मानिसले कहिलेकाहीं जानी नजानी वा बाध्यताले जुन गल्ती गर्छ, त्यसको पछुतो उसलाई सधैं भइरहन्छ। मैले पनि जीवनमा त्यस्ता थुप्रै गल्ती गरेको छु। जीवनका बिहानीमा बाध्यताले गरेको गल्तीहरूको स्मरण आज पनि मलाई भइरहेको छ।
त्यसबेला काठमाडौंमा म बेरोजगार थिएँ। त्यसले गर्दा कति हण्डर र ठक्कर खानुपरेको थियो वर्णन गरिसाध्य छैन। कुनै विद्यालयमा पढाउने काम पाउँछु कि भनेर अनेकौं विद्यालय धाएको थिएँ तर हातालाग्यो शून्य नै भयो।
एकदिनको कुरा हो, मेरा एक मित्र काशीराज सुवेदीले भन्नुभयो, ‘ए सर, मच्छिन्द्र क्याम्पसमा नेपाली पढाउने शिक्षक चाहिएको छ रे प्रयास गर्ने हो कि ?’
उहाँको भनाइ मानेर भोलिपल्ट बिहानै म त्यो क्याम्पसमा गएँ। क्याम्पस प्रमुख हुनुहुँदोरहेछ नारायणदास श्रेष्ठ। मैले दुईहात जोडेर उहाँलाई नमस्कार गरें। उहाँले सोध्नुभयो, ‘तपाईंको विशेष काम थियो कि ?’
‘यहाँ नेपाली पढाउने शिक्षक चाहिएको छ भन्ने सुनेर म आएको हुँ सर’, मैले विनम्र भावमा भनें।
‘तपाईंको नाम के हो ? घर कता हो ?’ उहाँले एकै पटकमा दुई प्रश्न गर्नुभयो।
‘लक्ष्मीधर गुरागाईं, घर विराटनगर’, मैले छोटकरीमा भनें।
‘नेपालीमा एमए त गर्नुभएको होला नि ?’ उहाँले भन्नुभयो।
मैले स्वीकृति सूचक टाउको हल्लाएँ र भने ‘सर्टिफिकेटचाहिं यहाँ ल्याएको छैन, विराटनगरमा छ।’
त्यसबेला मैले उहाँका आँखामा आँखा जुधाउन सकेको थिइनँ। लाग्छ मेरो शिर अलि निहुरिएको थियो। स्वर कमजोर र ओजहीन भएको थियो। हातमुख जोड्ने समस्याले के के मात्र गर्नुपर्ने, के के मात्र भन्नुपर्ने, मेरो विवशता थियो त्यो, बाध्यता थियो। बाध्यताले गर्दा त्यसो गर्नुपरेको थियो। तर लाग्यो मानिस स्थिति र बाध्यताको दास हो। मर्नुभन्दा बहुलाउनु निको भन्छन्।
क्याम्पस चिफले विस्तारै भन्नुभयो, ‘यहाँ पहिले एकजना निकै राम्रो पढाउने शिक्षक हुनुहुन्थ्यो, उहाँले छाडेर जानुभयो, त्यसपछि त जति शिक्षक ल्याए पनि विद्यार्थीले भएन भन्छन्। तपाईं पहिले एउटा क्लास लिनुहोस्, विद्यार्थीले हुन्छ भनेमा तपाईंलाई नियुक्ति दिन्छु। नत्र त मैले सरी भन्नुपर्ने हुन्छ।’
‘हस् सर!’
यति भनेर उहाँले कार्यालय सहयोगीसित आईए प्रथम वर्षको सेक्सन ‘ए’को हाजिर खाता निकाल्न लगाउनुभयो। हाजिर खाता आएपछि कार्यालय सहयोगीले मलाई चक र डस्टर दिए।
म चक, डस्टर र हाजिर खाता बोकेर क्याम्पस चिफका पछिपछि लागेर गएँ। मलाई उहाँले कक्षा भित्र पुर्याउनुभयो। अनि उहाँले विद्यार्थीलाई भन्नुभयो, ‘उहाँले तिमीहरूलाई नेपाली पढाउनुहुन्छ। यो क्लास सकिएपछि चार जना प्रतिनिधि मलाई भेट्न आउनू।’ यति भनेर सर फर्किनुभयो।
त्यसबेला म ज्यादै दुब्लो र पातलो थिएँ। ६ फिट हाइटको मानिस ५० किलो तौल थियो। विद्यार्थीहरू मलाई हेरेर एकछिन त हाँसे।
म एकछिन चुपचाप उभिएर विद्यार्थीको अनुहार पढिरहें।
अनि विस्तारै भनें, ‘बाबु हो तपाइँहरूलाई नेपाली पढाउन भनेर आएको छु, तपाईंहरू भन्नुहोस्, कुन पाठ पढाउँ।’
एक जना विद्यार्थीले भने, ‘गुरुको परिचय पाउँ न।’
मैले भनें, ‘नेपाली पढाउन भनेर आएको हुँ, यहाँहरूलाई राम्रो पढाउन सकें भने मेरो परिचय त्यहीं हुनेछ, यहाँहरूलाई मेरो पढाइबाट चित्त बुझेन भने बाई गरुँला जाउँला, किन चाहियो र परिचय ? पहिले यो भन्नुहोस्, तपाईंहरूलाई के पाठ पढाऊँ ?’
