहरूको आत्मा आफन्तहरूको वरिपरि भट्किरहन्छ भन्ने मान्यतामा विश्वास गर्ने हो भने त्रेतायुगकी विदुषी गार्गीको ज्ञान प्राप्त गर्ने असन्तुष्ट आत्मा अझै भड्कँदै गरेको हुनसक्छ यो वायुमण्डलमा। बिचरी गार्गी !
म पनि त्यस्तै अनुभूत गर्दै थिएँ त्यसदिन- “उस युगकी तिमी मात्र असन्तुष्ट रहिनौ गार्गी, अनेक कल्प र युगपछिकी म पनि बिचरी नै भएर बाँचिरहेछु। यतिसम्म कि आँखाले देखेका, कानले सुनेका र वैज्ञानिक परीक्षणबाट मिलेका तथ्य र परिणाम वैज्ञानिक भनिने यस युगमा पनि रुढीग्रस्त समाजलाई पाच्य छैन गार्गी। सुन्छु याज्ञवल्क्यका आदेशले तिमी थचक्क बस्न विवश भयौ रे! तर गार्गी, तिमी र म जस्ता अनगिन्ती महिला अझै मुख बन्द गर्न विवश छन्, अझै थचक्क बस्न बाध्य छन् ठाउँ–ठाउँमा।”
प्रतिक्रिया 4