‘वर्णविन्यास पढ्ने गुरु’, अघिल्लो मेचमा बसेकी एक जना विवाहित महिलाले भनिन्।
‘भन्नुहोस् वर्णविन्यास पढाउँदा हुन्छ ?’ मैले सोधें।
‘हुन्छ गुरु’, एकस्वरमा जवाफ आयो।
मैले कालोपाटीमा ठूला अक्षरमा वर्णविन्यास लेखें। इकार र उकार, दीर्घ ईकार दीर्घ ऊकारबारे बताइदिएँ। वर्णविन्यासको अर्थ र महत्व बताइदिएँ।
नेपाली शब्दका शुरु र बीचमा प्रायः इकार उकार सबै ह्रस्व लेखिन्छ, तर शब्दका अन्त्यमा भने कुनैमा ह्रस्व कुनैमा दीर्घ हुन्छ भनेर उदाहरण समेत कालोपाटीमा लेखेर बुझाइदिएँ। ‘सर्वनाम विशेषण जाति पेशा थर, स्त्रीलिंग दीर्घ हुन्छन् दीर्घै लेख्ने गर’ भनेर भनिदिंदा विद्यार्थीले ताली नै बजाएर खुसियाली मनाए।
मैले पुलिंगी शब्दका अन्त्यमा इकार उकार ह्रस्व हुन्छन्, तर हात्ती, सम्धी, खसी, स्वामी पुलिंगी शब्द भए पनि दीर्घ हुन्छन् भनेर सिकाइदिएँ।
एकजना विद्यार्थीले हात उठाएर प्रश्न गरे, ‘गुरु, खसी त नपुंसक लिंग होइन किन पुलिंग भन्नुभयो ?’ विद्यार्थीबाट त्यही प्रश्न आउला भनेर जवाफ दिन म तयार थिएँ।
ती विद्यार्थीतिर फर्किएर मैले भने, ‘खसी पुलिंगी शब्द हो।’
मैले जति भन्दा पनि उनीहरूले ढिपी गर्न छाडेनन्। अनि भने, ‘खसी भनेको बाख्री आमैको परिवार नियोजन गरेको छोरो हो।’
मेरा कुरा सुनेर उनीहरू तिघ्रा ठटाउँदै हाँसे।
एकजना विद्यार्थीले भने, ‘मान्यौं गुरु तपाईंलाई हामीले मान्यौं।’
मैले फेरि भनें ‘अझै नमान्नुभएको भए म तपाईंहरूलाई सोध्ने थिएँ परिवार नियोजन गरिसकेका बालाई तपाईंहरू के भन्नुहुन्छ ? भनेर, त्यसैले आफ्ना घुँडामा बन्चरो नहान्नुहोला।’
मेरो यस भनाइले सबै विद्यार्थी खैलाबैला गरेर हाँसे। कक्षाका छात्राहरू भने लाजले राता देखिए।
म विद्यार्थीलाई हँसाई–हँसाई ह्रस्व–दीर्घका नियमहरू उदाहरण सहित पढाउँदै अघि बढ्दै थिएँ।
पछाडि बस्ने एकजना विद्यार्थीले केही बोल्नका लागि फेरि आफ्नो हात उठाए। मैले हातले इशारा गरेर बोल्न अनुमति दिएँ। उनले जुरुक्क उठेर भने, ‘गुरु, सुख लेख्दा दिइँदैन दुःख लेख्दा किन किन बीचमा दुई थोपा दिइन्छ ?’
सोचें, ला बित्यास पर्यो, त्यस प्रश्नले मनमा गाँठो परे जस्तो भयो। त्यसको कारण त मलाई पनि थाहा थिएन। अब के गरौं कसो गरौं भयो मलाई, यसको उत्तर अर्को दिन दिन्छु भनौं भने पनि पहिलो दिनको क्लास, यस शिक्षकलाई यति पनि नआउने रहेछ यसले हामीलाई के पढाउला र ? भनेर हटाइदेलान् भन्ने डर। जवाफ दिऊँ भने के दिनु थाहा छैन।
मेरा चुलामा बल्न बल्न लागेको आगो निभ्न निभ्न लागेको मेरा अन्तस्करणको आशाको दियो निभ्न लागेको अनि हुन लागेको हुन आँटेको जागिर खुस्कन खुस्कन लागे जस्तो भएको थियो।
त्यही बेला भाग्यले होला दिमागमा विद्युत् प्रवाह भए जस्तो एउटा नयाँ जुक्ति तुरुन्तै फुर्यो।
मैले आफ्नो अज्ञानतालाई छलको खोल हालेर भने ‘कस्तो राम्रो प्रश्न गर्नुभएको, यस्तो प्रश्न बारम्बार गर्नुहोला है, तपाईंको शुभ नाम के हो घर कहाँ हो ?’
‘मेरो नाम मनोज शर्मा हो ! अहिलेको घरचाहिं इमाडोल हो गुरु’, जवाफ आयो।
मैले भनें, ‘हामीलाई सुख भयो भने हामी खुसी, सुखी हुन्छौं, दंग पर्छौं, हाँस्छौं त्यसबेला हामी रुन्छौ ?’
‘रुँदैनौ गुरु’, एक स्वरमा जवाफ आयो।
सबै विद्यार्थी शान्त भएका थिए। कक्षाकोठा चकमन्न भएको थियो। त्यसपछि मैले फेरि विस्तारै भनें, ‘तर जब हामीलाई दुःख पर्छ नि तब हाम्रा दुवै आँखाबाट तप्लक्क दुई थोपा आँसु चुहिन्छन् कि चुहिंदैनन् ?’
‘चुहिन्छन् गुरु !’ सबै विद्यार्थीले एक स्वरमा जवाफ दिए।
मैले ठूलो स्वरमा त्यहीबेला भनें, ‘त्यही भएर सुख लेख्दा आउँदैनन् तर दुःख लेख्दा तप्लक्क दुई थोपा आउँछन्।’
मैले यति भनेपछि सबै विद्यार्थी हलल्ल गरेर हाँसे।
एकजना विद्यार्थीले त्यसैबेला भने, ‘पढाउन त यसरी पो पढाउनुपर्दछ त, कस्तो मजा भयो। समय बितेको पत्तै भएन।’
त्यहीबेला कक्षा सकिएको जनाउ घण्टी बज्यो। मैले कालोपाटीमा लेखेको मेटें।
‘गुरु हामी भोलिदेखि तपाईंसित पढ्ने, अब आफ्नो परिचय त दिनुहोस्।’
मैले परिचय दिएर बाहिरिएँ। एक हुल विद्यार्थी मेरा पछिपछि गएर क्याम्पस चिफसित हामी भोलिदेखि गुरागाईं सरसित पढ्छौं भने।
त्यसदिनदेखि म मच्छिन्द्र क्याम्पसमा नियमित रूपमा पूरा समय पढाउन थालें।
मैले त्यहीं पढाउने पुराना पुराना नेपाली विषयका शिक्षकहरूलाई दु:खमा विसर्ग दिनुको कारण सोधें। उहाँले भन्न सक्नुभएन।
मैले धेरै जना प्राध्यापकलाई सोधें। कसैबाट जवाफ पाइनँ।
त्यस क्याम्पसमा मैले तीन वर्ष जति पढाएँ। तर दुःखका दुई थोपाको रहस्य थाहा पाइनँ। कहिलेकाहीं क्याम्पस प्रमुख सर्टिफिकेटको फोटोकपी माग्नुहुन्थ्यो। म विराटनगर जान पाएको छैन भनेर टारिदिन्थें।
विस्तारै म अरु विद्यालयहरूमा पनि पढाउन थालेको थिएँ। म त्यस क्याम्पसका पहिलो पिरियडदेखि पढाउँथे। एक मिनेट पनि कक्षा लिन ढिलो गर्दिनथें। मरिमेटी पढाउँदा बेलाबेला स्याबासी पनि पाउँथें क्याम्पस प्रमुखबाट।
एकदिन मच्छिन्द्र क्याम्पसमा शिक्षक बैठक थियो।
त्यस क्याम्पसमा सहायक क्याम्पस प्रमुख हुनुहुन्थ्यो कृष्ण जोशी। उहाँ शंकरदेव क्याम्पसको प्राध्यापक हुननुहुन्थ्यो। जोशी सरले बैठकमा भन्नुभयो, ‘शिक्षकहरूले ठिक ठिक समयमा आफ्नो क्लास लिने र ठिक समयमा क्लास छाड्ने गर्नुपर्यो।’
उहाँको भनाइ मलाई त्यति पचेन। उहाँको पनि क्याम्पसमा मेरो जस्तै पहिलो पिरियड थियो। उहाँ सधैं ढिला आउने हुनाले उहाँका विद्यार्थी रमाइलो हुन्छ भनेर पहिले मेरो कक्षामा बस्थे, पछि उहाँ क्लासमा आएपछि मेरो कोठाबाट बाहिर निस्कन्थे, यसबाट मलाई दुई पल्ट अलमल हुन्थ्यो। उहाँ जहिले पनि बीस मिनेट जति बितिसकेपछि कक्षामा आउनुहुन्थ्यो। उहाँको कुरो मलाई बिझायो।
मैले विस्तारै भनें, ‘आदरणीय सहायक क्याम्पसज्यू, हजुर यहाँको जिम्मेवार पदाधिकारी हुनुहुन्छ, कसले समयमा क्लास लिएको छैन ? तोकेर भन्न सक्नुहुन्छ। भनिदिनुहोस् न कसले समयमा क्लास लिएको छैन, कसले छोडेको छैन ?’
मेरा कुरा सुनेर जोशी सरले भन्नुभयो, ‘गुरागाईं सर, मैले तपाईंलाई त केही भनेको छैन नि! तपाईं ठिक समयमा पढाउनुहुन्छ, ठिक समयमा कक्षा छाड्नुहुन्छ।’
त्यसबेला मैले भनें, ‘त्यसो भए म बोलूँ जोशी सर ?’
‘ल, बोल्नुहोस्’, जोशी सरले भन्नुभयो।
‘जोशी सर हजुरको क्लास पनि पहिलो पिरियडमा छ, मेरो पनि फर्स्ट पिरियडमा। तर सर जहिले पनि २० मिनेट जति ढिला आउनुहुन्छ हजुरका विद्यार्थी मेरो कक्षामा बसेका हुन्छन्, हजुर आएपछि फेरि निस्कन्छन् त्यसले गर्दा दुईपल्ट मेरो कक्षालाई डिस्टर्ब हुन्छ। पहिले सरले आफूले टाइमको ख्याल गर्नु पर्यो। मैले सधैं ठीक टाइममा क्लास लिने गरेको छु’, मैले नम्रतासाथ आफ्ना कुरा राखें।
मेरा कुरा सुनेर उहाँको पारो तातेछ। उहाँले ठूलो स्वरले भन्नुभयो, ‘जाबो बीए पास गरेका मान्छेले क्याम्पसमा पढाउन पाएपछि त जति समय पनि पढाइहाल्छ नि!’
उहाँले त्यसोभन्दा त्यहाँ कोही–कोही शिक्षक मुसुमुसु मुस्कुराएका थिए। मैले एमए पास गरेको छुइनँ भन्ने त भित्रभित्रै सबैलाई थाहा भइसकेको रहेछ। मेरो रहस्य त डोकाले छोपे जस्तो उदाङ्ग पो भइरहेको रहेछ।
म जुरुक्क उठें। दुःखको दुई थोपा आँसु झार्दै मैले क्याम्पस प्रमुखतिर फर्केर भनें, ‘भोलिदेखि म यस क्याम्पसमा पढाउन आउँदिनँ।’
यति भनेर म बैठक छाडेर बाहिर निस्किएँ।
भोलिपल्टदेखि म क्याम्पस जाने कुरै भएन। क्याम्पसका विद्यार्थीले मेरो माग गरेछन्। जोशी सरले गर्दा गुरागाईं सरले छाड्नुपर्यो भनेर जोशी सरलाई विद्यार्थीले अभद्र व्यवहार गरेछन्, त्यो सुनेर मलाई निकै दुःख पनि लाग्यो।
विद्यार्थीहरू मलाई क्याम्पसमा लिएर जान मेरो कोठा खोज्दै आए। मैले भनें, ‘क्याम्पसमा पढाउन एमए पास गर्नुपर्ने हो, मैले एमए पास गरेको छैन, मैले एमए पढेकै छैन, त्यसैले म पढाउन आउँदिन बाबु हो, क्याम्पसमा पढाउन मेरो योग्यतै पुग्दैन। पहिले समस्या परेरै मैले ढाँटेर पढाएको थिएँ। मलाई कर नलगाउनुहोस्। म आउँदिनँ।’
मैले चित्त बुझाएर फर्काइदिएँ।
त्यो क्याम्पस छाडेकै वर्ष म एमएडमा भर्ना भएँ, दुई वर्षमा एमएड प्रथम श्रेणीमा उत्तीर्ण गरें। त्यसै वर्ष पाणिनिको अष्टाध्यायी पढेर दुःख शब्दमा आएका दुई थोपाको कारण अरूलाई बताउन सक्ने भएँ। यो विद्या थाहा पाएपछि मैले सबैभन्दा पहिले उनै मनोज शर्मालाई सम्झिएँ।
उनले पढेर बी.ए. पास गरिसके होलान्। मनोजलाई भेटेर दुःखका दुई थोपाको कारण प्रष्ट पारिदिन म पटक–पटक इमाडोल गएर उनलाई खोजें। मनोज २०३८ सालतिर मच्छिन्द्र क्याम्पसमा आई. ए. पढ्नुहुन्थ्यो। इमाडोल बस्छु भन्नुहुन्थ्यो। कसैले चिन्नुभएको छ ? भनेर सोधे, कसैबाट पनि जवाफ आएन। दुःखमा आउने विसर्गको नियम मनोजलाई भन्न नपाएकोमा बेचैन थिएँ।
त्यतिमात्र होइन, पछि आर.आर. क्याम्पसमा, के एण्ड के कलेजमा पढाउँदा कुनै विद्यार्थीले आफ्नो घर इमाडोलतिर बताए भने म सोधिहाल्थें ‘मनोज शर्मा भन्ने मानिसलाई चिन्नुहुन्छ ?’ उनीहरूले कारण सोधे भनें म दुःखका दुई थोपाको कथा सुनाइदिन्थें।
एकदिन मैले मेरी श्रीमतीजीलाई भनें, ‘भोलि शनिवार छ, म त्यो मनोज शर्मालाई खोज्न इमाडोल जानुपर्यो है।’
त्यसबेला उनले भनिन्, ‘कहिले कहिलेको कुरा त्यो मनोजले बिर्सिसक्यो किन त्यसैका पछि लाग्नु सधैं। कस्तो एकोहोरो ताल गरेको ? उनी बुढा भएर जागिरबाट रिटायर हुने बेला भएन ?’
त्यसदिनदेखि मैले मनोजको खोजी गर्ने कामलाई छाडिदिएँ।
२०६४ साल जेठ महिनाको कुरा हो। आरआर क्याम्पसको क्लास सकेर बाहिर फुटपाथमा निस्केको मात्र के थिएँ। एकजना अधबैंसे मानिसले मलाई भन्नुभयो ‘नमस्ते सर !’
‘नमस्ते आरामै हुनुहुन्छ ?’ भनेर आफ्नो बाटो लाग्न खोजें। उहाँले फेरि सोध्नुभयो, ‘चिन्नुभयो सर ? हजुर लक्ष्मीधर गुरागाईं सर। कस्तो मोटाउनुभएछ !’
म केही नबोली उभिइरहेको थिएँ। उहाँले फेरि भन्नुभयो, ‘आजभन्दा झण्डै २५/२६ वर्ष अगाडि सर मच्छिन्द्र क्याम्पसमा नेपाली विषय पढाउनुहुन्थ्यो, म आइ.ए. पढ्थें। त्यसबेला मैले सरलाई प्रश्न गरेको थिएँ ‘सुख लेख्दा दुई थोपा आउँदैन दुःख लेख्दा किन आउँछ ?’ सरले दुःखमा तप्लक्क दुई थोपा आँसु चुहिन्छन् त्यसैले दुःखमा दुई थोपा दिएको भन्नुभएको थियो नि हो, त्यो म कहिल्यै बिर्सन सक्दिनँ।’ उहाँले एकैसासमा सबै कुरा भन्नुभयो।
मैले भने ‘तपाईं मनोज शर्माजी हो ?’
‘बाफरे ! हजुरले त अझै पनि मेरो नाम सम्झिनुभएको रहेछ।’
‘त्यसबेला त्यो शब्दमा विसर्ग किन दिएको भन्ने मलाई पनि थाहै थिएन। तपाईंले सोधेको भोलिपल्टदेखि धेरैलाई सोधखोज गरें तर कसैबाट जवाफ पाइनँ। दुःखका दुई थोपाको रहस्य थाहा पाएपछि पछि तपाईंलाई भेटेर सबै कुरा बुझाउन म इमाडोलका चप्पाचप्पा सबै घुमें। तपाईंलाई खोजें। तर भेटिनँ।’
मनोजजी एक विद्यालयमा नेपाली विषय पढाउनुहुँदोरहेछ।
यति भनेर मैले मनोजलाई त्यहीं नजिकैको चिया पसलमा लगें। चिया अर्डर गरें। अनि उहाँलाई दुःखमा आउने विसर्गको रहस्यको पोको खोलिदिएँ। उहाँले भन्नुभयो ‘आज पनि अति महत्वपूर्ण शिक्षा पाएँ सर।’
मैले उहाँलाई भने ‘मैले पढाउँदा दुःखका दुई थोपाको रहस्य आफैं जानेको थिइनँ। जागिर थिएन, कठिन जीवन थियो। त्यसैले जुक्ति निकालेर म त्यस दिन उम्केको थिएँ। आफूले जानेपछि तपाईंलाई बुझाउन कति खोजें। तपाईंलाई नभेट्दा मेरो टाउकाको भारी जिउँका–तिउँ थियो। आजदेखि मलाई सय किलोको भारी बिसाए जस्तो भयो’, मैले भने।
उहाँले भन्नुभयो, ‘हो न हो मलाई त आजसम्म पनि दुःख पर्दा दुई थोपा तप्लक्क आँसु चुहिने हुनाले विसर्ग दिएको भन्ने नै लागिरहेको थियो। मैले कैयौंलाई यही कुरा भनेको थिएँ।’
मनोजजी पनि वर्षौंपछि मसित भेट भएकोमा प्रसन्न हुनुभयो। म पनि गह्रौं म झन् दंग परें। त्यसपछि फेरि काठमाडौं आएका बेला भेट्ने शर्तमा हामी दुवै छुट्टियौं।
घर पुग्नासाथ मैले मेरी उनीलाई भने, ‘ओ, मेडम, आज मनोज शर्मालाई भेटें अनि दुःखका दुई थोपाको रहस्य बताइदिएँ नि!’
उनले भनिन्, ‘तपाईं पनि धरानको देवलाल सर नै हुनुभएछ।’
‘कसरी नि ?’ मैले सोधें।
उनले भनिन्, ‘धेरै वर्ष पहिले धरानको पब्लिक हाईस्कुलमा देवलाल भन्ने सर हुनुहुन्थ्यो रे! उहाँले एक दिन कृष्ण भन्ने विद्यार्थीलाई एउटा प्रश्न सोध्नुभएछ। उसले जवाफ दिन नसक्दा कृष्णलाई पिट्न अगाडि बोलाउनुभयो। कृष्ण अगाडि नआएर डरले कक्षा कोठाको पछाडितिर गयो। उहाँ कृष्णका पछि पछि दौडनुभयो। कृष्ण कक्षा कोठाबाट बाहिर निस्कियो। देवलाल सर पनि बाहिर निस्किनुभयो। फिल्डमा तीन पटक घुमेपछि कृष्ण चतरा लाइनतिर कुद्यो देवलाल सरले लखेट्न छाड्नुभएन। ऊ विजयपुरतिर लाग्यो, पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, पञ्चकन्या सबैतिर दुईतीन घण्टा घुमाएर लखेट्दै कृष्णलाई फेरि पब्लिक हाईस्कुलको कोठाभित्र ल्याएर उहाँले दुई लठ्ठी हिर्काउनुभएको थियो रे!’
उनको व्यङ्ग्यले म हाँसें। तर मलाई एक किसिमको प्रसन्नताको अनुभव भएको थियो। के मैले मनोजलाई दुःखका दुई थोपा वा विसर्गको रहस्य बुझाउन गरेको प्रयत्न बेठिक थियो ?
(पूर्व प्रबन्ध सम्पादक गोरखापत्र)
प्रतिक्रिया 4